
चिसो लन्डन, जहाँ मुख्यधाराका कन्जरभेटिभ र लेबर पार्टीहरू स्थिर देखिन्छन्, तर त्यहीँ दक्षिणपन्थी र वामपन्थी अतिवादी धाराहरू निरन्तर उफ्रँदैछन् । निकोलस मादुरो साँच्चै नै ती विलापका पात्र हुन् त भन्ने प्रश्न उठाउन उपयुक्त ठाउँ हो यो । ती विलाप प्रायः नायकविहीन बनेका वामपन्थीहरूतर्फबाट आइरहेका छन् । यसको कारण केवल यति मात्र होइन कि ट्रम्पवादविरुद्ध लेखिएका लेखहरूमा सोभियत कम्युनिस्ट पार्टीको मुखपत्रको छाया स्पष्ट देखिन्छ ।
बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर घरेलु राजनीतिमा त कट्टर समाजवादी देखिन्छन्– धनी वर्गमाथि कडा नीति लागू गर्न उनी हिच्किचाउँदैनन्, चाहे त्यसको परिणामस्वरूप धनीहरू आप्रवासी डुङ्गाजत्तिकै छिटो देश छोडून् । तर अन्तर्राष्ट्रिय मञ्चमा भने उनी आफूलाई निर्दोष नैतिकतावादीका रूपमा प्रस्तुत गर्छन् ।
युक्रेन भाग्यमानी छ कि उसलाई सर कियरजस्ता संरक्षक र उस्तै चिन्तित तथा अन्तरराष्ट्रवादी फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंको साथ प्राप्त छ । तर वामपन्थी विचारधाराका कट्टर अनुयायीहरूभन्दा फरक, सर कियरले मादुरोप्रति प्रतिक्रिया जनाउँदा निकै सावधानी अपनाए । धेरैको मतमा मादुरोलाई सद्दाम हुसेनले भोगेजस्तो अपमानजनक अन्त्य भोग्नुपरेन– न पायजामामै उठाइए, न त हातकडी लगाएर ‘माकुरोको गुफा’बाट निकालिए । सद्दामको त्यो तस्बिर, जहाँ दाह्री र बिग्रिएका कपाल भएका मानिसको खुला मुखभित्र झाँकिरहेका थिए, जसले आफूलाई सबैभन्दा लामो शासन गर्ने ठान्थे– त्यसको तुलनामा मादुरोको यात्रा कम अपमानजनक रह्यो ।
स्टार्मरले मादुरोका लागि सार्वजनिक आँसु बगाएनन्, जस्तो उनले केही समयअघि यहूदीहरूलाई मार्ने र डाउनिङ स्ट्रिट जलाउने कुरा गर्ने अला अब्देल–फतहका लागि गरेका थिए । तर मादुरोको मामलामा स्टार्मर केवल अमेरिकाको साथमा उभिए र गिरफ्तारीबारे खास टिप्पणी गरेनन् ।
यसको विपरीत, बेलायतकी विपक्षी कन्जरभेटिभ नेतृ केमी बेडेनोचले ट्रम्पको कदमलाई नैतिक रूपमा सही ठहर गर्दै आफ्नो दक्षिणपन्थी पहिचान प्रस्ट पारिन् । यद्यपि सबै कन्जरभेटिभहरू ट्रम्पको प्रशंसामा उस्तै उत्साहित थिए भन्ने होइन । नव–रूढिवादीहरूका लागि सत्ता परिवर्तन एउटा विचारधारात्मक परियोजना थियो । तर ‘मागा’ धारका कन्जरभेटिभहरूका लागि यो एक छिटो साहसिक अभियान मात्र हो– यद्यपि ट्रम्प आफूले १९औँ शताब्दीका राष्ट्रपति जेम्स मोन्रोको सिद्धान्तलाई अद्यावधिक गरिरहेको दाबी गर्छन्, जसको उद्देश्य ल्याटिन अमेरिकालाई युरोपेली उपनिवेशवादबाट जोगाउनु थियो ।
आजको नयाँ उपनिवेशवाद भने बेइजिङबाट निर्देशित भइरहेको छ । यसले एउटा असजिलो प्रश्न पुनः उठाउँछ, जसले कट्टर साम्राज्यवाद–विरोधीहरूलाई झस्काउनेछ– के साम्राज्यवाद नैतिक हुन सक्छ ? नायल फग्र्युसनजस्ता प्रतिष्ठित ‘शाही’ इतिहासकारहरूले तर्क गर्छन् कि ब्रिटिश साम्राज्यवादले उपनिवेशहरूलाई आधुनिक बनायो, जबकि अमेरिकाले आफ्ना शाही जिम्मेवारीहरू लापरबाहीपूर्वक त्याग्यो । उनी विस्तारवादको होइन, लागू गरिएका आदर्शहरूको कुरा गर्दै थिए ।
हालका वर्षहरूमा अमेरिका आफ्ना घरेलु चिन्ताहरूमा सीमित हुँदै गयो, जसको स्पष्ट उदाहरण ओबामा र बाइडेनका कार्यकालहरूमा देखियो । ट्रम्प पनि सुरुमा विश्वबाट टाढा रहन चाहन्थे– जबसम्म विश्व त्यस्तो रंगमञ्च नबनोस्, जहाँ उनले आफ्ना प्रतिद्वन्द्वीलाई धम्क्याउन सकून् । बेडेनोचको भनाइअनुसार, मादुरोको मामलामा ट्रम्पले साम्राज्यवादलाई नैतिक सन्दर्भ दिएका छन्, चाहे कतिपयलाई यो तरिका गलत लागोस् । सद्दामजस्तै, मादुरोविहीन संसार पनि अझ राम्रो हुन्छ ।
ल्याटिन अमेरिका उनीहरूका लागि सधैँ वैचारिक साहसको भूमि रह्यो– जहाँ क्रान्ति एउटा शुद्ध थ्रिलरजस्तै थियो र क्रान्तिकारीहरू ख्रीष्टजस्ता देखिन्थे । यदि चे ग्वेभाराको क्रान्ति पप–संस्कृतिको सबैभन्दा बढी बेचिने स्मृतिमा रूपान्तरण भयो भने, सिगार पिउँदै शासन गर्ने फिदेल कास्त्रोले सत्ता रहुञ्जेल आफूलाई सबैभन्दा ठूलो साम्राज्यवाद–विरोधीका रूपमा स्थापित गरे । समाजवादी राज्यमा क्रान्ति जोगाइराख्नु जति कठिन भए पनि, उनले कम्युनिज्मको पहिचान जीवित राखे र विश्वभरका वामपन्थीहरूलाई प्रेरणा दिए ।
मादुरोका पूर्ववर्ती ह्युगो चाभेज कास्त्रोकै अनुकरण थिए । चाभेजवाद– व्यक्तिगत मिथक वरिपरि निर्माण गरिएको विचारधारात्मक संरचना– वास्तवमा अमेरिका–विरोधी मर्दानगी थियो, जसले मूल मुक्तिदाता सिमोन बोलिभरको आह्वान गथ्र्यो । विश्वकै ठूलो पेट्रोलियम भण्डार हुँदाहुँदै पनि आर्थिक रूपमा धराशायी देशमा चाभेजले आफूलाई कास्त्रोको सौम्य संस्करणका रूपमा प्रस्तुत गरे । ल्याटिन अमेरिकाका हरेक तानाशाहले मिथक निर्माणको कला सिके र सबै सिमोन बोलिभरको नयाँ अवतार बन्न चाहन्थे । तर वास्तविकता त्यति भव्य छैन । यो त्यत्तिकै विचित्र छ, जति ट्रम्पको नक्कल गर्न खोज्ने मादुरोको ‘नार्को–आतंकवादी’का रूपमा अन्त्य, जहाँ साम्राज्यवादका ‘फरिश्ताहरू’ले रातको अँध्यारोमा छापा मारेर उनलाई घरबाट उठाए । सायद यही हो, २१औँ शताब्दीको भू–राजनीतिक जादुई यथार्थवाद । अमर उज्यालाबाट