२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कविता : सृष्टिको विलाप

ADV
२०८१ भदौ २९ गते ०६:२०
कविता : सृष्टिको विलाप

–मोहन राज काफ्ले

म आज कहाँ छु, किन छु 
कसरी यहाँ आएँ, कसले यहाँ पुर्‍याए
म जीवितै छु कि मृत छु
सुखी छु कि दुःखी छु
सपनामा छु कि बिपनामा छु
अस्तित्वमा छु कि विलीन छु
कसलाई सोधौँ, कसलाई सुनाऊँ !

जसलाई मैले सृष्टि गरेँ, जीवन दिएँ
जसलाई मैले हुर्काएँ, आश्रय दिएँ
गाँस दिएँ, बास दिएँ, कपास दिएँ
विकास दिएँ, सुख सुविधा सारा दिएँ
आज उसैको प्रहारले म सख्त घाइते भएँ
के दिएको थिइनँ र मैले उनीहरूलाई
भरपुर पुग्ने गरी आफू रित्तिएर नि दिएकै थिएँ !

उनीहरूको पुर्खा त खुसी नै थिए
मलाई पनि त औधी माया गर्थे
सिञ्चित गर्थे मलाई, सुमसुम्याउँथे मुसार्थे
घरी घरी मसँगै लुटपुटी रहन्थे
कहिले जलै जलले सिञ्चित गर्थे
कहिले बिरुवा पातले हरियाली भर्थे
सधैँभरी मेरो ढुकुटीमा चर्थे !

उनीहरूले मलाई श्रद्धाले पूजा गर्थे 
जिउनका लागि मेरै भर पर्थे
मैले पनि त आफू जलेरै पनि
सृष्टिको दियो जगाएकै थिएँ
जिउने आधार दिएकै थिएँ
आफू मिचिएर पनि थिचिएर पनि 
जगतै खुसी बनाएकै थिएँ !

म आफैँ सुम्पिँदा नि पुगेन अरे
गाँस, बास, कपासले मात्रै भएन अरे
साँघुरो भयो रे यो मेरो आँगन
नसुहाउँदो भयो रे परम्परागत चालचलन
पुर्खाले बचाइ राखेको थिति
भताभुङ्ग पारी भित्र्याए बेतिथि
हेर्नुस् त आज कस्तो छ होडबाजी !

हजुरबुवाले हिँडेका गोरेटो मेटिए
पानी घट्टका सरसर आवाज अनि गति रोकिए
कहाँ गए खै ती तेल पेल्ने कोलहरू
ढिकी जाँतो र डोका–नाम्ला पनि छोडिए
चिटेका ढुङ्गा, कमेरो माटोले लिपेका भित्ता
खरका छाना, टौवा, गोठ फेरिए
आहाल, कुवा, जरुवा, अनि पोखरी पुरिए !

हह काले हह माले भन्दै जोतेका 
आली कान्ला, छेउ कुना खन्दै
हल गोरु, हली बाक्से हिलो माटो खेल्दै
ब्याडबाट बिउका मुठा डोका भरी बोक्दै
छुपु छुपु हिलोमा रोपारले रोपेका
मेला पर्म लाउँदै सिञ्चित गरेका
ती खेत बारिलाई बनाए कङ्क्रिटको सहर !

वन जङ्गल मासे रुख बिरुवा काटे
मोटर बाटो भन्दै डाँडा काँडा भासे
मेरो अङ्ग अङ्गमा चोटै चोट पारे
आयोजनाका नाममा खोला थुनिए
उद्योगधन्दा खोलिए, मोटर गाडी भित्रिए
आडम्बरकै लागि कैयौँ युद्ध छेडिए
गहिरो चोट पुर्‍याई मलाइ पिडामा पारे !

उ अत्तालिन थालेको छ आजकाल
बेचैनी र पिर चिन्तामा छ हरपल
खोला बढेको छ, बाढी पसेको छ गाउँमा 
वनमै, घरमै दनदन दन्किएको छ आगो 
छैन उ अहिले आफैँ सुरक्षित ठाउँमा
महामारी पस्यो रे, कहीँ खडेरी कहीँ पहिरो खस्यो रे
दूषित हावा उकुसमुकुस छ, पानीको मुहानै सुक्यो रे !

महत्त्व नबुझेर हो कि मेरो, मलाई कमजोर बनाए
जननीलाई आघात पारे र त आफैँ धोका खाए
सानो, ठुलो, निर्बल, दुर्बल सबै–सबै लागे
मेरो चिन्तै गरेनन् कहिल्यै, सधैँ एक्लै भागे
सायद भुलेछन् क्यारे गुण, दोष मेरो 
अन्तरिक्ष जित्छौँ भनी मलाई ध्वस्त पारे
नबुझेर हेर अहिले आफैँ जालमा परे ! 

अझ पनि बाँकी नै छ धुकधुकी मेरो 
अति भोगेँ पीडा सहन सकिन थिचोमिचो 
त्यसैले त म आँधी भएको छु बाढी भएको छु
तुफान भएको छु, कहिले खडेरी, कहिले पानी पानी भएको छु
सम्हाल्नै नसक्ने आगोको लप्का भएको छु
बेहोसीमा छैन कोमाबाट ब्यूझीइसकेँ म अब
अझै पनि बुझेनौ मलाई भने मेटिने छौ तिमी सब ! 

बुझेनौ म तिम्रै धर्ती हुँ ।
बुझेनौ म तिम्रै सृष्टि हुँ ।।

ADVADV

सम्बन्धित खबर

Advertise