
हाम्रो देश हिमालयको काखमा बसेको भूकम्पीय उच्च जोखिम क्षेत्रभित्र पर्ने मुलुक हो । पृथ्वीको भूगर्भमा रहेको भारतीय प्लेट र युरेसियन प्लेटको निरन्तर टकरावका कारण यहाँका हिमाल, पहाड र तराई क्षेत्रमा बारम्बार कम्पन उत्पन्न हुने गर्छ । इतिहासलाई नियाल्दा वि.सं. १९९० साल माघ २ गतेको ८.० म्याग्निच्युडको महाभूकम्प, २०४५ सालको भूकम्प, २०७२ को ७.८ म्याग्निच्युडको गोरखा भूकम्प तथा हालैका वर्षहरूमा घटेको जाजरकोट भूकम्पजस्ता घटनाहरूले नेपाललाई पटक–पटक ठूलो परीक्षामा राखेका छन् । यी विपत्तिहरूले हजारौँको ज्यान लिएका छन्, लाखौँ घरहरू ध्वस्त पारेका छन् र देशको अर्थतन्त्रलाई गम्भीर धक्का दिएका छन् । तर यही पीडा र क्षतिले हामीलाई एउटा महत्वपूर्ण सत्य पाठ पनि सिकाएको छ– भूकम्पबाट पूर्ण रूपमा बच्न सम्भव नभए पनि त्यसको प्रभावलाई न्यूनीकरण गर्न र छिटो पुनरुत्थान गर्न सकिन्छ । यही नै भूकम्प उत्थानशील नेपालको आधारभूत संकल्प हो ।
भूकम्प उत्थानशीलता भनेको कुनै घटना आएपछि मात्र प्रतिक्रिया जनाउने प्रक्रिया होइन, बरु पूर्वतयारी, जोखिम न्यूनीकरण, दिगो संरचना निर्माण तथा सामाजिक–सांस्कृतिक तहमा सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन प्रक्रिया हो । नेपालको सन्दर्भमा उत्थानशीलता केवल सरकारी नीति वा प्राविधिक पूर्वाधारमा सीमित नरही, हाम्रो साझा संकल्प र सामूहिक जिम्मेवारीको विषय बन्नुपर्छ ।
नेपालको इतिहासमा भूकम्प एउटा दुःखद् श्रृंखलाका रूपमा रहँदै आएको छ । सबैभन्दा ठूलो भूकम्प १९९० सालमा आएको थियो, जसले काठमाडौं उपत्यकाको स्वरूप नै परिवर्तन गरिदियो । त्यसपछि २०७२ को गोरखा भूकम्पले करिब ९ हजार मानिसहरूको ज्यान लियो र खर्बौँ रुपैयाँ बराबरको सम्पत्ति क्षति गर्यो । त्यस्तै, २०८० को जाजरकोट भूकम्पले सुदूरपश्चिम र कर्णाली प्रदेशका कच्ची घरहरूको जोखिमलाई पुनः उजागर गरिदियो । यी सबै घटनाहरूले के स्पष्ट देखाउँछन् भने हामीले विपद् आएपछि मात्र प्रतिक्रिया जनाउने प्रवृत्ति त्यागेर विपद् आउनुअघि नै तयारी गर्ने संस्कृतिको विकास गर्न जरुरी छ ।
नेपाल विश्वका ११ औँ उच्च भूकम्पीय जोखिम भएका मुलुकहरूमध्ये एक हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काठमाडौं उपत्यकामा मात्र १० लाखभन्दा बढी संरचनाहरू जोखिममा छन् । एकपछि अर्को गरी देखिएका भूकम्पका घटनाले अवस्था कति भयावह हुन सक्छ भन्ने कुरा प्रस्ट पारेको छ ।
तर यी भूकम्पहरुले केही सकारात्मक पाठ पनि दिएको छ । स्थानीय समुदायहरूले पहिलो प्रतिक्रिया जनाए, छिमेकीले छिमेकीलाई उद्धार गरे, युवाहरूले राहत संकलनमा सक्रिय भूमिका खेले र ग्रामीण क्षेत्रमा सामुदायिक एकताले उल्लेखनीय योगदान पुर्यायो । अन्तर्राष्ट्रिय सहयोगको साथमा नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरी करिब पाँच वर्षभित्र ठूलो मात्रामा पुनर्निर्माण सम्पन्न गर्यो । यस अनुभवले संकटको घडीमा सामूहिक प्रयासले ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने कुरा प्रमाणित गर्यो ।
भूकम्प उत्थानशील नेपाल निर्माण गर्न संरचनागत, सामाजिक, संस्थागत, नीतिगत तथा आर्थिक पक्षमा एकसाथ ध्यान दिन आवश्यक छ । संरचनागत उत्थानशीलताका लागि राष्ट्रिय भवन निर्माण मापदण्ड २०७२ को पूर्ण कार्यान्वयन अपरिहार्य छ । अहिले पनि ग्रामीण क्षेत्रमा ५० प्रतिशतभन्दा बढी घरहरूले न्यूनतम मापदण्ड पालना गरेका छैनन् । यस अवस्थामा इन्जिनियर, आर्किटेक्ट र ठेकेदारहरूले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । सीएसईबीजस्ता स्थानीय, वातावरणमैत्री र भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग बढाउनु आवश्यक छ । महिला मेसन तालिमजस्ता कार्यक्रमहरूले महिलालाई निर्माण क्षेत्रमा सहभागी गराउँदै उत्थानशीलता र आर्थिक सशक्तीकरण दुवै हासिल गर्न सहयोग पुर्याउँछन् ।
सामाजिक उत्थानशीलताको दृष्टिले हेर्दा विपद्मा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित तथा सीमान्तकृत समुदाय सबैभन्दा बढी प्रभावित हुन्छन् । त्यसैले उनीहरूको आवाज सुन्ने र निर्णय प्रक्रियामा समावेश गर्ने संयन्त्र विकास गर्नुपर्छ । सामुदायिक तहमा विपद् व्यवस्थापन समिति गठन गरी नियमित अभ्यास सञ्चालन गर्नु आवश्यक छ । २०७२ पछाडि देखिएको सामुदायिक एकता र सामाजिक पूँजीलाई संस्थागत गर्नु आजको आवश्यकता हो ।
संस्थागत तथा नीतिगत उत्थानशीलताका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अझ प्रभावकारी बनाउनुपर्छ । प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार र स्रोतसाधन प्रदान गर्नुपर्छ । हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले करिब २० सेकेन्ड अगाडि सूचना दिने भूकम्प पूर्वसूचना प्रणालीमा काम गरिरहेको छ, जसलाई राष्ट्रव्यापी रूपमा विस्तार गर्नु अत्यन्त आवश्यक छ ।
आर्थिक उत्थानशीलताको सन्दर्भमा विपद्पछि तुरुन्तै आर्थिक गतिविधि सुचारु गर्न सक्ने गरी कृषि, पर्यटन तथा साना तथा मझौला उद्योगलाई विपद्–संवेदनशील बनाउनुपर्छ । घर तथा कृषि बीमाजस्ता बीमा प्रणालीको विस्तारले पुनर्निर्माण र पुनःस्थापनामा ठूलो सहयोग पुर्याउन सक्छ ।
अब प्रश्न उठ्छ– हाम्रो साझा संकल्पको अर्थ के हो ? साझा संकल्प भन्नाले भूकम्प प्रतिरोधी नेपाल निर्माणलाई राष्ट्रिय लक्ष्यका रूपमा आत्मसात् गर्दै त्यसप्रति दृढ अठोट व्यक्त गर्नु हो । यसका लागि हरेक नागरिकले सुरक्षित आवासको अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गर्नुपर्छ । भवन निर्माण आचारसंहिता उल्लंघन गर्ने विषयमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ । साथै, विपद्को समयमा ‘म’ र ‘मेरो’ भन्दा माथि उठेर ‘हामी’ र ‘हाम्रो समाज’ भन्ने भावना जागृत गरिराख्न स्वयंसेवाको संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ ।
अन्त्यमा भन्नुपर्दा, भूकम्प एक प्राकृतिक प्रक्रिया हो, जसलाई रोक्न सकिँदैन । तर यसबाट हुने क्षतिलाई निश्चित रूपमा न्यूनीकरण गर्न सकिन्छ । जबसम्म राज्यले बनाउने नीति र नागरिकले अपनाउने व्यवहारबीच तादात्म्यता कायम हुँदैन, तबसम्म हामी पूर्ण रूपमा सुरक्षित हुन सक्दैनौँ । त्यसैले भूकम्प प्रतिरोधी समाज निर्माणलाई केवल नारामा सीमित नराखी, यसलाई साझा संकल्पका रूपमा आत्मसात् गर्दै प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ । वास्तवमा आजको सानो सावधानीले भोलिको ठूलो विपत्तिबाट हजारौँको ज्यान जोगाउन सक्छ ।