रंगभेद नीतिका कारण दक्षिण अफ्रिका गहिरो विभाजनमा थियो । अल्पसंख्यक श्वेत(गोरा) जातिको सरकारले बहुसंख्यक अश्वेत(काला)लाई राजनीतिक, सामाजिक र आर्थिक अधिकारबाट वन्चित गरेको थियो । शिक्षा, स्वास्थ्य, बसोबास, रोजगारी सबैमा जातीय विभाजन थियो । अश्वेतले श्वेत जातिको सरकारलाई दमनकारी भन्थे, श्वेतले पनि आफुलाई पृथक र उच्च ठान्थे । यस पृष्ठभुमिमा २७ बर्ष कठोर जेल जीवनबाट मुक्त भएका नेल्सन मण्डेला राष्ट्रिय एकता र मेलमिलाप चाहन्थे । राष्ट्रिय एकता र मेलमिलापका लागि उनले सबैभन्दा पहिले रग्बी खेल रोजे । किनकी रग्बी दक्षिण अफ्रिकामा उच्च वर्गको पहिचान र प्रतिष्ठासँग जोडिएको थियो । यसलाई अश्वेतहरु दमनको प्रतीकका रुपमा बुझ्थे ।
यसैबीच मण्डेलाले आह्वान गरे,‘यदि हामीले श्वेत(गोरा) समुदायको पहिचानलाई सम्मान गर्न सक्यौं भने उनीहरु पनि नयाँ राष्ट्र निर्माणमा सामेल हुनेछन् ।’
नभन्दै १९९५ मा दक्षिण अफ्रिकाले रग्बी विश्वकप आयोजना गर्दा मण्डेला स्वयंले राष्ट्रिय टोलीको जर्सी लगाएर स्टेडियम पुगे, आम दक्षिण अफ्रिकी जनतामा सन्देश दिए, ‘यो खेल सबै दक्षिण अफ्रिकीको हो ।’
मण्डेलाको यस कदमले गोरा र काला जातिबीच दुरी घटायो र राष्ट्रलाई एकताबद्ध बनायो । यही कारण रग्बी खेल अन्ततः दक्षिण अफ्रिकाको राष्ट्रिय एकता र मेलमिलापको प्रतीक बन्यो ।
विश्वप्रसिद्ध राजनीतिज्ञ मन्डेला भन्ने गर्थे, ‘खेलकुदले संसार बदल्ने
सामथ्र्य राख्छ, यसले मानिसलाई प्रेरणा दिन्छ । साथै मानिसहरुलाई त्यस्तो तरिकाले एकताबद्ध गर्छ, जुन अन्य केहीले गर्न सक्दैन ।’
जेन जी विद्रोह आवश्यक थियो या थिएन, यो अलग बहसको बिषय बन्ला । तथापि भदौ २३ र २४ मा भएको जेन—जी विद्रोह पछि नयाँ सरकार बनेको छ । सरकारले कुल मतदाताको आधाभन्दा बढ्ता हिस्साका ओगटेको त्यही युवा पुस्तालाई चाँडै छुन सक्ने युवा तथा खेलकुद मन्त्रालय दिन ढिलाइ गरिरहेको छ । अझ युवा पुस्तालाई मन्त्रीमण्डलमा समेट्न कन्जुस्याईं गरिरहेको जस्तो पनि देखिन्छ । फेरिपनि पुरानै अनुहारले शासन सत्तामा रजगज गर्ने छाँट देखिएको छ ।
यद्यपी, युवा पुस्ताकै प्रारम्भिक रुप जेनजी पुस्ता हो । जेन जी विद्रोह सामान्य पटक्कै हैन । इतिहासमा यस्तो विद्रोह कहिल्यै भएन । २७ घण्टाभित्र करिबकरिब देश नै कब्जा गर्ने विद्रोह सायद संसारमै बिरलै होला भन्ने लाग्छ ।
यो विद्रोह मात्र थिएन । हाम्रो स्कुलिङको उपज पनि हो । कसैका घर आगो लगाउने, बुवा आमासरहका व्यक्तिमाथि हातपात गर्ने हाम्रो शिक्षा कदापि हैन । डिजिटल प्रविधिको विकासक्रमसँगै जन्मिएको र हुर्किएको पुस्तालाई जेनजी भनिन्छ । इन्टरनेट, स्मार्टफोन र सोसल मिडियाको विकाससँगै हुर्किएको यो पुस्ताले गरेको हिंस्रक व्यवहारबाट यो पुस्ताको स्कुलिङ उजागर भएको छ ।
हजारौं मान्छेलाई रोजगारी दिएको भाटभटेनी लुटियो । विश्व प्रतिष्ठित चेन होटल हिल्टन जलाइयो । राष्ट्रिय सम्पदा जलाइए । केन्द्रदेखि जिल्लासम्मका कैयौं सार्वजनिक र व्यक्तिगत सम्पत्ति क्षणभरमै खरानी भए । खर्बौंको सम्पत्ति नष्ट गरियो । गोप्य दस्तावेजहरु खरानी बनाइयो । यस्तो इतिहासमा कहिल्यै भएन । यतिबेला देशकै जग हल्लिएको छ । अविश्वास बढ्दो छ । तत्काल नेपालमा लगानीको वातावरण बन्न गारो छ । किनकी विश्वास टुटेको छ । एकले अर्कोमाथि आशंका गर्नुपर्ने अवस्था बनेको छ । यो सबै हुनुमा धेरै कारक होलान् । तर, मसिनोसँग हेर्दा हामीले के गुमायौं ? सम्पदा, राष्ट्रिय सम्पत्ति, सिंहदरबारदेखि जिल्ला जिल्ला सम्मका खर्बौंका संरचना नष्ट भए । नेपाली राजनीतिको गर्विलो विरासत बोकेका कोइराला निवास, गणेशमान निवास, किशुनजी आश्रम पनि त्यही घानमा परे । यसले नै भन्छ, हामीले यो नयाँ पुस्तालाई कस्तो स्कुलिङमा हुर्कायौं ।
समग्रमा समिक्षा गर्ने बेला भएको छ । मुख्य कुरा स्कुलिङ हो । हामी हाम्रो नयाँ पुस्ता कस्तो बनाउने ?
हामीसँग स्कुलहरु असंख्य छन्, स्कुलिङ पटक्कै देखिएन । स्कुलका गगनचुम्बी भवन छन्, फराकिला मैदान छैनन् । शिक्षक छन्, अनुशासन नैतिकता पढाउने नगन्य छन् । शिक्षक गुरु भएनन्, जागिरे मात्र भए । बीजगणितको फर्मुला मात्र सिकाउने शिक्षककै उपज हो यस्तो विद्रोह भन्नेहरु पनि छन् ।
पन्चायतमा पनि चारपाते युवा क्लब, राजा तथा युवराजका नाममा क्लबहरु खोलेर समाजलाई एकताबद्ध राख्ने अभ्यास थियो । गाउँ गाउँमा क्लबहरु खोलिँदा गाउँलेले सुरक्षित अनुभुति गर्थे । साथी सर्कल फराकिलो हुने, हरेकमा आत्मीयता बढ्ने हुन्थ्यो । त्यसले पनि पनि लडाईं झगडा तोडफोडबाट टाढै राख्थ्यो । यो पुस्तासँग आत्मीयतासहितका साथीहरु औंलामा गन्न सकिने पनि भेटिदैनन् । यो पुस्ताको विद्रोहले हरेक परिवार र समग्रमा सिंगो समाज असुरक्षित महसुस गरिरहेको छ । यसका साइड इफेक्ट पक्कै निकट भविष्यमा देखिने नै छन् ।
तर हामीले अब खेलकुदको जागरण ल्याउन अपरिहार्य छ । अरबौंका स्टेडियम हैन, खेलकुदप्रति अभिरुची जगाउने अभियानहरु सन्चालन गर्न जरुरी छ । खुला मैदानको अवधारणा ल्याउन जरुरत छ । किनकी स्वस्थ नागरिकसँग सिर्जनशीलताको अपार सम्भावना हुन्छ । तसर्थ स्वस्थ नागरिक जन्माउने पहिलो काम हुनुपर्छ कुनै पनि राज्यको । स्वास्थ्यप्रति सजग नागरिकका लागि शिक्षा अर्को उच्च प्राथमिकता हुनुपर्छ । स्वस्थ नागरिकले शिक्षा र संस्कार पाउन सके देश बन्न बेर लाग्दैन । हरेक बालबालिकालाई देशको नियम कानुन, नैतिक शिक्षा, आचरण, बोली व्यवहार, इमानदारिता सानैदेखि सिकाउने शिक्षा हुनुपर्छ । यो सबै व्यवहारिक रुपमा पाउने भनेकै खेलकुद हो । खेलकुदमा अनुशासन छ, टिमवर्क छ, नियमको पालना गर्ने चलन छ । मेहनतमा विश्वास छ, नेतृत्वलाई मान्ने संस्कार छ, परिणाममुखी नेतृत्वप्रति विश्वास गर्ने संस्कृति छ । परिणाम दिने सवालमा कमजोर बन्दै जाँदा टिमबाट बिदा लिने, कप्तानले नेतृत्वबाट बिदा लिने गज्जबको सरल अभ्यास खेलकुदभित्रै छ । अझ, जित या सिक भन्ने सबैभन्दा ठुलो सन्देश छ । ससाना बालबालिकालाई यतिमात्र सिकाउन सकियो भने सुसंस्कृत समाज आफैं बन्छ ।
महान दार्शनिक अरिस्टोटलले पनि कतै भनेका छन्, ‘शिक्षा भनेको शरीर र मस्तिष्क दुवैको प्रशिक्षण हो ।’ जेनजी पुस्तालाई खेलकुदसँग गहिरो नाता जोड्न राज्य र नागरिक समाजका अगुवाले पहलकदमी लिए देश ट्रयाकमा फर्कन बेर लाग्दैन ।