
नेपालको इतिहासमा राजनीतिक यात्रा लामो संघर्ष, आन्दोलन र परिवर्तनबाट गुज्रँदै यहाँसम्म आइपुगेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सुशासन, समृद्धि र सामाजिक न्यायप्रतिको अपेक्षा जनतामा झनै तीव्र भएको छ । तर विडम्बना, पद्धतिको रूपमा राजनीतिक स्थिरता र लोकतान्त्रिक पद्धति हुँदाहुँदै पनि जनताले चाहेजस्तो परिणाम अझै अनुभूत गर्न सकेका छैनन् । यही पृष्ठभूमिमा नेपाली राजनीतिमा नयाँ विचार र नयाँ उम्मेदवारको आवश्यकता अब बहसको विषय मात्र होइन, समयको अनिवार्य माग बनेको छ ।
विगतदेखि नै नेपाली राजनीति सीमित व्यक्ति र उही शैलीको सोच वरिपरि घुमिरहेको छ । दलका नाम, चुनावी घोषणापत्र र केही नाराहरू फेरिए पनि नेतृत्वको चरित्र, शासन गर्ने तरिका र शक्ति अनि न्यायको ढाँचा उस्तै रहँदै आएको देखिन्छ । राजनीति जनताको सेवा गर्ने माध्यमभन्दा पनि सत्ताको प्रतिस्पर्धात्मक खेल बनेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ । जसकारण नागरिकमा निराशा बढेको हो ।
यस्तो अवस्थामा नयाँ विचार भन्नाले केवल पुरानै एजेन्डालाई नयाँ शब्दमा प्रस्तुत गर्ने विषय होइन । शासन प्रणालीलाई पारदर्शी बनाउने, नीति निर्माणलाई तथ्यमा आधारित बनाउने र राजनीतिलाई व्यक्ति केन्द्रित नभई संस्थागत बनाउने सोच अत्यावश्यक भएको छ । साथै, समावेशिता, जबाफदेहिता र कार्यसम्पादनको विधिलाई राजनीतिक संस्कारको हिस्सा बनाउनुपर्छ भन्ने जनताको भावना छ । नयाँ विचारको मूल मर्म यही पनि हो ।
नयाँ विचारसँगै नयाँ उम्मेदवारको प्रवेश पनि उत्तिकै महत्वपूर्ण विषय हो । नयाँ उम्मेदवार उमेरले मात्र युवा हुन्छ भन्ने होइन । यस्ता युवा सोचले आधुनिक, दृष्टिले दीर्घकालीन भिजन भएको र आचरणले स्वच्छ हुनै पर्छ । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिएका दक्ष, इमानदार र नीतिनिष्ठ व्यक्तिहरू जस्तो वकिल, शिक्षक, पत्रकार, कूटनीतिज्ञ, समाजसेवी आदिको राजनीतिमा सहभागिताले लोकतन्त्रलाई जीवन्त बनाउँछ । यसले राजनीतिमा स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै पुराना राजनीतिक शक्तिलाई समेत आत्म समीक्षा गर्न बाध्य पार्छ ।
तर नयाँ विचार र नयाँ उम्मेदवारको उदय स्वतः सम्भव हुँदैन । यसका लागि नागरिकको भूमिकामा पनि परिवर्तन आवश्यक छ । क्षेत्र, भावना र क्षणिक प्रभावमा आधारित मतदान संस्कृतिबाट माथि उठेर दक्ष, इमानदार र कुशल कार्य क्षमता भएकालाई जनप्रतिनिधिको रूपमा प्राथमिकता दिनुपर्ने समय आएको छ । चुनावको बेला मात्र सक्रिय हुने मात्र होइन, सधैँ नेतृत्वलाई प्रश्न गर्ने, सही मूल्यांकन गर्ने र आफ्नो नेतृत्वलाई जनताप्रति जबाफदेही बनाउने एक्काइसौँ शताब्दीको नागरिक चेतनाबिना राजनीतिक सुधार सम्भव छैन र हुँदैन पनि ।
नेपाली राजनीति आज एउटा निर्णायक मोडमा उभिएको छ । एकातिर पुरानै अभ्यासलाई निरन्तरता दिने सोच भएकाहरूको सक्रियताले असन्तुष्टिलाई बढाउने सम्भावना बढिरहेको छ । किनकि उनीहरूमा सुधारको संकेत देखिएको छैन । अर्कोतिर नयाँ विचार र नयाँ सोचाइका नयाँ उम्मेदवारलाई अवसरको बाटो खुल्ला भएको छ । अब आशा र सम्भावनाको ढोका पनि खुल्ला भएको छ । इतिहासले सधैँ एउटा गम्भीर सन्देश दिएको छ– युगीन महत्वको राजनीतिक परिवर्तन तब मात्र सम्भव हुन्छ, जब समाजले नयाँ सोच, नयाँ विचार अनि लोकतान्त्रिक संस्कृतिलाई स्वीकार गर्ने साहस गर्छ । आगामी चुनाव केवल सत्ता परिवर्तनको प्रतिस्पर्धाको मात्र होइन, पुस्तान्तरणको परीक्षा रूपमा पनि आउनेछ ।
विगतका चुनावहरूमा मौन देखिएको नयाँ पुस्ता यसपटक भने निर्णायक भूमिकामा उभिन थालेको संकेत स्पष्ट देखिन्छ । रोजगारीको अभाव, शिक्षा र स्वास्थ्यको असमान पहुँच, भ्रष्टाचारप्रति बढ्दो वितृष्णा र डिजिटल युगसँगै हुर्किएको नूतन तन्नेरी चेतनाले युवाहरूलाई अब दर्शक, मतदाता मात्र बनाउँदैन, राजनीतिको निर्णायक नै बनाउने स्थिति छ ।
नयाँ पुस्ताका युवाहरू पुराना राजनीतिक भाष्यभन्दा फरक सोच बोकेर मैदानमा छन् । उनीहरू नाराभन्दा नीति खोजिरहेका छन्, व्यक्तिभन्दा प्रणाली उत्कृष्ट चाहिन्छ भनेर प्रश्न उठाइरहेका छन् । सामाजिक सञ्जाल, चिया पसलदेखि चोक चौतारीहरूमा नयाँ विचार अनि नयाँ राजनीतिक सोचको पक्षमा सिर्जनात्मक बहस हुन थालेको छ । वैकल्पिक राजनीतिक वैचारिकीमार्फत युवाहरूले आफ्ना एजेन्डा सार्वजनिक गरिरहेका छन् । यसको असर राजनीतिक दल आबद्ध कार्यकर्तालाई मात्र होइन, दलहरूको कार्यशैली र उम्मेदवार चयन प्रक्रियालाई समेत पारेको छ ।
यस पटकको चुनावमा युवाहरूको भूमिका दुई तहमा देखिनेछ । पहिलो, मतदाताका रूपमा जहाँ सचेत मतदानमार्फत उनीहरूले पुरानो र नफेरिएको राजनीतिक संस्कार र पद्धतिलाई चुनौती दिनेछन् । दोस्रो, उम्मेदवार र अभियानकर्मीका रूपमा जहाँ नयाँ विचार, पारदर्शिता र जबाफदेहिताको माग संस्थागत गर्न खोजिनेछ । सेवा केन्द्रित र जनताप्रति लोकतान्त्रिक अनि उत्तरदायी राजनीति चाहिन्छ भन्ने सन्देश जेनजी आन्दोलनले पनि दिएकै हो ।
युवाहरू केवल आक्रोशमा सीमित नभई संगठित हुँदै दीर्घकालीन दृष्टिकोणसहित अघि बढे भने आगामी चुनाव नेपाली राजनीतिमा गुणात्मक परिवर्तनको आधार बन्न सक्छ । नयाँ पुस्ताको सक्रिय सहभागिताले नै लोकतन्त्रलाई पुनर्जीवित गर्ने र राजनीतिलाई जनतासँग पुनः जोड्ने सम्भावनाको ढोका खोल्नेछ । अब प्रश्न युवाहरूको क्षमतामा होइन, उनीहरूले आफूलाई कति विश्वास गर्छन् भन्नेमा केन्द्रित भएको छ ।
दीर्घकालदेखि मौलाएको राजनीतिक निराशालाई नयाँ वैचारिक चेतना बोकेका युवाहरूले क्रमशः तोड्दै लैजान जरुरी छ । सत्ता केन्द्रित र व्यक्ति पूजामा आधारित राजनीतिबाट दिक्क भएको समाजलाई सीमित नभई विकल्प निर्माणतर्फ उन्मुख बनाउनुपर्छ । निराशालाई निष्क्रियतामा होइन, रचनात्मक हस्तक्षेपमा युवा सोच रूपान्तरण भएको छ । नागरिक अभियान, वैकल्पिक राजनीतिक क्षेत्र र स्वतन्त्र बहसमार्फत उनीहरूले पुराना संरचनालाई प्रश्न गरिरहेका छन् । यस अर्थमा, राजनीतिक निराशा अब अन्त्य हुनेछ र नयाँ वैचारिक यात्राको सुरुआत हुनेछ भन्ने हो । यो अहिलेको आवश्यकता हो ।