२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : वृक्ष–लोक

shivam cement
२०८१ असोज ५ गते ०६:१५
Shares
कविता : वृक्ष–लोक

–मोहन राज काफ्ले

न कोही ठुलो, न त सानो सबैलाई एकै देख्छु
न त नर, न त नारी, न दल कुनै, न बल थेग्छु
अमिर गरिब, निर्दो, बलियो जे भए नि आफ्नै देख्छु 
मेरो भाषा नबुझे नि सुसेलीमा गुनगुनाउँछु
खै किन हो म विनाको तिमीलाई निरस पाउँछु
तिमीले आफ्नो ठान्यौ भने आँखाभरि सजाउँछु
मलाई माया गर्‍यौ भने मनैदेखि रमाउँछु ।।
 
वसन्तमा हरियाली शीतलतामा मग मगाउँछु
खडेरीमा काकाकुल झैँ अङ्ग–अङ्ग जलाउँछु 
कहिले निर्मम हावाहुरी आँधीबाट मडारिन्छु 
वर्षासँगै भीषण बाढी पहिरोबाट बढारिन्छु
कहिले मूर्ख तस्करबाट पछारिँदै लतारिन्छु 
हुर्कनै नपाउने गरी घरी–घरी म साटिन्छु
देवबाट पुजिन्छु म दानवबाट निमोठिन्छु ।

सोच त म आफू कहिले आफ्ना लागि जिउँछु 
तिम्रै हरेक चाहनामा सधैँ साथ दिन्छु
वनदेखि मन–मनसम्म, ज्ञानदेखि धनसम्म
चुलोदेखि तुलोसम्म, हलोदेखि बलोसम्म
सागरदेखि पहाडसम्म, खाडीदेखि बहारसम्म 
जन्मदेखि मरणसम्म, देवगणका चरणसम्म
खरानी र धुवाँ बन्छु, कहिले आगो पानी पिउँछु ।

अनेक रूपमा पटक–पटक तिमीबाट म भोगिन्छु
फेरी आउँछु पुस्तौँ पुस्ता तिमीलाई साथ दिन्छु 
आदिदेखि अन्त्यसम्म तिमीसँग सँगै जिउँछु 
तिम्रै खुसी सुख भरी युगौँ युग साथमा हुन्छु 
आई बस मेरै काखमा, जुनी–जुनी तिमीलाई चुम्छु 
धर्ती माता रहेसम्म हजार–हजार जुनी लिन्छु 
मलाई माया गर्‍यौँ भने लाखौँ लाख जीवन दिन्छु  ।।

सम्बन्धित खबर