
नेपालमा नेताहरू मात्र होइन, जनताहरू पनि अनेक खालका छन् । देश र जनतालाई झुक्याएर नक्कली नागरिकता प्रयोग गर्ने, सहकारी ठगीको आरोप खेपिरहेका, भ्रष्टाचारमा मुछिएका वा संकट पर्दा भाग्ने केही नेताहरूलाई समेत कतिपयले ‘हिरो’ बनाइरहेका देखिन्छ । यिनै कारणले राजनीति र राजनीतिक चेतनाप्रति आम नागरिकमा गहिरो निराशा बढ्दै गएको छ ।
केही वर्षअघि एमाले नेता कृष्ण गोपाल श्रेष्ठले केपी शर्मा ओलीलाई ‘फुटबल खेलाडी पेले’सँग तुलना गरेका थिए । आज आम नागरिकका नजरमा केपी ओली विवादित र आलोचित नेता भए पनि एमालेका धेरै कार्यकर्ता र नेताहरूका लागि भने उनी अझै ‘पेले’ नै जस्तो देखिन्छन् । आलोचना गर्नेहरूलाई ‘पेल्ने’ शैलीका कारण भने केपी ओली सधैँ विवादमा रहँदै आएका छन् ।
जनआन्दोलन र राजनीतिक संकटका बेला देशभन्दा आफ्नै ज्यान जोगाउन हेलिकोप्टर चढेर भागेका नेताहरू आज फेरि उत्तेजक अभिव्यक्ति दिँदै जनतालाई भड्काइरहेका छन् । दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्ने नेताले अहिले लाज पचाएर पुनःस्थापनाको पक्षमा बोल्नु आफैँमा राजनीतिक विडम्बना हो । यस्ता अभिव्यक्तिमा पार्टी कार्यकर्ता ताली बजाउँदै समर्थन जनाइरहेका देखिन्छन् ।
यही अन्धभक्तिको प्रवृत्तिका कारण कतिपय नागरिकले विभिन्न दलका नेता–कार्यकर्तालाई ‘झोले’, ‘भक्ते’, ‘हलि’ वा ‘दास’ भन्ने गरेका छन् । नेताहरूको गलत काममा पनि प्रश्न नगरी पछ्याउने दास मानसिकताले नै नेताहरूलाई अहंकारी, घमण्डी र भ्रष्ट बनाएको हो भन्नु अतिशयोक्ति हुँदैन ।
२०७९ सालको आम निर्वाचनपछि नयाँ पुस्ता, विशेषगरी ‘जेनजी’ पुस्ताबाट नयाँ राजनीतिक दल र नयाँ नेतृत्वको आवश्यकता महसुस हुन थालेको छ । पुराना दलहरूभित्रै रहेका युवा पुस्ताले पनि नेताको दासत्वबाट मुक्त भएर सही–गलत छुट्याउन सक्नुपर्छ । राम्रो कामको समर्थन र गलत कामको विरोध गर्न नसक्नु नै राजनीतिमा पतनको मूल कारण बनेको छ ।
२०७९ को निर्वाचनपछि नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा लगायत दलहरू चर्चामा रहे । राप्रपा राजावादी दलका रूपमा चिनिन्छ भने रास्वपा वैकल्पिक दलको रूपमा । तर रास्वपाका सभापति नै सहकारी ठगी प्रकरणमा जेलमा पर्नु र आलोचना गर्नेहरूलाई असभ्य गाली गर्नुले वैकल्पिक राजनीतिप्रति पनि प्रश्न उठाएको छ ।
पुराना दलहरूले लाखौँ कार्यकर्ता भएको दाबी गरे पनि तीमध्ये धेरै अझै दास मानसिकतामा अल्झिएको देखिन्छ । अब ती दलहरू जोगिन चाहन्छन् भने तेस्रो पुस्ताले नेतृत्व सम्हाल्नैपर्छ । नेताको गलत कार्यशैलीको विरोध गर्न नसक्दा नै आज कतिपय नेताले भाग्नुपरेको, वृद्ध नेताले समेत कुटाइ खानुपरेको अवस्था आएको हो ।
लोकतन्त्र र गणतन्त्र ल्याउन यिनै नेताहरूको योगदान स्वीकार्य भए पनि सत्तामा पुगेपछि देखिएको अहंकार, भ्रष्टाचार, नातावाद र कृपावादले व्यवस्थालाई नै बदनाम बनाएको छ । लोकतन्त्रमा राजनीतिक दल अपरिहार्य छन्, तर ती दलभित्रका अहंकारी र भ्रष्ट नेताहरूलाई छानेर इमानदार, कर्मठ र योग्य व्यक्तिलाई अघि बढाउन आवश्यक छ । अन्ततः दोष नेता मात्र होइन, मतदाताको पनि हो । पाँच वर्ष गाली गर्ने तर चुनावमा फेरि उही नेतालाई भोट दिने प्रवृत्ति बदल्नैपर्छ । राजनीतिक दल, नेता–कार्यकर्ता र आम मतदाता सबै सचेत, इमानदार र जिम्मेवार बने मात्र देशले सही दिशामा अगाडि बढ्न सक्छ ।