
नेपाल संघीय संरचनामा गएपछि स्थानीय नागरिकहरूमा नयाँ उत्सुकता र विश्वास जागेको देखिन्छ । यही विश्वास र उत्सुकताअनुसार स्थानीय तहहरूले विकासका मोडालिटीहरू तय गरेको पाइन्छ । डडेल्धुरा जिल्लामा पनि संघीय संरचना लागू भएपछि जिल्लालाई ७ स्थानीय तह (२ नगरपालिका र ५ गाउँपालिका)मा विभाजन गरिएको छ ।
स्थानीय संरचनामा जिल्लाको विभाजन भएपछि पहिलो जनप्रतिनिधिहरूको कार्यकालमा सडक सञ्जाललाई नै प्राथमिकतामा राखिएको देखिन्छ । डडेल्धुराका सातै पालिकाहरूले आफ्नै सडक निर्माणका लागि जेसीबी खरिद गरेका छन् । यसका कारण टोल–टोलका आम नागरिकहरू सडक पहुँचमा नजिकिएको महसुस गर्न सकिन्छ । सडकपछि स्थानीय तहहरूको प्राथमिकतामा स्वास्थ्य र शिक्षा रहेका छन् । तर, पहाडी जिल्ला अन्तर्गत पर्ने डडेल्धुरामा बसाइँसराइ रोक्न नसक्दा यहाँबाट अन्यत्र सर्नेहरूको दर बढ्दो क्रममा देखिन्छ । स्थानीय तहहरूमा विकासका धेरै सम्भावना रहे पनि चुनौतीहरू पनि उत्तिकै छन् ।
डडेल्धुराका स्थानीय तहहरूमा पर्यटन, कृषि र पशुपालनका उल्लेखनीय सम्भावनाहरू रहेका छन् । सात स्थानीय तहहरूमध्ये भागेश्वर गाउँपालिकामा व्यावसायिक कृषि विकासको प्रबल सम्भावना देखिन्छ । यहाँ फलफूल र तरकारी उत्पादनका लागि अनुकूल वातावरण रहेको छ । अजयमेरु गाउँपालिकामा कृषि र पर्यटन क्षेत्रको राम्रो सम्भावना छ भने नवदुर्गा गाउँपालिकामा कृषि, पर्यटन तथा जलविद्युत् विकासको सम्भावना देखिन्छ । गन्यापधुरा गाउँपालिकामा कृषि र पर्यटनको सम्भावना प्रबल रहेको छ । आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा पनि कृषि र पर्यटनको उत्तिकै सम्भावना छ । जिल्ला सदरमुकाममै रहेको अमरगढी नगरपालिकामा कृषि, पर्यटन र व्यापारको प्रबल सम्भावना रहेको छ ।
सातै पालिकामा कृषि र पर्यटनका थुप्रै सम्भावनाहरू रहेका छन् । स्थानीय तहहरूले यी क्षेत्रमा दिगो रूपमा लगानी गर्न सके आन्तरिक आम्दानी बढाउन सकिने देखिन्छ । देशभर लोप हुँदै गएको गड्डी भैंसी डडेल्धुराको गन्यापधुरा र अजयमेरु गाउँपालिकाका केही भूभागमा अझै पालन हुँदै आएको छ । यसको संरक्षण र प्रवद्र्धन गर्न सके स्थानीय तहका लागि राम्रो आम्दानीको स्रोत बन्न सक्छ । भागेश्वर गाउँपालिकामा तरकारी र फलफूल उत्पादनमा लगानी गर्न सके स्थानीय नागरिकहरूले राम्रो आयआर्जन गर्न सक्ने देखिन्छ । त्यहाँ रहेको भागेश्वर मन्दिर धुरालाई हाइकिङ मार्गका रूपमा विकास गर्न सके गाउँपालिकाको आन्तरिक आम्दानी उल्लेखनीय रूपमा बढ्न सक्छ ।
जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकालाई पर्यटकीय हबका रूपमा विकास गर्न सके पर्यटन क्षेत्रबाटै राम्रो आम्दानी गर्न सकिने देखिन्छ । अमरगढी नगरपालिकामा अमरगढी किल्ला, उग्रतारा मन्दिर र घटालथान प्रमुख पर्यटकीय केन्द्रहरू हुन् । डडेल्धुराको पश्चिम–दक्षिण भागमा रहेको परशुराम नगरपालिकामा प्रमुख धार्मिक स्थल परशुराम धाम रहेको छ । त्यस्तै आलिताल गाउँपालिकामा आलिताल ताल रहेको छ । यी स्थानहरूको संरक्षण र प्रचार–प्रसार गर्न सके स्थानीय तहहरूले राम्रो आम्दानी गर्न सक्ने देखिन्छ ।
यदि स्थानीय तहहरूले कृषि र पर्यटन क्षेत्रमा दिगो रूपमा लगानी गर्न सके स्थानीय नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार आउने देखिन्छ । साथै, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा पनि समान ध्यान दिन आवश्यक छ । यी क्षेत्रमा प्रभावकारी काम गर्न सके पहाडबाट हुने बसाइँसराइमा पनि निश्चित रूपमा कमी आउने देखिन्छ । हाल पहाडी जिल्लाहरूबाट बसाइँसराइ गर्नेको दर अत्यधिक बढिरहेको छ । पहाडबाट तराईतर्फ सर्नेहरूको संख्या दिनानुदिन बढ्दो छ । यसको मुख्य कारण पहाडमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँच नहुनु हो ।
पछिल्लो समय पहाडी जिल्लाबाट वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या बढ्दै गएको छ । स्थानीय स्तरमै रोजगारीका अवसर नपाउँदा युवा पुस्ता विदेशिन बाध्य भएको देखिन्छ । यसलाई न्यूनीकरण गर्न स्थानीय तहहरूले स्वरोजगारमुखी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ । बस्ती स्तरमै सीपमूलक तालिम सञ्चालन गरी युवालाई उत्पादनशील क्षेत्रमा जोड्नुपर्छ ।
बसाइँसराइको समस्यासँगै, डडेल्धुरामा शिक्षाको गुणस्तर पनि कमजोर रहेको छ । सामुदायिक विद्यालयहरूको अवस्था हेर्दा अधिकांश विद्यालयहरू गुणस्तरीय शिक्षाबाट पछि परेका छन् । शिक्षा क्षेत्रको सुधार गर्न सके बसाइँसराइको दर घट्ने र समाज रूपान्तरणमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ । डडेल्धुराका स्थानीय तहहरूले यी मुद्दाहरूलाई ध्यानमा राखी दिगो योजना बनाई अघि बढ्न सके स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना हुने, नागरिकको जीवनस्तर सुधार हुने र स्थानीय तहको आन्तरिक आयमा पनि वृद्धि हुने निश्चित देखिन्छ ।