
शास्त्रीय समाजवादको मूल मान्यता उत्पादनका साधनहरूमाथि मजदुर, किसान र श्रमिक वर्गको सामूहिक स्वामित्व स्थापना गर्नु हो । यही स्वामित्वमार्फत वर्गविहीन समाजको आधार तयार हुन्छ र शोषणको अन्त्य सम्भव हुन्छ भन्ने मार्क्सवादी सिद्धान्तको केन्द्रीय निष्कर्ष हो । तर व्यवहारमा समाजवादी क्रान्तिपछि राज्यसत्ता कसरी सञ्चालन गरिन्छ, उत्पादनका साधनहरू कसरी रूपान्तरण गरिन्छन् र संक्रमणकालीन चरणलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने प्रश्नहरू सधैँ जटिल रहँदै आएका छन् । रुसी क्रान्तिपछिको अनुभवले यही जटिलतालाई स्पष्ट रूपमा उजागर गर्छ ।
रुसमा लागू गरिएको आर्थिक र राजनीतिक प्रणालीलाई धेरैले शास्त्रीय अर्थमा समाजवादभन्दा पनि राज्य–नियन्त्रित पुँजीवादको रूपमा विश्लेषण गर्छन् । उत्पादनका मुख्य साधनहरू राज्यको नियन्त्रणमा गएका थिए, तर ती साधनहरूमाथि प्रत्यक्ष रूपमा मजदुर–किसानको लोकतान्त्रिक स्वामित्व र नियन्त्रण स्थापित हुन सकेको थिएन । लेनिन स्वयं यस अवस्थालाई स्थायी लक्ष्यका रूपमा होइन, बरु संक्रमणकालीन चरणका रूपमा हेर्थे । उनका दृष्टिमा राज्यको नेतृत्वमा उत्पादन शक्तिको विकास गर्दै क्रमशः मजदुर र किसानलाई वास्तविक स्वामित्व र निर्णय प्रक्रियामा लैजानु आवश्यक थियो । यही कारण उनले नयाँ आर्थिक नीति जस्ता प्रयोगहरूलाई पनि रणनीतिक कदमका रूपमा स्वीकार गरेका थिए ।
तर यही संक्रमणकालीन मार्ग र राज्यको भूमिकाबारे पार्टीभित्रै गम्भीर वैचारिक विवादहरू देखा परे । लेनिनको निधनपछि ती विवादहरू अझ तीव्र बने । स्टालिनको नेतृत्वकाल बाह्य रूपमा विश्वयुद्ध, साम्राज्यवादी घेराबन्दी र आन्तरिक रूपमा प्रतिक्रान्तिकारी शक्तिसँगको संघर्षले थप संकटपूर्ण रह्यो । यसले औद्योगिकीकरण र सैन्य शक्ति निर्माणमा केही उपलब्धि दिलाए पनि मजदुर–किसानको प्रत्यक्ष स्वामित्व र लोकतान्त्रिक अभ्यास विस्तार गर्ने काम अधुरो रह्यो । समाजवादतर्फको संक्रमण राज्य–केन्द्रित संरचनामै अड्कियो ।
स्टालिनपछिको कालखण्डमा ख्रुश्चोभले केही सुधारको प्रयास गरे, तर ती सुधारहरूले राज्य–पुँजीवादलाई मजदुर–किसानको समाजवादी स्वामित्वतर्फ लैजानुको सट्टा नोकरशाही पुँजीवादतर्फ धकेले । पार्टी र राज्य संयन्त्रभित्रको विशेषाधिकारप्राप्त तह बलियो बन्दै गयो । उत्पादन र वितरणको नियन्त्रण श्रमिक वर्गको हातमा पुग्नुभन्दा पनि प्रशासकीय नोकरशाहीको हातमा केन्द्रित रह्यो । यस प्रक्रियाले समाजवादी मूल्यभन्दा टाढा लैजाने बीउ रोप्यो ।
पछिल्ला नेतृत्वहरूमा आइपुग्दा यो विचलन अझ गहिरो भयो । समाजवादको नाममा व्यक्ति केन्द्रित पुँजीवादी अभ्यास, सिन्डिकेट र कार्टेलिङलाई स्थान दिइयो । बजार र नाफालाई प्राथमिकता दिँदै राज्य र पार्टी नेतृत्व स्वयं पुँजीवादी हितसँग गाँसिन थाले । यसले अन्ततः पूर्ण पुँजीवादी पश्चगमनको बाटो खोल्यो । राज्य–नोकरशाही पुँजीवाद प्रतिक्रियावादी पुँजीवादमा रूपान्तरण भयो र साम्राज्यवादी प्रणालीसँग समायोजन गर्ने दिशामा अघि बढ्यो । यो सम्पूर्ण प्रक्रिया शास्त्रीय मार्क्सवादबाट भएको वैचारिक विचलनको प्रत्यक्ष परिणामका रूपमा देखिन्छ, जसले प्रतिक्रान्तिलाई जन्म दियो ।
आजको सन्दर्भमा यो ऐतिहासिक अनुभवले गम्भीर पाठ सिकाउँछ । समाजवादको लक्ष्यमा अडिग रहन मजदुर, किसान र सर्वहारा वर्गको वैचारिक तथा राजनीतिक अगुवाइ अनिवार्य हुन्छ । पूर्ण समाजवादमा सीधै फड्को मार्ने कुरा व्यवहारिक हुँदैन; त्यसका लागि पूर्व–समाजवादी चरणमा उत्पादन शक्तिको विकास आवश्यक हुन्छ । तर यो विकास पुँजीवादी स्वतन्त्रतामा होइन, राज्यको सशक्त नियन्त्रण र स्पष्ट समाजवादी दिशा निर्देशनमा हुनुपर्छ । राज्यले बजारलाई नियन्त्रण गर्दै, बिचौलिया र वित्तीय पुँजीको प्रभावलाई सीमित गर्दै उत्पादनका स्रोत–साधनलाई क्रमशः मजदुर–किसानको सामूहिक स्वामित्वमा हस्तान्तरण गर्नुपर्छ ।
यस प्रक्रियामा राज्य नेतृत्वको भूमिका निर्णायक हुन्छ । तर त्यो राज्य नेतृत्व नोकरशाही वा विशेषाधिकारप्राप्त वर्गको प्रतिनिधि होइन, बरु श्रमिक वर्गको राजनीतिक औजार हुनुपर्छ । योजना, नीति र संस्थागत संरचनाहरू मजदुर–किसानको सहभागिता र निगरानीमा सञ्चालन हुनुपर्छ । अन्यथा, संक्रमणकालीन पुँजी विकासको नाममा बिचौलिया वर्गको उत्थान हुन्छ, वित्तीय पुँजी हावी हुन्छ र दलाल पुँजीवादी वर्गको पोषण हुन्छ । यस्तो अवस्थामा राज्य स्वयं साम्राज्यवादको सेवामा समाहित हुने खतरा पैदा हुन्छ ।
त्यसैले आजको मुख्य कार्यनीतिक प्रश्न समाजवादको नाम मात्र होइन, यसको वास्तविक वर्गीय सार सुनिश्चित गर्नु हो । शास्त्रीय मार्क्सवादी सिद्धान्तमा दृढ रहँदै, ऐतिहासिक अनुभवबाट पाठ सिक्दै, उत्पादन शक्तिको विकास र उत्पादन सम्बन्धको रूपान्तरणलाई एकसाथ अघि बढाउनु आवश्यक छ । राज्यको नियन्त्रणलाई समाजवादी दिशामा प्रयोग गर्दै, मजदुर–किसानको सामूहिक स्वामित्व र लोकतान्त्रिक अभ्यास विस्तार गर्दै पूर्ण समाजवादतर्फ अग्रसर हुनु नै आजको प्राथमिक कार्य हो । यही बाटोले मात्र प्रतिक्रान्ति रोक्न र समाजवादी लक्ष्यलाई यथार्थमा बदल्न सकिन्छ ।