
‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण ः उपयोग र प्रवद्र्धनमा युवा सहभागिता’ भन्ने नाराका साथ यस वर्ष पनि विभिन्न कार्यक्रम गरी राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइयो । २०७९ सालदेखि प्रत्येक वर्ष माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउन थालिएको हो । कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, गरिब तथा सीमान्तकृत समुदायको जीविकोपार्जन र दिगो विकासको प्रमुख आधार हो । कृषि उत्पादन प्रणालीसँग सम्बन्धित विभिन्न जीव–वनस्पति, सूक्ष्म जीव तथा जैविक र अजैविक तत्वहरूको विविधतालाई कृषि जैविक विविधता भनिन्छ । यससँग सम्बन्धित परम्परागत ज्ञान, सीप र अभ्यासको संरक्षण तथा विकासमा किसानको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ ।
नेपाल जैविक विविधतामा धनी देश मानिन्छ । यहाँको भौगोलिक बनावट, जलवायु तथा सामाजिक–सांस्कृतिक विविधताले जैविक विविधताको विकास र संरक्षणमा महत्वपूर्ण योगदान दिएको छ । नेपालमा चिनो, कागुनो, कोदो, फापर, जौ, उवा, सिमी, जुनेलो जस्ता रैथाने बालीहरूमा उल्लेख्य जातीय विविधता पाइन्छ । स्थानीय ज्ञान र प्रविधिको ह्रास भए कृषक समुदाय परनिर्भर बन्ने र विदेशी प्रविधि भित्र्याउन ठूलो लगानी गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ ।
कृषि जैविक विविधताले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ । वायु, जल र माटोको शुद्धीकरण, प्रदूषण नियन्त्रण तथा प्राकृतिक स्रोत संरक्षणमा यसको योगदान उल्लेखनीय छ । तर बढ्दो जनसंख्या, वन विनाश, सहरीकरण, भू–क्षय र एकल बाली प्रणालीका कारण अनुवांशिक स्रोत र तिनका प्राकृतिक बासस्थानहरू ह्रास वा लोप हुँदै गइरहेका छन् । यस सन्दर्भमा सरकारले वैज्ञानिक भू–व्यवस्थापन प्रविधि प्रवद्र्धन, भू–क्षय रोकथाम तथा वन र बासस्थान संरक्षणसम्बन्धी नीति अवलम्बन गरेको छ ।
राष्ट्रिय कृषि जैविक विविधता दिवस माघ १ गते मनाउने निर्णयको सांस्कृतिक पृष्ठभूमि पनि छ । माघ १ गते माघे संक्रान्ति वा मकर संक्रान्तिका रूपमा मनाइन्छ । थारु समुदायले यसलाई ‘माघी’ र मधेसी समुदायले ‘तिला संक्रान्ति’ भन्छन् । यस पर्वमा सेलरोटी, पुरी, चाकु, तिलको लड्डु, घिउ, सागपात, तरुल र सखरखण्ड जस्ता रैथाने बालीहरूको प्रयोग हुने भएकाले कृषि जैविक विविधतासँग यसको गहिरो सम्बन्ध रहेको छ ।
कृषि जैविक विविधताअन्तर्गत कृषि बाली, घाँसेबाली, पशुपन्छी, जलचर, कृषि महत्वका कीरा तथा सूक्ष्म जीव पर्दछन् । साथै बाली र पशुपन्छीका जङ्गली नातेदारहरू पनि यसकै हिस्सा हुन् । किसानका अभ्यास, ज्ञान, सीप, संस्कृति र परम्परासँग सदियौँदेखिको अन्तरक्रियाबाट खेती प्रणाली विकसित भएको हो ।
कृषि जैविक विविधताले माटोको स्वास्थ्य सुधार्न र उत्पादन प्रणालीलाई लचिलो बनाउन सहयोग गर्छ । बाली विविधीकरण र बाली चक्र अपनाउँदा माटोको गुणस्तर कायम रहन्छ । मौसमी वा प्राकृतिक कारणले मुख्य बालीको उत्पादन घटेमा वैकल्पिक बालीबाट उत्पादन लिन सकिने सम्भावना पनि यसले सुनिश्चित गर्छ । हाल मानवजन्य कारणले कृषि जैविक विविधताको ह्रास तीव्र रूपमा बढिरहेको छ, जबकि नेपालमा विश्वको करिब ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत प्राणीजन्य विविधता पाइन्छ ।
जैविक विविधता संरक्षणका लागि सबै सरोकारवाला निकायको सक्रिय भूमिका आवश्यक छ । रैथाने बाली संरक्षण र दिगो स्थानीय बीउ प्रणाली विकास गर्न सामुदायिक बीउ बैंक स्थापना गरिए पनि तिनको प्रभावकारी सञ्चालन आवश्यक छ । एकल बालीको सट्टा बहुबाली प्रणाली अपनाउने, रासायनिक मल र विषादीको प्रयोग घटाई जैविक मललाई प्राथमिकता दिने नीति उपयोगी हुन्छ ।
नेपालको संविधानले कृषि व्यवसायीकरण, विविधीकरण र आधुनिकीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै किसानको हक, हित र अधिकार संरक्षण गर्ने नीति अवलम्बन गरेको छ । संविधानको धारा ४२(४) ले किसानलाई कृषि कार्यका लागि भूमि पहुँच तथा परम्परागत स्थानीय बीउ–बिजन र कृषि प्रजातिको छनोट र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । यी नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन सम्बन्धित निकायको दायित्व हो ।
अन्त्यमा, कृषि जैविक विविधताको दिगो संरक्षण, सदुपयोग र प्रवद्र्धनका लागि आम नागरिकको सहभागिता अनिवार्य छ । खाद्य सुरक्षा, पोषण, वातावरणीय सन्तुलन र दिगो भविष्यका लागि कृषि जैविक विविधताको संरक्षण आजको आवश्यकता हो ।