२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रास्वपाको पक्षमा देखिएको उभार

shivam cement
दामोदर नेपाल
२०८२ पुष २४ गते ०६:००
Shares
रास्वपाको पक्षमा देखिएको उभार

नेपाली राजनीति पछिल्लो समय तीव्र ध्रुवीकरणको चरणमा प्रवेश गरेको छ । राजनीतिक तापक्रम बढेसँगै नागरिक तहमा विभिन्न खाले सोच, धारणा र बहसहरू विकसित भइरहेका छन् । सतहमा विचारहरू छरपस्ट देखिए पनि गहिरिएर हेर्दा वर्तमान राजनीतिमा चारवटा प्रमुख शक्ति–समूहहरू विचार र गठबन्धनमार्फत शक्ति सञ्चयमा जुटिरहेको स्पष्ट देखिन्छ ।

विशेषगरी अहिले सर्वाधिक चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै आफूलाई मूलधारको केन्द्रमा स्थापित गर्ने प्रयास गरिरहेको छ । आउँदो फागुन २१ गते हुने निर्वाचनमा जनताबाट अनुमोदन प्राप्त गर्ने दिशामा रास्वपा अघि बढिरहेको संकेत उसका पछिल्ला राजनीतिक गतिविधिले देखाएका छन् ।

हाल राजनीतिक मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राजावादी समूह), पूर्व–माओवादी नेतृत्वको नेकपा र कांग्रेस–एमाले गठबन्धन देखिएका छन् । यी सबै शक्ति–समूहहरू आ–आफ्नो ढंगले चुनावी मोर्चाबन्दीमा जुटिरहेका छन् । कतिपयले एकता र कार्यगत सहकार्यको बाटो रोजेका छन् भने केही समूहहरू आन्दोलनको दबाबमार्फत आफ्ना माग सम्बोधन नगरी निर्वाचनमा जान नहुने अडानमा छन् । यद्यपि, अन्ततः सबै शक्ति आगामी निर्वाचनलाई केन्द्रमा राखेर जनमत आफ्नो पक्षमा पार्ने प्रयासमै केन्द्रित देखिन्छन् ।

रास्वपाले नागरिक समाज, वैकल्पिक दल र विभिन्न समूहहरूसँग एकता, प्रवेश तथा समायोजनको प्रक्रियालाई तीव्र बनाउँदै आफूलाई ‘देशको वैकल्पिक राजनीतिक केन्द्र’को रूपमा प्रस्तुत गरिरहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै पार्टी निर्वाचन केन्द्रित कार्यक्रमहरूमा सक्रिय भएको छ । समानुपातिक आकांक्षी उम्मेदवारहरूलाई विभिन्न जिल्लामा खटाएर जनताका गुनासा, अपेक्षा र सुझाव संकलन गर्ने अभ्यासले पार्टीको संगठन विस्तार र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाएको देखिन्छ ।

रास्वपामा विशेषगरी ‘जेनजी’ पुस्ताका युवाहरू उल्लेखनीय रूपमा जोडिएका छन् । सुशासन, जवाफदेहिता र परिणाममुखी कामप्रति उनीहरूको अपेक्षा स्पष्ट छ । जेन्जी उमेर समूह मात्र होइन, लामो समयदेखि पुराना दलहरूबाट निराश भएका विभिन्न उमेर समूहका नागरिकहरूले समेत रास्वपालाई आशाको केन्द्रका रूपमा हेर्न थालेका छन् ।

संविधानका केही धाराहरूले स्थिर सरकार, सुशासन तथा विकास–समृद्धिमा अवरोध पुर्‍याइरहेको बहस पनि सँगसँगै अघि बढेको छ । दुई तिहाई बहुमतको स्थिर सरकार, पाँच वर्षसम्म टिक्ने कार्यकारी र प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रणालीको आवश्यकता बारे रास्वपाका धारणा स्पष्ट हुँदै गएका छन् । संसदीय प्रणालीभित्र प्रधानमन्त्री परिवर्तनको अस्थिरताबाट मुक्त हुन प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीतर्फ जानुपर्ने आवाज पनि बलियो बन्दै गएको छ ।

सुशासनका सन्दर्भमा राष्ट्रसेवक कर्मचारीहरू राजनीतिक दलसँग आबद्ध ट्रेड युनियन प्रणाली भ्रष्टाचारको मलजल गर्ने संरचना बनेको आरोप बारम्बार उठ्दै आएको छ । सरुवा–बढुवा, ठेक्का–पट्टा र नीतिगत निर्णयमा राजनीतिक हस्तक्षेप संस्थागत हुँदा राज्य दोहनको अवस्था सिर्जना भएको विश्लेषण छ । यस्ता युनियन संरचनाको खारेजी र भ्रष्टाचारमा संलग्न कर्मचारीलाई कडा कारबाही गर्न सक्ने शक्तिशाली सरकार आजको आवश्यकता बनेको छ ।

राष्ट्रिय राजनीतिमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने अभियान तीव्र बन्दै गएको छ । नागरिक समाज, स्वतन्त्र समूह र विभिन्न वैकल्पिक धारहरू रास्वपामा एकीकृत हुने क्रमले पार्टीलाई विशाल शक्तिका रूपमा उभ्याउने संकेत देखिएको छ । यही कारण आम नागरिकमा उत्साह बढिरहेको छ । यद्यपि, निर्वाचनलाई महाउत्सवका रूपमा व्यवस्थापन गर्नु, सबै पक्षलाई समेट्नु र अपेक्षालाई परिणाममा बदल्नु पार्टी नेतृत्वका लागि चुनौतीपूर्ण पनि छ ।

चाखलाग्दो पक्ष के छ भने, अन्य दलमा जिम्मेवारीमा रहेका व्यक्तिहरूबाट समेत ‘पार्टी नछाडे पनि एकपटक घण्टीमा मत हाल्ने’ चर्चा खुला रूपमा हुन थालेको सुनिन्छ । यसले पुराना राजनीतिक शक्तिप्रति जनतामा बढ्दो असन्तुष्टि र नयाँ वैकल्पिक शक्तिको खोज स्पष्ट रूपमा देखाउँछ ।

अबको निर्वाचनमा पहिलो पटक मताधिकार प्रयोग गर्न लागेका युवादेखि ज्येष्ठ नागरिकसम्मले रास्वपालाई विकल्पका रूपमा हेरेका छन् । सुशासन, विकास र समृद्धिको सुरुआत यही दलले गर्नुपर्छ भन्ने अपेक्षा व्यापक छ । त्यसैले रास्वपाले आफूलाई देशले खोजेको र नागरिकले रोजेको पार्टीका रूपमा स्थापित गर्नु आजको ऐतिहासिक दायित्व बनेको छ ।

यसका लागि विचारको राजनीति, विधि–पद्धति, इमानदारी र सुसंस्कृत राजनीतिक अभ्यास अनिवार्य छ । शिक्षाको डिग्रीसँगै राजनीतिक चेतना, व्यवहारिक अनुभव र भुइँमान्छेसँगको सम्बन्धलाई नेतृत्व छनोटको आधार बनाउनुपर्ने चुनौती पनि पार्टीसामु छ । राजधानी–केन्द्रित नेतृत्व होइन, गाउँ–गाउँमा बसोबास गर्ने, जनताको पीडा बुझ्ने नेतृत्व विकास गर्न सके मात्र पार्टीको संरचना दीगो बन्न सक्छ ।

नागरिक र पार्टीबीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ । आलोचना, चुनौती र नकारात्मक विचारलाई समेत सकारात्मक ऊर्जामा बदल्न सक्ने नेतृत्व नै असल राजनीतिक कर्मी हो । यस्ता नेतृत्व उत्पादन र व्यवस्थापन गर्न सके रास्वपाले मात्र होइन, देशले नै दीर्घकालीन राजनीतिक स्थायित्व र सुशासनको मार्ग पाउनेछ । आगामी निर्वाचनमा जनमत ‘घण्टीमय’ हुने संकेत देखिइरहेका छन् । तर, त्यो सम्भावनालाई यथार्थमा बदल्न रास्वपाले धेरै काम गरेर देखाउनुपर्नेछ । यही नै पार्टीका लागि सबैभन्दा ठूलो परीक्षा र अवसर दुवै हो ।

(लेखक, रास्वपाका केन्द्रीय सदस्य हुन् ।)

सम्बन्धित खबर