२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

पपुलिज्मको राजनीति र बाम आन्दोलन

shivam cement
नारायणप्रसाद पौडेल
२०८२ पुष २० गते ०६:०५
Shares
पपुलिज्मको राजनीति र बाम आन्दोलन

विचार मिल्ने शक्तिहरू एकै ठाउँ उभिनु लोकतान्त्रिक राजनीतिमा अस्वाभाविक होइन । बरु, वैचारिक निकटता भएका समूह वा व्यक्तिहरूबीच संवाद, सहकार्य र प्रतिस्पर्धा हुनु नै राजनीतिक गतिशीलताको स्वाभाविक संकेत हो । नेपालको पछिल्लो राजनीतिक इतिहास नियाल्दा सशस्त्र संघर्षदेखि संसदवादी प्रतिस्पर्धासम्म आइपुगेका बाम धाराहरू, पृथकतावादी राजनीति त्यागेर मूलधारमा आएका समूहहरू र राज्य–विरोधी भाष्यबाट लोकतान्त्रिक प्रक्रियामा प्रवेश गरेका पात्रहरू सबै आजको राजनीतिक संरचनाभित्र समाहित देखिन्छन् ।

सिंहदरबार जलाउने नाराबाट यात्रा सुरु गरेकाहरूले नै लोकतान्त्रिक प्रतिस्पर्धाको बाटो हुँदै सिंहदरबारभित्र गठजोड र भागबन्डा गर्नुलाई केवल विरोधाभासका रूपमा हेर्नु सही हुँदैन । बरु, यो प्रणालीको स्वीकारोक्ति हो– यस अर्थमा लोकतन्त्रको विजय पनि । ‘संसदलाई बोकाको टाउको झुन्ड्याएर अरू नै के–के बेच्ने थलो’ भन्ने माओवादी भाष्य आज संसदकै केन्द्रमा छ । कुनै समय राज्यलाई नै अस्वीकार गर्ने सिके राउत संविधानभित्र राजनीतिक अभ्यास गरिरहेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको धाराले समेत चुनावी प्रतिस्पर्धा स्वीकार गर्ने संकेत दिएको छ । यी सबै घटनाक्रमले एउटै सन्देश दिन्छन्– प्रणाली बलियो छ र अन्ततः सबै धाराहरू त्यसैभित्र समाहित हुन्छन् । तर यही बिन्दुबाट नेपाली राजनीतिमा अर्को गम्भीर समस्या सुरु हुन्छ– नायक निर्माणको उन्माद र प्रणालीगत बहसको क्रमिक अवसान ।

आजको नेपाली राजनीतिक–सामाजिक विमर्शमा तीन नाम अत्यन्त प्रभावशाली रूपमा उभिएका छन्– रवि लामिछाने, बालेन्द्र साह ‘बालेन’ र कुलमान घिसिङ । फरक–फरक क्षेत्रबाट आएका यी पात्रहरूलाई हेर्ने सार्वजनिक धारणा लगभग एउटै छ– यिनैले देश बनाउँछन् । समस्या व्यक्ति हुनु होइन; समस्या व्यक्तिलाई प्रणालीको विकल्पका रूपमा प्रस्तुत गरिनु हो ।

रवि लामिछानेलाई ‘पुराना दल समाप्त गर्ने’ तारणहारका रूपमा, बालेनलाई ‘सिस्टम तोड्ने एक्लो योद्धा’का रूपमा र कुलमान घिसिङलाई ‘एक इमानदार व्यक्ति आएपछि सबै सुधार सम्भव हुन्छ’ भन्ने प्रमाणका रूपमा प्रस्तुत गरिँदैछ । यी जनभावनाहरूको सामाजिक पृष्ठभूमि बुझ्न सकिन्छ । असफल शासन, भ्रष्टाचार, जवाफदेहिताको अभाव र संस्थागत पतनले जनता गहिरो निराशामा छन् । तर यही निराशाको जगमा निर्माण हुँदै गएको व्यक्तित्व–पूजाको राजनीति नै आजको सबैभन्दा ठूलो खतरा हो ।

पपुलिज्मको मूल विशेषता हो– प्रणालीभन्दा व्यक्ति ठूलो देखिन खोज्नु, जटिल संरचनागत समस्याहरू एक व्यक्तिको साहस, इमानदारी वा करिश्माबाट समाधान हुन्छन् भन्ने भ्रम सिर्जना गर्नु । रवि–बालेन–कुलमान वरिपरि बनेको ध्रुवीकरण र प्रणालीगत बहसको कमजोर उपस्थितिले यही प्रवृत्ति उजागर गर्छ । 

कुलमानको सफलताको आधार व्यक्तिगत इमानदारी मात्र होइन; त्यसमा राजनीतिक निर्णय, संस्थागत समर्थन, कानुनी अधिकार र राज्य संयन्त्रको प्रभावकारी प्रयोग पनि जोडिएको छ । तर सार्वजनिक कथ्य यसरी बनाइयो– एक जना आएपछि लोडसेडिङ गयो । यसले संस्थागत संघर्ष, नीति निरन्तरता र सामूहिक प्रयासलाई ओझेलमा पार्‍यो । बालेनको कार्यसम्पादनमा पनि व्यक्तिगत साहससँगै स्थानीय सरकारका संवैधानिक अधिकार, कर्मचारी संयन्त्र र कानुनी संरचनाको भूमिका छ । तर बहस फेरि त्यहीँ सीमित रह्यो– एक्लैले सबै गर्छ । यसरी व्यक्ति–पूजाले संस्थागत चेतनाको स्थान लियो । रविको उदय जनआक्रोशको राजनीतिक अभिव्यक्ति हो । तर जब राजनीतिलाई संस्थागत कार्यक्रम, वैचारिक स्पष्टता र दीर्घकालीन नीतिभन्दा भावनात्मक प्रतिशोध र ‘सबै खराब, म मात्र ठीक’ भन्ने कथ्यमा सीमित गरिन्छ, त्यो पपुलिज्ममा परिणत हुन्छ ।

यही सन्दर्भमा बाम आन्दोलनसँग सम्बन्धित गम्भीर प्रश्न उठ्छ– यस ध्रुवीकरणलाई बाम आन्दोलनले कसरी हेर्ने ? बाम आन्दोलनको ऐतिहासिक उद्देश्य व्यक्तिको महिमा होइन, संरचनाको रूपान्तरण हो । वर्गीय शोषणको अन्त्य, संस्थागत अन्यायको उन्मूलन र राज्य–सत्ताको पुनर्संरचना यसको केन्द्रीय एजेन्डा हुन् । तर आज बाम आन्दोलन स्वयं नायक–केन्द्रित बहसको पछि लागिरहेको देखिन्छ– कहिले समर्थनमा, कहिले विरोधमा । कसैले रविलाई सम्भावना देख्छ, कसैले खतरा । कसैले बालेनलाई जनताको प्रतिनिधि भन्छ, कसैले अराजक । कसैले कुलमानलाई समाजवादी आदर्श बनाउँछ, कसैले मिडिया प्रोजेक्ट । तर बाम आन्दोलनको मूल प्रश्न यी व्यक्तिहरू होइनन् । प्रश्न हो– यी व्यक्तित्व वरिपरि निर्मित पपुलिस्ट चेतनाले बाम आन्दोलनलाई कुन दिशामा लैजाँदैछ ?

नेपाली कम्युनिस्ट आन्दोलनले यस्ता युफोरियाहरू पहिल्यै भोगिसकेको छ । ‘जनसरकार’, ‘नयाँ नेपाल’ र नायक निर्माणका बिम्बहरू समयसँगै विलीन भए । न समाजवाद आयो, न संस्थागत लोकतन्त्र बलियो बन्यो । आज देखिएको रवि–बालेन–कुलमान एकता पनि संस्थागत बहस र दीर्घकालीन राजनीतिक दृष्टिमा रूपान्तरण हुन सकेन भने, त्यो इतिहासको अर्को पुनरावृत्ति मात्र हुनेछ । लामो दौडमा घोडा पानीदार हो कि होइन भन्ने निर्णय क्षणिक उत्साहले होइन, निरन्तर यात्राले गर्छ । समाजवाद पनि त्यसैगरी सम्भव हुन्छ, लोकतान्त्रिक रूपान्तरण पनि त्यसैगरी । बाम आन्दोलनको भविष्य न त रवि समर्थनमा छ, न बालेन विरोधमा, न कुलमानको महिमामा । यसको भविष्य छ– विचारको स्पष्टतामा, संस्थागत राजनीतिमा, राज्य संयन्त्रको सुधारमा, र जनतालाई भावनात्मक होइन, राजनीतिक रूपमा सचेत बनाउने क्षमतामा । 

देश नायकले होइन, प्रणालीले बन्छ । तर, आजको नेपाली समाज व्यक्तित्व–केन्द्रित ध्रुवीकरणमा अल्झिएको छ । मूल प्रश्न उनीहरू को हुन् भन्ने होइन; प्रश्न हो– हामी कस्तो राजनीति निर्माण गर्दैछौँ ? यदि बाम आन्दोलन पनि पपुलिज्मलाई विकल्प ठानी, व्यक्तित्व–पूजाको लहरमा बगेर दीर्घकालीन संरचनागत बहसभन्दा तात्कालिक लोकप्रियतामा रमायो भने, त्यो आन्दोलनले इतिहाससँग गम्भीर विश्वासघात गर्नेछ । देश पपुलिज्मले बन्दैन । बाम आन्दोलन पनि पपुलिज्मले बन्दैन । देश बन्छ– प्रणालीले, संस्थाले, विचारले र सामूहिक संघर्षले । र बाम आन्दोलनको भविष्य पनि त्यहीँ सुरक्षित छ ।

सम्बन्धित खबर