२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

जेनजी आन्दोलन र भेनेजुएला घटना

shivam cement
खगेन्द्र पौडेल
२०८२ पुष २८ गते ०६:००
Shares
जेनजी आन्दोलन र भेनेजुएला घटना

विश्व राजनीतिक इतिहासमा बेला–बेला यस्ता घटनाहरू घटिरहन्छन्, जसले तत्कालीन सन्दर्भभन्दा बाहिर गएर अन्य मुलुकहरूका लागि समेत गहिरो शिक्षा दिन्छन् । हालै नेपालमा देखा परेको जेनजी आन्दोलनले सिंहदरबार, संसद् भवनजस्ता राज्यका सामरिक केन्द्रहरू मात्रै जलेनन्, शासन सत्ता नै ढल्न पुग्यो । यता, भेनेजुएलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष संलग्नतामा राष्ट्रपति निकोलस मदुरोलाई कब्जामा लिइ अमेरिका लगियो । भेनेजुएलाको शासन सत्तामा ठुलो हेरफेर भयो । यी दुई घटनामध्ये जेनजी आन्दोलनको प्रत्यक्ष प्रभावमा नेपाल छ भने अर्कोतिर भेनेजुएलाको घटनाबाट पनि सिक्नुपर्ने अवस्थामा छ ।

पहिलो र सबैभन्दा गम्भीर सन्देश भनेको जनचाहनाविपरीत शासन चलाउँदा राज्यका सामरिक संरचनाहरू स्वयं जनताको निशानामा पर्न सक्ने यथार्थ हो । जेनजी आन्दोलनले देखाएको जस्तै जब शासकहरूले जनताको आवाजलाई बेवास्ता गर्छन्, तब सिंहदरबार, संसद् भवन, मन्त्रालयजस्ता शक्तिका प्रतीकहरू नै जनआक्रोशको केन्द्र बन्न पुग्छन् । ती संरचनाहरू केवल इँटा–ढुंगाका भवन मात्र नभई राज्यसत्ताको अहंकार र दूरीको प्रतीकका रूपमा बुझिन्छन् । परिणामतः क्षणभरमै करोडौँ रुपैयाँको राज्य सम्पत्ति ध्वस्त हुन सक्छ ।

दोस्रो महत्वपूर्ण पक्ष अन्तर्राष्ट्रिय शक्ति राजनीतिसँग जोडिएको छ । भेनेजुएलाको घटनाले देखाएको छ– यदि कुनै मुलुकका शासकहरू अन्तर्राष्ट्रिय शक्तिहरूको प्रत्यक्ष निशानामा परे भने राष्ट्रपति भवन, प्रधानमन्त्री निवासजस्ता सुरक्षित ठानिएका स्थानहरू पनि असुरक्षित बन्न सक्छन् । अत्याधुनिक प्रविधि, गुप्तचर सञ्जाल र सैन्य क्षमताका अगाडि आलिसान भवनहरू केवल सजिलो लक्ष्य मात्र बन्ने खतरा रहन्छ । यसले शासकहरू निश्चित संरचनामा केन्द्रित रहनु स्वयं जोखिमपूर्ण हुन सक्ने सन्देश दिन्छ ।

यही सन्दर्भमा नेपालका लागि एउटा फरक तर व्यवहारिक सोच अगाडि सार्न सकिन्छ । अबको समय राज्यको शक्ति प्रदर्शन गर्ने ठूला–ठूला आलिसान भवनहरू निर्माण गर्ने हो कि राज्यको दीर्घकालीन सुरक्षा, स्थायित्व र जनमैत्री शासन सुनिश्चित गर्ने हो भन्ने प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने बेला आएको छ । नेपाल सरकार तथा प्रदेश सरकारले जनताको कर–पसिनाबाट निर्माण गरिने भव्य दरबारजस्ता संरचनाहरूको सट्टा कम लागतका, अस्थायी प्रकृतिका र आवश्यक परे सजिलै स्थानान्तरण गर्न सकिने संरचनाहरूको अवधारणातर्फ जानु समयसापेक्ष देखिन्छ ।

मोबाइल प्रणालीमा आधारित शासन संरचना– जहाँ राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री वा मन्त्रीहरू निश्चित एउटै आलिसान भवनमा सीमित नरही आवश्यकता अनुसार स्थान परिवर्तन गर्न सक्ने व्यवस्था हुन्छ, सुरक्षाका दृष्टिले मात्र होइन, प्रतीकात्मक रूपमा पनि महत्वपूर्ण हुन सक्छ । यसले शासकहरू जनतासँग नजिक छन् भन्ने सन्देश दिन्छ र शक्ति कुनै एक संरचनामा केन्द्रित छैन भन्ने मनोवैज्ञानिक प्रभाव समेत पार्छ ।

यसको अर्को ठूलो लाभ भनेको राज्य सम्पत्तिको सुरक्षा हो । कुनै पनि अप्रत्याशित आन्दोलन, विद्रोह वा बाह्य हस्तक्षेपका कारण यदि स्थायी सामरिक संरचनाहरू ध्वस्त भए भने राज्यले दोहोरो क्षति व्यहोर्नुपर्छ, एकातिर भौतिक संरचनाको नोक्सानी र अर्कोतिर शासन प्रणालीमा पर्ने प्रत्यक्ष असर । अस्थायी र कम लागतका संरचनाहरू प्रयोग गरिएमा यस्तो जोखिम न्यून गर्न सकिन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, नेपालजस्तो भ्रष्टाचार उच्च रहेको मुलुकमा ठूला संरचनाका नाममा हुने बजेट खर्च, अनियमितता र कमिसनखोरीमा ठूलो कमी आउन सक्छ । आलिसान भवन निर्माण प्रायः भ्रष्टाचारको केन्द्र बन्दै आएका छन् । यदि त्यस्ता अनावश्यक खर्च कटौती गरियो भने बचत भएको बजेट शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार विकासजस्ता वास्तविक विकासका क्षेत्रमा प्रयोग गर्न सकिने सम्भावना अत्यधिक बढ्छ ।

निश्चय नै, जेनजी आन्दोलन वा भेनेजुएलाका घटनाहरू आफैँमा सकारात्मक होइनन् । ती हिंसा, अस्थिरता र शक्ति संघर्षका पीडादायी उदाहरण हुन् । तर बुद्धिमान राष्ट्रहरू नकारात्मक घटनाबाट पनि सकारात्मक शिक्षा लिन सक्षम हुन्छन् । नेपालले यदि यस्ता घटनालाई गम्भीरतापूर्वक विश्लेषण गरी आफ्ना राज्य संरचना, शासन शैली र शक्ति प्रतीकहरू पुनर्विचार गर्ने हो भने यसले दीर्घकालीन रूपमा देशको सुरक्षा, आर्थिक पारदर्शिता र जनविश्वास बलियो बनाउन सक्छ ।

बलियो राष्ट्र भनेको ठूला भवनहरूले होइन, जनताको भरोसा, समावेशी शासन र विवेकपूर्ण नीतिले निर्माण हुन्छ । यही शिक्षा नेपालले अहिलेको विश्व राजनीतिक घटनाक्रमबाट आत्मसात् गर्न सके, त्यो नै हाम्रो लागि सबैभन्दा ठूलो लाभ हुनेछ ।

सम्बन्धित खबर