२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

नयाँभित्र खोजिएको नयाँ

shivam cement
गोविन्द विक
२०८२ पुष २४ गते ०६:०५
Shares
नयाँभित्र खोजिएको नयाँ

रवि एक्लैको भाषणमा सकियो रवि, बालेन र कुलमानसहितको पार्टी समायोजन सभा । सभामा रविले पुरानाप्रति कटाक्ष गर्न छोडेनन् तर त्यो सभामा बालेन र कुलमानको अनुपस्थितिले धेरै प्रश्नहरू जन्माएको चर्चा हुन थालेको छ । बालेन प्रधानमन्त्री बन्ने सहमति भएर रास्वपामा बालेन–कुलमानसहितको मिसावट भएको छ । जो जहाँ गए पनि, जो जसले राजनीति गरे पनि देश चलाउन, सत्ताको गाडी हाँक्न लोकप्रियताले हैन, अनुभव र राजनीतिक चेतले मात्र सम्भव छ भन्ने नजिर विगतका परिघटनाहरूले देखाइसकेको कुरा बिर्सनु हुँदैन । अहिले नयाँ भनिएका दलहरू पनि जनताको सवालभन्दा पनि चुनाव कसरी जित्ने र को मन्त्री हुने, को प्रधानमन्त्री हुने भन्ने कुराको सवालमा केन्द्रित देखिन्छन् । यो दुःखद पक्ष हो । नयाँमा जनताको अपेक्षाको भारी ठूलो छ । यसलाई नयाँहरूले बिर्सने छुट पनि छैन ।

करिब ७० वर्षभन्दा बढीको इतिहास बोकेर पटक–पटक सत्ता चलाएका मूलधारका राजनीतिक दलहरू पनि एक्लाएक्लै चुनाव लड्दा मत नआउने भयले त्रसित देखिँदैछन् । नयाँ अनुहारहरू चुनौती बनेपछि विगतका चुनावहरूमा पनि पुराना दलहरूले चुनावी गठबन्धन खुब गरे । चुनावी गठबन्धन गरेर झण्डै दुई तिहाइको सरकार बनाउने अवस्था पनि भयो । लामो समय दुई तिहाइको सरकार पनि चल्यो । तर भूइँ वर्गको मुद्दा कहिल्यै प्राथमिकतामा परेन, पारिएन । सत्ताको चोचोमोचो मिलाउन नै समय पुग्दैनथ्यो । एकअर्काको बुई चढ्दा गठबन्धनभित्र सबैलाई चित्त बुझाउनुपर्ने, नत्र सत्ता खुस्किने त्रासमै प्रधानमन्त्रीको समय खेर गयो ।

जनताको अवस्था बदल्न कस्ता योजना बनाउने ? विकास र समृद्धिलाई तीव्रता दिन कसरी अगाडि बढ्ने ? हुर्किँदै गरेको गणतन्त्रलाई कसरी संस्थागत गर्दै जाने ? निमुखा जनताको अवस्था बदल्नका लागि कस्ता नीति–कार्यक्रम चलाउने, लाखौँको संख्यामा विदेशिएको युवा शक्तिलाई कसरी यही देशमा अड्याउने ? बढ्दै गएको वर्गीय दूरीलाई कसरी नजिक बनाउने ? आफ्नै उत्पादनले बजार धान्ने अवस्था कसरी बनाउने ? उद्योग–धन्दा सञ्चालनसँगै रोजगारीको सिर्जना कसरी गर्ने ? शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतालाई निजीकरणबाट कसरी माथि ल्याउने ? हुँदाखाने र हुनेखानेबीचको बढिरहेको दूरीलाई कसरी कम गर्ने ? भन्ने विषय कहिल्यै प्राथमिकतामा परेनन् ।

गठबन्धनमा को पहिले प्रधानमन्त्री बन्ने ? कति समय प्रधानमन्त्री बन्ने ? आलोपालो प्रधानमन्त्री कसरी खाने ? आफ्ना नजिककालाई कसरी भाग पु¥याउने ? यी र यस्तै विषयमा मात्रै गठबन्धन गर्ने दलहरूको समय खेर गयो । पदभन्दा माथि जनताको समस्या हो, मुलुकको समृद्धि हो, विकासको आवश्यकता हो भन्ने हेक्का दलहरूलाई भएन । जनताको जाडोले कठ्याङ्ग्रिएका थिए, सरकारलाई पद टिकाउनकै ध्यान थियो । जनता अभावको छटपटीमा रुमलिइरहने, सरकार आफ्नै किचलोमा अलमलिइरहने जस्ता समस्याहरू सबैले भोगेकै हो, देखेकै हो ।

पुराना दलले जनमुखी काम गरेनन्, जनताको समस्या देखेनन्, सधैँ आफ्नो दुनो मात्रै हेरे । पटक–पटक सत्तामा रहँदा पनि भ्रष्टाचारको अन्त्य गरेनन्, सुशासनको प्रत्याभूति हुन सकेन भनेर जनआक्रोश सतहमै पोखियो र अहिलेको अवस्था जन्मियो । पुराना दलप्रति जनविश्वास खस्किँदै गएको समयमा नयाँ दलहरू पनि जन्मिइरहेका छन् । नयाँहरूबाट जनताले ठूलो भरोसा गरेको बुझिन्छ । रवि र बालेनको मिलनले धेरै युवा पुस्ता उनीहरूको समूहमा होमिने छाँट पनि देखिँदैछ । कलाकारदेखि पूर्व सुरक्षा निकाय तथा सामाजिक अभियन्ताहरू पनि रवि र बालेनको टिममा मिसिन उत्साहित देखिन्छन् ।

पुराना दलहरूको व्यवहारले आक्रोशित बनिरहेको ठूलो जमात रवि र बालेनको टिममा जाने धेरैको अनुमान छ । तर रवि र बालेनले जसरी पदका लागि रस्साकस्सी गरेको देखियो, त्यसले नयाँ पनि पुरानाकै बाटोमा लागेको धेरैको बुझाइ छ । जनमुखी सवालभन्दा पनि को प्रधानमन्त्री बन्ने ? को पार्टीको नेता बन्ने ? कसको वरियता के हुने ? को पहिले प्रधानमन्त्री हुने ? जस्ता विषयमा लामो समय छलफल हुनुले नयाँहरूले जनताको मुद्दालाई कसरी सम्बोधन गर्लान् भन्ने धेरैको चासो छ ।

यता नयाँ दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अन्य दललाई गाली गरेका गरिरहेका छन् । आफूभन्दा फरक दललाई गाली गर्नु, आफूभन्दा अरूलाई नेता नै नमान्नु पुरानै दलको रोग हो । यो कुनै नौलो हैन । एकअर्कालाई कटाक्ष गर्ने अभ्यास पुराना दलमा संस्थागत नै हुँदै आएको छ । आफ्ना पार्टीको एजेन्डा, जनजीविकाको मुद्दाभन्दा पनि कसले के भन्यो ? कसले के बोल्यो ? कसलाई होच्याउने ? कसलाई उकास्ने ? जस्ता विषयहरूले सभा–सम्मेलनहरूमा स्थान पाउने पुरानै अभ्यास हो । अहिले नयाँ दलका नेताहरूमा पनि त्यही अभ्यास सुरु भइसकेको छ ।

अरूलाई गाली गर्ने समयमा आफ्नो पार्टीको नीति, आफ्नो पार्टीको विचार, आफ्नो पार्टी सत्तामा पुग्दा लिने नीति, गर्ने काम र विकासका योजनाहरू जनतालाई भन्ने हो भने पक्कै पनि जनताले नयाँहरूलाई चिन्ने मौका पाउने थिए । तर अहिलेको व्यवहारहरू हेर्दा त्यस्तो देखिँदैन । जेनजीका सवाल कहाँ छन् ? जनताका सवाल कहाँ छन् ? भ्रष्टाचारलाई शून्यमा झार्ने योजना कता छन् ? अहिलेको शासकीय स्वरूपमा के परिमार्जन गर्नुपर्छ ? लगायतका सवालमा छलफल गर्ने बेलामा को प्रधानमन्त्री बन्ने भन्ने छलफलले प्रमुखता किन पाएको ?

आफ्ना पार्टीको एजेन्डा भन्न नै समय कम भएको बेला अरूलाई कटाक्ष किन गर्ने, अरूलाई गाली किन गर्ने ? अरूलाई गाली गरेर आफू गतिलो हुने अभ्यासले राजनीतिक सफलता नदिने पक्का छ । अरूको उछितो काटेर आफू स्थापित हुने अभ्यास आफ्नै लागि बलियो नबन्ने कुरा पुरानाबाट सिक्न नयाँले जरुरी छ । पुराना ठीक नभएको ठहर भएपछि नयाँहरूले त्योभन्दा फरक हुनु नितान्त आवश्यक छ । राजनीति गर्नु र बुझ्नुमा निकै फरक सवाल हो भन्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ । त्यसैले राजनीति गरेर बुझ्नु र बुझेर गर्नुमा निकै अन्तर हुन्छ ।

अहिले राजनीतिमा होमिएका धेरै पात्र जनताबाट परीक्षण भएकै पात्र हुन् । तर अबका दिनमा चाहिँ धेरै विचार गरेर, नअत्तालिइकन, अरूलाई गाली नगरीकन, पद र पार्टीभन्दा माथि मुलुक र जनताको मुद्दा हुनुपर्छ भन्ने मान्यताले अगाडि बढ्नुपर्नेछ । नयाँ दलहरूले सबैभन्दा पहिला जेनजीले उठाएका सवालहरूलाई कसरी संस्थागत गर्ने, चुनाव अघि र पछि कुन मोडालिटीमा जाँदा ती मागलाई संस्थागत गर्न सकिन्छ भन्ने सवाल प्रमुख बनाउनुपर्छ । दोस्रो भनेको आफ्नो दलले लिने मूल नीति के हुने ? र, ती नीति जनतालाई कसरी बुझाउने ?

पुराना दलहरूको पनि चुनावी गठबन्धन बन्ने पक्का छ । त्यो अवस्थामा आफ्ना प्रतिनिधिलाई कसरी स्थापित गर्ने भन्ने योजना नयाँ दलले बनाउनुपर्नेछ । पद र वरियता छलफलका एजेन्डा बन्नु र बनाइनु हुँदैन । रास्वपा छोटो समयमा नै जनताको मन जित्न सफल भएको पार्टी हो तर पछिल्लो समय सभापतिमाथि लागेको आरोपले धेरै आशंकाहरू पलाएको देखिन्छ । त्यसैले जनतालाई रास्वपाले बुझाउनुपर्ने कुरा धेरै छन् ।

काठमाडौं महानगरका मेयर बालेन शाह पनि राजनीतिक निषेधको भिडबाट उदाएर आएका हुन् । उनीमाथि पनि विभिन्न आरोपका बाछिटा छन् । जेनजी आन्दोलनमा पनि स्टाटस मात्रै लेखेर बस्ने, अगाडि नदेखिने भनिएको छ । त्यसैले जनतालाई विश्वस्त पार्न निकै कसरत बाँकी नै छ । पदको मोहमा नयाँ अनुहारहरू अलमलिनु जनविश्वासमाथिको थप धोका हुने पक्का नै छ । त्यसैले पुरानो बाटो दौडिनेभन्दा पनि नयाँ भएर नयाँ बाटो नै हिँड्दा गन्तव्यमा पुगिन्छ, नत्र बीचमै दुर्घटना नहोला भन्न सकिन्न ।

फागुन २१ मा तत्कालीन सत्तामा रहेका दलहरुकै बहुमत भएर सरकार बन्यो भने अहिलेका नयाँ अनुहार सबै पत्तासाप हुने, जनताको भरोसा टुट्ने निश्चितप्रायः छ । त्यसैले नेताले जित्ने हैन, देशले जित्ने, जनताले जित्ने एजेन्डा अहिलेको आवश्यकता हो ।

सम्बन्धित खबर