
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको बैठकले हरेक वर्ष पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेसँगै यस वर्ष पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाइँदै छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका सम्बन्धित निकायहरूले यस दिवसलाई विविध कार्यक्रमसहित विशेष महत्वका साथ एक उत्सवका रूपमा मनाउने तयारी गरेका छन् ।
नेपाल सरकारका सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले प्रेस मिटमार्फत सार्वजनिक गरेको यस निर्णयले च्याउ खेतीसँग आबद्ध किसान, उद्यमी र सरोकारवाला निकायमा उत्साह थपेको छ । यस दिवसलाई सफल बनाउन सम्बन्धित सबै निकाय सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता देखिन्छ । पछिल्लो समय नेपालमा च्याउ खेतीप्रति कृषकहरूको आकर्षण बढ्दो छ । सरकारको यो निर्णयले थुप्रै किसान, उद्यमी तथा युवा कृषकलाई प्रोत्साहन, राहत र जागरुकता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नेपालमा च्याउ खेतीको अवस्था
नेपालमा मुख्यतः गोब्रे, कन्य, पराली र सिताके (मिर्के) गरी चार प्रकारका च्याउ खेती हुँदै आएको छ । यद्यपि व्यवसायिक रूपमा कन्य च्याउ सबैभन्दा बढी र त्यसपछि गोब्रे च्याउ खेती हुने गरेको पाइन्छ । च्याउमा मानव शरीरलाई आवश्यक पर्ने १२ प्रकारका एमिनो एसिडमध्ये ९ प्रकार पाइन्छन् । सिताके च्याउ कलेजो रंगको खैरो हुन्छ, जसमा सेता थोप्ला देखिन्छन् । यसको तौल सामान्यतः १५० देखि २५० ग्रामसम्म हुन्छ । यसको उत्पादन सुरुमा चीनमा विकास गरिएको भए पनि जापानमा यसको व्यवसायिक विकास उल्लेखनीय रूपमा भएको छ । नेपालमा आधुनिक कृषिको औपचारिक सुरुवात १९०७ सालमा तत्कालीन राणा प्रधानमन्त्री श्री जंगबहादुर राणाले बेलायत र फ्रान्सबाट फलफूल, आलंकारिक बिरुवा, घाँसको बीउ तथा उन्नत जातका गाई भित्र्याएपछि भएको मानिन्छ ।
राष्ट्रिय च्याउ दिवस २०८२ का कार्यक्रम
राष्ट्रिय च्याउ दिवस २०८२ को अवसरमा च्याउ उत्पादन किसान संघ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा च्याउ मेला तथा च्याउबाट बन्ने परिकारको प्रदर्शनी आयोजना गरिँदैछ । मेलामा च्याउ खेती र यससँग सम्बन्धित नयाँ प्रविधिको प्रदर्शनसमेत गरिनेछ । पुस १५ गते बिहान १० बजेदेखि सुरु हुने यस महोत्सवमा नेपाल सरकारका विशिष्ट व्यक्तित्व, सरोकारवाला सरकारी निकाय, कृषि विज्ञ, किसान तथा आम नागरिकले प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । मेलामा प्रवेश निःशुल्क रहनेछ ।
च्याउको पोषण र स्वास्थ्य महत्व
च्याउ हरियो कण (क्लोरोफिल) नभएको ढुसी वर्गको वनस्पति हो । यो स्वादिष्ट तथा अत्यन्त पौष्टिक खाद्य पदार्थ हो । च्याउमा प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, भिटामिन, खनिज तथा करिब ९० प्रतिशत पानी पाइन्छ । च्याउले क्यान्सर, मुटुरोग जस्ता रोगबाट बचाउन सहयोग पु¥याउने मानिन्छ । यसको पौष्टिकता माछा–मासुभन्दा पनि बढी रहेको पाइन्छ । नियमित रूपमा च्याउ सेवन गर्दा कुपोषणबाट जोगिन सकिन्छ । गर्भवती तथा सुत्केरी महिलाका लागि पनि च्याउ अत्यन्त लाभदायक मानिन्छ ।
च्याउ खेती कम लगानीमा सजिलै गर्न सकिने भएकाले यसले किसानको आय वृद्धि र जीवनस्तर सुधारमा ठूलो योगदान दिन सक्छ । च्याउ खेतीका लागि मुख्यतया च्याउको बीउ र सफा धानको पराल आवश्यक पर्दछ । तर, सबै च्याउ खाद्य हुँदैनन् । विशेषगरी जङ्गली च्याउमध्ये कतिपय विषालु हुने भएकाले उपभोग गर्दा अत्यन्त सावधानी अपनाउन आवश्यक छ ।
कृषिमा नीति, युवा र उद्यमशीलता
च्याउ व्यवसायमा संलग्न किसानलाई बीउ, उपकरण तथा अन्य लागतमा सहुलियत ऋण उपलब्ध गराउन सरकारी तथा वित्तीय निकायबीच सहकार्य आवश्यक छ । सरकारले घोषणा गरेका दिवसहरू सार्थक बनाउन सेवा प्रवाहमा समेत सहजीकरण हुनुपर्दछ । देश संघीय संरचनामा प्रवेश गरेपछि कृषि विकास, बीमा पहुँच विस्तार र स्थानीय तहसम्म सेवा विस्तार गर्ने नीति कार्यान्वयनमा आएको छ । यद्यपि अझै पनि युवा वर्ग कृषिमा पर्याप्त आकर्षित हुन सकेको छैन । युवालाई कृषिमा आकर्षित गर्न संघ, प्रदेश र स्थानीय सरकारले ल्याएका अनुदान, सहुलियत ऋण र उद्यमशीलता कार्यक्रम सरल र प्रभावकारी रूपमा पहुँचमा पुर्याउन आवश्यक छ ।
कृषि, रोजगारी र समृद्धि
ग्रामीण क्षेत्रका अधिकांश नागरिक कृषिमा निर्भर छन् तर कृषिलाई अझै उद्योगको रूपमा विकास गर्न सकिएको छैन । कृषिलाई व्यवसायिक र किसानलाई उद्यमीका रूपमा स्थापित गर्न सकिए मात्र गाउँबाटै आर्थिक समृद्धिको आधार तयार हुन्छ । हाल ठूलो संख्यामा युवा न्यून पारिश्रमिकका लागि वैदेशिक रोजगारीमा जान बाध्य छन् । यदि स्वदेशमै कृषि उद्यमशीलता र रोजगारी सिर्जना गर्न सकियो भने यो पलायन कम गर्न सकिन्छ । शिक्षा प्रणालीलाई पनि व्यावहारिक, सीपमुखी र रोजगारीसँग जोडिनुपर्ने आवश्यकता देखिएको छ । विश्वविद्यालय तथा विद्यालयसँग रहेका खाली जमिनको उपयोग गरी कृषि उत्पादनमा युवालाई संलग्न गराउन सकिन्छ ।
निष्कर्ष
कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन, बजार सुनिश्चितता र वित्तीय सहजीकरण अपरिहार्य छ । राष्ट्रिय च्याउ दिवसजस्ता पहलहरूले कृषिलाई सम्मान, पहिचान र प्रोत्साहन दिन महत्वपूर्ण भूमिका खेल्न सक्छन् । सरकार, निजी क्षेत्र, किसान, युवा तथा सरोकारवाला सबैले हातेमालो गरेमा कृषिबाटै समृद्ध नेपाल निर्माण सम्भव छ ।