
काठमाडौंको नक्सालस्थित नन्दी माध्यमिक विद्यालयमा प्रधानाध्यापक छान्ने विषयमा २०७१ सालमा दुई पक्षबीच चर्काचर्की नै भयो । एक पक्ष थियो ‘महिलाको नेतृत्व चाहिँदैन’ भन्ने, अर्को ‘क्षमता र योग्यता भएको महिलालाई किन नेतृत्व नदिने' भन्ने ।
यो विवादले एकातर्फ विद्यायको पठनपाठनमा अवरोध सिर्जना गरिरहेको थियो भने अर्कोतर्फ महिला भएकै कारण नेतृत्व गर्न नदिनु लैंगिक असमानताको पराकाष्ठा पार। आफू प्रधानाध्यापक हुन योग्य हुँदाहुँदै पद दिन नमानिएको भन्दै उनी विद्यालय प्रशासनविरुद्ध उजुरी लिएर अख्तियारसमेत पुगिन् । प्रधानाध्यापक को बन्ने ? भन्ने लफडाले शिक्षकहरूको तलबसमेत रोकियो । ६/७ महिनापछि बल्ल जिल्ला शिक्षा कार्यालयले पत्र दियो र नन्दी माविको पहिलो प्रधानाध्यापकमा नियुक्त भइन्, गीता काफ्ले ।
३१ वर्षदेखि शिक्षण पेसामा आबद्ध काफ्लेले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको १० वर्ष भइसकेको छ । स्पष्ट वक्ता र निडर भएकै कारण आफ्नो हक र अधिकार प्राप्तिका लागि लडेकी काफ्लेका लागि शिक्षण सानैदेखिको सपना हो र रहर पनि । बाल्यकालमै कसैले ‘ठुलो भएपछि के बन्छ्यौ गीता ?’ भनेर सोध्दा जहिल्यै उनको एउटै जवाफ हुन्थ्यो, ‘टिचर’ ।
दोलखामा जन्मिएकी काफ्ले २०४६ सालमा एसएलसी पास गरेपछि अध्ययनका लागि काठमाडौं आएकी थिइन् । यहाँ उनले कक्षा १२ सम्म पढिन् र पुनः गाउँ फर्किइन् । २०५० सालतिर दोलखाकै अमर माविमा अंग्रेजी शिक्षकका रूपमा उनले आफ्नो रहरलाई पेसाका रूपमा अगाडि बढाइन् । त्यतिबेला पनि उनी सो माविको पहिलो महिला शिक्षक थिइन् । शिक्षणसँगै उनले त्यही बसेर स्नातक गरिन् र स्नातकोत्तर पनि । २०५२ सालमा लोकसेवा आयोगको परीक्षाको नतिजा आठ वर्षपछि आउँदा उनले अंग्रेजी शिक्षकमा नाम निकालिन् र शिक्षण पेसालाई स्थायी बनाइन् । त्यसपछि त्यहाँ तीन वर्ष काम गरिन् र अमर माविको १३ वर्षे यात्रालाई विट मार्दै २०६३ सालमा नन्दी माविमा सरुवा भएर उनी काठमाडौं आएकी हुन् । २००४ सालमा स्थापना भएको नन्दी माविमा उनले शिक्षकका रूपमा नौ वर्ष काम गरिन् । नौ वर्षपछि विभिन्न चुनौतीको सामना गरी आफू प्रधानाध्यापक बनेको काफ्ले बताउँछिन् । ‘प्रधानाध्यापक महिला हुन्न भन्न थाले । आफ्नै मान्छे राख्न चलखेल पनि भयो । योग्यताको हिसाबले हुनुपर्ने म थिएँ । त्यसैले पछि नहटेर मुद्दा जितेर आएँ,’ उनले भनिन् ।
प्रधानाध्यापक बन्दाको रिसराग भने अहिले विद्यालयमा नभएको उनले अनुभूति गरेकी छन् । हिजो आफूलाई नेतृत्वमा देख्न नचाहने सहकर्मीसमेत अहिले विद्यालयको परिवर्तन देखेर खुसी छन् । भूकम्पबाट ध्यस्त भएको विद्यालयलाई उनकै नेतृत्वमा पुनः खडा गरेर राम्रो पढाइ हुने विद्यालयमा दर्ज गराएकी छन् । कोरोनाकालमा उपत्यकाका अधिकांश विद्यालयमा पठनपाठन बन्द हुँदासमेत उनको विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन गरेको थियो । असमानताको खाडल चिरेर प्रधानाध्यापक बनेकी उनी भन्छिन्, ‘महिलाले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ । अवसर पाउँदा उत्कृष्ट काम गरेर महिलालाई अघि बढेको देख्न नचाहनेहरूलाई जवाफ दिनुपर्छ ।’