
लोकतन्त्र आदर्शमा राम्रो भए पनि प्रयोग गलत हुँदा लोभतन्त्र र भोकतन्त्रमा रूपान्तरण भएको यथार्थ लुकाउन सकिँदैन । यही कारणले होला, नेपालको राजनीतिक इतिहास आज पुनः निर्णायक मोडमा पुगेको छ । तर यो मोड परिवर्तनतर्फ होइन, बरु विचलन, पतन र आत्मसमर्पणतर्फ उन्मुख देखिन्छ । तीन दशक लामो बहुदलीय अभ्यासपछि पनि राजनीति जनताको मुक्तिका लागि होइन, सत्ताधारी वर्गको स्वार्थपूर्तिको यन्त्रमा सीमित भएको छ । ‘चुनावदेखि चुनावसम्म, सत्तादेखि सत्तासम्म’ लोभतन्त्र र भोकतन्त्रमा सीमित भएको राजनीति नै आजको संकटको मूल कारण हो भन्नु अन्यथा हुँदैन ।
सत्तादेखि सत्तासम्म उही पुराना अनुहार, नयाँका नाममा पुरानै प्रवृत्ति, चिन्तनमा नयाँ आवरण मात्र देखिन्छ । आसन्न राष्ट्रिय सभाको निर्वाचन लक्षित एमाले–कांग्रेस गठजोडले राजनीतिलाई सिन्डिकेट गर्ने प्रयास गरेको आभास हुन्छ । प्रधानमन्त्रीका दाबेदारका रूपमा बालेन शाह, हर्क साम्पाङ, रवि लामिछानेसहित उही पुराना केपी ओली, शेरबहादुर देउवा र प्रचण्डका नाम चर्चामा आउनुले नेपाली राजनीतिमा देखिएको चलखेल सत्ता रूपान्तरणका लागि हो कि केवल सत्ता प्राप्तिका लागि मात्रै ? कि यो लोभतन्त्र र भोकतन्त्रको खेल हो ? यो प्रश्न नाजायज होइन ।
नयाँ दलहरूका नाममा बालेन्द्र शाह, रवि लामिछाने र कुलमान घिसिङबिच भएको भनिएको सहकार्य पनि एजेन्डाभन्दा पद बाँडफाँट र सत्ता समीकरणमै केन्द्रित देखियो । जसको प्रतिफल लगत्तै छुट्टिने अवस्था पनि बन्यो । यो शैली देख्दा उनीहरू पनि कतै पुराना दलहरूकै शैलीमा लोकप्रियतावाद, भड्किला र मोटा वाचा तथा आश्वासनमार्फत जनतालाई अलमल्याउन खोजिरहेका त छैनन् ? यो प्रश्न आम नागरिकले, विशेषतः जेनजी पुस्ताले गम्भीर रूपमा उठाइरहेका छन् ।
पुराना दल बिग्रिए भन्दै नयाँ केही गर्छु भन्ने दलहरू पनि उही सत्तादेखि सत्तासम्मको दौडमा अलमलिएको देखिन्छ । नातागोता, आफन्त र आफ्नाहरूको बन्द सूचीमा नाम छरपस्ट देखिन्छ । यही कारणले जेनजी समूह अलमलमा परेको छ– व्यक्ति फेरिए पनि प्रवृत्ति किन फेरिएन ? कार्यशैली किन फेरिएन ? यही नै यक्ष प्रश्न हो ।
पुरानाले बिगारे भनेर औँल्याउनु सही हो, तर त्यतिले मात्र पुग्दैन । जेनजी विद्रोहको मूल मर्म र भावना विकास, सुशासन, पारदर्शिता र जबाफदेहिता थियो । तर, विद्रोहका माग सम्बोधन गर्ने स्पष्ट नीति, कार्यक्रम र रोडम्याप कतै कुनैबाट देखिएको छैन । जेनजी विद्रोह कुनै आकस्मिक आवेग होइन । यो पुँजीवादी दलाल संरचनाले जन्माएको वर्गीय विस्फोट हो । विकास, सुशासन र रोजगारीका नाराहरू केवल भाषणमा सीमित हुँदा युवा वर्ग सडकमा उत्रन बाध्य भयो । तर विडम्बना के छ भने, विद्रोहबाट जन्मिएको राजनीतिक ऊर्जा पनि पुनः सत्ताको दलदलमा तान्ने प्रयास हुँदै छ । केही नवपुस्ताहरूले त विद्रोहको नाममा दलाली नै सुरु गरिसकेका छन् ।
नेपालले खोजेको व्यक्ति परिवर्तन होइन, प्रवृत्ति परिवर्तन र वास्तविक रूपान्तरण हो । व्यवस्था परिवर्तनभन्दा पनि अवस्था परिवर्तन आजको मुख्य एजेन्डा हो । समृद्धि, सुशासन, समानता, सामाजिक न्याय र समतामूलक समाज निर्माणको ठोस एजेन्डा उठान गर्नु अहिलेको आवश्यकता हो । वर्तमान निर्वाचन प्रणालीलाई सहज, सरल र जनमुखी बनाउँदै राजनीतिलाई नयाँ धरातलमा अवतरण गराउन ढिला गर्नु हुँदैन । नत्र भूइँको टिप्न खोज्दा गोजीकै खस्ने जोखिम पुराना र नयाँ दुवै दलले बुझ्न जरुरी छ ।
‘चुनावदेखि चुनावसम्म, सत्तादेखि सत्तासम्म’को राजनीति मुलुकका लागि अत्यन्तै हानिकारक छ । राजनीति वैचारिक, सैद्धान्तिक र व्यवहारिक विज्ञान हो । यदि वामपन्थी आन्दोलन पनि सत्ता गणितमै सीमित रह्यो भने श्रमजीवी जनताको अपेक्षा पूरा हुँदैन र वाम आन्दोलनको नयाँ ‘कोर्ष’ नै प्रश्नको घेरामा पर्छ ।
नेपालले समानुपातिक निर्वाचन प्रणाली अपनाएदेखि हालसम्म कुनै एक दलले स्पष्ट बहुमत ल्याउन सकेको छैन । परिणामस्वरूप देश निरन्तर हङ्ग पार्लियामेन्टको अभ्यासमा छ । यस पटकको अवस्था झनै टालटुले र अवसरवादी देखिन्छ । नेकपाकालीन समयमा सत्ता र पार्टीभित्रकै संघर्षले वाम आन्दोलन चिराचिरा भयो, जसबाट जनताले केही अपेक्षा गरेका थिए । गलत व्यक्तिको हातमा बागडोर पुग्दाको परिणाम नेकपा कालमा देशले भोग्यो, जसको असर दीर्घकालसम्म रहनेछ । कांग्रेसले पनि दीर्घकालीन दृष्टिकोणभन्दा सत्ता समीकरणलाई प्राथमिकता दियो र त्यसैमा रमायो ।
पछिल्लो अवस्थामा अहंकारले ग्रस्त नेतृत्वलाई नवयुवाको छोटो हुरीले उडाइदियो, तर त्यसबाट पनि नेतृत्वले पाठ सिकेको देखिँदैन । एक अर्कामाथि लगाइएका सङ्गिन आरोप–प्रत्यारोपको निरूपण कसरी हुन्छ ? भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धि केवल भाषणमै सीमित रहने कि व्यवहारमा देखिने ? शिक्षा, स्वास्थ्य र रोजगारीमा आमजनताले अनुभूत गर्ने परिवर्तन अपरिहार्य छ । महँगो र सेटिङमुखी न्याय प्रणालीमा आमूल सुधार गर्दै न्यायलाई जनमैत्री बनाउनु पर्छ । सार्वजनिक सेवा प्रवाह छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै राष्ट्रियता, जनजीविका र समानताको पक्षमा स्पष्ट नीति अवलम्बन गर्नु अनिवार्य छ ।
परिवर्तन हरेक मानिसको आकांक्षा हो । परिवर्तनले परिणाम दिएन भने विद्रोह जन्मिन्छ– इतिहासले यही सिकाएको छ । अहिले नेपालमा भएको जेनजी विद्रोहको कारण पनि यही हो । जेनजी विद्रोह कुनै आकस्मिक घटना होइन । भदौ २३ को विद्रोह र भदौ २४ को विध्वंस विगतका संकीर्ण राजनीतिक संस्कार, गुटवाद, व्यक्तिवाद र चरम भ्रष्टाचारको परिणाम हो । विद्रोह दबाउने नाममा ७६ जनाको हत्या हुनु लोकतन्त्रकै कालो अध्याय हो । त्यसको हिसाबकिताब आगामी निर्वाचनमा जनताले अवश्य गर्नेछन् र गर्नुपर्छ पनि ।
अब समयानुकूल औद्योगिकीकरण, आर्थिक क्रान्ति, सामाजिक क्रान्ति र राजनीतिक स्थायित्वबारे गहिरो चिन्तन जरुरी छ । कृषि, जलस्रोत, पर्यटन र वन क्षेत्रको बृहत्तर रूपान्तरणसँगै अवसरको खोजीमा लाग्नु आवश्यक छ । अझै पनि जनतामा बाँडिएका सपना र नवयुवाका वास्तविक आवश्यकता तथा अपेक्षाहरू पूरा भएनन् भने हुने भयावह परिणामको अड्कलबाजी मात्र गर्न सकिन्छ ।
राजनीति र राजनीतिक चेतनाप्रति आम नागरिकमा गहिरो निराशा बढ्दै गएको छ । लोकतन्त्र र गणतन्त्र ल्याउन यिनै नेताहरूको योगदान स्वीकार्य भए पनि सत्तामा पुगेपछि देखिएको अहङ्कार, भ्रष्टाचार, नातावाद र कृपावादले व्यवस्थालाई नै बदनाम बनाएको छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेझैँ कांग्रेस होस् वा कम्युनिस्ट– जो सत्तामा आए पनि लुटतन्त्रमै रमाएकाले जेनजी विद्रोह भएको हो । लोकतन्त्र आदर्शमा राम्रो भए पनि प्रयोग गलत हुँदा र गलत व्यक्तिले बागडोर सम्हाल्दा लोभतन्त्र र भोकतन्त्रमा रूपान्तरण भएको तितो यथार्थ लुकाउन सकिँदैन ।
नयाँ भनिएका दलहरू पुरानाभन्दा साँच्चिकै उन्नत छन् कि छैनन् ? उनीहरूको एजेन्डा के हो ? प्रतिनिधित्व, निर्णय प्रक्रिया र पार्टी सञ्चालन कत्तिको लोकतान्त्रिक छ ? यी प्रश्नको इमानदार उत्तर नदिएसम्म जेनजी विद्रोहले उठाएको आगो निभ्ने छैन । परिवर्तनले परिणाम नदिए विद्रोह अनिवार्य हुन्छ– इतिहासले यही सिकाएको छ । अब ढिला नगरी प्रवृत्ति परिवर्तन, सुशासन र जनमुखी राजनीतिलाई साझा एजेन्डा बनाउनु आजको राष्ट्रिय आवश्यकता हो । अब सच्चिनुको विकल्प छैन ।