
विश्वमा नयाँ वर्ष मनाउने परम्परा देशअनुसार फरक–फरक पाइन्छ । यो परम्परा आ–आफ्नो संस्कृति, धर्म, जातजाति, भाषा, भेषभूषा तथा सामाजिक मान्यतामा आधारित हुन्छ । संसारभर मुख्यतः दुई प्रकारका पात्रो प्रचलनमा छन् । एक चन्द्रमासको आधारमा तिथि अनुसार पर्व र नयाँ वर्ष मनाइन्छ भने अर्को सौर्यमासको आधारमा निश्चित मितिमा नयाँ वर्ष मनाइन्छ ।
नेपालमा सौर्यमास अनुसार वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गरिन्छ । यद्यपि अन्य धेरै चाडपर्वहरू भने चन्द्रपात्रोअनुसार नै मनाइन्छन् । नयाँ वर्षको अवसरमा आफन्त, साथीभाइ तथा इष्टमित्रबीच सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना आदान–प्रदान गरिन्छ । यस दिनलाई नयाँ उत्साह, उमङ्ग, जोश र सकारात्मक ऊर्जाको प्रतीकका रूपमा लिइन्छ । मानिसहरू मीठा–मीठा परिकार खान्छन्, नयाँ लुगा लगाउँछन् र सरकारी कार्यालय तथा विभिन्न संघ–संस्थामा सार्वजनिक बिदा रहन्छ ।
विश्वका धेरै देशहरूमा भने जनवरी १ तारिखदेखि नयाँ वर्ष मनाउने परम्परा छ । हाम्रो छिमेकी देश भारतमा नयाँ वर्ष क्षेत्रअनुसार फरक शैलीमा मनाइन्छ । बंगालमा देवीदेवताको पूजा, रवीन्द्र सङ्गीत, नाचगान र उत्सव गरिन्छ । कुमाउ र गढवालमा पहेंलो लुगा लगाएर उपहार साटासाट गरिन्छ । राजस्थानमा मीठा परिकार बनाएर बाँड्ने चलन छ भने बिहारमा महिलाहरू जौका बालाहरू सजाएर गीत गाउँदै शुभकामना दिन्छन् । आसाममा शुभ वस्तु अवलोकन गरिन्छ, पञ्जाबमा गणेश र लक्ष्मीको पूजा गरिन्छ र काश्मीरमा शक्तिपीठमा पूजा तथा छोरीको घरमा गएर शुभकामना दिने परम्परा छ ।
चीनमा नयाँ वर्षको अघिल्लो रात मानिसहरू जागा बस्छन् । मान्यजनबाट आशीर्वाद लिई राम्रो भोजन ग्रहण गरी घर सफा गरेर पर्व मनाइन्छ । थाइल्यान्डमा घरआँगन सफा गरी दीपावली जस्तै उत्सव मनाइन्छ र बौद्ध गुम्बामा प्रार्थना गरिन्छ । कोरियामा तीन दिनसम्म सार्वजनिक बिदा दिइन्छ । यस अवसरमा चामलको रक्सी र रोटी खाने चलन छ, जसले आयु बढ्छ भन्ने विश्वास गरिन्छ ।
कुवेतमा रातभर दीपावली र नाचगान गरिन्छ । मेक्सिकोमा सामूहिक विवाह आयोजना गरिन्छ भने अमेरिकामा नयाँ वर्षको दिन अभिनन्दन समारोह गरिन्छ । जापानमा घर वरिपरि हरिया वृक्ष सजाइन्छ, शुद्ध जल प्रयोग गरिन्छ र ऋण तिर्ने परम्परा छ । बेलायतमा डिसेम्बर ३१ देखि घर–घरमा झिलिमिली बत्ती बालिन्छ । ठीक राति १२ बजे नयाँ वर्षको स्वागत गरिन्छ ।
फ्रान्समा यस दिनलाई ‘वासिली दिवस’ का रूपमा दीपावली गरी मनाइन्छ । म्यानमारमा भगवान बुद्धको पूजा गर्दै ‘विजान’ पर्व मनाइन्छ । आयरल्यान्डमा कालो वस्तुलाई शुभ मानिन्छ भने जर्मनीमा पानी भएको भाँडोमा सिक्का खसाली भविष्य अनुमान गरिन्छ । इन्डोनेसियामा नयाँ वर्षलाई ‘गालुङ्गन’ भनिन्छ । स्पेनमा कम्तीमा १२ वटा अङ्गुर खाने चलन छ ।
भेटिकन सिटीमा सेतो परेवा उडाइन्छ र चर्चमा केक काटिन्छ । स्कटल्याण्डमा अग्ला र कालो केश भएका व्यक्तिको घर प्रवेशलाई शुभ मानिन्छ । इरानमा ‘नौरोज’ पर्व जौ र गहुँका अङ्कुरसहित दीप प्रज्वलन गरेर मनाइन्छ । पोर्चुगलमा साँढे जुधाइ, धुनी बाल्ने र पटाका पड्काइन्छ । अफ्रिकाका केही देशमा सामूहिक विवाह गरिन्छ भने मंगोलियामा रातभर जागा बसेर मान्यजनबाट आशीर्वाद लिइन्छ ।
समग्रमा भन्नुपर्दा, विश्वका अधिकांश देशहरूमा पुस महिनाको दोस्रो सातादेखि जनवरी १ तारिखसम्म नयाँ वर्ष सुरु हुन्छ । नयाँ वर्षलाई संसारभर उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ । यस अवसरमा मानिसहरूले पुराना दुःख–पीडा बिर्सेर नयाँ आशा, विश्वास र संकल्पका साथ भविष्यतर्फ अघि बढ्ने चाहना व्यक्त गर्दछन् । नयाँ वर्ष सम्पूर्ण मानव समुदायका लागि कल्याण, शान्ति, सुस्वास्थ्य र प्रगतिको अवसर बनोस् भन्ने कामनासहित हामी सबैले यसलाई हृदयदेखि स्वागत गरौं । नयाँ वर्ष सबैका लागि प्रेरणादायी बनोस्—यही शुभेच्छा ।