
नेपालको पुरानो राजनीतिक शक्ति नेपाली कांग्रेस यतिखेर विभाजित छ । गगन थापा र शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अलग–अलग भएको छ । विशेष महाधिवेशनमार्फत समूह निर्माण गरेको गगन पक्षले निर्वाचन आयोगबाट कांग्रेसको आधिकारिकता पाएको छ भने देउवा पक्ष न्यायिक प्रक्रियामा गएको छ । आगामी दिनमा फेरि कांग्रेस एकढिक्का होला वा नहोला, तर अहिले कांग्रेस विभाजित छ । कांग्रेसजनमा ठूलो अन्योलताको अवस्था सिर्जना भएको छ । आयोगबाट मान्यता पाएको थापा नेतृत्वको युवा नेतृत्व पंक्तिले पार्टीलाई कसरी अगाडि बढाउँछ र न्यायिक प्रक्रियामा गएको कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने कुराले नै समग्र कांग्रेसको भविष्य निर्धारित हुनेछ ।
नेपाली कांग्रेसको प्रथम महाधिवेशनमा सुवर्ण शमशेर र बीपी कोइरालाले एक–अर्कालाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्नुजस्ता सौहार्दपूर्ण परिस्थिति निर्माण गर्दा नेपाली कांग्रेस एकताबद्ध बनेको हो । गिरिजाप्रसाद कोइरालाले बोलाएको भेलामा कृष्णप्रसाद भट्टराई आफैं उपस्थित भएर ‘गिरिजाबाबु र मेराबीच कुनै मनमुटाव छैन, हामी एक हौँ, एक छौँ’ भनेर दुवैले हात मिलाउँदै ‘जय नेपाल’को नारा घन्काएर सबै कार्यकर्ताहरूलाई एकताको सन्देश दिँदै निरन्तरता दिएको दल नेपाली कांग्रेस हो । बीपीका पालामा पनि नेपाली कांग्रेसभित्र बीपी, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह गरेर तीन मूर्तिहरू थिए । पछिल्लो अवधिमा गणेशमानजी, गिरिजाबाबु र किसुनजीको अर्को त्रिमूर्ति टिमले नेपाली कांग्रेसलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेको थियो ।
तर, पछि गिरिजाबाबु र शेरबहादुरजीका बीच एकआपसमा द्वन्द्व चर्किँदा गिरिजाबाबुले शेरबहादुरजीको साधारण सदस्यसमेत नरहने गरी दलबाट निष्कासन गर्नुभएको थियो । यो घटनाले नेपाली कांग्रेसभित्र विभाजनको परिस्थिति सिर्जना गर्यो । नेपाली कांग्रेस इतिहासमै अत्यन्त कमजोर बन्यो । प्रतिस्पर्धी दल एमालेले आफ्नो हैसियत निर्वाचनबाट प्रवद्र्धन गर्ने अवसर प्राप्त गर्यो । त्रिमूर्तिहरूले नै शासन सञ्चालन र नेपाली कांग्रेस दलको परिचालन गर्दा सामना गरेका यी तीन उदाहरणहरू हुन् । पहिलो दुई उदाहरणहरूले नेपाली कांग्रेसलाई जीवन्त बनाएको थियो । तेस्रो घटनाले नेपाली कांग्रेस इतिहासमै कमजोर र आलोचित बन्न पुगेको इतिहास साक्षी छ । यी तीन राजनीतिक घटनाबाट हालका दुई खेमामा विभक्त भएका नेताहरूले पाठ सिक्नुपर्दछ ।
पुराना तीन दलहरूले नेपालको समृद्धिमा खासै काम गर्न नसकेको आलोचना गर्दै अग्रगामी दिशामा देशलाई अघि बढाउने सोचसहितको नारा दिएर नयाँ दलहरू राजनीतिमा देखापरेका छन् । यसमा पनि विशेषगरी आमजनतामा प्रभाव पार्न सकेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि त्रिमूर्तिहरू– रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङ देखिएका थिए । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको १२औँ दिनमै कुलमान छुट्टिएका छन् । अल्प अवधिमा छुट्टिने र जोडिने घटनाहरू हेर्दा फेरि पनि उनीहरूका बीच एकता हुन सक्छ । यो निर्वाचनको परिस्थिति र राजनीतिक रणनीतिका आधारमा कसरी अघि बढ्ने भन्ने कुरामा निर्धारण हुन पुग्दछ । यस अर्थमा नयाँ दलका रूपमा अस्तित्वमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि त्रिमूर्तिहरू नै नेतृत्वमा देखिएका छन् । कुलमान छुट्टिए पनि अर्को पात्रको खोजी यस दलले गरिरहेकै छ । हालसम्मको उनीहरूको क्रियाकलापले कस्तो प्रकारको दिशा निर्दिष्ट गर्दै गएको छ ? यसबारेमा विश्लेषण गर्नु सान्दर्भिक हुनेछ ।
राजनीतिमा युवाहरूको प्रभाव
पुरातन दलका शासन व्यवस्थाबाट विक्षिप्त बन्न पुगेका नागरिकहरूको मनोभावनाको अध्ययन गरेर युवाहरू भिन्न विधाबाट राजनीतिमा झुल्किन पुगेका छन् । यो अवस्था विभिन्न देशहरूमा देख्न सकिन्छ । उनीहरूले आ–आफ्ना क्षेत्रमा कमाएको प्रख्यातिबाट राजनीतिमा प्रवेश गरेर शासन सञ्चालन गर्दा के–कस्तो प्रभावहरू पर्न गएका छन् ? उनीहरू कतिसम्म सफल भएका हुन् ? यसबारेमा पनि विभिन्न देशहरूको उदाहरणबाट पाठ सिक्नुपर्ने अवस्था छ । प्रायः सबै देशतिर एउटै साझा सन्दर्भ स्पष्ट देखिएको छ, त्यो हो– शासकहरूबाट असन्तुष्ट भएका जनताहरूले जुनसुकै क्षेत्रका भए पनि आफ्नो असन्तुष्टिको मत नयाँ उम्मेदवारलाई प्रदान गरेका छन् । यस अवस्थामा विभिन्न पेशामा प्रख्याति कमाएका कलाकारहरू, व्यापारीहरू, हास्यव्यंग्य विधामा उत्कृष्ट देखिएकाहरू, गायक–गायिकाहरू, सिनेमाका नायक–नायिकाहरूले आफ्ना क्षेत्रमा प्राप्त गरेको सफलतालाई राजनीतिमा प्रवेश गरेर परीक्षण गर्ने जमर्को गरेको पाइन्छ ।
विशेषगरी युवाहरूले यस अवस्थाको फाइदा प्राप्त गरेको अवस्था छ । युवा शक्तिमा देखिएको ऊर्जा र जोसजाँगरका कारण सहजै मतदाताहरूलाई प्रभावमा पार्न सफल बनेका छन् । तर जब शासन सञ्चालनमा उत्रनुपर्ने हुन्छ, त्यस अवस्थामा उनीहरूको कार्यसम्पादन अत्यन्त कमजोर र विवादित बन्दै गएको छ । युवापुस्ता वा नयाँपुस्ता वा हामी अंग्रेजीवादका लागि ‘जेनजी पुस्ता’ जे भनौँ, यी सबैका लागि राजनीति क्षणिक रूपमै भए पनि गुल्जार क्षेत्र बनेको छ । शासकीय अनुभवको कमीका कारण सफलता प्राप्त गर्न कठिन भएको अवस्था प्रायः सबैतिर देख्न सकिन्छ । केही देशहरूको उदाहरणबाट यसलाई स्पष्ट गर्ने प्रयास गरिएको छ ।
केन्यामा सबै प्रकारका करका दरहरूमा अत्यधिक वृद्धि गर्ने निर्णय सरकारले लिई विधेयक पेश गर्यो । यसबाट महँगी अत्यन्त वृद्धि भई सर्वसाधारण नागरिकहरूको दैनिकी गुजार्न अत्यन्त कठिन बन्न पुग्यो । सन् २०२५ जुलाईमा पेश भएको यो विधेयकको विरोधमा युवाहरू सडकमा उत्रिए । यो आन्दोलन गत भदौ महिनामा नेपालमा भएको जस्तै जेनजी पुस्ताको अग्रसरतामा भएको थियो । आन्दोलनमा धेरै युवाहरूको हत्या भएपछि सरकारले गरेको निर्मम दमनको विरुद्ध कानुन व्यवसायीहरू, मानवअधिकारवादीहरू, धार्मिक समूहहरू सबैले विरोध गर्दै प्रदर्शनमा सहभागिता जनाए । सरकार परिवर्तन भएन, तर जनतासामु झुक्न बाध्य भयो । यसैलाई युवा नेतृत्वको आन्दोलनले ल्याएको सफलताका रूपमा हेरियो । नतिजा सकारात्मक रह्यो ।
दोस्रो घटनाको रूपमा इन्डोनेसियाको घटनालाई हेर्न सकिन्छ । जहाँ सांसदहरूको वेतन र भत्तामा गरिएको अत्यधिक वृद्धिको विरोधमा जनता सडकमा उत्रिएका थिए । सांसदहरूको वेतन न्यूनतम ज्यालादरभन्दा १० गुणा वृद्धि गरिएको थियो । यो राष्ट्रिय ढुकुटीको दोहन भागबण्डाका आधारमा राजनीतिकर्मीहरूले गरेको भन्दै विरोध भएको हो । आन्दोलनले २६ अगस्ट २०२५ मा उग्र रूप लियो । संसद् विघटनको मागसमेत आन्दोलनकारीहरूले राखेका थिए । आन्दोलनकारीहरूमाथि हताहत भएपछि थप हानि–नोक्सानीबाट जोगाउन राष्ट्रपति प्राबोवो सुवियान्तोले केही विवादित भत्ता घटाउने र केही प्रावधानहरू पूर्णरूपमा स्थगित गर्ने निर्णय लिन पुगे ।
ग्वाटेमालामा मतदाताहरूले सरकारप्रति व्यापक असन्तुष्टि जाहेर गर्दै एक हास्य कलाकार जिमी मोराल्सलाई राष्ट्रपति बनाए । हास्य कलाकारका रूपमा उनी लोकप्रिय थिए ।
भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा पनि प्रस्तुत हुँदै २०१५ को आम निर्वाचनमा राष्ट्रपति पदमा प्रतिस्पर्धा गरे । २०१६ मा राष्ट्रपति बने । तर, समयक्रममा मोराल्सका भाइ र छोराले अकुत सम्पत्ति आर्जन गरेको तथ्यहरू फेला परे । राष्ट्रपतिको राजीनामाको माग भयो । उनी विदेश पलायन भए ।
लाइबेरियामा सन् १९८९ देखि २००३ सम्म भएको गृहयुद्धपछि जनतामा व्यापक असन्तुष्टि थियो । त्यही समयको फाइदा उठाउँदै फुटबल खेलाडी जर्ज वेहले सन् २०१८ मा राष्ट्रपति बन्ने अवसर पाए । उनले भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी हटाउने, बेरोजगारीको अन्त्य गर्ने नारा दिएर सन् २०२४ सम्म शासन गरे । उनको शासनकालमा देशको अर्थतन्त्र थप कमजोर बन्यो । भ्रष्टाचार र बेथिती मौलायो । यही कारण सन् २०२२ मा ठूलो विरोध प्रदर्शन भयो । २०२३ को आम निर्वाचनमा उनी पराजित बने । जससँगै सत्ता बदलियो ।
चेक गणतन्त्रका ठूला व्यवसायी आन्द्रेई बाबिसले शासन सञ्चालन गर्ने अवसर पाए । उनले राज्यलाई कम्पनीझैँ चलाउँछु, भ्रष्टाचारको अन्त्य गर्छु, प्रभावकारी प्रशासन दिन्छु भन्दै ‘एक्सन अफ डिस्साटिस्फाइड सिटिजन्स २०११’ स्थापना गरे । जनताको विश्वास लिई २०१७ देखि २०२१ सम्म कार्यकारी प्रधानमन्त्री बने । तर, शासनमा पुगेसँगै उनी स्वंय भ्रष्टाचार र व्यक्तिगत स्वार्थमा लिप्त बने । व्यापक जनअसन्तुष्टिका बिच २०२३ मा भएको निर्वाचनबाट उनी पराजित भए ।
यी पाँचवटै देशका उदाहरणहरूमा केही सन्दर्भहरू मिल्दाजुल्दा छन् । यी सबै शासकहरू युवा थिए । राजनीतिभन्दा भिन्न विधाबाट शासन चलाउने अवसर पाएका थिए । सबैमा राजनीतिक सुझबुझ र अनुभवको कमी थियो । सबै असफल भए । देशले अग्रगमनको दिशा समात्न सकेन । अल्प अवधिमै जनताले यी युवाहरूलाई शासनसत्ताबाट च्युत गरिदिए ।
नेपाली सन्दर्भ
अब नेपालका परिवर्तनको नारा दिएर राजनीतिमा होमिएका त्रिमूर्तिलगायतकाहरूको बारेमा विश्लेषण गरौँ । नेपालको राजनीतिमा प्रवेश गर्न जाँगर देखाएका नयाँ अनुहारहरू प्रायः सबै गैरराजनीतिक पृष्ठभूमिका छन् । उनीहरूको राजनीतिक सिद्धान्त, आदर्श मूल्य, मान्यता र एजेन्डा स्पष्ट छैन । सस्तो र लोकप्रिय नारा दिएर अल्प अवधिमै शासन सञ्चालन गर्ने लक्ष्य राखेका छन् । उम्मेदवार चयनको आधार नयाँ दलहरूमा पनि मानसिक, नैतिक र प्राविधिक पक्षलाई महत्व नदिई गरिएको पाइन्छ । राजनीतिमा उदाएका नयाँ अनुहारहरू पनि भागबण्डामा केन्द्रित हुँदै गएको स्पष्ट हुन थालेको छ । समानुपातिक प्रतिनिधित्व गराउने प्रयोजनका लागि राजनीतिमा उदाएका नयाँ अनुहारहरूले पेश गरेको नामावली अध्ययन गर्दा नै ‘बिहानीले पूरा दिनको संकेत’ गरिसकेको पाइन्छ ।
पुराना दलहरूले सिन्डिकेट स्थापना गरी नेपाली जनतालाई हदैसम्मको शोषण गरेकोमा दुविधा छैन । साम्यवादी र लोकतन्त्रवादी दुवै खालेहरू समाजवादको नारा दिँदै पुँजीवादलाई प्रश्रय दिइरहेका छन् । तर, पुराना दलहरूको विकल्पमा उदाएका राजनीतिक शक्तिहरूको सामथ्र्य, चरित्र, निष्ठा, इमान्दारिता र प्रतिबद्धताबारे बढी चनाखो हुनुपर्ने अवस्था छ । यी नयाँ अनुहारहरूलाई गल्ती गर्ने छुट छैन ।
निष्कर्ष
नेपालमा राजनीतिक परिवर्तन भएको छ । लोकतन्त्रको दुरुपयोग पनि पर्याप्त छ । सुशासनको नारा दिएर नथाक्ने हाम्रा शासकहरूले सुशासनको मूल शत्रु भनेकै भ्रष्टाचार र भ्रष्टाचारको मूल जड भनेकै गोप्यता हो, स्वार्थको संघर्ष हो भन्ने पक्षलाई विस्मरण गरिरहेका छन् । सबैको ध्यान निर्वाचनमा विजय हुनेतर्फ मोडिएको छ । तर निर्वाचनले लोकतन्त्र र देशले जित्नुपर्छ भन्ने पक्षलाई गौण मानिँदै गएको छ ।
अहिले अत्यन्त असहज अवस्थामा नेपाली मतदाताहरू रहेका छन् । कोही लोकप्रिय छन्, तर तिनमा अन्य गुणको अभाव छ । लोकप्रियताले मात्र शासनकुशल हुन नसक्ने उदाहरणहरू प्रशस्त छन् । यस परिस्थितिमा मतदाताहरूमा अन्योल हुनु स्वाभाविकै हो । देशको भविष्य निर्माण गर्न सक्ने राजनीतिक शक्ति कुन हो ? सबै अन्योलमा छन् ।
निष्कर्षमा उल्लेख गर्नुपर्दा, नेपालमा यतिखेर दुईवटा राजनीतिक शक्तिहरू देखिएका छन् । एकले अन्तर्राष्ट्रिय सम्बन्धमा पनि खरो उत्रिन सकेको छैन । देशमा अराजक अवस्था सिर्जना गर्न जिम्मेवार देखिन्छ । राष्ट्रियताको नाममा यिनीहरु अर्को मदुरो निम्त्याउँदैछन् । अर्को शक्ति छ– नयाँ अनुहारहरूको । उनीहरूले विभिन्न गैरराजनीतिक विधामा प्रख्याति कमाएकाहरूको जमघट आफ्ना दलभित्र गराएका छन् । सबै अत्यन्तै ज्यादा महत्वाकांक्षा पालेर राजनीतिमा प्रवेश गरेका छन् । त्यसैले यी नयाँ अनुहारहरूले जेलेन्स्कीको अनुसरण गर्ने अवस्था देखिँदैछ । अब नेपाली जनताले भोट हाल्ने कसलाई हो ? यही नै आजको अहम् प्रश्न बनेको छ ।
(लेखक मैनाली पूर्वसचिव, स्वतन्त्र लेखक तथा विश्लेषक हुन् ।)