२०८२ कार्तिक ८ गते शनिवार / Oct 25 , 2025 , Saturday
२०८२ कार्तिक ८ गते शनिवार
Ads

दशैंमा देवगण नृत्य

shivam cement
प्रेममान डंगोल
२०८२ असोज १२ गते १२:०५
दशैंमा देवगण नृत्य

नेवारहरूको मौलिक एवं तान्त्रिक मोहनी दशैंका बेला उपत्यकाका विभिन्न स्थानमा देवीदेवताका महिमा प्रदर्शन गर्दै देवगण नाच नचाउने चलन परापूर्वकालदेखि चल्दै आइरहेको छ  ।

हरेक वर्ष दशैं आश्विन कृष्ण दशमीको रात्रिदेखि भक्तपुरमा नवदुर्गा गणका नाच नचाइन्छ । भक्तपुर, काठमाडौंको पशुपति, हनुमानढोका, पाटन दरबार स्क्वाएर, बनेपा, पनौतीका विभिन्न स्थानमा गणनाच नचाउने परम्परा छ । राजा शिवदेवको पालामा भक्तपुरको गणनाच पशुपति क्षेत्रमा रहेका नौवटा शिवलिंग, नौवटा कुण्ड, नौवटा टोल, नौथरी जातका नेवार रहेको स्थान गौशालाको राजराजेश्वरी घाटमा राति गणनाच देखाउँदा देखाउँदै सूर्योदय हुन लागेको पत्तै भएनछ । अनि त्यही स्थानमा नवदुर्गा भवानीको देवघर बनाई देवता स्थापना गरिएको हो भन्ने भनाइ छ । त्यो गणनाच उज्यालो नहुँदै रात्रिमै भक्तपुर फर्काएर लैजानुपर्नेमा नाच्दानाच्दै उज्यालो हुन गएकाले नवदुर्गाको गणनाचका सबै गणहरूले देवीका मुकुट र पोसाक त्यहीँ छोडेर भक्तपुर फर्कनुपरेको थियो रे । त्यहीबेलादेखि भक्तपुरमा नवदुर्गाका मुकुट प्रत्येक वर्षमा जलाएर नयाँ बनाउँदा काठमाडौंमा पनि आएर सोही राजराजेश्वरी घाटमा स्थापना गरिएका नवदुर्गाका मुकुट र पोसाक पनि त्यही मसानघाटमा जलाई नयाँ पहिराउने चलन छ । अहिलेसम्म राजेश्वरीघाटमा नवदुर्गा गणनाच नचाउँदै आइएको छ । भक्तपुर र काठमाडौं दुवै स्थानमा नवदुर्गाको पुरानो देवीगणका मूर्ति बनाउनुपर्दा भलभल अष्टमीका दिन असार महिनामै बनाउनुपर्छ । पाशुपत क्षेत्रमा १२ वर्षमा एकपटक दशैं पाटनको हरिसिद्धि गणनाच, ठिमी वोडेको नील बाराही नाच नचाउने परम्परा पनि छ । गणनाचमा चार भैरव, चार बाराही, चार देवी, कंकाल र ख्याकको संयुक्त नाच नचाउने परम्परा छ  ।

हरेक वर्ष दशैं पञ्चमीका दिन पचली भैरवको जात्रा मनाएझैं १२ वर्षमा एकपटक दशैंमा दशमीका दिनदेखि वर्षभरि नै पचली भैरवको गणनाच नचाउने गरिन्छ  । १२ वर्षमा एकपटक वर्षभरि नचाइने गणनाच राष्ट्र प्रमुखको हातबाट पचली भैरवसँग खड्ग साटिसकेपछि मात्र सुरु गरिन्छ  । देशमा अशान्ति, युद्ध, रोग, शोक आदि केही नहोस् र शत्रु नास गर्न सकियोस् भनी गणनाच नचाइने हो भनिन्छ  ।

१२ वर्षे पचली भैरवगण नाचमा धुम्बा, सिम्बा, मनमय्जु (इनद्रायणी), अजिमा (चामुण्डा), बाराही, कुमारी, नारायणी, दुरुपति (रुद्रायणी), ब्रम्हायणी र गणेशलाई तान्त्रिक साधना गरी देवता हुने मानिसलाई ज्याबहालको देवघर अगाडि संयुक्त गणनाच नचाउने गरिन्छ । त्यसपछि मल्लकालीन थकु जुजुको (राबा) घर र हनुमानढोकाको नासल चोकमा विधिवत् गणनाच नचाइन्छ  । देवगण जामा, मुकुट गहना लगाएर सिंगार गरी हातमा थरीथरी हतियार समाएर आउने गर्छन् । दुरुपतिबाहेक सबै देवगणले राँगो, कुखुरा, हाँस बलि लिँदा पुरै शरीर कमाउँदै आलो रगत पिउँछन् । देवगणहरूले यसरी बलि दिँदा धेरैले आश्चर्य मानी हेर्ने गर्छन्  ।

कलिगत सम्वत् ३८२५ (ईसं ७२४) मा राजा गुणकामदेवले पचली भैरवको स्थापना गरेर कान्तिपुर नगर निर्माण गरेका हुन् । यसका साथसाथै काठमाडौंको दक्षिण भेगको क्षेत्रपालका रूपमा पचली भैरवलाई मान्ने गरिएको हो भनिन्छ । सुरुमा पचली भैरवका पुजारी राजोपाध्यायको शरीरमा प्रत्यक्ष भई देवतासँग सिधै कुरा गर्ने गर्दा रहेछ । एक दिन देवतालाई फुल राख्न लगेका गथु पुजारीले राजोपाध्यायले देवतासँग कुरा गरिरहेको देखेछ । उत्तिनै खेर पचली भैरव उही गथुको शरीरमा चढेर अबदेखि गथुको नेतृत्वमा नै गणनाच नचाउनु भन्ने आज्ञा भएछ  । सोही समयदेखि गथु समुदायद्वारा नै गणनाच चलाएका हुन्  ।

पाँच वर्षमा एकपटक मखनको तारिणी बहाल सिंह दोबाटोमा भद्रकालीसँग राष्ट्र प्रमुखले खड्ग साट्ने गरिन्छ भने १२ वर्षमा एकपटक दशैं काष्ठमण्डपमा भुतिसः अगाडि पचली भैरवसँग राष्ट्र प्रमुखले खड्ग साट्ने गरिन्छ । मोहनीको दशमी टिकाको रात्रिमा यसरी खड्ग साट्दा राज्य स्थिर हुने र देशमा शान्ति कायम हुने भन्ने मान्यता छ । देशको चारैतिर स्थापना गरिराखेको अष्टमातृकामध्ये भद्रकाली र पचली भैरवलाई कडा पीठका रूपमा लिने हुनाले यी दुवै स्थानमा केही पनि विध्नबाधा नआओस् भनी राष्ट्र प्रमुखले खड्ग साटेर शक्ति स्थिर गर्नुपर्ने हो भनिन्छ  । गणनाचमा गणेश, भैरव, मनमय्जु, धुम्बा, सिम्बा, दुरुपति, भद्रकाली, कंकेश्वरी अजिमा, बाराही र पचली भैरवका साथै १२ जना देवताका वर्ष दिनसम्म टोल टोलमा गणनाच नचाउने परम्परा छ । परम्पराअनुसार २०६० सालको दशैं राजा ज्ञानेन्द्रले देवतासँग खड्ग साटेर खड्गसिद्धि गरेका थिए  । हाल मल्लकालीन राजाका सन्तान थकु जुजुबाट यो कार्य गरिँदै आएको छ ।

पाटनको ठेचोमा १२ वर्षमा एकपटक नचाइने नवदुर्गागण नाच पनि दशैंको पूर्णिमाका दिनदेखि नचाउने गरिन्छ । किरातकालीन राजामध्ये सबैभन्दा पछिल्ला राजा गास्तीका वंशका गथु र आदिवासी ज्यापु समुदायको संयुक्त रूपमा भाग लिइने ठेचो नवदुर्गा गणनाचमा दक्षिणकाली अजिमा, मनमय्नु (महालक्ष्मी), म्हासुख्वाः (पहेंलो) माजु (ब्रम्हायणी), कुमारी, वाउँख्वाः (हरियो) माजु (विष्णुदेवी), गणेश, तुयूख्वाःम्ह (गंगादेवी) सिम्बा, धुम्बा, भैरव, बाराहीसहितका देवगणका संयुक्त नाच नचाउने गरिन्छ । यो नाचमा पूर्वमा कर्मनसा, पश्चिममा नख्खुको बीचको करिब १३ हजार ५ सय रोपनी जति क्षेत्रफल भएको ठेचोसँगै बज्रबाराही, लेले, सुनाकुथि, धपाखेल (नागदहः)को वस्तीलाई पनि समेट्ने यो जात्रालाई ललितपुरको सात गाउँको जात्रा पनि भन्ने गरिन्छ  ।

सुन्नमा आएको किंवदन्तीअनुसार पछिल्लो किराती राजा गास्तीका वंशका गथु समुदायलाई लिच्छवीहरूले लखेट्दै मार्न लाग्दा खोलाछेउका खेतमा खाल्डो खाल्डोमा लुकिरहेकालाई पनि घेरामा पारेर मारिदिएछन् । यसरी मार्दा त्यहाँ रगतको खोला बगेछ । त्यही समयदेखि वडा नं. १ स्थित रहेको त्यस खोलालाई हिल्वः खुसी रगत बग्ने खोला भन्ने गरिएछ । यसरी भएको हत्यकाण्डमा भागेर गएका मध्ये बाँचेका गथु र ज्यापुहरूले संयुक्त रूपमा सबै जात्रा मनाउँदै आइरहेका छन्  ।

ठेचोको नवदुर्गागण नाचको तयारी बःमरि पूर्ण अर्थात् धान्य पूर्णिमा मंसिर महिनादेखि गरिने हो  ।

१२ बर्से गणनाचका लागि एक वर्ष अधिदेखि ठेचोमा बसेकाहरूले, व्रतबन्ध, विवाह जस्ता कुनै पनि शुभकर्म गर्न नहुने चलन छ । त्यस्तै आफन्त, इष्टमित्र, साथीभाइहरू पनि गाउँ घुम्न आउने र परमा वास बस्न नहुने चलन छ । पाहुनालाई घरमा वर्षदिनसम्म बस्न दिएर नाच देखाइ रह्यो भने देवीको आगम परमा गई दही चिउरा खाने इच्छा हुने र गुधियारहरूसँग गएर दही चिउरा खान माग्न गएमा देवीलाई नै बलि दिई त्यो मान्छेको धुलो बनाई १२ वर्षसम्म नरधूप देवीलाई दिइन्छ भन्ने भनाइ छ  । तर यसको आधिकारिक पुष्टि भने भएको देखिँदैन ।

दशैंको सप्तमीमा नवदुर्गा जगाउन लेलेको तीनपाते भन्ने ठाउँबाट आगर्सी ल्याएर नाच सिकाउने चोकमा वल्चा बनाएर १२ वर्षको ठेचो गणनाच सुरु गरिने हो  । देवताको जिउमा जगाउन महालक्ष्मीका लागि यामु न्यौं पोखरी, विष्णुदेवीलाई धापाखेल नागदहः, गंगा र गणेशलाई ठेचोको गलबलबाट जल ल्याएर गोप्य पूजा गरेर मुकुट र पोसाक पहिराउने गरिन्छ । दशैंको सप्तमीमा ३४ जना ज्यापु र क्युका गुथियाहरूले जोगी बाजा बजाएर सुनाकुधि पीठमा जिउँदो परेवा, भंगेरा, सर्प, राँगो र हाँस यज्ञमा होम गरेर १२ बर्से गणनाचको सुरुवात गरिन्छ । गणनाचमा देवगणहरूले राँगाको आलो रगत पनि पिउने गर्छन्  ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise