२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

नेपालमा जलमार्गको सम्भावना

shivam cement
गम्भीरबहादुर हाडा
२०८२ पुष २५ गते ०६:०५
Shares
नेपालमा जलमार्गको सम्भावना

जलमार्ग यातायात भन्नाले नदी, समुद्र र महासागरको प्रयोग गरी गरिने यातायात प्रणाली भन्ने बुझिन्छ । यसको सञ्चालन मुख्यतः दुई प्रकारको हुन्छ– आन्तरिक जलमार्ग र बाह्य जलमार्ग । आन्तरिक जलमार्ग देशभित्रका ठूला नदीहरू प्रयोग गरी एक स्थानबाट अर्को स्थानमा सामान तथा यात्रु ओसारपसार गर्न उपयोग गरिन्छ भने बाह्य जलमार्ग समुद्र र महासागरमार्फत अन्तर्राष्ट्रिय व्यापारका लागि प्रयोग हुने हुन्छ ।

नेपालमा जलमार्ग सञ्चालनको सम्भाव्यता अध्ययन गरिएका विभिन्न स्थानहरूमा आवश्यक पूर्वाधार, विशेषतः जेट्टी तथा चार्जिङ सुविधाको व्यवस्था गर्न सकिएमा यातायात विकासमा यो ऐतिहासिक उपलब्धि हुन सक्छ । कृत्रिम रूपमा आवश्यक संरचना निर्माण गरी जलमार्ग सञ्चालन गर्न सकेमा नेपालका लागि वैकल्पिक, किफायती र वातावरणमैत्री यातायात प्रणालीको ढोका खुल्ने निश्चित देखिन्छ । प्रारम्भिक अध्ययनअनुसार कम्तीमा १५–१६ स्थानमा जल यातायात सम्भव देखिएको छ । जलमार्ग विकाससँगै यातायात विस्तार मात्र होइन, विदेशी मुद्रा आर्जन, इन्धन बचत, पर्यटन प्रवर्धन तथा मर्मत–सम्भार लागतमा कमी जस्ता बहुआयामिक लाभ प्राप्त हुन सक्छन् ।

नदीहरू प्रकृतिले दिएको स्वाभाविक राजमार्ग हुन्, जसको प्रवाह सधैँ समुद्रतर्फ हुन्छ । हिमालयबाट उत्पत्ति भएका नेपालका असंख्य नदीहरू प्राकृतिक रूपमा गंगा नदी हुँदै बंगालको खाडी र समुद्रसम्म जोडिएका छन् । यही जलमार्ग प्रयोग गरी नेपालले आफ्ना वस्तु निर्यात गर्न, अन्तरदेशीय आवतजावत सहज बनाउन र भूपरिवेष्ठित अवस्थाबाट सिर्जित कठिनाइलाई न्यून गर्न सक्छ । युगौँदेखि प्रकृतिले दिएको यस मार्गको उपयोगमा ढिलाइ गर्नु दीर्घकालीन रूपमा नेपालकै हितविपरीत हुनेछ ।

कोशी, गण्डकी र कर्णाली नेपालका प्रमुख नदी प्रणाली हुन् । यी नदीहरू हिमालय क्षेत्रबाट बग्दै तराई हुँदै भारत प्रवेश गरी गंगा नदीमा मिसिन्छन् । सर्भेक्षणका क्रममा भारततर्फ निर्माण भएका पुलहरूको अध्ययन गर्दा हालसम्म कुनै पनि पुल जलमार्ग सञ्चालनका लागि बाधक देखिएका छैनन् । अधिकांश पुलहरूको उचाइ पानी सतहबाट २५–३० फिटसम्म छ, जबकि सम्भावित स्टीमर वा भेसलहरूको उचाइ १८–२२ फिट मात्र हुने देखिन्छ । प्रमुख समस्या भनेको नेपाल–भारत सीमामा अवस्थित कोशी र गण्डक बाँध हो, जसले आन्तरिक जलमार्ग सञ्चालनमा अवरोध सिर्जना गर्छ । तर आवश्यक परे बाँधमा जलमार्गीय संरचना थप्ने वा वैकल्पिक नहर निर्माण गरेर यो समस्या समाधान गर्न सकिन्छ ।

नेपालमा जलमार्ग विकासबारे औपचारिक चर्चा छैटौँ पञ्चवर्षीय योजना (२०३७–२०४२) देखि सुरु भएको देखिन्छ । त्यसपछिका विभिन्न योजनाहरूमा जल यातायात विकासका नीति र कार्यक्रम समावेश भए तापनि उल्लेखनीय प्रगति हुन सकेन । दशौँ योजनादेखि सम्भाव्य क्षेत्र पहिचान, दीर्घकालीन योजना निर्माण र छिमेकी मुलुकसँग समन्वय गर्ने नीति लिइए पनि कार्यान्वयन पक्ष कमजोर नै रह्यो । पछिल्ला योजनाहरूमा पनि आन्तरिक जल यातायात संरचना विकासको कुरा दोहोरिए तापनि ठोस उपलब्धि देखिँदैन ।

जलमार्ग विकासले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ । अन्य यातायात साधनको तुलनामा जल यातायात वातावरणमैत्री छ, इन्धन खपत कम हुन्छ र दीर्घकालीन मर्मत–सम्भार खर्च पनि न्यून रहन्छ । सडक निर्माणमा हुने ठूलो लगानीको तुलनामा जलमार्गको लागत कम हुने भएकाले सीमित स्रोत भएको देशका लागि यो उपयुक्त विकल्प हो । साथै, नदीमा आधारित जल यातायातले पर्यटन प्रवर्धनमा समेत टेवा पुर्‍याउन सक्छ । जलक्रीडा, नदी यात्रा र प्राकृतिक दृश्यावलोकनले पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुर्‍याउनेछ ।

नारायणी र कोशी नदीमा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन नेपाल र भारतका अधिकारी सम्मिलित संयुक्त टोलीद्वारा सुरु गरिएको छ । पानीजहाज कार्यालय स्थापना भइसकेको सन्दर्भमा यी अध्ययनले कुन क्षेत्रमा, कुन क्षमताका भेसल सञ्चालन गर्न सकिन्छ भन्ने निर्णयमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । नेपाल एक्लैले समुद्रसम्म पहुँच नपाउने भएकाले भारतसँग सहकार्य अपरिहार्य छ । भारतले गंगा नदी प्रणालीमा जल यातायात विस्तारलाई तीव्रता दिइरहेको सन्दर्भमा नेपालका लागि यो अवसर महत्वपूर्ण छ ।

दक्षिण एसियामा नदी प्रणालीमा आधारित जलमार्ग विकासमा ठूलो लगानी भइरहेको छ । भारत सरकारले विश्व बैंकको सहयोगमा हल्दियादेखि वाराणसीसम्म १३६० किलोमिटर लामो आधुनिक जल यातायात मार्ग निर्माण गरिरहेको छ । यो मार्ग नेपालको प्रमुख व्यापारिक नाका वीरगन्जसँग नजिक पर्छ । नेपालका प्रमुख नदीहरू गंगा नदीका सहायक भएकाले यो परियोजनाले नेपाललाई पनि प्रत्यक्ष फाइदा पुर्‍याउने सम्भावना छ । विश्व बैंकका अनुसार जलमार्गबाट ढुवानी गर्दा लागत कम, ढुवानी क्षमता बढी र वातावरणीय असर न्यून हुन्छ ।

विश्वका अन्य उदाहरणहरू– पनामा नहर, नाइल, डेन्यूब, राइन, याङ्त्से जस्ता नदी प्रणालीहरूले जल यातायातले व्यापार, पर्यटन र औद्योगिक विकासमा कस्तो भूमिका खेल्न सक्छ भन्ने स्पष्ट देखाउँछन् । भूपरिवेष्ठित मुलुक इथियोपियाले नदी प्रणालीमा जल यातायात विकास गरेर विदेशी लगानी आकर्षित गरेको उदाहरण पनि नेपालका लागि प्रेरणादायी छ ।

भारतले पश्चिम बंगाल, बिहार र उत्तर प्रदेश क्षेत्रमा जल यातायात विस्तार गरिरहेको सन्दर्भमा नेपालका लागि करोडौं जनसंख्याको बजारमा सहज पहुँचको सम्भावना खुल्नेछ । बीबीआइएन जस्ता क्षेत्रीय संयन्त्रमार्फत सीमा नदीसम्म जलमार्ग विस्तारलाई प्राथमिक एजेन्डा बनाउनु आवश्यक छ । पहाडी नदीहरू मधेसमा प्रवेश गरेपछि समथर भूभागमा बग्ने भएकाले साना तथा मध्यम क्षमताका भेसल सञ्चालन सम्भव देखिन्छ । आधुनिक प्रविधि प्रयोग गरी आवश्यक स्थानमा बाँध तथा संरचना निर्माण गरेर जलमार्ग सञ्चालन गर्न सकिन्छ ।

जल यातायात सडक यातायातको तुलनामा किफायती, सुरक्षित र वातावरणमैत्री मानिन्छ । नेपालले २०२७ सालमै पानीजहाज दर्ता ऐन ल्याए पनि व्यवहारिक कार्यान्वयन हुन सकेन । २०७५ सालमा पानीजहाज कार्यालय स्थापना हुनु सकारात्मक कदम हो । अन्तर्राष्ट्रिय समुद्री कानुनअनुसार तटीय राष्ट्रका अधिकार, जलयात्राको स्वतन्त्रता र सहकार्यका सिद्धान्तलाई ध्यानमा राखी नेपालले जलमार्ग विकासलाई दीर्घकालीन राष्ट्रिय रणनीतिका रूपमा अघि बढाउन आवश्यक छ ।

समग्रमा, जलमार्ग नेपालको भूपरिवेष्ठित अवस्थाबाट उत्पन्न चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने माध्यम बन्न सक्छ । पर्याप्त राजनीतिक इच्छाशक्ति, छिमेकी मुलुकसँगको सहकार्य र दीर्घकालीन दृष्टिकोणका साथ अघि बढेमा जल यातायात नेपालका लागि वैकल्पिक होइन, आवश्यक राष्ट्रिय पूर्वाधार बन्नेछ ।

सम्बन्धित खबर