२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

कुलमान घिसिङ : नतिजाले बोल्ने नेतृत्व

shivam cement
बेनिबहादुर मोक्तान
२०८२ माघ १ गते ०६:००
Shares
कुलमान घिसिङ : नतिजाले बोल्ने नेतृत्व

नेपालका कुलमान घिसिङविरुद्ध पछिल्ला समय सामाजिक सञ्जालमा फैलाइएका नकारात्मक टीकाटिप्पणीहरू संयोग होइनन् । यी टिप्पणीहरू वास्तवमा काम गर्ने नेतृत्वप्रति असहज हुने प्रवृत्तिको प्रतिबिम्ब हुन् । किनकि नेपालमा परिवर्तनको कुरा गर्नेहरू धेरै छन्, तर परिवर्तन गरेर देखाउनेहरू विरलै छन् । कुलमान घिसिङ त्यही विरलै पाइने नेतृत्व हुन्, जसले गफ होइन, काम र नतिजाबाट आफूलाई प्रमाणित गरिसकेका छन् । उनी वास्तवमै परिवर्तन, नतिजामुखी कार्य, कर्तव्यनिष्ठता, इमान्दारिता तथा कानूनी राज्य स्थापनाका लागि विगतका कामबाट परीक्षण भइसकेका ‘टेस्टेड’ व्यक्तित्व हुन् । १८ घण्टासम्मको लोडसेडिङमा थिचिएको मुलुकलाई उज्यालोतर्फ लैजानु कुनै राजनीतिक भाषणबाट सम्भव थिएन । त्यो केवल निरन्तर समर्पण र कडा परिश्रमबाट प्राप्त नतिजाबाट मात्र सम्भव थियो ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदमा दुई कार्यकाल आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्दै गर्दा कुलमानले नेपाललाई लोडसेडिङमुक्त मात्रै गरेनन्, ऊर्जाको खपतमा मितव्ययीता र उत्पादनमा बढोत्तरी कायम गर्न सफल भए । आज नेपालले भारत र बंगलादेशजस्ता मुलुकहरूलाई विद्युत् निर्यात गर्न थालिसकेको छ । त्यतिमात्र होइन, हाल नेपालमा ३ हजार ६ सय २ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ र पछिल्ला समय ऊर्जा क्षेत्र सबैभन्दा उच्च वृद्धिदर भएको उप–क्षेत्र (१३.८२ प्रतिशत) का रूपमा नेपाली अर्थतन्त्रमा स्थापित हुन थालेको प्रतिवेदनहरूले देखाएका छन् । नेपालको ऊर्जा क्षेत्रमा यस्ता उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका कुलमानको हिजोको कार्यसम्पादन नकार्नेहरू या त स्मृतिहीन छन्, या स्वार्थबाट निर्देशित छन् ।

लोडसेडिङकै समयमा पार्टीगत संरक्षणका आडमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेर पनि बक्यौता नतिर्ने उद्योगी समूहलाई कानूनी दायरामा ल्याउनु कुलमानको अर्को महत्वपूर्ण उपलब्धि हो । नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३२(क) बमोजिम विद्युत् खरिद–बिक्री सम्झौताअनुसार मासिक बिलबाट क्रमशः कट्टा गरी बक्यौता असुल गर्ने कानूनी व्यवस्था अनुरूप विद्युत् आपूर्ति काट्ने साहसी निर्णय लिनु उनले संविधानले परिकल्पना गरेको कानूनी राज्य स्थापनाप्रति देखाएको प्रतिबद्धताको प्रमाण हो । यही निर्णयका कारण आज २० अर्ब रुपैयाँभन्दा बढी बक्यौता उद्योगहरूले बुझाउन थालेका छन्, जुन राज्यको हितमा ऐतिहासिक कदम मान्न सकिन्छ ।

जेनजी विद्रोहले सोधेको प्रश्न भनेको नेपालको संविधानलगायत महत्वपूर्ण दस्तावेजहरूमा उल्लेखित समृद्धि, सुशासन, समानता, सामाजिक न्याय र समतामूलक समाजको निर्माण विकास, सुशासन, पारदर्शिता, जवाफदेहिता तथा भ्रष्टाचारमुक्त समाजको स्थापना बिना कसरी सम्भव हुन्छ भन्ने हो । सँगसँगै पुरानै कार्यशैली र पुरानै व्यक्तिबाट नयाँपन कसरी आउँछ भन्ने प्रश्न पनि हो । यसका लागि हरेक क्षेत्रमा संस्कार र प्रवृत्ति बदल्नुपर्छ, मिडियाबाजी गर्ने होइन, स्वच्छ छवि बोकेका काम गर्ने नेतृत्व चाहिन्छ । भ्रष्टाचारमुक्त सेवा प्रवाह गर्ने र नागरिकका समस्या बुझ्ने प्रशासक तथा राजनीतिज्ञ अपरिहार्य हुन्छन् भन्ने विश्वासकै आधारमा जेनजी विद्रोह भएको हो ।

जेनजी आन्दोलनपछिको अन्तरिम सरकारमा तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दा कुलमानले मन्त्री भनेका उद्घाटन, रिबन र दोसल्लाका लागि मात्र होइनन् भन्ने प्रमाण दिए । उनी कुर्सीमा होइन, फिल्डमा देखिए । विकास आयोजनालाई बन्धक बनाउने ४० भन्दा बढी रुग्ण ठेक्का तोड्नु, प्रकोपले अवरुद्ध सडक तुरुन्त सञ्चालनमा ल्याउने व्यवस्था मिलाउनु, किसानसँग सिधा संवाद गरी कृषि समस्या समाधान गर्न खोज्नु, बञ्चरेडाँडादेखि मेलम्चीसम्मका जटिल समस्यामा तत्काल निर्णय लिनु– यी सबै कुलमानका कार्यशैली आजका अधिकांश मन्त्रीहरूका लागि असहज उदाहरण हुन् ।

यही कारण कुलमान काम नगर्नेहरूका लागि, व्यवस्था दोहन गर्नेहरूका लागि र भाषणमै राजनीति गर्नेहरूका लागि असहज बन्दै गएका छन् र परिणामस्वरूप साइबर सेनाको बल प्रयोग गरी उनीमाथि प्रहार भइरहेको देखिन्छ । तर तथ्य के हो भने कुलमान केवल ‘कुल गन’ बोकेको व्यक्ति होइनन्, उनी समर्पण र सदाचारका प्रतीक हुन् भन्ने कुरा साँचिकै परिवर्तन चाहने जेनजीले स्वीकार गर्न हिच्किचाउनुपर्ने जस्तो लाग्दैन ।

यसको अर्थ अरू सक्षम नेता छैनन्, कुलमान मात्रै हुन् भन्ने होइन । वर्तमान नेपाली राजनीतिमा काम गर्ने, परिवर्तन चाहने र विकासप्रेमी नेताहरू छैनन् भन्न खोजिएको पनि होइन, अरू पनि छन् । तर उनीहरू मूलधारमा आउन बाँकी छन्, कतिपय स्थानीय तहमा सीमित छन् । 

जेनजी आन्दोलनमा ७४ भन्दा बढी सहिद, हजारौँ घाइते र अर्बौँको पूर्वाधार क्षति किन भयो ? के फेरि त्यही चक्र दोहोर्‍याउने ? यो प्रश्न नागरिक तथा आम जेनजी सबैका लागि हो । यदि अब पनि हामीले प्रभावकारी डेलिभरी दिने कुशल व्यवस्थापक, जुझारु, निर्णय क्षमतामा अब्बल र टिमवर्कमा विश्वास गर्ने नेतृत्व चिन्न सकेनौँ, गफ लाउनेलाई फाल्न सकेनौँ भने इतिहासले दोष नेतामाथि होइन, हामी नागरिकमाथि थोपर्नेछ । 

सम्बन्धित खबर