नेपाली मात्र होइन, वैश्विक चाडपर्वहरू पनि शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त गर्ने पर्व हुन् । कृषि, उद्यम र उपार्जनजन्य श्रम कर्ममा मानव समाजले माटो भएर मिहेनत गर्छ र गरेको छ । यसपछि गलित र थकित तन र मनलाई पुनः उर्जावान् बनाउन मानव समाजले मानसिक र शारीरिक खुसी मनाउन थाल्यो । यसबेला चाडपर्वको नामकरण खासै भएन तर समय क्रममा यस्ता चाडपर्वमा धार्मिक सांस्कृतिक पक्षहरूको प्रवेश हुन गयो । हुँदाहुँदा धर्मका नाममा अतिवादी र अन्धवादी पक्षहरूलाई प्रवेश गराइयो । देवता र दानव, आदित्य र दैत्य, राम र रावण, हिरण्यकशिपु र प्रह्लाद, कंश र कृष्ण आदिआदि पक्ष र प्रतिपक्षलगायत विषय चाडपर्वमा घुसे तर मूलभूत संसारका रूपमा कुनै पनि चाडपर्व श्रममय जीवनमा शारीरिक र मानसिक थकान मेट्न र पुनर्ताजगी प्राप्त गर्न मानव समाजले सुरु गरेको सुस्पष्ट हुन्छ । नेवार समुदाय र संस्कृतिअन्तर्गत मनाइने चाडपर्व म्ह पूजा शरीर पूजा यसको एउटा सशक्त उदाहरण हो ।
दशैं आश्विन शुल्क पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मनाइने पर्व हो ।
दशैं कृषि कर्म र त्यसको समापन पछि उत्साह, खुसी र पुनर्ताजागी प्राप्त गर्न सुरु गरिएको पर्व हो । रातो टीका सिकार, कन्दमूल र आहारका लागि आपसमा दुई कबिला पक्षका बीच भिडन्त हुन्थ्यो । भिडन्तमा जित्ने कबिलाले जितको खुसीमा विजित वा मारिएका कबिलाको रगतको रातो टीका लगाउन सुरु गरेको भन्ने भनाइ पनि रहेको छ । एकपटक विजयी भएपछि फेरिफेरि विजित भइरहने मानव मनोविज्ञान नै शाषक मनोवृत्तिमा रूपान्तर हुन थालेपछि हरुवा कबिलालाई सदा जित्ने कबिलाले कजाउन थाले । यही क्रमको विकसित रूप स्वामी र दास वर्गमा परिणत हुन गयो । अनि यही क्रममा दासहरूलाई दबाउन नीति, नियम, आचार, आचरण, संस्कार र संस्कृतिभित्र परोक्ष रूपमा स्वामी वर्गले आफूअनुकूल दृष्टिकोण क्रमशः प्रवेश गराए । यही संस्कृतिलाई आमसमुदायलाई स्वीकार्य बनाउन झ्याली पिटाएर उर्दी गरिएको देखिन्छ । सहज रूपमा यस संस्कृति स्वीकार नगरे दबाब दिने गरेको पनि देखिन्छ । यसरी दशैं दशैं नभएर पीडक वर्गको जय गानमा आधारित हुन गएको बुझिन्छ ।
सर्वप्राचीन अन्नबाली अन्न जमरा हो उम्रिएको खुसीमा जमरा टाउकोमा र शिरमा सिउरिने परिपाटीबाट सुरु भएको भन्ने पनि भनाइ छ । यस पर्वमा प्राकृतिक र दैवी आकस्मिक विपत्तिको रहस्य सही रूपमा बुझ्ने र विश्लेषण गर्ने न्यून चेतनाका अभावमा आदि मानवमा जगत् र जीवन सञ्चालन गर्ने अदृश्य र अलौकिक शक्ति रहेको चेतना सुरु र विकसित हुन पुगेको अनुमान गर्न सकिन्छ । यही न्यून चेतनाको फाइदा उठाएर समय क्रममा दशैं पर्वमा कतिपय सामाजिक, धार्मिक तथा सांस्कृतिक अतिवाद भित्रिएको देखिन्छ । नत्र स्वस्थ मनोरञ्जन प्रदान गरिने पर्वमा अमुक समाजिक, साम्प्रदायिक र तथा सांस्कृतिक प्रभाव समायोजन गरियो । त्यसैले यसमा दुर्गादेवी र महिषासुर, राम र रावण, पृथिवीनारायण शाह र आदिवासी जनजातिलगायत साम्प्रदायिक पक्ष संस्कृतिका नाममा प्रवेश गराइयो । राजतन्त्रात्मक मुलुक नेपालमा दशैंको पहिलो टिको राजालाई अर्पण गर्ने परम्परासमेत सुरु गरियो । राजालाई प्रदान गरिने टीका घरको मूल खाँबोमा पहिले लगाएर मात्र परिवारजनले टीका लगाउने लगाउने परम्परा थियो ।
समयसँगै दशैं दुर्गा देवीले राक्षस राज महिषसुरलाई बध गरेको, रामले रावणमाथि विजय गरेकोजस्ता एउटा खास धर्म र संस्कृतीकरण गरिएको देखिन्छ । दशैंमा धेरै खालको मानव जीवनका प्राचीनतम पक्ष समाविष्ट छन् । दशैंलाई आयुध वा अस्त्र पूजा पनि भनिन्छ । यो मानव जीवनको प्रकृति र हिंस्रक जनावरसित लड्ने साधन हो । त्यसैगरी, यस पर्वमा मातृसत्ताको अवशेषस्वरूप दुर्गा पूजा रहेको मान्न सकिन्छ । तर आदि माता दुर्गा मात्र होइनन् र तिनको मात्र पूजा, भक्ति र श्रद्धा गरिने विषय एउटा अति हो, एक धर्म र संस्कृतिको प्रतीक हो । तर आदि माताको कुरा गर्दा हाम्रोजस्तो बहुसांस्कृतिक समाजमा धेरै समुदायसित सम्बन्धित आदि माता विद्यमान छन् । दुर्गा, युमा, सुम्निमा, पाथीभरालगायत अनेक मातृशक्ति नेपालमा रहेका छन् ती सबलाई एउटै थलोमा राखेर वा तिनको मुखुण्डो लगाएर सामूहिक शोभायात्रा र पूजासहित दशैंलाई अर्को महान् र सबै नेपालीको चाडका रूपमा मनाउन सकिन्छ ।
दशैंको रातो टीका विजय, शुभ र उत्साहको प्रतीक हो भने सेतो शुभ्रता र स्वच्छताको प्रतीक हो । आदिवासी जनजातिले लगाउने दशैंको सेतो टीका यस्तै खालको प्रकृति पूजकहरूले लगाउने टीका हो । किनकि रङको आविष्कार, प्रयोग र व्याकता धेरै पछि भएको हो । तर टीका त सौन्दर्य र शान्ति तथा समृद्धिको प्रतीक हो । अझ ऋषिमुनिहरूले लगाउने गरेको निधारमा चन्दनको टीका शीतलताको प्रतीक हो । त्यसैले दशैंलगायत पर्वहरूमा समयक्रमा भित्रिएका अनुपयुक्त पक्ष बिर्सिएर वा तिनलाई रूपान्तरण गरेर आमनेपालीको चाडका रूपमा विकास गर्न जरुरी देखिन्छ ।