
धर्मनिरपेक्षता कुनै पनि राज्य, समाज वा शासन प्रणालीले सबै धर्मप्रति समान दूरी र समान सम्मान राख्ने सिद्धान्त हो । यसको अर्थ धर्मविरोध होइन, न त धर्महीनता नै; बरु धर्मलाई व्यक्तिको निजी आस्था र राज्यलाई सार्वजनिक विवेकको क्षेत्र मान्ने अवधारणा हो । जनशास्त्रीय दृष्टिले हेर्दा धर्मनिरपेक्षता मानव सभ्यताको लामो संघर्षपछि विकसित भएको सामाजिक सहमतिको परिणाम हो– जहाँ विविध विश्वास, संस्कृति र पहिचानबीच सहअस्तित्व सम्भव बनाउने साझा आधार खोजिएको छ ।
जनशास्त्रमा धर्मलाई सामाजिक संरचना, संस्कार र पहिचानसँग गाँसिएको सांस्कृतिक संस्था मानिन्छ । तर राज्य भनेको शक्ति, स्रोत र कानुनको संरचना हो । धर्मनिरपेक्षताको मूल मर्म यही हो– राज्यले कुनै एक धर्मलाई आधिकारिक बनाउँदा शक्ति असमान बन्छ, जसले अन्य समूहलाई सीमान्तकृत बनाउँछ । त्यसैले धर्मनिरपेक्षता भनेको ‘धर्म सम्बन्धमा राज्यको तटस्थता’ हो, जसले सबै नागरिकलाई समान हैसियत दिन्छ, उनीहरूको आस्थाभन्दा माथि नागरिकताको मूल्य राखिन्छ ।
ऐतिहासिक रूपमा राज्य सधैँ शक्ति सुदृढीकरणको औजार रहँदै आएको छ । जनशास्त्रीय अध्ययनहरूले देखाउँछन् कि जब राज्य कमजोर हुन्छ वा वैधता संकटमा पर्छ, तब उसले धर्मलाई भावनात्मक उपकरणका रूपमा प्रयोग गर्छ । धर्मले डर, आशा, पाप–पुण्य र स्वर्ग–नरकजस्ता गहिरा मनोवैज्ञानिक संरचनालाई छोएकाले जनसमर्थन जुटाउन सजिलो हुन्छ । यसैले व्यवहारमा धेरै राज्यहरू संविधानमा धर्मनिरपेक्ष लेखिए पनि नीतिगत र व्यवहारिक तहमा बहुसंख्यक धर्मको पक्षमा उभिन्छन् । यो राज्यको नैतिक असफलता मात्र होइन, शक्ति राजनीतिको स्वाभाविक परिणाम पनि हो ।
राजनीतिक दलहरू विचारका होइन, मतका व्यापारी बन्न थालेपछि धर्म सबैभन्दा सजिलो ‘भोट बैंक’ बन्छ । जब दलहरूले कुनै धर्मलाई संरक्षण वा खतरा भनी चित्रित गर्छन्, तब वर्ग, श्रम, शिक्षा, स्वास्थ्यजस्ता वास्तविक मुद्दा ओझेलमा पर्छन् । धार्मिक ध्रुवीकरण राजनीतिक दलका लागि छोटो बाटो हो, तर समाजका लागि दीर्घकालीन विष बन्छ । मानवताको मूल आधार मानिस हुनु हो– धर्म, जात, लिङ्ग वा संस्कृतिभन्दा पहिले । जनशास्त्रीय अध्ययनले देखाउँछ कि बहुधार्मिक समाजहरू त्यतिबेला मात्र स्थिर हुन्छन् जब राज्यले सबैलाई समान नागरिक मानेर व्यवहार गर्छ ।
धर्मनिरपेक्षता बिना मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र वैज्ञानिक सोच सम्भव हुँदैन । विज्ञान प्रश्न सोध्छ; धर्म विश्वास माग्छ । राज्यले विश्वासलाई होइन, प्रश्न र विवेकलाई आधार बनाउँदा मात्र मानव सभ्यता अगाडि बढ्छ ।
राज्य वा राजनीतिक शक्तिले कुनै एक धर्मको पक्ष लिँदा स्वतः अन्य धर्मावलम्बी दोस्रो दर्जाका नागरिक बन्छन् । विपक्षमा उभिँदा धार्मिक स्वतन्त्रतामाथि प्रहार हुन्छ । दुवै अवस्थामा मानवताको मर्म मर्छ । जनशास्त्रीय दृष्टिले हेर्दा यस्तो अवस्था सामाजिक विभाजन, हिंसा र दीर्घकालीन अस्थिरताको कारक बन्छ । इतिहास—चाहे युरोपको धार्मिक युद्ध होस्, दक्षिण एशियाको साम्प्रदायिक दंगा वा मध्यपूर्वको द्वन्द्व—सबैले यही पाठ पढाएका छन् ।
मूलतः, धर्मनिरपेक्षता कुनै आयातित एजेन्डा होइन, यो विविधताले भरिएको मानव समाजको न्यूनतम सहअस्तित्व सूत्र हो । राज्यले धर्मलाई शासनको औजार बनाउँदा मानवता कमजोर हुन्छ, विवेक मौन हुन्छ र शक्ति निर्दयी बन्छ । त्यसैले धर्मनिरपेक्षता बचाउनु भनेको कुनै धर्म बचाउनु होइन, मानिस बचाउनु हो । मानव सभ्यताको उत्कृष्ट आधार कुनै ग्रन्थ, कुनै देवता वा कुनै आस्था होइन; समानता, करुणा र विवेकमा आधारित धर्मनिरपेक्ष मानवता नै हो ।