२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

च्याउ दिवस : कृषि उद्यमशीलताको नयाँ उत्सव

shivam cement
२०८२ पुष १५ गते ०६:००
Shares
च्याउ दिवस : कृषि उद्यमशीलताको नयाँ उत्सव

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको बैठकले हरेक वर्ष पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेसँगै यस वर्ष पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाइँदै छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका सम्बन्धित निकायहरूले यस दिवसलाई विविध कार्यक्रमसहित विशेष महत्वका साथ एक उत्सवका रूपमा मनाउने तयारी गरेका छन् ।

नेपाल सरकारका सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले प्रेस मिटमार्फत सार्वजनिक गरेको यस निर्णयले च्याउ खेतीसँग आबद्ध किसान, उद्यमी र सरोकारवाला निकायमा उत्साह थपेको छ । यस दिवसलाई सफल बनाउन सम्बन्धित सबै निकाय सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता देखिन्छ । पछिल्लो समय नेपालमा च्याउ खेतीप्रति कृषकहरूको आकर्षण बढ्दो छ । सरकारको यो निर्णयले थुप्रै किसान, उद्यमी तथा युवा कृषकलाई प्रोत्साहन, राहत र जागरुकता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नेपालमा च्याउ खेतीको अवस्था

नेपालमा मुख्यतः गोब्रे, कन्य, पराली र सिताके (मिर्के) गरी चार प्रकारका च्याउ खेती हुँदै आएको छ । यद्यपि व्यवसायिक रूपमा कन्य च्याउ सबैभन्दा बढी र त्यसपछि गोब्रे च्याउ खेती हुने गरेको पाइन्छ । च्याउमा मानव शरीरलाई आवश्यक पर्ने १२ प्रकारका एमिनो एसिडमध्ये ९ प्रकार पाइन्छन् । सिताके च्याउ कलेजो रंगको खैरो हुन्छ, जसमा सेता थोप्ला देखिन्छन् । यसको तौल सामान्यतः १५० देखि २५० ग्रामसम्म हुन्छ । यसको उत्पादन सुरुमा चीनमा विकास गरिएको भए पनि जापानमा यसको व्यवसायिक विकास उल्लेखनीय रूपमा भएको छ । नेपालमा आधुनिक कृषिको औपचारिक सुरुवात १९०७ सालमा तत्कालीन राणा प्रधानमन्त्री श्री जंगबहादुर राणाले बेलायत र फ्रान्सबाट फलफूल, आलंकारिक बिरुवा, घाँसको बीउ तथा उन्नत जातका गाई भित्र्याएपछि भएको मानिन्छ ।

राष्ट्रिय च्याउ दिवस २०८२ का कार्यक्रम

राष्ट्रिय च्याउ दिवस २०८२ को अवसरमा च्याउ उत्पादन किसान संघ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा च्याउ मेला तथा च्याउबाट बन्ने परिकारको प्रदर्शनी आयोजना गरिँदैछ । मेलामा च्याउ खेती र यससँग सम्बन्धित नयाँ प्रविधिको प्रदर्शनसमेत गरिनेछ । पुस १५ गते बिहान १० बजेदेखि सुरु हुने यस महोत्सवमा नेपाल सरकारका विशिष्ट व्यक्तित्व, सरोकारवाला सरकारी निकाय, कृषि विज्ञ, किसान तथा आम नागरिकले प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । मेलामा प्रवेश निःशुल्क रहनेछ ।

च्याउको पोषण र स्वास्थ्य महत्व

च्याउ हरियो कण (क्लोरोफिल) नभएको ढुसी वर्गको वनस्पति हो । यो स्वादिष्ट तथा अत्यन्त पौष्टिक खाद्य पदार्थ हो । च्याउमा प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, भिटामिन, खनिज तथा करिब ९० प्रतिशत पानी पाइन्छ । च्याउले क्यान्सर, मुटुरोग जस्ता रोगबाट बचाउन सहयोग पु¥याउने मानिन्छ । यसको पौष्टिकता माछा–मासुभन्दा पनि बढी रहेको पाइन्छ । नियमित रूपमा च्याउ सेवन गर्दा कुपोषणबाट जोगिन सकिन्छ । गर्भवती तथा सुत्केरी महिलाका लागि पनि च्याउ अत्यन्त लाभदायक मानिन्छ ।

च्याउ खेती कम लगानीमा सजिलै गर्न सकिने भएकाले यसले किसानको आय वृद्धि र जीवनस्तर सुधारमा ठूलो योगदान दिन सक्छ । च्याउ खेतीका लागि मुख्यतया च्याउको बीउ र सफा धानको पराल आवश्यक पर्दछ । तर, सबै च्याउ खाद्य हुँदैनन् । विशेषगरी जङ्गली च्याउमध्ये कतिपय विषालु हुने भएकाले उपभोग गर्दा अत्यन्त सावधानी अपनाउन आवश्यक छ ।

कृषिमा नीति, युवा र उद्यमशीलता

च्याउ व्यवसायमा संलग्न किसानलाई बीउ, उपकरण तथा अन्य लागतमा सहुलियत ऋण उपलब्ध गराउन सरकारी तथा वित्तीय निकायबीच सहकार्य आवश्यक छ । सरकारले घोषणा गरेका दिवसहरू सार्थक बनाउन सेवा प्रवाहमा समेत सहजीकरण हुनुपर्दछ । देश संघीय संरचनामा प्रवेश गरेपछि कृषि विकास, बीमा पहुँच विस्तार र स्थानीय तहसम्म सेवा विस्तार गर्ने नीति कार्यान्वयनमा आएको छ । यद्यपि अझै पनि युवा वर्ग कृषिमा पर्याप्त आकर्षित हुन सकेको छैन । युवालाई कृषिमा आकर्षित गर्न संघ, प्रदेश र स्थानीय सरकारले ल्याएका अनुदान, सहुलियत ऋण र उद्यमशीलता कार्यक्रम सरल र प्रभावकारी रूपमा पहुँचमा पुर्‍याउन आवश्यक छ ।

कृषि, रोजगारी र समृद्धि

ग्रामीण क्षेत्रका अधिकांश नागरिक कृषिमा निर्भर छन् तर कृषिलाई अझै उद्योगको रूपमा विकास गर्न सकिएको छैन । कृषिलाई व्यवसायिक र किसानलाई उद्यमीका रूपमा स्थापित गर्न सकिए मात्र गाउँबाटै आर्थिक समृद्धिको आधार तयार हुन्छ । हाल ठूलो संख्यामा युवा न्यून पारिश्रमिकका लागि वैदेशिक रोजगारीमा जान बाध्य छन् । यदि स्वदेशमै कृषि उद्यमशीलता र रोजगारी सिर्जना गर्न सकियो भने यो पलायन कम गर्न सकिन्छ । शिक्षा प्रणालीलाई पनि व्यावहारिक, सीपमुखी र रोजगारीसँग जोडिनुपर्ने आवश्यकता देखिएको छ । विश्वविद्यालय तथा विद्यालयसँग रहेका खाली जमिनको उपयोग गरी कृषि उत्पादनमा युवालाई संलग्न गराउन सकिन्छ ।

निष्कर्ष

कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन, बजार सुनिश्चितता र वित्तीय सहजीकरण अपरिहार्य छ । राष्ट्रिय च्याउ दिवसजस्ता पहलहरूले कृषिलाई सम्मान, पहिचान र प्रोत्साहन दिन महत्वपूर्ण भूमिका खेल्न सक्छन् । सरकार, निजी क्षेत्र, किसान, युवा तथा सरोकारवाला सबैले हातेमालो गरेमा कृषिबाटै समृद्ध नेपाल निर्माण सम्भव छ ।

सम्बन्धित खबर