
२०८२ पुष १८ गतेको मध्यान्ह दैनिकमा मुखपृष्ठमै छापिएको फोटोसहितको (कैदी विद्यार्थी र कैदी नै शिक्षक) शीर्षकको खबरले मलाई पनि खुशीले गद्गद बनायो । २–३ वर्षदेखि मैले आफ्ना लेख र भनाइहरूमा भन्दै आएको कुरा आज यो पत्रिकाले गोप्य राख्नुका कारणसमेत खोली नालीबेली सहित छापेर प्रकाशित गरेकोमा मुरी–मुरी धन्यवाद ।
आजको विकासे युगमा हाम्रा युवा र कर्मठ हातहरू सबै विदेशिएरै देशभरिका खेतबारी बाँझै रहे र गुन्द्रुक र जनैसमेत उत्तरबाटै र विषाक्त फलफूल र तरकारीसमेत दक्षिणी नाकाको भरमा सिङ्गै देशका स्थानीय जनतादेखि ठूला होटलहरूसमेतको निर्वाह चलेको छ ।
यसै मेसोमा देशभरिका गाउँसम्ममा बाँकी रहेका युवा समूहलाई पनि च्याउ सरी उम्रेका पार्टीहरूले आ–आफ्ना झोले बनाएरै एक पार्टीले अर्को पार्टीको बदनामी गर्दै उनकै टि–सर्ट टोपी लगाएर घुमेरै राजनीतिक खेताला बनेर झनै परजीवी बन्दैछन् । यसको असरले गर्दा सिण्डिकेटका नेताहरूले एक पक्षले अर्को पक्षलाई थुनेर बहादुरी गर्ने रोगै लागेको छ ।
माथिको गन्थन मुख्य सार हो । अब यसरी विदेशी ऋण ल्याएरै सबै कैदी पालेर विकास निर्माणको कार्यमा ठेकेदारले विदेशी कामदार ल्याएरै प्रोजेक्टहरू चलाउनुको सट्टामा हाम्रो दूतमार्गको विशाल योजना जस्ता योजनाहरूमा देशैभरिका कारागारमा बसेर जेलकै भाइ नाइकेदेखि दुव्र्यसनीसम्मले सताइँदै जेलभित्रै कैद कट्टा गर्नुको सट्टामा उनीहरूका शारीरिक, बौद्धिक क्षमताअनुकूलका श्रम गराउने र उसको कार्य र श्रम क्षमतालाई पुनः जागृत गराउँदै सुकर्म नै धर्म हो । सुश्रम नै पूजा हो भन्ने मार्ग प्रशस्त पार्दै ८ घण्टा श्रम गराउँदै उसको श्रमको न्यूनतम ज्याला पनि सुरक्षित राख्दै, श्रम शिविरमा ३ घण्टासम्म गुरुकुल शिक्षाको कक्षामा प्रशिक्षण गरेर उसको विगतका कर्मप्रति पश्चाताप गर्ने अवस्था बनाए कस्तो होला ? झुट्टा मुद्दा लगाएरै थुनाउनेहरूसँग पनि बदलाको भाव नराख्ने सु–सज्जन बनाएरै कैदमुक्त गर्दा व्याधालाई बाल्मीकी बनाउने प्रोजेक्टहरूमा र विकासे योजनाहरूमा नेपाली श्रमको सदुपयोग साथै कुमार्गमा फसेर बिग्रेकाहरूको कल्याण गरे कसो होला ?
रामहरl बाजे
विदुर–४, नुवाकोट