–ओम बस्नेत
“अब त तपाई रेगुलर हुनु भयो हाम्रो नानीहरूलाई इङ्ग्लिस स्कुल हाल्नु पर्छ है अर्को पालीदेखि”, पेमाले निमालाई प्रस्ताव राखी । धेरै वर्ष अस्थायी रूपमा सरकारी नोकरी गर्दै आएका हुन निमाले ।
“अब भर्खर त रेगुलरको अर्डर थापेको छु । कागजपत्र भेला गर्दा, एनओसी बटुल्दा अलिक समय लाग्छ, पहिलो तलब पाउनुमा । बेसी डिमान्डहरू नगर्नु है अहिले नै ।”
निमाले चेतावनी दियो ।
अर्को वर्षको फेब्रुअरी महिना आयो, अभिभावकहरू आफ्नो छोरा–छोरी इङ्ग्लिस स्कुलतिर घिसस्याउन थाले । निमा पनि एउटा इङ्ग्लिस स्कुलमा गयो । एडमिसन फीस देखेर सातो पुत्लो उड्यो ।
फीस तालिका यस्तो थियो –
मासिक फीस : दुई हजार
स्कुल डेवलोपमेन्ट फन्ड : १० हजार
वार्षिक फीस : १० हजार
कम्प्युटर फीस : दुई हजार
ट्युसन फीस : दुई हजार
स्कुल बस फेयर : दुई हजार इत्यादि ।
अब खाता किताब र युनिफर्मको अलग्गै । यूनिफर्मको निम्ति स्कुल मैनेजमेन्टले नै मनोनीत गरेको पसल रहेछ, कुन्नि के इन्टरप्राइजेज भनेर । त्यहीबाट किन्नु पर्ने । जम्मा जम्मी आधा लाखको झड्का लाग्ने भयो ।
यो सबै खर्चको व्यवस्था गर्दा निमाको तीन महिनाको तलब स्वाहा हुने देख्यो । साथीभाइबाट सापट गर्नुपर्ने स्थिति आयो ।
निमा र डोमाका दुई सन्तान हुन : अनिश र अनिशा । दुई दाजु बहिनीलाई तीन र चार कक्षामा दाखिला गर्नुपर्ने थियो तर, दुवैलाई खर्चले नपुग्ने हुँदा छोरोलाई प्राथमिकता दिए दम्पतीले ।
उसको मनमा धेरै कुराहरू खड्की रहेको थियो । दुई किलोमिटर बसमा चढेको दुई हजार, स्कुल डेवलपमेन्ट फन्ड छ हजार, छ महिनामा दिनुपर्ने । फेरि ट्यूसन फीस किन लिएको होला ? तर, खोइ कसले आवाज उठाउने ?
जसै तसै छोरो इङ्ग्लिस स्कुल जानु थाल्यो । स्कुलको र छोरोको फोटो पनि हाल्यो फेसबुकमा, अरूले पनि थाहा पाउन भनेर । बाउ–आमा गर्वले छाती फुल्याएर हिँड्न सक्ने भए । तर, गाउँलेले कुरा पनि काट्न थाले । छोरोलाई इङ्ग्लिस स्कुल हाले, छोरीलाई सरकारी पठाए भनेर ।
केही दिनपछि छोरोले भन्यो, “मम्मी, मलाई पैसा चाहियो तीन सौ रूपयाँ ।”
“किन चाहियो तीन–तीन सौ नानी ?”
“मैले की नेपाली बोलेँ भनेर ।”
“उफ् .. अन्त किन बोलिस् त नेपाली ?”
“पिसाब आएर कस्तो सारो पर्यो, अन्त मैले मिस मलाई सुसु आयो भनेको थिएँ, कान पनि मल्नु भयो अनि फाइन पनि तिर्नुपर्छ भन्नु भयो ।” अनिशले बतायो ।
एक दिन बिहानै पेमाले निमालाई भन्छे, “अनिशको डैडी, आज छुट्टी लिएर भए पनि स्कुल जानुस् है गार्जेन मिटिङ छ अरे ! मलाई त इङ्ग्लिस बोल्न पनि आउँदैन ।”
छोराले थप्यो, “डैडी, तपाई आउनुस् ल स्कुल आज । अलिक स्मार्ट भएर आउनुस् है । सबैको डैडी मम्मीले इङ्ग्लिस बोल्छ । मम्मी आउनु भयो भने त मलाई सरम हुन्छ । तपाईँ त पढेको हो नि । इङ्ग्लिस बोलेर देखाई दिनुस् ल”, भनेर इज्जतको सवाल देखायो ।
निमाले “हुन्छ” भनेर स्वीकृति दियो ।
रिजल्ट थाप्नु भन्दा अघि सबै फीसहरू तिरेको हुनुपर्छ भन्ने सुन्यो उसले ।
छोराको सरलाई गएर सोध्यो इंग्लिशमा,
“सर आई फादर ओफ मनिश, हौ मछ माई सोन मैथमेटिक्स ?”
सरले भने, “प्लीज आस्क टु मैथ टीचर ही इज दियर” भनेर अर्को सर देखाएर इशारा गरे ।
त्यहाँ गएर सोध्यो, “सर, आई फादर ओफ मनिश, हौ मछ माई सोन मैथमेटिक्स ?”
सरले रेजिस्टर पल्टाएर भने, “ओह, योर सोन इज वेरी पुवर इन मैथमेटिक्स, ही स्कोरड ओनली थर्टी थ्री ।”
योभन्दा खुशीको खबर उसको लागी के हुनु सक्थ्यो र । उसले फयाट्ट पचासको नोट झिकेर सरलाई दिई हाल्यो र भन्यो, “थेंक्यु सर, सेवेनटीन रूपीस टिप्स” भनेर हिँड्यो ।
“हैट उहिलेको पढाई हो नि हौ अझै त इङ्ग्लिस कहाँ बिर्सेको छु र ।”
भन्दै मनमनमा गदगद हुँदै घर पुग्यो ।
बेलुकी छोरो रिजल्ट नथापी घर आयो । छोरी अनिशाले अव्वल नम्बर ल्याएर पास भइछ । अर्को वर्षदेखि अनिश पनि सरकारी स्कुल जानु थाल्यो । केको पुवर हुन्थ्यो, हिसाबमा अहिले हाकिम भएर बेहिसाब पैसा कमाई रहेको छ ।