२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

प्राविधिक शिक्षा र आत्मनिर्भर अर्थतन्त्र

shivam cement
रामप्रसाद पौडेल
२०८२ पुष १८ गते ०६:००
Shares
प्राविधिक शिक्षा र आत्मनिर्भर अर्थतन्त्र

नेपालको शिक्षा प्रणाली लामो समयसम्म केवल सैद्धान्तिक ज्ञानमा केन्द्रित रहँदै आएको छ । पाठ्यपुस्तकको ज्ञानले सोच्न त सिकाउँछ, तर जीवन चलाउन, समस्या समाधान गर्न र स्वावलम्बी बन्न आवश्यक सीप प्रदान गर्न सक्दैन । यसको परिणामस्वरूप शिक्षित बेरोजगारी बढ्दै गयो, युवाशक्ति रोजगारीको खोजीमा विदेशिन बाध्य भयो र राष्ट्रिय अर्थतन्त्रले अपेक्षित लाभ लिन सकेन । आजको युगमा आवश्यक छ– केवल पढ्ने शिक्षा होइन, गर्ने र सिर्जना गर्ने शिक्षा, जसले व्यक्तिलाई आत्मनिर्भर बनाउने र राष्ट्रलाई आर्थिक रूपमा सुदृढ बनाउने क्षमता राख्छ । यही आवश्यकता पूरा गर्ने प्रभावकारी माध्यम हो– प्राविधिक शिक्षा ।

२०४५ सालमा स्थापना भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) नेपालको प्राविधिक शिक्षा प्रणालीको मेरुदण्ड बनेको छ । यसको मूल उद्देश्य केवल दक्ष जनशक्ति उत्पादन गर्नु मात्र नभई रोजगारी सिर्जना गर्दै राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउनु हो । सिटिइभिटी अन्तर्गत सरकारी, सामुदायिक तथा निजी साझेदारीमा देशभर सयौँ प्राविधिक विद्यालय र तालिम केन्द्रहरू सञ्चालनमा छन् । स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि, होटल व्यवस्थापन, निर्माण तथा अटोमोबाइलजस्ता क्षेत्रमा सञ्चालन हुने कार्यक्रमहरूले युवाहरूलाई रोजगारीयोग्य र आत्मनिर्भर बनाउने सीप प्रदान गरेका छन् । यसले विदेशिन बाध्य युवाशक्तिलाई स्वदेशमै सीप प्रयोग गर्ने अवसर दिएको छ ।

सिटिइभिटीले समय र आवश्यकताअनुसार ३ महिनाका छोटो तालिमदेखि १८ महिनाको प्रि–डिप्लोमा र ३ वर्षे डिप्लोमा तहसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमहरूले विद्यार्थीलाई कम समयमा व्यवहारिक सीप हासिल गर्ने अवसर प्रदान गर्छन्, जसले छिटो रोजगारी वा स्वरोजगारीमा प्रवेश गर्न मद्दत पुर्‍याउँछ । नेपालमा विकास निर्माण, स्वास्थ्य सेवा, कृषि, उद्योग तथा साना–मझौला सेवा क्षेत्रमा दक्ष प्राविधिक जनशक्तिको अभाव अझै गम्भीर चुनौतीका रूपमा रहेको छ । प्राविधिक शिक्षा यही चुनौतीको समाधान र आर्थिक विकासको सशक्त उपकरण हो ।

स्वास्थ्य क्षेत्रका प्राविधिक कार्यक्रमहरू सबैभन्दा आकर्षक, भरपर्दा र रोजगारीमुखी मानिन्छन् । सिटिइभिटीले सञ्चालन गरेका स्टाफ नर्स, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, हेल्थ असिस्टेन्टजस्ता कार्यक्रमहरूले हजारौँ युवायुवतीलाई देशभित्रै रोजगारी तथा स्वरोजगारीको अवसर उपलब्ध गराएका छन् । सरकारी तथा निजी अस्पताल, स्वास्थ्य चौकी, क्लिनिक, डायग्नोस्टिक सेन्टर र मेडिकल पसलहरूको संख्या बढ्दै गएकाले दक्ष स्वास्थ्य जनशक्तिको माग निरन्तर बढिरहेको छ । स्टाफ नर्स र हेल्थ असिस्टेन्टहरू दुर्गमदेखि शहरी क्षेत्रसम्म अनिवार्य बन्दै गएका छन् । फार्मेसी अध्ययन गरेका युवाहरूले आफ्नै मेडिकल पसल सञ्चालन गरी आत्मनिर्भर बन्ने अवसर पाएका छन् भने मेडिकल ल्याब र रेडियोग्राफी प्राविधिकहरू अस्पताल तथा डायग्नोस्टिक सेन्टरहरूमा सहजै समाहित भएका छन् ।

विभिन्न तथ्यांकअनुसार स्वास्थ्य क्षेत्रका प्राविधिक कार्यक्रम पूरा गरेका करिब दुई तिहाइ विद्यार्थीहरू अध्ययनपछि छोटो समयमै रोजगारीमा संलग्न हुने गरेका छन्, जुन प्राविधिक शिक्षाको उल्लेखनीय उपलब्धि हो । प्राविधिक शिक्षा केवल रोजगारीको साधन मात्र होइन, रोजगारी सिर्जना गर्ने आधार पनि हो । सीपयुक्त युवाहरूले क्लिनिक, वर्कशप, कृषि फार्म, होटल, आईटी सेवा केन्द्र तथा निर्माणसम्बन्धी साना–मझौला उद्यम सञ्चालन गरी अरूलाई समेत रोजगारी दिन सक्छन् । यसले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ उन्मुख गर्न सहयोग पुर्‍याउँछ ।

स्वदेशमै सीप प्रयोग गर्दा श्रमको मूल्य देशमै रहन्छ, वैदेशिक निर्भरता घट्छ र कर राजस्व बढ्छ । यसले सरकारी विकास कार्यक्रमको लागत घटाउने र राष्ट्रिय अर्थतन्त्रको दिगोपना सुनिश्चित गर्ने कार्य गर्छ । त्यसैले प्राविधिक शिक्षालाई राष्ट्र निर्माणको आर्थिक मेरुदण्डका रूपमा विकास गर्न ढिलाइ गर्नु हुँदैन । जब युवाहरू स्वदेशमै दक्ष सीप प्रयोग गरी स्वरोजगारी र उद्यमशीलता अपनाउँछन्, तब मात्र राष्ट्रिय अर्थतन्त्र दिगो विकासको मार्गमा अघि बढ्छ । जलविद्युत्, सडक, भवन निर्माण, स्वास्थ्य र पर्यटनजस्ता क्षेत्रमा प्राविधिक जनशक्तिको अभावका कारण विकास प्रक्रिया सुस्त भइरहेको छ । प्राविधिक शिक्षा प्राप्त युवाशक्ति स्वदेशमै सक्रिय भएमा मात्र यी क्षेत्रमा उत्पादन वृद्धि, रोजगारी सिर्जना र अर्थतन्त्रको मजबुती सुनिश्चित हुन्छ ।

प्राविधिक शिक्षा आजको आवश्यकता मात्र होइन, भोलिको समृद्ध नेपालको आधार हो । सिटिइभिटीका छोटो, मध्यम तथा दीर्घकालीन कार्यक्रमहरूले दक्ष जनशक्ति उत्पादन गर्दै देशभित्रै रोजगारी र स्वरोजगारीका अवसरहरू सिर्जना गरिरहेका छन् । अब युवाहरूले विदेशमुखी सोचभन्दा पहिले स्वदेशमै सम्भावना खोज्ने दृष्टिकोण विकास गर्न आवश्यक छ । प्राविधिक शिक्षा केवल सीप आर्जनको माध्यम होइन; यो सम्मानित जीवन, आत्मनिर्भरता र राष्ट्र निर्माणको सशक्त आधार हो । यही माध्यमबाट मात्र नेपालले दिगो विकास र समृद्ध भविष्य सुनिश्चित गर्न सक्छ ।

देशको आर्थिक विकासका लागि आधुनिक सामूहिक कृषि प्रणाली, उद्योग, उद्यमशील संरचना तथा जल, जंगल र जडीबुटीको दिगो व्यवस्थापन अपरिहार्य छ । आयात घटाई स्थानीय उत्पादन प्रवद्र्धन गर्दा आत्मनिर्भरता बढ्छ । प्रविधि, दक्ष जनशक्ति र नवप्रवर्तनको संयोजनले दिगो आर्थिक वृद्धि, वातावरणीय संरक्षण र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउँछ । प्राविधिक शिक्षालाई दिगो आर्थिक आधारका रूपमा स्थापित गर्न मानव पूँजी विकासलाई केन्द्रमा राखी श्रम बजारसँग आबद्ध पाठ्यक्रम, उद्योग–शिक्षा एकीकरण, अनुसन्धान तथा नवप्रवर्तनमा सार्वजनिक लगानी, क्षेत्रीय समान पहुँच, सीप प्रमाणीकरण र उद्यमशीलता प्रवद्र्धनसम्बन्धी सुसंगत नीति आवश्यक छ । यसले उत्पादकत्व, प्रतिस्पर्धात्मकता र संरचनात्मक रूपान्तरणलाई सुदृढ बनाउँछ ।

सम्बन्धित खबर