
मौनताको सीमा नाघेपछि नै जेनजीहरूले देशमा आन्दोलन गरेका हुन् । चुनाव अघि ल्याउन मात्रै होइन, चुनावबाट देशको समस्या हल पनि हुँदैन । रोग पत्ता नलगाई औषधि गर्नुको अर्थ पनि केही हुँदैन । देशमा चुनावको भव्य तयारी हुँदैछ, मानौँ यो राजनीतिक उद्योगले देश समृद्ध हुन्छ । बाँकी उद्योगहरू त बन्दप्रायः नै छन् र त देशबाट सोहोरिँदै नेपालीहरू खाडी झर्दैछन् र बाकसबन्दीमा पनि धेरै परेका छन् । जेनजी विद्रोहपछि देश चुनावमा जाँदैछ तर जेनजीको चाहना चुनाव मात्रै थिएन, चुनावपछि देखिनु पर्ने अनुशासन पनि थियो । सायद यसैलाई सबैले सुशासन भन्लान् वा देशले लामो समय भ्रष्टाचारमुक्त प्रशासन र समावेशी समाज खोजेको होला । तर, देशमा व्याप्त भ्रष्टाचार मौलाउँदै आउँदा इतिहास नै मेटिने गरी आन्दोलनको जेहाद छेडिएको यो पहिलोपल्ट होइन, दशकैंपिच्छे छ ।
२०४७ सालको संविधान सायद नेपालीले बनाए होलान्, २०५२ पछि काम लागेन, २०६२ त धुजा नै भयो । अन्तरिम आयो, पूर्ण भनिएको संविधान २०७२, २०८२मा पुग्दा जुक्तिले जोगियो भनिएको छ । जोगाउनेहरू हामी नै हौँ कि अरू छन् स्पष्टै छ । नेपालमा रहेका चिनियाँ र अमेरिकी राजदूतहरू अहिले फिर्ता बोलाइएका छन्, सायद भाद्र २३ र २४ को आकलन तिनले गर्न सकेनन् । सहकारीका रवि धरौटीमा छुटेका छन् भने उनी र महानगर प्रमुखको रात्रि वार्तापछि शीतल निवासलगायत पुराना नेताहरू तातेका छन् अहिले, प्रतिशोधको खाग बाँकी छ होला त्यहाँ । राष्ट्रपति आफैँले शीतल निवासमा दलहरूलाई बोलाई वार्ता गर्नु अनि निर्दलीय प्रधानमन्त्री बाहिर गएपछि दलहरूसँग बसेर शीतल निवासले कुराकानी गर्नुलाई पनि विश्लेषकहरूले अर्थपूर्ण रूपमा लिएका छन् । जुक्तिले संविधान जोगाउन उनी नै लागिपरेका होलान् ।
अहिलेसम्म राष्ट्रपति दलकै भएका हुन्, पार्टीकै, गुटकै, उपगुटकै राजनीति चलिरहेको हो, २०४६ देखि नै सायद २०६२ पछि शीतल निवास पनि यही पाराले चलेको हो । नेपालीले शीतल निवास देशकै चाहेका हुन् । बालुवाटार र सिंहदरबार अनि शीतल निवासलगायत च्यासल, खुमलटार, बूढानीलकण्ठका दरबारहरू जल्नु पनि विद्रोह हो, यसको पराकाष्ठा हो, असन्तोष हो । यो बुझेर अब ती सबैले सत्तामोहमा नफर्किँदा राम्रो हुन्थ्यो । छन् विरासतका कोही भने आफन्त नयाँ अरू कसैलाई नेतृत्व दिँदा राम्रो हुन्थे होला, तर महाधिवेशनहरूले त्यो भनेका छैनन् । हुँकारको शैली यथावत् छ र संसद् पुनस्र्थापनाको मागमा प्रायः पुराना सबै एक ठाउँमा आएका छन् । उनीहरूलाई थाहा छ नयाँ अनुहार लिएर फागुन २१ मा मतदाताको निवास जाने अवस्था छैन । जेनजी आन्दोलन नेतृत्वप्रतिको विस्फोट थियो, मौनताको हद हुन्छ । देशबासीलाई रैती बनाउने दलहरूको विश्राम चाहेका छन् अहिले मतदाताहरूले ।
जनतामा सत्ताप्रतिको व्यापक असन्तोष छ । उपभोक्ताहित कहिल्यै भएन देशमा । संयन्त्रहरू सत्तामुखी र भत्तामुखी भए, खर्चिला भए, दोहन गर्न माहिर भए र त देशैभरि बेरुजु बढ्यो । संवैधानिक आयोगहरूले वार्षिक प्रतिवेदन तयार गरे, तर अनुगमन भएन । मानव अधिकार कुण्ठित भयो, शिक्षा र स्वास्थ्य क्षेत्र निरीह जस्तै भयो । पैसा कमाए, सेवा दिएनन् । सबैजसो झोले भए–दलकै र उद्यमी, व्यापारीहरूले आफ्नो धर्म कम, दल र नेताप्रतिको इमान्दारिता र वफादारिता बढी देखाए र निजी क्षेत्रका उद्यमी व्यवसायीहरूप्रति पनि लक्षित भयो भाद्रको आन्दोलन ।
सत्ताले जब अपराधीको संरक्षण गर्छ, त्यसको फल भोग्न तयार हुनुपर्छ । मतदानबाट मत बुझ्ने काम नभएपछि असन्तोष हुन्छ । आलोचना खप्न नसकेपछि हुने विद्रोह नै हो, फलतः सिंहदरबार समेत निशाना बन्यो । ऐतिहासिक सिंहदरबार बचाउन नसक्नेले देशको मुहार फेर्छु, मलाई भोट दिनूस् भन्दै घरआँगनीमा पुग्नु भनेको लाजको घुम्टो कति पनि बाँकी नरहनु नै हो । जब अन्याय बढ्छ देशमा, दरबार नै कारागार बन्न पुग्छ । नेता सुरक्षित, देश असुरक्षित, जनता असन्तोषी र असुरक्षित राख्यो हाम्रो लोकतन्त्रले । यसलाई लोभतन्त्र भन्नुपर्छ, भोकतन्त्र पनि । संसारमा एकै खालको लोकतन्त्र कहीँ टिकेको छैन । आदर्श यसको राम्रो थियो, प्रयोग ठीक भएन । व्यवहारमा लोकतन्त्र कहिल्यै कतै आएन । बरु संसद्मा ह्विपतन्त्र आयो । टेबल ढ्यापढ्याप पारियो, के पारित भयो निद्रामा कसैले पत्तो पाएन । देश निरपेक्ष मात्रै भएन, सीमा कता छ थाहै भएन । असंलग्नताको नीति कता गयो त्यो पनि थाहा भएन । विदेशीहरूले देशलाई बगैँचा बनाए, गोडमेल गर्न सकेनन् । लोकतन्त्र माटो सुहाउँदो हुन जरुरी छ ।
‘माओ’ नाम भजाउनेहरू नै अब आफूले नाम बदलिसकेका छन्, नेपाली राखेका छन् यतिबेला । राख्नुपर्ने थियो वाउन्नअघि नै । देश थंगथिलो पार्नेहरूलाई इतिहासले धिक्कार्ने छ । कति सुन्दर देश कति कुरूप भइसकेको छ अझै हेक्का भएन । पश्चाताप छैन, आत्मग्लानि छैन, पछुतो छैन । जनतालाई हामीले ढाँटेका थियौँ, अब राम्रो गर्छौँ, एकपल्ट–दुईपल्टका लागि माफ गर्नूस्– यो भन्नुपर्ने थियो तर छैन । अझै पुरानाहरू एकजुट हुन खोजिरहेका छन्, विरोधीहरूलाई मास्नका लागि । अब सबै नयाँहरू मिलेर पुरानालाई बढार्नु पर्ने बेला आएको छ । सत्ताले प्रतिपक्षी नै राखेन । मिलीजुली रापिलो भयो, ऋण बोकायो, व्यापारघाटा बढायो, उत्पादन घटायो, कृषियोग्य जमिन भूमाफियाहरूको कब्जामा लग्यो, नयाँ पुस्तालाई विप्रेषणको लोभमा खाडी धकेल्यो, चलेका उद्योग–कलकारखाना बिक्री गर्यो, सार्वजनिक जग्गा, भवन अतिक्रमण गर्यो, बागमती लगायतका नदी–नालाहरू प्रदूषित बनायो, जल–जंगलप्रतिको मोह नै देखाएन, महँगी चरम सीमामा लग्यो । अहिले विदेशी मुद्रा डलरको भाउ तीव्र वृद्धिले नेपाली मुद्रा इतिहासमै ठूलो अवमूल्यन भएको छ । निकासीयोग्य आफ्नै सामान भएको भए यसमा सन्तुलन मिलाउन सकिन्थ्यो तर उत्पादन छैन, केवल व्यापार, त्यो पनि आयात व्यापार छ र त दिनदिनै नेपालीहरूको क्रयशक्ति घटिरहेको छ, बेरोजगारी दर बढिरहेको छ ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका विफलताको संकेत हो– भाद्रको आन्दोलन । सबैजसो ठूला राजनीतिकर्मीहरूप्रतिको आक्रमण भनेको तीप्रतिको अविश्वास हो । यो केवल भौतिक आक्रमण मात्रै नभएर तीप्रतिको विदाइको झलक नै हो । अब त्यस्तो आन्दोलन हुन नदिन यी सबैप्रति व्यक्ति र संस्थाप्रति पुनर्विचार गर्नुपर्छ र विदा गरिनुपर्छ । संयन्त्रहरूलाई चोखो राख्न कर्म पनि तिनको चोखो हुन जरुरी छ ।