
अहिले युवाको जीवनको सबैभन्दा कठिन र अफ्ठ्यारो निर्णयमध्ये एक हो– देशमै बस्ने कि विदेश जाने ? धेरैका लागि विदेश सपना मात्रै पनि होइन, यो त परिस्थितिले थोपरेको बाध्यात्मक विकल्प हो । पढाइ सकिएपछि हातमा विश्वविद्यालयले थमाइदिएको एउटा कागजी प्रमाणपत्र बोकेर काम खोज्न हिँड्दै गर्दा निरन्तर अस्वीकार र निराशा भोगेपछि भौँतारिएर युवा विदेशिन बाध्य भएका छन् ।
नेपालबाट हरेक वर्ष ठूलो संख्यामा शिक्षित युवा वर्ग श्रम बजारमा प्रवेश गर्छन्, तर उनीहरूका लागि योग्यताअनुसारको काम उपलब्ध छैन । भएका थोरै अवसरमा पनि चिनजान, पहुँच र राजनीतिक सिफारिसले प्राथमिकता पाउने गरेको छ । यस्तो अवस्थामा आफ्नै मेहनत र क्षमता हुँदाहुँदै पनि युवा अवसरबाट वञ्चित हुनुपरेको तीतो यथार्थ छ ।
हाम्रो शिक्षा प्रणाली र रोजगारीबीच निकै ठूलो खाडल देखिन्छ । हाम्रा विश्वविद्यालयमा सिकाइने सीप र पढाइने ज्ञान यहाँ काम नलाग्ने, तर त्यही ज्ञान र सीप लिएर विदेश जाँदा जस्तोसुकै कामका लागि पनि योग्य ठहरिनु हाम्रो राज्य र राज्यको नीतिगत कमजोरीको प्रमाण हो भन्न अकमकाउनु पर्दैन । राजनीतिक भाषणमा जताततै युवालाई प्राथमिकता दिएको देखिन्छ, तर व्यवहारमा त्यो कहिल्यै कार्यान्वयन भएन ।
यो पंक्ति तयार गर्दै गर्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि सयौं युवाले देश छोडिरहेका छन् । निरन्तर राजनीतिक अस्थिरता, सरकारको बारम्बार फेरबदल र नेतृत्वमा दीर्घकालीन सोचको अभावले युवा लक्षित कार्यक्रमहरू कार्यक्रममै सीमित छन्, कार्यान्वयन गर्ने निकाय बेखबर बनेका छन् । मूलतः उत्पादन, कृषि र उद्योगलाई प्राथमिकता नदिँदा रोजगारी सिर्जना हुन सकिरहेको छैन । जबसम्म हामी हाम्रो शिक्षालाई प्रत्यक्ष रूपमा उत्पादनसँग जोड्न सक्दैनौँ या चाहँदैनौँ, तबसम्म यो मुलुक परनिर्भर र गरिबीको चपेटामा रहिरहन्छ ।
विदेश जाने कुरा असामान्य वा गलत मात्रै पनि होइन । त्यहाँ सिक्ने सीप, अनुभव र आधुनिक तथा प्राविधिक ज्ञान बटुलेर फर्केका युवालाई समेत यो देशमा टिकाउनु र रोजगारीको सुनिश्चितता गर्न नसक्नु चाहिँ राज्यको निरिहता, असफलता र अकर्मण्यताको पुष्टि हो । जब यहाँ त साँच्चै केही नहुने रहेछ भन्ने सोचले युवालाई पुनः देश छोड्न बाध्य बनाउँछ, त्यो अर्को गम्भीर र चिन्ताको विषय हो ।
आज गाउँ युवाविहीन हुँदै गएका छन्, घर रित्तिँदै छन्, खेतबारी बाँझिँदै छन् र बूढा भएका हरेक घरका वृद्ध बा–आमा बेसहारा बन्दै गइरहेका छन् । ती वृद्ध आमा–बा बिरामी पर्दा समयमा उपचार गर्न लाने छोराछोरी आज घरमा छैनन्, गाउँघरमा भेटिँदैनन् ।
यदि साँच्चै युवालाई यही देशमै रोक्ने हो भने राजनीतिक सुधार, नीतिगत निरन्तरता, सीपमूलक शिक्षा र उत्पादनमुखी अर्थतन्त्र अपरिहार्य छन् । युवा विदेशिने कुरालाई राज्यले हलुका रूपमा लिनु हुँदैन । युवा यो देशको भविष्य हो, सम्पत्ति हो, अमूल्य चीज हो । युवाबिनाको देश परिकल्पना गर्दा राज्यले भोलि ठूलो क्षति बेहोर्नु पर्ने हुन्छ । तसर्थ, राज्य हाँक्छु भन्नेहरूले बेलैमा विदेशिने युवालाई बजेटको केन्द्रमा राखेर उचित रोजगारीको व्यवस्था सुनिश्चित गर्नुपर्छ ।
युवाले देश किन छोडे भन्नेभन्दा पनि मुख्य प्रश्न– राज्यले युवालाई यही देशमै भविष्य देख्ने वातावरण सिर्जना गर्न किन सकेन भन्ने हो ।