
जननायक बी.पी. कोइरालाले नेपालको अखण्डता, स्वाधीनता र स्वतन्त्रतालाई सर्वोपरि राखे । भारतीय शासकको हेपाहा नीति र नियत बुझेर उनले राष्ट्रिय अडान राख्न थाले । यसले गर्दा उनलाई भारतीय शासकले उपेक्षा गर्न थाल्यो । भारतीय शासकले हामीले भनेअनुसार काम गर्ने हो भने प्रधानमन्त्री र राष्ट्रपति बनाइदिने प्रलोभनलाई पनि कोइरालाले उपेक्षा गरे । राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर व्यक्तिगत स–साना स्वार्थमा रमाएर खेलौना बन्नु कुनै पनि पार्टीका लागि हितकर छैन ।
नेपाल विश्वको सामरिक दृष्टिले अत्यन्त महत्वपूर्ण र संवेदनशील भूभागमा अवस्थित छ । नेपाललाई भारत हुँदै पश्चिमा शक्तिले उहिल्यैदेखि र पछिसम्म पनि गिद्धे दृष्टि लगाइरहेको देखिन्छ । नेपाल राजनीतिक तथा आर्थिक दृष्टिले स्थिर र समृद्ध हुन गयो भने पश्चिमा शक्तिको खेलोफड्को कमजोर तथा नाकाम हुनेछ । तसर्थ, त्यो शक्ति अहिले पनि नेपालका प्रमुख राजनीतिक पार्टीहरूका बीच सकेसम्म फाटो ल्याउन ‘माइक्रो मेनेजमेन्ट’ गर्ने कुरामा विशेष ध्यान दिइरहन्छन् । यी शक्तिहरू सय वर्षपछिको स्थिति आकलन गरेर लगनका साथ नेपालमा लगानी गर्छन् । अहिले चाहिँ अमेरिकी दबाव, प्रभाव र नियन्त्रण सकेसम्म नेपालमा नपरोस् भन्ने भारत र चीनको चाहना देखिन्छ । अमेरिकाको वर्चस्व बढ्दा चीन र भारतसमेत सुरक्षित रहन नसक्ने गम्भीर चिन्ता व्याप्त छ । कर्कलाको पातको पानी जस्तो भएको देशको यस अवस्थामा कांग्रेस पार्टीका जिम्मेवार नेताहरू घरभित्रका थाङ्ना फोगटा सडकमा फिँजाएर रमिते देखिनु सर्वथा अनुचित कुरा हो ।
त्यसैले कांग्रेसले कांग्रेसलाई चिनेको भए तिनले प्रजातान्त्रिक समाजवाद विषयमा कम्तीमा सतही छलफल पनि गर्थे होलान् । तिनले राष्ट्र, राष्ट्रियता जस्ता पार्टीका अत्यन्त महत्वपूर्ण विषयमा निधार खुम्च्याएर सोच्थे होलान् । विचार स्वीकार गर्ने, त्यही विचारलाई ल्याउने नेतालाई स्थान दिइन्थ्यो होला । यस पार्टीमा चन्द्र भण्डारी जस्ता पार्टी आदर्शप्रति प्रतिबद्ध युवा नेता छन् । नेता मनमोहन भट्टराई आदि पार्टीगत चुरो व्यक्तित्व नभएका होइनन् । उनी बी.पी. कांग्रेसको मन, वचन र कर्मले दृढ पक्षपोषण गर्दा रहेछन् । उनले केही समयअघि लेखेको अन्नपूर्ण दैनिकमा प्रकाशित लेखमा पनि बी.पी.ले झैँ दुई छिमेकी मुलुकका बीच अत्यन्त सन्तुलित परराष्ट्र नीति अपनाउन जोड दिएको बताएका थिए ।
कांग्रेस चिन्न बी.पी. र गणेशमान पढ्नुपर्छ । तिनले तत्कालीन भारतीय सरकार र सत्तापक्षले बी.पी. कोइराला मार्फत नेपाललाई अनेक तरहले अपमान गरेको राम्ररी पढ्नुपर्छ ।
कांग्रेस हुने हो भने कांग्रेसजस्तै हुनुपर्यो । विभिन्न मिडियामा विश्लेषक, बुद्धिजीवी र लेखक तथा पत्रकार भएर कुरा कथुर्ने तर पार्टी र नेतृत्वका विकृतिविरुद्ध पार्टी र यसका विभागमा रहेर अन्तर्संघर्ष नगर्ने प्रवृत्ति घातक देखिन्छ । नठोसी आगो बल्दैन । आवश्यक दबाव बिना सही काम हुन सक्दैन । सशक्त र प्रभावशाली सघर्ष नदिई नेतृत्वमा सुधार आउँदैन । अझ क्षयरोग लाग्न आँटेको छ भने भैँसीलाई हान्ने सुई लगाउनुपर्छ । यस खालको राप, ताप र प्रताप भएको बौद्धिक, प्राज्ञिक, सर्जक आदिको शक्ति नेकाभित्र व्यापक रहेको देखिन्छ । यो शक्तिले कम्तीमा एक लय, ताल र सुरमा पार्टीको उपल्लो नेतृत्वलाई ठेगान लगाउन सक्छ तर इच्छाशक्ति प्रबल हुनुपर्छ । रमिते कांग्रेस भएर हुन्न, नामको होइन, कामको कांग्रेस हुनुपर्छ । पार्टीको विधानको प्रस्तावनाको शीर्ष स्थानमा नीतिमुखी नभएर नेतामुखी अवधारणा भएकाले र यस संस्कारमा बानी परेकाले पार्टीमा यथास्थितिवाद हाबी भएको स्पष्ट हुन्छ ।
गौरवशाली, उल्लेखनीय र अहं महत्वका कतिपय भूमिका निर्वाह गरेको र महान् व्यक्तित्व पनि भएको प्रमुख पार्टी हो, नेपाली कांग्रेस । बालेन, रवि वा अन्यसित कुनै विरासत र गर्व गर्न लायक कुनै विचार, सिद्धान्त वा व्यवहार छ र ? नेपालका प्रमुख पार्टी कमजोर हुँदा देश भाइ फुटे, गाउँ लुटे अवस्थामा पुग्ने निश्चित छ । त्यसैले तमाम कांग्रेसी जनहरू यस कुरामा बेलैमा होसियार हुनु जरुरी देखिन्छ । तर अहिले नेकाभित्र चरम अवसरवादी प्रवृत्ति हाबी हुन खोज्दैछ । एमाले र नेकाभित्रका अवसरवादी तथा स्वार्थी गुटहरू आगामी चुनावमा मिलीजुली सत्ता र सरकारको छक्का दाउ खेल्ने सुरमा छन् । जेनजी अभियानको आवरणमा बालबाल बचेका यी दुई दलका प्रमुख नेताको चेत अझै फिरेको छैन । यिनको गतिमति हेर्दा देशलाई नै भड्खालोमा हाल्ने खतरा सन्निकट देखिन्छ । यी दुवै पार्टी आफ्ना लोभीपापीहरूलाई मात्र काखी च्याप्ने र अरूलाई किक हान्ने गम्भीर गुप्त षड्यन्त्रमा तल्लीन छन् । आफ्नो घर–परिवारलाई समेट्न नसक्नेले देश र जनताका लागि केही गर्छ भन्ने कसरी विश्वास गर्न सकिन्छ ?
आफ्नै कमजोरीलाई निर्ममतापूर्वक शल्यक्रिया गर्न नसक्ने कांग्रेस आफूभित्र क्षयरोग पालेर कतिदिन बाँच्न सक्ला र ? पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाले भारतीय नेता जवाहरलाल नेहरूले चीनको मैत्रीपूर्ण भ्रमण नगर्न सल्लाह दिए पनि मानेनन् । नेहरूले चीन गए पनि यत्ति मात्र कुरा गर्नु भन्ने आदेश पनि स्वीकार गरेनन् । बी.पी.को मन्त्रीमण्डलमा गृहमन्त्री रहेका सूर्यप्रसाद उपाध्यायको सिधा सम्पर्क नेहरूसित हुने गथ्र्यो । यो कुरा थाहा पाएर पनि कोइरालाले चीनको भ्रमणमा लगेका सूर्यप्रसादलाई झुक्याएर आफूले मात्र एक्लै माओ त्से–तुंगसित रातको १२ बजे भेटेर नेपालको हितमा अडान लिएर दुई देशका सीमा विवाद नेपालकै हितमा सुल्झाएका थिए । त्यसैगरी जवाहरलाल नेहरूले नेपालको उत्तरी सीमा हिमालय पर्वत श्रृंखला भारतको उत्तरी सीमा रहेको बताउँदा बी.पी.ले कूटनीतिक प्रतिवाद गर्नु भएको पाइन्छ । आखिर यस कुरालाई नेहरूले पनि कूटनीतिक तरिकाले परोक्ष रूपमा भारतीय संसदमा मौखिक रूपमा गल्ती महसुस गरेका थिए । त्यस्तो देश र जनताको स्वाभिमान कायम गर्ने कांग्रेस अहिले कहाँ छ ? के यस्तै कांग्रेस बनाउन बी.पी.ले खोजेका थिए ? विदेशीको इसारा र लहैलहैमा लागेर नेपाली कांग्रेस पार्टीलाई कसरी बचाउन सकिन्छ र यसरी यो पार्टी कति दिन टिक्छ ? सत्ता, शक्ति, सम्पत्ति र निकृष्ट स्वार्थलाई केन्द्रविन्दुमा राखेर अहिलेसम्म कुन पार्टी, सिद्धान्त, सरकार र सत्ता टिकेको छ ?
तर त्यस्तो पार्टीले देशको अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र सामाजिक सद्भाव त जोगाउन कुरामा ध्यान दिनुपर्छ । भारतीय कांग्रेसलगायत केही दलले बी.पी.लाई तिम्रो देशमा हामी बहुदल ल्याइदिन्छौँ र तिमीलाई प्रधानमन्त्री पनि हामी बनाइदिन्छौँ भने तर त्यस खालको बेहोरालाई कोइरालाले कहिल्यै मन पराउनु भएन । जब इन्दिरा गान्धीले सिक्किम कब्जा गरिन्, यसबाट बी.पी. कोइराला नराम्ररी झस्केको बुझिन्छ । मृत्युलाई पर्वाह नगरी मेलमिलाप नीति लिएर कोइराला भारतबाट नेपाल आएको एक मात्र कारण नेपालको अस्तित्वको सुरक्षा गर्नु थियो । सुन्दरीजलको कठोर कारावासमा हुँदा तत्कालीन राजा वीरेन्द्र शाहसित कोइरालाले एक्लै भेट्न खोजेका थिए । राजा र प्रजाका बीचमा अनेक खेल खेलेर देश र जनताविरुद्ध षड्यन्त्र गर्ने दरबारिया र पूर्वपञ्चहरू बिचौलियाको भूमिकामा रहेको बी.पी.ले देखेका थिए । त्यसैले उनले राजा समक्ष सन्देश पुर्याइदिन्छु भनेर आउने दरबारिया विश्वस्त व्यक्तिलाई पनि लिखित वा मौखिक सन्देश राजा समक्ष कहिल्यै पठाएनन् । बी.पी.ले आखिर आफूले एक्लै राजासमक्ष भेट्ने अवसर पाएको बताइन्छ । यो कुरा २०३६ मा जनमतसंग्रहको घोषणा गर्नु भन्दा अघिको कुरा रहेको पत्रकार जगत नेपालको २०७४ जेठमा कान्तिपुरमा प्रकाशित लेखबाट अवगत हुन्छ । त्यही लेखमा बी.पी. कोइरालालाई जयबागेश्वरीस्थित निवासमा गएर अमुक प्रभावशाली व्यक्तिले नेपालबाट राजतन्त्र हटाइदिन्छौँ, तपाईं पहिलो गणतान्त्रिक राष्ट्रपति बन्न तयार रहनुहोस् भनिएको थियो । बी.पी.ले यस प्रश्नको उत्तरमा यस्तो अतिगम्भीर विषयमा मैले मेरा साथीहरूसित सरसल्लाह गर्नुपर्छ र यसका लागि ४८ घण्टा समय चाहिन्छ भनेको लेखमा बताइएको छ ।
यस बीचमा बी.पी. कोइरालाले राजा वीरेन्द्रसित सोझो सम्पर्क गरेपछिको ४८ घण्टाभित्र जनमतसंग्रहको आकस्मिक घोषणा भएको बताइन्छ । मृत्युको अन्तिम घडीमा भेट गर्न गएका वरिष्ठ वकिल गणेशराज शर्माले बी.पी.कै सामुन्ने उभिएर तपाईंजस्तो देशको भाग्य र भविष्यप्रति चिन्तित कूटनीतिक क्षमताको राष्ट्रवादी नेता बित्न लाग्नु भयो, अब देशको के हालत होला भनी दुःख मनाएका थिए । यस सवालमा बी.पी.ले अब जे गर्छ भारतले गर्छ भनेर सासले बोलेको बुझिन्छ । यो स्थिति अहिले आइरहेको छ । यस्तो संगीन अवस्थामा पनि कांग्रेस पार्टी देशमा केही नभएको जस्तो गर्छ भने यस्तो कांग्रेस कति दिन बाँच्ने हो ? उहिल्यै पृथ्वीनारायण शाहले दक्षिणको महाचतुर बादशाह एक दिन नेपालमाथि आइलाग्छ भनेकै थिए । त्यस्ता असफल दिन धेरै पल्ट एक प्रसङ्गमा एमाले नेता तथा वरिष्ठ पत्रकार लेखक कमल कोइरालाले भारतीय शासकले बी.पी.का तुलनामा मातृकाप्रसाद कोइरालालाई मन पराउँथे । बी.पी. आफ्नै विवेकले चल्ने हुँदा भारतले उहाँलाई भन्दा भारतले भनेको खुरुखुरु मान्ने मातृकाप्रसाद कोइरालालाई भारतेली शासकले काँध हाल्थे । अहिले त्यही कुराको पुनरावृत्ति भइरहेको देखिन्छ ।
भारतेली शासकले उहिल्यैदेखि अहिलेसम्म पनि नेपालमा सकेसम्म प्रायः आफ्ना आदेश खुरुखुरु तामेल गर्ने प्रधानमन्त्री मात्र होइन, राजकीय अन्य क्षेत्र, तह र दर्जामा नियुक्त गर्न गराउन जोड–बल लगाउने गरेको देखिन्छ । यस खालको कुलक्षणको सम्भावना प्रबल बन्दा कांग्रेस अझ एक ढिक्का हुनुपर्ने हो । प्रमुख नेतृत्व अत्यन्तै जिम्मेवार हुनुपर्ने हो ।
राजदूत रायले नेपालको भलो सोचेर उक्त कुरा भनेका थिएनन् । रायको आशय नेपाल हरेक १० वर्षमा परिवर्तनको मोडमा रहेको हुँदा अब १० वर्षमा नेपाल कत्तिसम्म गरिब, अन्यौल, अराजक तथा अस्थिर होला भन्ने उत्तर निहित प्रश्न सोधेको सुधीर शर्माले लेखमा बताएका छन् । त्यही लेखमा राजदूत रायले शर्मालाई नेपालले बुद्धि पुर्याएन भने अबको दश वर्षमा नेपालको हालत अहिलेको भन्दा बिग्रनेछ र ठूलो द्वन्द्वमा पर्नेछ भन्नेको कडा जवाफ दिएको विषय पनि सुधीर शर्माले आफ्नो लेखमा स्पष्ट उल्लेख गरेका छन् । तसर्थ नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेको पुरानो पार्टी नेपाली कांग्रेस कांग्रेसजस्तै भए देशका विकराल समस्या समाधान गर्न सकिन्थ्यो ।