
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जिल्लाकै केन्द्र भागमा रहेको छ । जिल्लाको जेठो पालिकासमेत रहेको यहाँका गतिविधिले सबैको ध्यान खिचिरहेको हुन्छ । सुशासन र पारदर्शितामा असल अभ्यास गरिरहेको यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् खिमानन्द भुसाल । उनै भुसालसँग मध्यान्ह राष्ट्रिय दैनिकका जिल्ला संवाददाता सूर्यप्रसाद भुसालले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
जेनजी आन्दोलनले नगरपालिकामा के–कति क्षति पुग्यो ?
जेनजी आन्दोलनले देशभर भौतिक तथा अन्य सम्पत्ति क्षति भएका छन् । विषेशतः काठमाडौंमा अकल्पनीय क्षति पुगेको छ । राजधानीबाहिर पनि क्षति भएका छन् । अन्य जिल्लाको तुलनामा हाम्रो जिल्लामा क्षति कम नै छ । हाम्रो नगरपालिकाको कार्यालयमा करिब २ लाख र वडा नम्बर २ को कार्यालयमा करिब २० लाखबराबरको क्षति भएको आँकलन छ । यद्यपि सबै यकिन भएर आइसकेको छैन । यसका अलवा वडा नम्बर १ को कार्यालयमा ५० हजारको क्षति भएको छ ।
जिल्लाका अन्य पालिकामा क्षति छैन । यहाँ मात्र तोडफोड हुनुको कारण के देख्नुहुन्छ ?
यस्तो छ, हामी सदरमुकाममा छौं । हामी केन्द्रको पालिका भएकाले जहाँ केन्द्र छ, मुभमेन्ट हुने त्यही नै हो । जिल्लाको सदरमुकाम भएकाले सबै खाले आन्दोलन तथा प्रदर्शन यही हुन्छन् । अन्य पालिका भौगोलिक हिसाबले अली टाढा छन् । त्यसैले पनि यहाँ टार्गेट बढी हुन्छ । अन्य कुनै विशेष कारण भन्दा पनि सदरमुकाममा भएकै कारण यहाँ तोडफोड भएको हुनुपर्छ ।
स्थानीय सरकारसँग पनि नागरिक त्यति खुसी देखिएनन् नि ?
हो, साह्रै खुसी भएको पाइएन । यो जनताको दैलोको सरकार हो । अपेक्षा हुनु पनि स्वाभाविक हो । तर नेपालको स्रोत–साधन, सीमितता, आन्तरिक आयलगायतले सबै चाहना र अपेक्षा पूरा हुने अवस्था छैन । पालिकाको मनसाय जनताका आवश्यकता पूरा गर्ने नै हो । सुशासन कायम गर्ने नै हो । पारदर्शिता बनाउनु नै हो । छिटो र सरल सेवा दिने नै हो र त्यो दिशामा हामी दृढताका साथ अघि बढिरहेका पनि छौं । पहिलेको तुलनामा धेरै सहजताका साथ सेवाग्राहीले सेवा लिइरहेका पनि छन् । तर सबै कुरा हाम्रो मात्र हातमा छैन । नगरले चाहेर मात्र सबै कुरा गर्न सक्ने अवस्था पनि होइन । तिनै तहका सरकारबीचको समन्वय र परफेक्ट मेकानिज्म भए मात्र हाम्रो उद्देश्य पूरा हुन्छ जुन आमसर्वसाधारणको चाहना पनि हो ।
पालिकामा सुशासन भएन, जनताले सामान्य सेवा लिँदासमेत हैरानी बेहोर्नुपर्ने अवस्था रहेको भनेर गुनासो आउँछ नि ?
यो बोलीचालीको भाषा जस्तो भइसकेको छ, जुन गलत छ । कहीँकतै नेपालको कुनै पालिकामा यस्तो भएको रहेछ भने पनि सबै खतम वा सबैमा त्यही भइरहेको छ भन्ने जस्तो भाष्य बनाइन्छ । यसरी जनरलाइज गर्न हुँदैन । हामी दिनरात नभनी काम गरिरहेका छौं । अहिले पनि आन्दोलनपश्चात् सर्भरले राम्रोसँग काम गरेको छैन । दसैंको मुखमा सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब, अन्य विभिन्न भुक्तानी गर्न कठिन थियो । बिहान–बेलुका नभनी हामीहरू काममै छौं । नागरिकलाई असहज नहोस् भनेर नगरपालिकाको टिम निरन्तर खटेको छ ।
यो प्रश्नमा उठाइएका संशयहरूमा मेरो समर्थन छैन । मेरो व्यक्तिगत रूपमा भन्नुपर्दा अवकाश हुन धेरै समय छैन । यो उत्तरार्धको समयमा मैले जीवनभर गरेको कार्यमा दाग किन लगाउँछु ? मेरो सेवा अवधिमा आजसम्म चुकेको छैन भने अब अन्तिम समयमा त्यो बोझ मैले किन बोक्छु ? मैले सेवाग्राहीलाई दुःख हुने काम, अनियमितता गर्ने काम, हिनामिना गर्ने काम गरेर पापको भारी बोक्न सक्दिनँ । र म हुँदासम्म सुशासन तलमाथि हुँदैन ।
जहाँसम्म सेवाग्राहीको हैरानीको विषय छ, यसमा पनि म सहमत छैन । कतिपय विषयअनुसार विषयवस्तुको संवेदनशीलताअनुसार सन्दर्भअनुसार केही तलमाथि भएको हुन सक्छ । तर नियतवश कसैलाई दुःख दिने भन्ने विषय निराधार हो । हामी सर्वसाधारणको सेवा गर्न भनेरै यहाँ छौं । कानुनको परिधिभित्र रहेर नीति, विधिमा टेकेर गर्ने काम हामीले सहज ढंगले नै गरिरहेका छौं ।
यद्यपि, समयको मागअनुसार कर्मचारीहरूले पनि आफ्नो कार्य व्यवहार, कार्यकुशलतामा परिवर्तन गर्नुपर्ने देखिन्छ । यहाँका जनताका आकांक्षा र हाम्रो गतिका तालमेल नमिलेको हो किजस्तो लाग्छ । हामी यस्ता आमचासोका विषयमा सचेत हुनुपर्छ । हामी कर्मचारी र जनप्रतिनिधि अझ जिम्मेवार भएर अघि बढ्नुपर्नेछ ।
स्थानीय तह कार्यकर्ताको भर्ती केन्द्र भए, आमजनताले भन्दा पार्टीका कार्यकर्ता र तिनका शुभेच्छुकले फाइदा लिन्छन् भन्ने आमबुझाइ छ नि ?
होइन, हाम्रो पालिकाको सन्दर्भमा यो कुरा मेल खाँदैन । यो पनि जनरलाइज गर्ने क्रममा लगाइिएको आरोप हो भन्छु म । स्वीकृत दरबन्दीहरूमा निस्वार्थ भावनाले कानुनअनुसार जाँच गराएर लिखित, प्रयोगात्मक, अन्तर्वार्ताको चरण पार गरेर मात्र कर्मचारीहरू नियुक्त भएका छन् । हाम्रो पालिकामा आफ्नै मेहनतले क्षमतावान व्यक्ति मात्र आएका छन् । म आएपछि करिब १० जना कर्मचारी, विद्यालय नर्सहरू, सुरक्षित आप्रवासन (सामी)लगायतमा कर्मचारीहरू आएका छन् । ती पदका जाँचहरूमा कतै औंला उठाउने काम हामीले गरेका छैनौं । त्यो अनुभूति यहाँ जाँच दिन आएका परीक्षार्थीले पनि गरेका छन् ।
क्षमतालाई कसैले रोक्न सक्दैन । र क्षमतावान् व्यक्ति आउँदा कार्यसम्पादनमा यसले राम्रो रिजल्ट दिन्छ भन्नेमा म क्लियर छु । अर्को कुरा, हामीमा धेरै शंका गर्ने बानी बसेको छ । देशभरका एकाध स्थानमा त्यस्तो भएको रहेछ भने पनि सबै ठाउँमा त्यही नै भएको होला भन्ने सोच्छौं । त्यसो होइन । हामी पनि कानुनअनुसार चल्नुपर्ने हुन्छ । हामीभन्दा माथि पनि मोनिटरिङ गर्ने निकाय छन् । हाम्रो करिअरको कुरा पनि जोडिन्छ । हामी किन जोखिम मोल्छौं ?
यो जेनजी आन्दोलनले देश फरक मोडमा पुगेको छ । खर्च कटौतीका कुरा आएका छन्, विकास बजेट पनि कटौती हुने सम्भावना छ । अबको परिस्थितिमा नगर कसरी अघि बढ्छ ?
हो, अहिले फेरिएको परिस्थितिले अन्योलता सिर्जना गरेको छ । कसरी अघि बढ्ने भन्ने दुविधा छ । विकासका बजेट कति कहाँकहाँ कटौती हुने भन्ने यकिन भइसकेको अवस्था छैन । यसले पक्कै पनि विकासको गतिलाई रोक्छ । हाम्रो काम पनि रोकिन्छ । कसरी अघि बढ्ने भन्ने विषयमा विमर्श गरिरहेका छौं । स्थानीय तहको आफ्नै स्रोत निकै कम छ । संघ र प्रदेशको अनुदानका आधारमा योजना तर्जुमा भएका छन् । अहिले परिवेश परिवर्तन भएको छ । माथिबाट स्पष्ट निर्देशन नआएसम्म अन्योलता नै देखिन्छ ।
नगरवासीलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?
नगरवासी सबैलाई सर्वप्रथम नगरपालिकाका तर्फबाट हाम्रो महान् पर्व बडादसैंको अवसरमा शुभकामना दिन्छु । यो पर्वले सबैमा हर्षोल्लास, उत्साह र खुसी सञ्चार गरोस् ।
आमनागरिकको सुख, शान्ति, उन्नति, प्रगतिको कामना गर्छु । नगरपालिकाको कार्यालय तपाईंहरूको आफ्नै नजिकको निकाय हो, नजिकको सरकार हो । नगरको तर्फबाट गर्न सक्ने, हुन सक्ने र दिन सक्ने सेवा हामीले प्रवाह गरिरहेका छौं । यहाँको दिगो विकासका लागि नगर प्रमुख, नगर उपप्रमुख, यहाँका सबै जनप्रतिनिधि र कर्मचारीहरूले मेहनत गरिरहनुभएको छ । तपाईं हामी मिलेरै यहाँको विकास गर्ने हो । सुशासन कायम गर्ने हो । समृद्ध नगर बनाउने हो । सबैले आ–आफ्नो स्थानबाट संकल्प गरौं र हातेमालो गरौं ।