२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

किन कमजोर छ स्मरणशक्ति ?

shivam cement
समिर बराल
२०८२ पुष २२ गते ०६:००
Shares
किन कमजोर छ स्मरणशक्ति ?

नेपाली युवामाझ बारम्बार सुन्ने एउटा वाक्य छ– मेरो स्मरणशक्ति कमजोर छ । पढाइ, परीक्षा र प्रतिस्पर्धाको दबाबमा यही सोचले धेरै युवाको आत्मविश्वास कमजोर बनाइरहेको छ । मैले पनि कहिल्यै आफूलाई जन्मजात असाधारण स्मरणशक्ति भएको व्यक्ति ठानेको थिइनँ । तर मेमोरी स्पोर्ट्ससँगको यात्राले मलाई एउटा स्पष्ट निष्कर्षमा पु¥याएको छ– स्मरणशक्ति कमजोरी होइन, प्रशिक्षणको अभाव मात्र हो ।

मेमोरी स्पोर्ट्स आज विश्वका धेरै देशहरूमा व्यवस्थित बौद्धिक खेलका रूपमा स्थापित भइसकेको छ । यस खेलमा खेलाडीहरूले सीमित समयमा अंक, शब्द, तस्बिर, अनुहार र कार्डहरू अत्यन्तै उच्च सटीकतासहित सम्झनुपर्ने हुन्छ । बाहिरबाट हेर्दा यो असम्भवजस्तो लाग्न सक्छ, तर यसको आधार कुनै जादु होइन । यो मस्तिष्कको कार्यप्रणालीमा आधारित वैज्ञानिक प्रविधि, निरन्तर अभ्यास र मानसिक अनुशासनको परिणाम हो । सही तरिका सिकेपछि सामान्य मानिसले पनि असाधारण परिणाम दिन सक्छ भन्ने कुरा मैले आफ्नै अभ्यासबाट अनुभव गरेको छु ।

दुर्भाग्यवश, नेपालको शिक्षा प्रणाली अझै पनि घोकन्ते शैलीमै अडिएको छ । हामीलाई के पढ्ने भन्ने त सिकाइन्छ, तर कसरी सम्झने भन्ने कहिल्यै सिकाइँदैन । नतिजा– परीक्षा सकेपछि ज्ञान हराउँछ, आत्मविश्वास घट्छ र धेरै युवाले आफूलाई ‘पढाइमा कमजोर’ ठान्न थाल्छन् । मेरो बुझाइमा, यो समस्या क्षमताको होइन, प्रणालीको हो । स्मरणशक्ति प्रविधि भनेको केवल परीक्षा पास गर्ने उपाय होइन, यो सोच्ने, सिक्ने र ज्ञानलाई दीर्घकालीन रूपमा प्रयोग गर्ने वैज्ञानिक अभ्यास हो ।

सन् २०२४ मा भारतको मुम्बईमा सम्पन्न इन्डियन राष्ट्रिय मेमोरी च्याम्पियनसीप २०२४ मा सहभागी हुन पाउनु मेरो मेमोरी स्पोर्ट्स यात्राको महत्वपूर्ण मोड बन्यो । भारतका विभिन्न राज्यबाट आएका अनुभवी र प्रशिक्षित मेमोरी एथलेटहरूसँग प्रतिस्पर्धा गर्नु सजिलो थिएन । नेपालमा औपचारिक मेमोरी प्रशिक्षण संस्था, नियमित राष्ट्रिय प्रतियोगिता वा संरचित समर्थन नहुँदा–नहुँदै पनि अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उभिनु आफैंमा ठूलो चुनौती थियो ।

यस प्रतियोगितामा मैले इमेज वर्गमा पाँच मिनेटभित्र १८२ वटा तस्बिर सफलतापूर्वक स्मरण गर्दै कांस्य पदक जित्न सकेँ । साथै, समग्र प्रदर्शनका आधारमा मलाई उत्कृष्ट प्रदर्शन बिजेताको उपाधि प्रदान गरियो । वयस्क वर्गमा मैले ५औँ स्थान हासिल गरेँ । यी उपलब्धिहरू मेरा लागि व्यक्तिगत सन्तोषका विषय त हुन् नै, तर मेरो दृष्टिमा यसको महत्व अझ ठूलो छ– यसले नेपालबाट पनि मेमोरी स्पोर्ट्स सम्भव छ भन्ने कुरा प्रमाणित गर्‍यो ।

आज म इन्टरनेसनल एसोसिएसन अफ मेमोरीको आधिकारिक विश्व वरीयतामा सूचीकृत एकमात्र नेपाली खेलाडी हुँ र हाल मेरो विश्व वरीयता २३२औँ स्थानमा छ । नेपाल जस्तो देश, जहाँ मेमोरी स्पोर्ट्सको संरचना अझै प्रारम्भिक चरणमै छ, त्यहाँबाट विश्व वरीयतामा स्थान बनाउनु मेरो व्यक्तिगत सफलताभन्दा बढी, नेपाली युवाका लागि सम्भावनाको स्पष्ट संकेत हो ।

म यो लेख उपलब्धि देखाउनका लागि मात्र लेखिरहेको छैन । मेरो उद्देश्य नेपाली युवालाई एउटा प्रश्न सोध्नु हो– यदि सीमित स्रोत, सीमित अभ्यास वातावरण र न्यून संरचनाका बीच पनि म अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छु भने, उचित अवसर पाए नेपाली युवाले के गर्न सक्दैनन् ?

आजका नेपाली युवा सूचनाको अत्यधिक प्रवाहले भरिएको युगमा जीवन बिताइरहेका छन् । सामाजिक सञ्जाल, प्रविधि र तीव्र प्रतिस्पर्धाले ध्यान अवधि छोट्याइरहेको छ । यस्तो अवस्थामा स्मरणशक्ति, एकाग्रता र मानसिक अनुशासन कुनै वैकल्पिक सीप होइन, अनिवार्य आवश्यकता बनेको छ । मेमोरी स्पोर्ट्सले मलाई छिटो पढ्न, प्रभावकारी रूपमा सम्झन, आत्मविश्वासका साथ प्रस्तुति दिन र मानसिक नियन्त्रण विकास गर्न सहयोग गरेको छ र यही सीप आजका युवालाई अत्यन्त आवश्यक छ ।

यदि ज्ञान–आधारित समाज निर्माण गर्ने लक्ष्य राख्ने हो भने केवल पाठ्यक्रम परिवर्तन पर्याप्त हुँदैन, सिक्ने तरिकामा परिवर्तन आवश्यक छ । शिक्षामा स्मरणशक्ति प्रविधि, एकाग्रता अभ्यास र बौद्धिक खेलहरू समावेश नगरेसम्म, हामी प्रमाणपत्रधारी युवा त उत्पादन गर्छौँ, तर प्रतिस्पर्धी युवा उत्पादन गर्न सक्दैनौँ ।

मेमोरी स्पोर्ट्स कुनै व्यक्तिगत रुचिको विषय मात्र होइन । यो शिक्षा सुधार, युवा सशक्तिकरण र राष्ट्रिय बौद्धिक पहिचानसँग जोडिएको विषय हो । नेपालमा राष्ट्रिय मेमोरी च्याम्पियनशिप, विद्यालयस्तरीय मेमोरी क्लब, प्रशिक्षक उत्पादन र नीतिगत समर्थन अब विलम्ब गर्न नमिल्ने आवश्यकता बनेको छ ।

स्मरणशक्ति जन्मजात हुन्छ भन्ने भ्रम तोड्ने समय आइसकेको छ । नेपाली युवालाई ‘तिमी सक्छौ’ भनेर मात्र होइन, ‘तिमीले गरेर देखाउन सक्छौ’ भन्ने प्रमाण चाहिएको छ । मेरो यात्रा त्यो प्रमाणको एउटा सानो उदाहरण मात्र हो । यो लेख मेरो कथा भन्दा पनि, नेपाली युवालाई सोच बदल्न र क्षमतामाथि विश्वास गर्न दिएको सम्पादकीय आह्वान हो ।

(लेखक बराल, इन्डियन राष्ट्रिय मेमोरी च्याम्पियनसीप २०२४ का पदक विजेता खेलाडी हुन् ।)

सम्बन्धित खबर