
तनहुँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ फेरि एक पटक चुनावी बहसको केन्द्रमा उभिएको छ । तर यो बहस यस पटक केवल कुन दलले जित्छ, कुन उम्मेदवार अगाडि छ भन्नेमा सीमित छैन । यो बहस जनताको दैनिकी, बारम्बार दोहोरिँदै आएका अधुरा वाचा र प्रत्येक निर्वाचनपछि जन्मिने निराशाको हिसाब–किताबसँग गाँसिएको छ । करिब १ लाख २३ हजारको हाराहारीमा मतदाता रहेको यस क्षेत्रमा हरेक चुनावले नयाँ आशा बोकेर आउँछ । तर मतदान सकिएको केही समय नबित्दै उही प्रश्नहरू पुनः उठ्न थाल्छन्– सडक किन उस्तै छन् ? खानेपानी किन उस्तै छ ? रोजगारी किन उस्तै छ ? जनजीवन किन उस्तै छ ?
देवघाट, आँबुखैरेनी, बन्दीपुर, भानु नगरपालिका र व्यास नगरपालिकाका केही वडाहरू समेटिएको तनहुँ–१ धार्मिक, पर्यटकीय र कृषिको दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो । देवघाटजस्तो धार्मिक केन्द्र, बन्दीपुरजस्तो पर्यटकीय गन्तव्य र उर्वर कृषियोग्य भूभाग हुँदाहुँदै पनि यहाँको विकास अनुभूति अपेक्षाअनुसार देखिँदैन । सम्भावनाको सूची लामो छ, तर उपलब्धिको सूची छोटो ।
वर्षायाम सुरु हुनासाथ आज पनि धेरै गाउँका सडक हिँड्नै नसकिने बन्छन् । खानेपानी योजनाहरू बजेट, घोषणापत्र र शिलान्यासमै सीमित देखिन्छन्, तर धारामा पानी झर्ने अवस्था नियमित छैन । भूगोल कठिन हुन सक्छ, तर लोकतन्त्रमा नेतृत्वको मूल्यांकन समस्या गनेर होइन, समाधान दिएर गरिन्छ ।
२०७९/२०८० को उपनिर्वाचनमा तनहुँ–१ का मतदाताले अत्यन्त स्पष्ट सन्देश दिएका थिए । परम्परागत राजनीतिक दलहरूप्रतिको असन्तुष्टि व्यक्त गर्दै करिब ३४ हजारभन्दा बढी मत दिएर डा. स्वर्णिम वाग्लेलाई विजयी गराएका थिए । त्यो परिणाम केवल एक उम्मेदवारको जित मात्र थिएन, त्यो पुरानो राजनीतिक अभ्यासप्रतिको अस्वीकार र नयाँ विकल्पप्रतिको आशाको उद्घोष थियो ।
उपनिर्वाचनले देखाएको सन्देश प्रस्ट थियो– हामी विकल्प खोजिरहेका छौँ । तर आज, केही समय बितिसकेपछि, त्यही मतदाताको प्रश्न अझै प्रस्ट र कठोर बनेको छ– त्यो विकल्पले हाम्रो जीवनमा के परिवर्तन ल्यायो ? कार्यकाल छोटो हुनु, संघीय संरचनाको जटिलता, प्रशासनिक प्रक्रिया ढिलो हुनु– यी सबै तर्कहरू सार्वजनिक छन् । तर आम मतदाताका लागि यस्ता संरचनात्मक तर्कभन्दा पनि दैनिक जीवनमा देखिने परिणाम नै निर्णायक हुन्छ । सडक, खानेपानी, स्वास्थ्य सेवा र स्थानीय रोजगारीजस्ता आधारभूत विषयमा ठोस अनुभूति नहुनु नै अहिलेको असन्तोषको मूल कारण बनेको छ ।
फागुन २१ मा हुन लागेको चुनावमा डा. वाग्लेसँगै एमालेकी भगवती न्यौपाने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विद्यानाथ ढकाल, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलगायतको उम्मेदवारी परेको छ । उम्मेदवारहरू प्रति स्थानीयको फरक–फरक मूल्यांकन छ । सकारात्मक रूपमा हेर्दा, सबै उम्मेदवार योग्य देखिन्छन् । यद्यपि, सबैप्रति प्रश्न पनि छन्– तनहुँ १ का समस्या कहिले सुल्झिन्छिन् ? यहाँका मतदाताले खोजेजस्तो नतिजा कहिले पाउँछन् ?
मतदातालाई उद्घाटनका फोटो होइन, पूरा भएको आयोजना चाहिएको छ । ठूला भाषण होइन, सानो तर स्थायी समाधान चाहिएको छ । ५ वर्षपछि मात्रै होइन, हरेक वर्ष जबाफदेही नेतृत्व चाहिएको छ । मतदाताको प्राथमिकता अब एकदम स्पष्ट छ– आश्वासन होइन, परिणाम चाहियो । यो कुनै दल विशेषको समर्थन होइन, विगतका अनुभवबाट जन्मिएको राजनीतिक चेतना हो ।
सँगै, यहाँका मतदाता अब नारामा होइन, नतिजामा विश्वास गर्न चाहन्छन् । जो नयाँ होस् वा पुरानो, जो जुनसुकै दलको होस् । जनताको दैनिकी बदल्ने क्षमता नै अबको अन्तिम मापदण्ड हो । यो चुनाव चिन्हहरूको प्रतिस्पर्धा मात्र होइन, विश्वास, जबाफदेहिता र जिम्मेवारीको गम्भीर परीक्षा हो । तनहुँ–१ का मतदाताको मात्रै होइन, देशैभरि यही बुझाई छ ।
(भानु नगरपालिकाका स्थायी बासिन्दा क्षेत्री हाल युएईमा कार्यरत छन् ।)