
पृथ्वीनारायण शाहको बहुपहिचान रहेको पाइन्छ । विभिन्न राज्य–रजौटा, भुरे–टाकुरे तथा स–साना आकारमा छरिएर रहेका हिमाली राज्यहरूलाई एकीकरणको सूत्रमा बाँधी एउटा बलियो हिमाली राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा उनको विशिष्ट पहिचान छ । फलस्वरूप देशको सिमाना व्यापक र सुदृढ बनाउने चाहना राख्ने चिन्तकका रूपमा उनको अर्को परिचय देखिन्छ । यस कारण कतिपयले उनलाई केवल राजाका रूपमा मात्र हेर्ने गरेका छन् । तर उनका क्रियाकलापहरूको अध्ययन गर्दा उनी नेपालका राष्ट्र निर्माता, राष्ट्राध्यक्ष र राष्ट्र प्रेमीका रूपमा समेत चिनिन्छिन् भन्ने तथ्य स्पष्ट हुन्छ ।
उनको जन्म जयन्तीलाई राज्यले राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरेको थियो । यसरी पृथ्वीनारायण शाह नेपालका राष्ट्र निर्माता, युगपुरुष, राष्ट्रभक्त र सर्वोपरि रूपमा आधुनिक नेपालका निर्माता हुन् । उनले आफ्नो सम्पूर्ण जीवन राष्ट्र निर्माणकै निम्ति समर्पण गरेका थिए । एकीकरणका दौरानमा विविध संघर्ष र पराजयको सामना गर्नुपरे तापनि क्रमशः एक–एक खुड्किला पार गर्दै अघि बढ्नु उनको अदम्य साहस र तीव्र देशभक्तिको परिचायक हो ।
यस्ता राष्ट्र प्रेमी युग पुरुषको चर्चा गर्दा हामी नेपालीहरूको मन–मस्तिष्कमा सर्वप्रथम राष्ट्र निर्माता पृथ्वीनारायण शाहकै स्मरण हुन्छ । उनको विराट व्यक्तित्व र अमूल्य विचारहरूको चर्चा नेपालीहरूले जति गरे पनि थोरै नै हुन्छ । वास्तवमा २५० वर्षअघिको नेपालको सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थालाई वर्तमान समयको मापदण्डबाट मूल्यांकन गरेर निष्कर्ष निकाल्नु सर्वथा अतिशयोक्ति ठहरिन्छ । एकीकरण अभियानका क्रममा केही कमजोरीहरू भएका हुन सक्छन्, तर जे भए पनि राजा पृथ्वीनारायण शाहको योगदानको परिणामस्वरूप नै आज हामी स्वतन्त्र राष्ट्र नेपालको नागरिक हुने गौरव प्राप्त गर्न सफल भएका हौँ ।
यदि त्यस समयमा नेपालको एकीकरण हुन नसकेको भए वर्तमान नेपालको भू–भाग तत्कालीन ब्रिटिस साम्राज्यको एक अङ्ग बन्ने सम्भावना प्रबल थियो । पृथ्वीनारायण शाहले टुक्रा–टुक्रामा विभाजित राज्यहरूलाई एक सूत्रमा आबद्ध गरी नयाँ नेपालको जग मात्रै बसालेनन्, तत्कालीन नेपालको सामाजिक, राजनीतिक, आर्थिक अवस्थाको गहिरो अध्ययन, मनन र विश्लेषण गरी त्यसका आधारमा विभिन्न नीतिहरू पनि निर्धारण गरेका थिए । नेपाल र सम्पूर्ण नेपालीको अस्तित्व जोगाउन विभाजित नेपाललाई सबल र अखण्ड राष्ट्रका रूपमा उभ्याउने महान् कार्य पृथ्वीनारायण शाहबाटै भएकोमा इतिहास साक्षी छ ।
यसर्थ, नेपाल राष्ट्रको स्वतन्त्रता अक्षुण्ण राख्न पृथ्वीनारायण शाह र उनका उत्तराधिकारी राजाहरूले ब्रिटिस भारतको जालोबाट बच्न दीर्घकालसम्म सजग र सावधान रहनुपरेको थियो । विशाल भारतलगायत वरपरका धेरै देशहरूलाई आफ्नो अधीनमा पार्न सफल शक्तिशाली ब्रिटिस साम्राज्यवादसँग एउटा सानो देश भएर पनि नेपालले सामना गर्न सक्नु निश्चय नै गर्वको विषय हो । यसरी देशभक्ति, वीरता र स्वाभिमानले ओतप्रोत भएका पृथ्वीनारायण शाहले नेपालको अस्तित्व जोगाउन आवश्यक नेतृत्व मात्र प्रदान गरेनन्, स्वयं निरन्तर राष्ट्रको विस्तार र विकासमा क्रियाशील रहे ।
जब एसियाको यस भू–भागमा तमाम राज्य–रजौटाहरू एकपछि अर्को विदेशी शक्तिका सामु नतमस्तक हुँदै आत्मसमर्पण गर्न बाध्य भइरहेका थिए, त्यही समयमा पृथ्वीनारायण शाहले एकीकरणमार्फत राज्यको सिमाना विस्तार गर्नुका साथै एकीकृत तथा विजित क्षेत्रका धार्मिक, सांस्कृतिक सम्पदा र परम्पराको संरक्षणमा पनि विशेष ध्यान दिए । यही नीतिका कारण एकीकरण अभियानमा व्यापक जनसहयोग र सहभागिता जुट्न सम्भव भयो ।
विश्व इतिहासमा हेर्दा, कुनै पनि एकीकरण निर्विवाद र निर्विकल्प बनेका छैनन् । त्यसैले पृथ्वीनारायण शाहद्वारा गरिएको नेपाल एकीकरणका क्रममा भएका भनिएका अपवाद स्वरूप त्रुटि र कमजोरीहरूलाई मात्र उछालेर राष्ट्र निर्माणको सम्पूर्ण अभियानलाई मानमर्दन गर्नु उचित हुँदैन । पृथ्वीनारायण शाह राजकुलमा जन्मेका र राजा भएकै कारण सम्मानयोग्य बनेका होइनन्, उनले गरेको ऐतिहासिक योगदानका कारण नै उनी सम्मानका पात्र बनेका हुन् । उनको योगदानलाई छायामा पार्ने प्रयास गर्नु धरातलीय यथार्थमाथि आँखा चिम्लनु सरह हो ।
इतिहासमा जित्ने पक्षले आफ्नो प्रभाव, छाप र निर्णय स्थापित गर्नु स्वाभाविक प्रक्रिया हो । यसलाई तत्कालीन चेतनाको दृष्टिकोणबाट हेर्दा अस्वाभाविक प्रभुत्व जमाएको भनेर आरोप लगाउने ठाउँ कतै भेटिँदैन । देश निर्माणका लागि महत्वाकांक्षी योजना, साहस, संकल्प र दूरदर्शिता आवश्यक हुन्छ । पृथ्वीनारायण शाह दूरदर्शी राजा मात्र होइन, कुशल लडाकु, राजनीतिज्ञ र दार्शनिक पनि थिए । उनको सम्मान नेपालकै सम्मान हो ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अथक प्रयास र पराक्रमकै कारण वर्तमान नेपालको एकीकरण सम्भव भयो र हामी नेपाली कहलाउन पायौँ । नेपाल चार वर्ण छत्तीस जातको फूलबारी भएकाले यहाँ जाति, धर्म र सम्प्रदायबिच दीर्घकालीन झगडा र मनोमालिन्यको इतिहास त्यति देखिँदैन ।
नेपालको ऐतिहासिक पृष्ठभूमिलाई पल्टाएर हेर्दा, लिच्छविकालीन राजा अंशुवर्माको शासनकाललाई नेपालको स्वर्ण युग मानिन्छ, जसमा सुनका सिक्कासमेत चलनमा थिए । यही ऐतिहासिक चेतनालाई अँगाल्दै आएका नेपाली समाजमा बिचमा बाइसी–चौबिसी राज्यकालका राजा–रजौटाहरूले मुलुकको स्वतन्त्र अस्तित्वलाई कमजोर पार्ने प्रयास गरे तापनि ती प्रयासहरू सफल हुन सकेनन् । पृथ्वीनारायण शाहले टुक्रिन लागेका भू–भागलाई एक सूत्रमा बाँध्ने दृढ अभिलाषासहित बाइसी–चौबिसी राज्यहरूको उन्मूलन गरी काठमाडौं, ललितपुर, भक्तपुरलगायत सम्पूर्ण प्रान्तहरूलाई एउटै राष्ट्रिय झन्डामुनि एउटै राजाको नेतृत्वमा सञ्चालित राज्य व्यवस्थाको घोषणा गरे । यही कारण आज नेपाल विश्वसामु शिर ठाडो गरेर उभिन सक्षम भएको छ ।
पृथ्वीनारायण शाहको अधिकांश जीवन युद्धमै बिते तापनि उनले शासन सुधार, जनताको सुख–सुविधा र सुशासनप्रति पनि उत्तिकै ध्यान दिए । जातीय तथा वर्गीय भेदभाव नगरी सबै जनताको सहयोगमा विशाल राष्ट्र निर्माण गरेका थिए । परराष्ट्र मामिलामा उनी अत्यन्त सचेत र दूरदर्शी थिए । आज नेपालले अवलम्बन गरिरहेको असंलग्न परराष्ट्र नीतिको आरम्भकर्ता पनि उनी नै छन् ।
पृथ्वीनारायण शाहको तुलना उनका उत्तराधिकारी अन्य राजाहरूसँग गर्न मिल्दैन । पृथ्वी जयन्तीलाई राष्ट्रिय महत्वका दिवसहरूको सूचीबाट केही समय हटाइनु उनको अवमूल्यन गर्नु हो । ‘इतिहास शासकको चाहनाअनुसार लेखिन्छ’ भन्ने उक्ति पृथ्वीनारायण शाहका सन्दर्भमा पूर्ण रूपमा चरितार्थ भएको देखिन्छ । त्यसैले उनको योगदानको उपेक्षा गर्ने अघिल्लो सरकारी निर्णय सच्याउने समय आएको थियो । वर्तमान नेपालको भौगोलिक एकीकरण अभियानको नेतृत्व गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान स्वरूप वि.सं. २०७९ सालदेखि पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रूपमा मनाउने निर्णय हुनु सकारात्मक कदम हो ।
यसर्थ, पृथ्वीनारायण शाहको पुनस्र्थापनाले राष्ट्रिय अखण्डताको पक्षमा र विखण्डनविरुद्ध सशक्त सन्देश दिनेछ । नेपालमा लोकतन्त्र र राष्ट्रियताको अभिन्न सम्बन्ध छ; राष्ट्रियता कमजोर भए लोकतन्त्र पनि बलियो हुन सक्दैन ।