
वि.सं. २०२२ सालदेखि सुरु भएको नेपाली चलचित्र उद्योगले ६० वर्ष पूरा गरेको छ । हलिउड र बलिउडको तुलनामा उमेरले कान्छो भए पनि यी ६ दशक नेपाली चलचित्रका लागि निरन्तर आरोह–अवरोहका साक्षी बनेका छन् ।
पहिलो नेपाली चलचित्र आमा मा नायक शिवशंकर मानन्धर र नायिका भुवन चन्दबाट सुरु भएको यात्राले शिव श्रेष्ठ, भुवन केसी हुँदै महानायक राजेश हमालसम्मको युग देख्यो । अहिले यो यात्राले अनमोल केसी, पल शाहलगायत नयाँ पुस्ताका स्टारसम्म आइपुगेको छ । यस क्रममा नेपाली चलचित्रको बजार, कलाकारको हैसियत, निर्माण शैली र दर्शकसँगको सम्बन्धमा गहिरो परिवर्तन आएको छ ।
निर्माण संस्कृति
सुरुवाती चरणका चलचित्रमा लगानी कति हुन्थ्यो, कलाकार कसरी अनुबन्ध हुन्थे, पोस्ट–प्रोडक्सन कसरी हुन्थ्यो र चलचित्र हलमा कसरी प्रदर्शन गरिन्थ्यो– यी सबै पक्ष आजको समयसँग तुलना गर्दा बिल्कुलै फरक देखिन्छन् ।
६० को दशकसम्म पनि दर्पण छायाँ जस्तो सुपरहिट चलचित्र हलमा प्रदर्शन भइसकेको खबर नायक दिलिप रायमाझीले अर्को चलचित्रको छायांकनकै क्रममा मात्र थाहा पाएको उदाहरण यसैको प्रमाण हो ।
तर अहिले अवस्था पूरै बदलिएको छ । चलचित्र प्रदर्शन हुनुभन्दा महिनौँ अघिदेखि कलाकारहरू निर्माण टिमसँगै प्रचारमा होमिन्छन् । देश दौडाहामा निस्केर पत्रकार सम्मेलन, अन्तर्वार्ता, कार्यक्रम र भेटघाटमार्फत आफ्ना चलचित्रबारे दर्शकलाई जानकारी गराउँछन् ।
चलचित्र प्रदर्शनपछि पनि कलाकारहरू प्रायः दैनिकजसो हल पुगेर दर्शकको प्रतिक्रिया लिन्छन्, सफलतामा खुसी साट्छन् र प्रत्येक दिनको कलेक्सनबारे अपडेट लिन्छन् । सुरुकै दिनदेखि चलचित्र कुन दिशातर्फ जाँदैछ भन्ने उनीहरूलाई थाहा हुन्छ ।
यसले एक दशकअघिसम्मको चलचित्रकर्मी–कलाकारबीचको जिम्मेवारी, चासो र सहभागितामा आएको ठुलो अन्तर स्पष्ट देखाउँछ ।
कलाकार अनुबन्धको कथा
हिजो कलाकारलाई चलचित्रमा अनुबन्ध गराउने शैली र आजको प्रक्रियाबीच आकाश–जमिनको फरक छ । चलचित्र माइतीघर मा सी.पी. लोहनीले निर्माताको करकापमा अभिनय गर्नुपरेको कथा प्रख्यात छ । आजकी सदाबहार नायिका करिश्मा केसी पनि सुरुमा चलचित्रमा आउन इच्छुक थिइनन् । ‘तिमी राम्री छौ, चलचित्रमा काम गर’ भन्ने आफन्तको दबाबमा राजेश हमालको घरसम्म पुगेर उनी अभिनयको दोधारमा थिइन् ।
नेपालकी पहिलो नायिका भुवन चन्द पनि नायिका बन्ने स्पष्ट तयारीसहित यो क्षेत्रमा प्रवेश गरेकी थिइनन् ।
तर आज अवस्था बिल्कुल फरक छ । नयाँ प्रतिभाहरू अडिसनका लागि लाइन लाग्छन् । चलचित्रसम्बन्धी औपचारिक अध्ययन गरेर सपना बोकेका सयौँ कलाकारहरू उत्सुकतापूर्वक अडिसनको प्रतीक्षा गर्छन् । नाम चलेका निर्देशक, निर्माता वा ठूला ब्यानरका चलचित्रमा त झनै अनुबन्धित हुन कलाकारहरू लालायित हुन्छन् ।
कतिपय स्थापित कलाकारहरू समेत कथावस्तुको मागअनुसार अडिसन दिएर भूमिका पाउन हिच्किचाउँदैनन् । चलचित्र घोषणा, कलाकार छनोटदेखि निर्माणका हरेक गतिविधि नै आज प्रचारप्रसारको हिस्सा बन्न पुगेका छन् ।
रिक्साको माइकिङदेखि हल–हलमा कलाकार
चलचित्र प्रचारप्रसारको शैली हिजो र आजबीच सबैभन्दा धेरै परिवर्तन भएको क्षेत्र हो । हिजो चलचित्र प्रदर्शनपूर्व रिक्सामा वा टेम्पोमा माइकिङ गर्दै कलाकार, गीत, स्वर र हलको समयबारे जानकारी दिइन्थ्यो । रिक्सामा गीत घन्काउँदै बजार परिक्रमा गरिन्थ्यो, ताकि कोही दर्शक छुट्न नपाओस् ।
रिक्सामा टाँसिएका पोस्टरमा कलाकारको ठुलो फोटो देख्दा नै दर्शकलाई कलाकार भेटेजस्तो लाग्थ्यो । कुनै कलाकार हलमै देखिएमा मानिसहरूलाई पत्याउन गाह्रो हुन्थ्यो– मानौं कलाकार पर्दामै मात्र देखिने प्राणी हुन् ।
आज परिस्थिति उल्टिएको छ । चलचित्र प्रदर्शनका बेला कलाकार हल पुग्नु अनिवार्यजस्तै बनेको छ । कुन दिन कुन हलमा आउने भनेर अग्रिम सूचना दिइन्छ, ‘सँगै बसेर चलचित्र हेरौँ’ भन्ने आह्वान गरिन्छ ।
यदि कुनै कलाकार हलमा नपुगे समाचार बन्छ– निर्माता, निर्देशक र कलाकारबीच सम्बन्ध बिग्रिएको त होइन ? प्रचारमा किन आएनन् ?
यस क्रममा दर्शक र कलाकारबीचको भावनात्मक भेट रोचक पनि छ– कोही खुसीले रुन्छन्, कोही अंगालो हाल्छन्, कोही चुम्बनसम्म गर्न भ्याउँछन् ।
तर यसको पनि सीमा हुनुपर्छ । कलाकार कुन सोमा जाने, कति पटक जाने भन्ने विषय सोचनीय छ । किनकि भोलि कलाकार हल नआए चलचित्र नै नहेर्ने प्रवृत्ति विकास भए भने त्यसको असर दीर्घकालीन हुन सक्छ ।
पर्दामा मात्र देखेर कल्पनामा राख्न चाहिने कलाकारलाई पटक–पटक नजिकबाट देख्दा कलाकारको ‘स्टार भ्यालु’ कति रहला ?
यसको एउटा उदाहरण पिताम्बर चलचित्र प्रदर्शनका क्रममा देखियो । हलभित्रै मिडियाले प्रतिक्रिया सोध्दा दर्शकले गोपनीयता भंग भएको भन्दै क्यामेरा ल्याएकोमा विरोध गरे । यसले प्रचारप्रसारको शैली कति संवेदनशील बन्दै गएको छ भन्ने देखाउँछ ।
पोस्टरबाट सामाजिक सञ्जालसम्म
आज हिजोजस्तो जथाभावी पोस्टर टाँस्न पाइँदैन । काठमाडौं महानगरपालिकाले निश्चित स्थानबाहेक पोस्टर टाँस्न अनुमति दिँदैन । कतिपय ठाउँमा डिजिटल पोस्टर मात्र स्वीकृत छन् ।
हिजो रेडियो र टेलिभिजनमा गीत–ट्रेलर बजेर प्रचार हुन्थ्यो । काउन्टडाउनमा गीतको स्थान र मागका आधारमा चलचित्रको ‘हाइप’ आकलन गरिन्थ्यो ।
आज रेडियो–टेलिभिजनको भूमिका घटेको छ । सामाजिक सञ्जाल नै मुख्य माध्यम बनेको छ । कन्टेन्ट बुस्ट गरेर भ्युज र प्रतिक्रियाका आधारमा चलचित्रको चर्चा मापन गरिन्छ– अर्गानिक होस् वा पेड ।
गीत, टिजर र ट्रेलर टिकटक र रिल्समार्फत व्यापक प्रचार गरिन्छ । राम्रा फलोअर्स भएका टिकटकरलाई पारिश्रमिक दिएर समेत प्रचार गराउने चलन बढेको छ ।
टिकट आफैं किन्ने नयाँ अभ्यास
अहिले प्रचारप्रसारको चरम रूप भनेको निर्माताले आफैं लाखौंको टिकट किनेर अग्रिम बुकिङ ‘हाउसफुल’ देखाउने अभ्यास हो ।
सबैले खुला रूपमा नबोले पनि कतिपय निर्माताले यसलाई प्रचार रणनीति मानेर स्वीकार गरिसकेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले सार्वजनिक रूपमा यो अभ्यास स्वीकार्नु यसको उदाहरण हो ।
यो कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा समयले बताउला । तर अहिले एउटा कुरा स्पष्ट छ—पोस्टर, ब्यानर, होर्डिङ बोर्ड, हल ट्रेलर, सामाजिक सञ्जाल र टिकट खरिदसम्म गर्दा प्रचारमै करिब एक करोड रुपैयाँ छुट्याउनुपर्ने अवस्था आएको छ ।
त्यसअनुसार बजार छ कि छैन भन्ने गम्भीर आत्ममूल्यांकन आजका निर्माताका लागि अनिवार्य भइसकेको छ ।
लगानी र यथार्थको सन्तुलन
रिक्सामा गीत घन्काएर सुरु भएको प्रचार यात्रा आफैं टिकट किन्ने चरणमा आइपुगेको छ । तर ‘पूर्ण बहादुरको सारङ्गी’ले ५० करोड रुपैयाँ नजिकको व्यापार ग¥यो भन्दैमा सबै चलचित्रले त्यति कमाउन सक्दैनन् ।
यदि भोलि दर्शकले ‘टिकट त फ्रिमै पाइन्छ’ भनेर किन्न छोडे भने चलचित्र उद्योगको अवस्था के होला भन्ने प्रश्न पनि उत्तिकै गम्भीर छ ।
नेपाली चलचित्रका दर्शक कति छन्, त्यसको अनुपातमा लगानी कति हुनुपर्छ भन्ने सोच अपरिहार्य भइसकेको छ ।
२ करोडमा बनेको चलचित्रले लगानी सुरक्षित गर्न कम्तीमा ५ करोडमाथि व्यापार गर्नुपर्छ । वार्षिक रूपमा कति चलचित्रले त्यो सीमा पार गर्छन् भन्ने तथ्य बक्स अफिस रिपोर्टले देखाइसकेको छ ।
यसर्थ अब प्रश्न लगानी बढाउने कि घटाउने होइन—विषयवस्तु बलियो बनाउँदै, लगानी सन्तुलित राख्ने सोचतर्फ नेपाली चलचित्र उद्योग अघि बढ्ने कि नबढ्ने भन्ने हो ।
(लेखक चलचित्र लेखक, निर्देशक तथा केन्द्रीय चलचित्र जाँच समितिका निवर्तमान सदस्य हुन् ।)