
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले नेपालका राजनीतिक दलहरूलाई रूपान्तरणका लागि ठूलो दबाब सिर्जना भएको छ । सुशीला कार्की नेतृत्वको सरकारलाई आगामी फागुन २१ गते आमनिर्वाचन गर्ने म्यान्डेट दिइएको छ । कार्की नेतृत्वको सरकार गठन भएको करिब तीन महिना हुनै लाग्यो । सरकारले आन्तरिक गृहकार्य जारी राखेपनि दलहरू निर्वाचनका लागि पूर्णरूपमा तयार भएका छैनन् । सबै दलमा आन्तरिक किचलो कायम छ भने दलहरू गठन, पुनर्गठन, नयाँ दल खुल्ने श्रृंखलाले पनि निरन्तरता पाएको छ ।
यस्तो अवस्थामा अहिले सबैको ध्यान नेपालकै सबैभन्दा पुरानो दल नेपाली कांग्रेसमा अडिएको छ । कांग्रेसमा १५औँ महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विवादकै बीच काठमाडौंमा विशेष महाधिवेशन जारी छ । सबैले महाधिवेशनबारे आ–आफ्नो तर्क राखेका छन् । तर, कसैले पनि कांग्रेसलाई पुनर्गठन गर्ने, यसको संगठन विस्तार गर्ने, नयाँ युवालाई आकर्षित कसरी गर्ने ? भन्ने खाका र विचार प्रस्तुत गर्न सकेका छैनन् ।
बरु कसरी कांग्रेस सत्तामा पुग्ने, कसरी आफूले अहिलेसम्म राख्दै आएको पकड अझ मजबुत बनाउने भन्ने चिन्ता नेताहरूमा देखिएको छ । यसले कांग्रेसलाई बलियोभन्दा पनि खाडलमा पुर्याउने निश्चितजस्तै छ । जसले सन्निकट निर्वाचनमा कांग्रेसले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउने नै अहिलेको प्रमुख चिन्ता हो ।
नेपालको राजनीतिक परिवेश तीव्र रूपमा परिवर्तन भइरहेको वर्तमान अवस्थामा कांग्रेस एक महत्वपूर्ण मोडमा उभिएको छ । २००७ सालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनापछिका राजनीतिक घटनाक्रम र संसद्मा कांग्रेसको भूमिकालाई आम नागरिकले नजिकबाट अनुभूति गर्दै आएका छन् । विभिन्न राजनीतिक परिवर्तनको संवाहक र साक्षी बनेको कांग्रेस आजको परिस्थितिमा बदलिएको जनमत, नयाँ पुस्ताको आकांक्षा र राष्ट्रिय राजनीतिको अनिश्चितताले गम्भीर रूपान्तरणको मोडमा आइपुगेको छ । नेपाली कांग्रेसले अहिलेको अवस्थामा आन्तरिक एकतालाई मजबुत बनाउन नसके ठूलो राजनीतिक मूल्य चुकाउनु पर्छ । मध्यावधि निर्वाचनको संघारमा विशेष महाधिवेशनमा लागेको कांग्रेसले नेतृत्व मात्र नभई नीतिगत सुधारका लागि महत्वपूर्ण प्रण नगरे आगामी निर्वाचनमा मत माग्ने एजेन्डा पनि हातमा नरहने अवस्थामा पुग्नेछ । नेताहरूबीचको मतभेद, गुट–उपगुटको मनोविज्ञान र निर्णय प्रक्रियामा सुस्तता जस्ता विषयले पार्टीको गतिशीलता क्षयीकरण हुँदै गएको छ । यस्तो अवस्थामा संगठनात्मक तहमा अनुशासन र कार्यकर्तासँगको सम्बन्ध मजबुत बनाउनुपर्ने आजको आवश्यकता हो ।
कांग्रेसका लागि अर्को महत्वपूर्ण विषय भनेको जनतासँगको सम्बन्ध पुनः गहिरो बनाउनु हो । विगतका चुनावी परिणामले नागरिकहरू ठूला दलप्रति बढी आलोचनात्मक बनेका छन् । युवाका आकांक्षा, रोजगारी, सुशासन, भ्रष्टाचार नियन्त्रण, डिजिटल रूपान्तरण र सेवा वितरणको सुधार जस्ता मुद्दामा जनगुनासो बढ्दै गएको छ । यी विषयमा प्रभावकारी वैकल्पिक योजना अघि सार्न सके कांग्रेसले जनआस्था फिर्ता ल्याउन सक्छ ।
वैचारिक स्पष्टता र नयाँ पुस्ताको भूमिका प्रभावकारी बनाउन कांग्रेसको लोकतान्त्रिक समाजवादको मूल विचार आज पनि राष्ट्रिय राजनीतिमा सान्दर्भिक छ । तर वैचारिक स्पष्टता र व्यवहारमा लागू गर्ने कार्ययोजना अझ स्पष्ट पार्नुपर्ने आवश्यकता छ । अर्कोतर्फ पार्टीभित्र युवा नेतृत्वको उदय कांग्रेसका लागि ठूलो अवसर बनेको छ । युवालाई संगठन र नीति निर्माणमा सक्रिय बनाउने रणनीतिले पार्टीभित्र ऊर्जा, नवीनता र आधुनिक राजनीतिक सोच भित्र्याउन मद्दत गर्नेछ ।
नेपालको हालको राजनीतिक संरचना गठबन्धन–केन्द्रित भएकाले कांग्रेसले धेरै पटक राजनीतिक हिसाबले आम नागरिकका प्रश्नको सामना गर्नुपर्ने अवस्था छ । सरकारमा सहभागी हुँदा वा प्रतिपक्षमा रहँदा सन्तुलित वा जिम्मेवारपूर्ण भूमिकाको आवश्यकता पर्छ । राष्ट्रिय आवश्यकता, संविधानको संरक्षण तथा वैदेशिक सम्बन्धमा सन्तुलन र आर्थिक पुनरुत्थानका लागि नेतृत्वदायी भूमिका खेल्ने मौका कांग्रेससँग छ । तर त्यसका लागि स्पष्ट र दिगो राजनीतिक दिशा आवश्यक छ ।
कांग्रेस अहिले संक्रमण र सम्भावनाको दोहोरो मोडमा उभिएको छ । यस्तोमा पार्टीभित्र सांगठिनक र नीतिगत सुधार गर्दै जनस्तरसँगको कार्यगत सम्बन्धलाई प्राथमिकतामा राख्न सके कांग्रेस आगामी राजनीतिक परिस्थितिमा निर्णायक भूमिका पुनःस्थापित हुनसक्छ ।
कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । नेतृत्व र पार्टीको विषयमा लामो समयदेखि बहस भइरहेको अवस्था छ । गत भदौमा भएको जेनजी आन्दोलनको मर्म कांग्रेस समयअनुसार रूपान्तरण र सुधारतर्फ लाग्नुपर्छ भन्ने नै हो । त्यसको अगुवाइ गगन थापा र विश्वप्रकाश शर्माले गरिरहेका छन् । विगतमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यशैलीले पार्टीलाई सुधार गरेर आम जनतासँग घुलमिल हुने अवसर गुमाएको महसुस भएको छ । कांग्रेसका शीर्ष नेताबाट जनताले के आशा गरेका थिए, त्यसमा कमी भएको छ । बहुपदीय प्रणालीमा गए पनि यो पार्टीमा सामूहिक नेतृत्वको अभ्यास छैन ।
जनताको जनादेशलाई सम्मान गरेर पार्टीलाई कसरी सुधार्ने, पार्टीलाई कसरी रूपान्तरण गर्ने भन्नेतर्फको बहसभन्दा पनि नेतृत्व र पदका लागि अन्य दलसँग चुनावी तालमेल गर्ने संस्कृतिले कांग्रेसले बिस्तारै जनमत गुमाउँदै गएको छ । तर, त्यसमा बहस हुन सकेको छैन । भविष्यमा पार्टीको मार्गचित्र कसरी तयार गर्ने, पार्टीले कस्तो नीति तयार गर्ने भनेर छलफल र बहस गर्नुपर्ने बेलामा ध्यान पुर्याउन नसकेको अवस्था छ । नेपाली कांग्रेसको सुधारका लागि जनताको मन जित्न सक्नुपर्छ । कांग्रेसमा सुधार, रूपान्तरण, सुदृढीकरण तत्काल हुनुपर्छ । यसमा नेपाली कांग्रेसलाई मौलिक रूपमा रूपान्तरण गर्नुपर्ने हुन्छ । सिद्धान्त र नीतिगत रूपमा रूपान्तरण गर्न सक्नुपर्छ ।
कांग्रेस जस्तो ऐतिहासिक गौरव र गरिमा भएको, समाज रूपान्तरण र राष्ट्रिय स्वाधीनता प्राप्तिका लागि लामो संघर्ष गरेर आएका कारणले विश्वले चिन्ने, विश्वास गर्ने राजनीतिक दल आज कसैले नचिन्ने र कसैले विश्वास नगर्ने परिस्थितितर्फ त गइरहेको छैन ? यसबाट नेपाली कांग्रेसलाई पहिलेकै गौरव र गरिमामा पुर्याउने हो भने वैचारिक स्पष्टता, अवाञ्छित र अप्राकृतिक साँठगाँठलाई परित्याग गरी प्रत्येक क्रियाशील सदस्यले निःस्वार्थ भावले पार्टी सुधारतर्फ नेतृत्वले साहस, हिम्मत र त्याग देखाउन सक्नुपर्छ । अहिले साँचो कुरा भन्ने हो भने कांग्रेसभित्र जति ‘ठूला’ नेता छन्, त्यत्तिनै धेरै गुट छन्, त्यत्तिनै उपगुट पनि छन् । यस्ता घृणायोग्य कारणहरू नै हुन्, जसले गर्दा नेपाली कांग्रेस हरेक निर्वाचनमा सानो आकारमा खुम्चिनुपरेको छ ।
कांग्रेसले आफूभित्र विद्यमान विकृति, विसंगति र समस्याको समाधान खोज्ने हो भने त्यसको प्रस्थानबिन्दु आफ्नै विगतको निर्मम समीक्षाबाट सुरु गर्नुपर्छ । र, त्यो समीक्षाका आधारमा एउटा निष्कर्षलाई आम जनतासम्म स्पष्ट भाषामा पुर्याउनुपर्छ । अहिले मुलुक जुनखाले राजनीतिक/संवैधानिक जोखिम र संकटमा छ, यो बेला खासमा जिम्मेवार सबै दलहरूले यो सामूहिक असफलतापछि उत्पन्न संकट समाधानको सामूहिक प्रतिबद्धता लिन बिलम्ब भइसकेको छ । तर, दलको नेतृत्व गर्नेहरूमा व्यक्तिगत इगो र अहं यतिधेरै भरिएको छ कि तिनमा राजनीतिक चरित्र शून्य हुँदै गएको छ । नत्र यो अन्योल र संकटको घडीमा तिनले आफ्ना त्रुटि र कमजोरीको निर्मम समीक्षासहित सामूहिक उत्तरदायित्व बहन गरिसक्नु पथ्र्यो ।
लोकतन्त्रको संघर्षमा नेतृत्वदायी भूमिका खेलेको, सबैभन्दा पुरानो र पछिल्लो शक्ति सन्तुलनका आधारमा सबैभन्दा ठूलो राजनीतिक दलका नाताले कांग्रेसले त्यो उत्तरदायित्व वहन गर्नुपर्छ । यस्तो नेतृत्वदायी दायित्व वहन गर्नुपूर्व कांग्रेसले आफू किन यस्तो अवस्थामा पुग्यो भन्ने पहिचान गरेर अघि बढ्न विलम्ब गर्नु हुँदैन ।
(लेखक गौतम, अधिवक्ता हुन् ।)