
खाडीमा ब्लु–कलरअन्तर्गतका रोजगारीमा जाने प्रायः विदेशी कामदार अभागी मानिन्छन् । मध्यपूर्व अर्थात् खाडी मुलुकमा विशेषगरी निर्माण (कन्स्ट्रक्सन), तेल र ग्यास, इलेक्ट्रिसियन, प्लम्बर, सेक्युरिटी गार्ड, वेल्डर, सवारी चालक र मेकानिक्सजस्ता न्यून तलब–सुविधा, उच्च स्वास्थ्य जोखिम र अत्यधिक गर्मीको अवस्थामा काम गर्नुपर्ने रोजगारी भएकाले आर्थिक तथा सामाजिक प्रगति हुँदैन भन्ने मान्यता छ ।
तर पोखरा महानगरपालिका–३३ बाघमाराका सेक्युरिटी गार्डको रोजगारीका लागि करिब दुई दशकअघि कुवेत गएका होमनाथ गिरीको अवस्था भने अत्यन्तै फरक छ । सामान्य सुरक्षा गार्डको हैसियतमा कुवेत पुगेका उनले दुई दशकको कडा मिहिनेत र परिश्रमले जीवनलाई सार्थक मात्र बनाएका छैनन्, कुवेतमा रहेका १ लाख ६० हजार नेपाली र कतिपय कुवेती सरकारी निकायबीच सम्मानित व्यक्तित्वको गर्विलो परिचय बनाएका छन् । कतिपय अवस्थामा उनी संकटमोचकको भूमिकामा देखिने गरेका छन् । दुःखमा परेका नेपाली दाजुभाइको सहयोगमा होमनाथले फुकाउने मुठी अरूका लागि अनुकरणीय रहेको छ ।
कास्कीमा खेतीपाती तथा पशुपालनजस्ता पुस्तौंनी पेसाले जीवन सहज थिएन । आन्तरिक रोजगारीको अभाव, रोजगारी पाइहाले पनि परिवारको गुजारा नचल्ने तलब आदिका कारण बुबा परिवार पाल्न र आर्थिक अवस्थामा केही भरथेग गर्न सामान्य रोजगारीमा साउदी अरेबिया गएका थिए । निम्न वर्गीय ग्रामीण परिवेशमा हुर्किएका होमनाथले बाल्यकालमै गरुंगो जिम्मेवारी निर्वाह गर्दै माध्यमिक तहको शिक्षाको अन्तिम खुड्किलो ‘एसएलसी’ उत्तीर्ण गरे । पोखरामा पत्रपत्रिकाको हकरको काम गर्दै पढाइलाई अगाडि बढाएका थिए । त्यसअघि नै बुबा खाडी मुलुक साउदी अरेबिया गएका थिए ।

‘एसएलसी’ उत्तीर्ण भएको उमंग होमनाथमा थियो । तर आर्थिक अवस्था कमजोर भएपछि उच्च शिक्षा अध्ययनका लागि कडा संघर्षको चुनौतीपूर्ण बाटो समाउनुको विकल्प थिएन । उनले साउदीमा रहेका बुबालाई घर फर्काए अनि उच्च शिक्षा र रोजगारीको सम्भावना खोज्दै काठमाडौं प्रवेश गरे ।
काठमाडौंमा प्रारम्भिक दिनहरू खासै सहज थिएनन् । केही समय आफन्तकहाँ बसे । सधैंभरि आफन्तको आश्रय भरपर्दो थिएन, चाँडै उनले आत्मनिर्भर बन्ने निर्णय गरे । उनले घरघरमा जार बोकेर पानी पुर्याउने, ग्यास सिलिन्डर तथा अन्य सामग्री डेलिभरी गर्नेजस्ता शारीरिक श्रमका काम गर्न थाले । दुई वर्षसम्म निरन्तर त्यही काम गर्दै घरखर्च धाने । तर धेरै आम्दानी नहुँदा पेट पाल्न पुगे पनि पर्याप्त भएन ।
त्यसपछि उनी विदेश जाने सपना पूरा गर्ने योजनामा थिए । एक दिन उनले कुवेतमा सेक्युरिटी कम्पनीमार्फत रोजगारीको अवसर खुलेको दैनिक पत्रिकामा एउटा विज्ञापन देखे । तर ‘५२ किलो मात्र तौल भएको शरीरले सुरक्षा गार्डको काम गर्न सक्ला कि नसक्ला’ भन्ने चिन्ताले उनलाई रातभर सतायो । तर ‘तँ आँट, म पुर्याउँछु’ भनेझैं उनी अन्तर्वार्तामा सफल भए । १९ वर्षको कलिलो उमेरमै उनलाई अल–अमाना सेक्युरिटी कम्पनीमा सामान्य सुरक्षा गार्डका रूपमा नियुक्ति मिल्यो ।
सन् २००४ मा उनको तलब करिब २४ हजार नेपाली रुपैयाँ थियो । २० वर्षअगाडिको २४ हजार आकर्षक नै मानिन्थ्यो । यहीँबाट सुरु भयो, उनको सफल जीवनयात्रा । संघर्षका अनेकौं घुम्ती छिचोल्दै हाल कतिपयका लागि इष्र्या र कतिपयका लागि अनुकरणीय बनेको छ होमनाथको जीवनकथा ।

भिजिट भिसामा कुवेत पुगेका उनले त्यतिबेला नै १ लाख ८० हजार रुपैयाँ तिरे । सयकडा ५ रुपैयाँ ब्याजमा लिएको ऋण उनले अहिलेसम्म भुलेका छैनन् । कुवेत पुगेपछि मात्रै वर्किङ भिसा पाएका होमनाथले आफ्नो दक्षता, लगनशीलता र इमानदारिताको बलमा कम्पनीभित्रै प्रगति गरे, जसले उनलाई कम्पनीको उच्च तह मानिने व्यवस्थापन तहसम्म पुर्यायो । हाल असिस्टेन्ट म्यानेजिङ डाइरेक्टर पदमा कार्यरत उनका मातहत १ हजार ५ सयभन्दा बढी नेपालीसहित करिब ४ हजार ५ सय कर्मचारी कार्यरत छन् ।
कुवेत आएर आजको स्थानसम्म पुग्नु पक्कै पनि सहज यात्राको परिणाम होइन । सुरुका दिनहरू निकै कठिन थिए । नयाँ देश, नयाँ भाषा, फरक कामको वातावरण र परिवारबाट टाढाको पीडा, यी सबैले कहिलेकाहीँ आफैंलाई कमजोर महसुस गराउँथ्यो । त्यस्तो समयमा गिरीलाई अघि बढाइराख्ने मुख्य शक्ति भनेको ‘आज होइन भने भोलि, तर हार मान्दिनँ’ भन्ने आत्मविश्वास थियो । ‘म सधैं आफ्ना संघर्षलाई अस्थायी ठान्थें र लक्ष्यलाई दीर्घकालीन बनाएँ । सानो उपलब्धिमा खुसी हुने, गल्तीबाट सिक्ने र आफूभन्दा अघि बढेका मानिसको अनुभव सुन्ने बानीले मलाई उत्प्रेरित गरिरह्यो,’ उनी सुनाउँछन् ।

वैदेशिक रोजगारीका क्रममा धेरै चुनौती सामना गर्नुपर्छ । उनलाई पनि सुरुमा कामको प्रकृति, कार्यसंस्कृति र समयको कठोरता ठुलो चुनौती थियो । कहिलेकाहीँ सम्झौताभन्दा फरक कामको जिम्मेवारी, तलबमा ढिलाइ, मानसिक दबाब र आप्रवासीको हैसियतले हुने व्यवहार पनि भोग्नुपर्यो । तर उनले ती चुनौतीलाई समस्याभन्दा सिकाइको अवसर ठाने । उनी भन्छन्, ‘समयसँगै सिप, अनुशासन र व्यवस्थापन क्षमतामा सुधार गर्दै गएपछि अहिले हायर म्यानेजमेन्ट तहमा पुग्न सकेको हुँ ।’
कुवेतमा वैधानिक अवस्था र अवैधानिक रूपमा ठुलो संख्यामा नेपाली छन् । होमनाथको बुझाइमा नेपाली कामदारको सबल पक्ष भनेको मिहिनेत, सहनशीलता र छिटो सिक्ने क्षमता हो । कठिन काममा पनि नआत्तिने, जिम्मेवारी पूरा गर्ने र इमानदार भएर काम गर्ने गुणले नेपाली कामदार विश्वभर चिनिएका छन् । तर कमजोरी पक्षतर्फ हेर्दा भाषा ज्ञानको कमी, कानुनी तथा श्रम सम्झौताबारे पूर्ण जानकारी नहुनु, आपसी एकताको अभाव र कहिलेकाहीँ भावनामा बगेर गलत निर्णय लिनु देखिन्छ ।
कामदारले तत्काल सुधार गर्नुपर्ने मुख्य पक्ष भनेको आफ्नो अधिकार र कर्तव्यबारे स्पष्ट जानकारी लिनु रहेको उनको थप बुझाइ छ । काम सुरु गर्नुअघि सम्झौता राम्रोसँग बुझ्ने, अनावश्यक विवादमा नपर्ने, समयपालन र व्यावसायिक व्यवहारमा ध्यान दिने बानी अत्यन्त आवश्यक रहेको उनी बताउँछन् । साथै, सिप विकास र भाषा सिकाइमा लगानी गर्न सके भविष्य अझ सुरक्षित र उज्यालो बन्ने उनको सुझाव छ ।

होमनाथ नेपाल सरकारका वैदेशिक रोजगार नीतिबारे पनि जानकार छन् । उनले नेपाल सरकारको श्रम आप्रवासी नीति सुधारोन्मुख रहेको तर अझ प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताए । कागजमा राम्रो नीति भए पनि व्यवहारमा छिटो सेवा, पारदर्शिता र कामदारमैत्री प्रणाली अझै मजबुत हुनुपर्छ । गन्तव्य देशसँग द्विपक्षीय सम्झौता बलियो बनाउनु र कामदारको सुरक्षा पहिलो प्राथमिकतामा राख्न जरुरी रहेको उनी बताउँछन् ।

उनले नेपाली कामदारप्रति कुवेतस्थित नेपाली दूतावासको अभिभावकीय भूमिका पछिल्ला वर्षमा सुधार भएको भन्दै आशा गर्ने अभिभावक ठान्ने अवस्था रहेको बताए । समस्या पर्दा सहयोग गर्ने प्रयास भइरहेका छन् तर जनशक्ति र स्रोतको सीमाका कारण सबै समस्यामा तुरुन्त पुग्न सक्ने अवस्था छैन । दूतावास, समुदाय र संस्थाबीच सहकार्य बढेमा यो भूमिका अझ प्रभावकारी बन्न सक्ने उनी बताउँछन् ।
भविष्यमा कुवेतको रोजगारीका उज्याला पाटा पनि प्रशस्त रहेको होमनाथले बताए । उनका अनुसार, पूर्वाधार विकास, सेवा क्षेत्र, प्राविधिक तथा व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दो छ । सिपयुक्त, अनुशासित र कानुन पालना गर्ने नेपाली कामदारका लागि कुवेत अझै भरोसायोग्य गन्तव्य रहिरहने देखिन्छ ।

वैदेशिक रोजगारी केवल कमाइको माध्यम मात्र नभई आत्मविकासको यात्रा पनि भएको होमनाथको निचोड छ । सही सोच, निरन्तर मिहिनेत र सामाजिक जिम्मेवारीसँगै अघि बढ्न सके हरेक संघर्ष अन्ततः सफलतामा रूपान्तरण हुन्छ भन्ने आफ्नै अनुभवले सिकाएको उनी बताउँछन् ।
कुवेतमा रोजगारी र व्यवसायसँगै सामाजिक सेवामा पनि क्रियाशील छन् होमनाथ । कुवेतमा समस्यामा परेका कतिपय नेपालीलाई उद्धार पनि गरेका छन् । कुवेतस्थित नेपाली दूतावासले अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न कुवेतमा रहेका विभिन्न सामाजिक संघसंस्था र व्यक्तित्वलाई गुहार्ने गर्छ । होमनाथ दूतावासले सम्झने थोरै व्यक्तित्वहरूमध्ये अग्रपंक्तिमा पर्दछन् ।
गैरआवासीय अभियानमा समेत क्रियाशील होमनाथ गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय सदस्य पनि हुन् । उनी विभिन्न सामाजिक संघसंस्थाबाट सम्मानित पनि भइसकेका छन् ।