–मधु लम्साल
हिन्दु धार्मिक ग्रन्थ अर्थात चर्चित पुराण ‘श्री स्वस्थानी’ व्रत कथामा हिमालय पर्वत कैलाश र मानसरोवरबारे विभिन्न सन्दर्भमा रोमाञ्चक कथा सामग्री प्रस्तुत गरिएको छ । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान् महादेव र देवी पार्वती, पुत्रहरू श्रीगणेश र कार्तिकेयको बासस्थानका रूपमा कैलाश पर्वतलाई लिएको पाइन्छ । मानसरोवरलाई महादेवले हंशरूप धारण गरी जल विहार गरेको लगायतका कथा ‘श्री स्वस्थानी’ व्रत कथामा उल्लेख छ । हिन्दु धार्मिक कहावतअनुसार देवताहरूले मानसरोवरमा स्नान गरेर मात्रै कैलाशमा महादेवको दर्शन गर्थे रे ! त्यसैले पनि कैलाश अनि मानसरोवरको महिमा हिन्दु, बौद्ध, जैन, सिख, ॐकार लगायतका धार्मिक अनुयायीले गाउने÷पछ्याउने गरेको पाइन्छ ।
हुनत सामाजिक सञ्जालमा कैलाश मानसरोवरको दर्शन गराउने प्रलोभनयुक्त विज्ञापन छरपस्ट देखिन्छन् । व्यावसायिकरूपमा गरिएका त्यस्ता विज्ञापनले कैलाशको दर्शन सहज लाग्छ । व्यवसायीबीच दर्शनार्थीलाई प्रभावमा पारेर आफ्नोमा तान्न एक प्रकारको तँछाडमछाड नै चल्छ । अस्वस्थ प्रतिस्पर्धाले गर्दा आवश्यक गराउनै पर्ने जानकारी पनि ती व्यवसायीले इच्छुक दर्शनार्थीलाई गराइरहेका हुन्नन् । तोकिएको खर्चको जोहो गर्न सके जो पनि सहजै कैलाश परिक्रमा गरेर आइन्छ भन्ने भ्रम सामाजिक सञ्जालमा देखिएका विज्ञापनले पार्छ । तर, विज्ञापन गरिएजस्तो कैलाश परिक्रमा सहज भने छैन । व्यापार गर्ने नाममा व्यक्तिको संख्या संकलन गर्न गरिएका विज्ञापनले कैलाशको दर्शनका लागि इच्छुक दर्शनार्थीलाई कैलाश परिक्रमाबारे यथार्थ जानकारी नगराइनु नै प्रथमतः व्यावसायिक संस्थाहरूको बदमासी मात्रै होइन, ठगी नै जस्तो लाग्छ ।
इच्छुक व्यक्तिलाई विभिन्न स्थानमा घुमाउने, डुलाउने नाममा खुलेका ट्राभल एजेन्सी भनौं वा ट्रेकिङ एजेन्सीले आफ्नो कम्पनीबाट लैजान लागिएको स्थानको भौगोलिक अवस्था र मौसमको अनुकूलताका सन्दर्भमा सामान्य जानकारी दिए पनि मौसम प्रतिकुलताको अवस्थामा अति आवश्यक बन्दोबस्तीका सामग्री साथमा लैजानेबारे यथेष्ट जानकारी गराइनु पर्ने हो । तर, कैलाश दशनार्थीलाई त्यस्तो सन्दर्भमा केही जानकारी गराउने गरिएको पाइन्न । चाहे आफूलाई उच्च व्यावसायिक कम्पनी मान्नेहरू होउन् वा सामान्य ‘सिजनेवल’ कम्पनी नै चलाएर बसेकाहरू किन नहोउन् । केही एजेन्सी त त्यस्ता पनि फेला परे जसले आफ्नो सम्पर्कमा पुगेका दर्शनार्थीलाई उबाट असुलेको रकममध्ये आफ्नो कमिसन काटेर अर्को एजेन्सीको जिम्मा लगाउने । तीर्थयात्रीबाट महँगो शुल्क असुल्ने केही एजेन्सीले सामान राख्ने ब्याग र फिर्ता गर्ने गरी चिसोमा लगाइने ‘डाउन ज्याकेट’ उपलब्ध गराउने गरेता पनि हिमपात भएको बेला वा पानी परेको अवस्थाका लागि बन्दोबस्तीका केही पनि समान उपलब्ध गराउने गरेका हुन्नन् । न त त्यस्तो अवस्था पनि आइपर्न सक्छ भन्ने जानकारी नै दिन्छन् ।
त्यस्तो अवस्था आइपरेमा चाइनाबाटै आएको सामान भए पनि काठमाडौंंको बजारमाभन्दा तीन गुणा बढी मूल्यमा स्वयम् दर्शनार्थीले नै खरिद गर्न बाध्य हुनुपर्छ । तीर्थयात्रीको सहयोगका लागि भनेर जाने सहयोगी गाइडको व्यवहार कतिपय अवस्थामा पाच्य हुन सक्दैन । अचानकको हिमपात वा वर्षात्का बेलामा पनि केहीबेर कुर्ने वा अलमल गर्ने सुविधासमेत ती सहयोगीले खोसिदिन्छन्, उनीहरूकै शैलीमा, तोकिएकै स्थानमा पुग्नै पर्ने हुकुम तीर्थयात्रीमाथि चलाउँछन् ती सहयोगी भनाउँदाहरू । थाकेर, हिँड्न नसकेर पछि परेको यात्रीलाई हिँड्न हौसला दिनु त परैको कुरा आफू नै अघि लाग्ने गर्छन् । भन्छन्, ‘यती गरेन भने हिँड्नै खोज्दैनन् ।’
कैलाश परिक्रमाको सिजन
उच्च हिमाली भेग भएकाले हिउँ पर्नुअघि अर्थात् जुन, जुलाई, अगस्ट र सेप्टेम्बर (जेठ, असार, साउन, भदौ)लाई कैलाश परिक्रमाका लागि उचित समय मानिन्छ । चैत्र–वैशाख हावाहुरीको सिजन भएको र भाद्र तेस्रो सातादेखि चिसो बढ्ने भएकाले त्यसबिचको अवधि कैलाश परिक्रमाका लागि उत्तम मानिन्छ ।
चार–पाँच वर्ष अघिसम्म भारतीय दर्शनार्थीको भीड लाग्ने कैलाश मानसरोवरमा हिजोआज ४० प्रतिशत स्थानीय तिब्बतीयन, ३० प्रतिशत नेपाली, १५ प्रतिशत विभिन्न देशको राहदानी प्राप्त गरेका गैरभारतीय नागरिक (एनआरआई) र १५ प्रतिशत ट्रेकिङका लागि आउने विदेशी नै हुन्छन् । तिब्बतवासी बौद्ध धर्मप्रति निकै आस्थावान् छन्, तर समग्र चीनवासीले धर्मप्रति त्यती चासो राख्दैनन् । केही वर्षयता भारत–चीनबिच सीमाकै विषयलाई लिएर सम्बन्धमा चिसोपना आएपछि चीनले भारतीय नागरिकलाई तिब्बत अर्थात् कैलाश मानसरोवरका लागि प्रवेशाज्ञामा रोक लगाएको छ । त्यसो त सीमामा रहेका नेपालीलाई पनि निश्चित किलोमिटरभन्दा अगाडि बढ्न दिइएको छैन ।
चीनको तिब्बत क्षेत्रमा पर्ने कैलाश मानसरोवरको दर्शन गर्न जाने तिर्थालुले व्यक्तिगत ‘भिसा’ पाउँदैनन् । उनीहरूले ‘ग्रुप भिसा’ लिनु पर्छ । ग्रुपमा कम्तीमा चार जना हुनै पर्ने । ‘भिसा’ भएर पनि स्थानीय एजेन्ट अर्थात् गाइडबिना प्रवेश नपाइने । सिमानाकामा चेकजाँच विमानस्थलकै शैलीमा हुन्छ । चेकजाँचका क्रममा चीन सरकारका लागि घाँडो मानिएका हाल भारतमा प्रवास जीवन बिताइरहेका बौद्ध धर्मगुरु दलाई लामाको तस्बिरसम्म देख्न नहुने । जुनसुकै भाषामा लेखिएका पत्रपत्रिका, नक्सा, पुस्तकलगायतका जानकारीमूलक सामग्री चेकजाँचका क्रममा बोर्डरमै खोसिने । मोबाइल, ल्यापटपमा कहीँ कतै दलाई लामाको तस्बिर देखा प¥यो भने त्यो व्यक्तिले प्रवेश पाउन सम्भवै छैन । मोबाइल र ल्यापटप नियाली नियाली हेर्दा लाग्छ, उनीहरूका लागि दलाई लामा कति टाउको दुखाइका रहेछन् ? नाकाबाट इन्ट्री पाइसकेपछि पनि राजमार्गको ठाउँ ठाउँमा चेकपोस्ट, त्यहाँ पनि ‘इन्ट्री परमिट’ देखाउनै पर्ने अनि गाइड पनि साथमै हुनु पर्ने ।
कैलाश मानसरोवरको परिक्रमाका लागि १० देखि १२ दिनको समय छुटाइन्छ । नेपाली दर्शनार्थीबाट एजेन्सीले एक लाख पचास हजारदेखि एक लाख सत्तरी हजारसम्म असुल्ने गरेको पाइन्छ । त्यो पनि रसुवा नाकाबाट लैजाँदा । यात्रुको सुविधाका लागि नेपालगन्जबाट सिमिकोट जहाजमा, त्यहाँबाट हिल्सा नाकासम्म हेलिकप्टर अनि त्यहाँबाट सवारीसाधनमा लैजाने पनि केही एजेन्सीले व्यवस्था मिलाएका रहेछन् । यसका लागि प्रतिव्यक्ति दुई लाख ६० हजार असुल्दा रहेछन् । तर, ट्रेकिङमा आएका विदेशी नागरिक र दर्शनकै लागि जाने गैर भारतीयसँग भने एजेन्सीवालाले राम्रै मोलमोलाइ गर्ने गरेको पाइयो ।
कैलाश परिक्रमा र भौगोलिक अवस्था
कैलाश मानसरोवर तीर्थयात्राका क्रममा चीनको तिब्बत क्षेत्र प्रवेश गर्ने नेपालका थुप्रै नाका छन् । त्यसमा प्रमुख रसुवाबाट केरुङ नाका हुँदै होस् वा बाह्रबिसेको खासा नाकाबाट अथवा मुस्ताङको कोरला नाकाबाटै किन नहोस्, यी नाकाबाट प्रवेश गरेपछि साघा सहर वरपरको राजमार्गमा जोडिन पुगिन्छ । सिमिकोटको हिल्सा नाकाबाट प्रवेश गर्दा दार्चेन नजिकको हाइवेमा मिसिने रहेछ । त्यसो त विवादित लिम्पियाधुरा अर्थात् लिपुलेकबाट पनि कैलाश मानसरोवर नजिकै पर्दो रहेछ । समुद्र सतहबाट झन्डै चार हजार ५६० मिटर उचाइमा रहेको मानसरोवरमा स्नान अनि पूजामा सरिक भइसकेपछि सुरु हुन्छ कैलाशका लागि परिक्रमा यात्रा । भौगोलिकताको दृष्टिले चार हजार ५६० मिटर उचाइ आम नेपालीका लागि अनुकूल नै मान्न त सकिन्न, तापनि सवारीसाधन चढेरै गइने हुँदा त्यहाँसम्मको यात्रा खासै प्रतिकूल देखिन्न । कैलाश यात्राका लागि त्यहाँ पुग्ने व्यक्तिको अक्सिजन लेभल ७५ भन्दा माथि नै हुनुपर्ने हुन्छ । कैलाश यात्राका क्रममा दार्चेन चार हजार ६७० मिटर उचाइसम्म खासै जानकारी नगराइने भएता पनि ‘हाइ अल्टिच्यूड’ अर्थात् लेक लाग्न सक्ने सम्भावनालाई ख्याल गर्दै साघा सहरमा एक–दुई दिन विश्राम गराउने गरिँदो रहेछ । खासगरी मानसरोवर पुगेपछि मात्रै स्वास्थ्य समस्याका बारे ‘यसो र त्यसो’ भनेर त्रास देखाइदिँदा आफूसँगै गएका गाइडसँग विवाद गर्ने दर्शनार्थीको संख्या पनि कम देखिन्न । स्वास्थ्य समस्याका कारण त्यहाँबाट अघि बढ्न नसक्ने अवस्था आइपरे पनि आफूले बुझाएको पैसा फिर्ता हुने होइन । बरु, उल्टै ती गाइडले तपाईंलाई माथि होटेल बुक गरेको छ, त्यहाँ बुझाएको पैसा फिर्ता हुन्न अनि यहाँ पनि होटेलमा बसेको रुमको पैसा तिर्नु पर्ने हुन्छ भन्दै थप रकम असुल्ने गरेको पनि देखियो ।
कैलाश परिक्रमा अन्तर्गतको तीन दिने पैदल यात्राको क्रम यमद्वारबाट सुरु हुन्छ । दार्चेनबाट यमद्वारसम्म सवारीसाधनमा पुगिन्छ । समुद्र सतहबाट यमद्वारको उचाइ चार हजार ८५० मिटर छ । सात–आठ घण्टा लगाएर १५ किलोमिटरको पैदलयात्रा तय गरेपछि ५२ सय मिटर उचाइको दिरापुकमा पुगिन्छ । त्यस दिनको बास त्यही दिरापुकमा हुन्छ । यसबिचमा एउटा मात्रै ‘टि–सप’ अर्थात् खाजा खाने स्थान छ । उत्तरी मोहडाबाट कैलाशको भव्य दर्शन गर्न सकिने यो ठाउँसम्म स्वस्थ व्यक्तिले खासै समस्या भोग्नु पर्दैन । यद्यपि, हिँड्न नसक्नेहरू भने घोडा सवारी प्रयोग गर्छन् । यहाँसम्मको घोडा सवारीको झन्डै १५ सय घुर्मी अर्थात् ३० हजार नेपाली रुपैयाँ बुझाउनु पर्छ । मालसमान ओसार्न त्यहाँको भरिया चौरीगाइँ मानिन्छ ।
कैलाश परिक्रमाका क्रममा सबैभन्दा कठिन र जटिल दोस्रो दिनको पदयात्रालाई मानिन्छ । दिरापुकबाट सुरु हुने परिक्रमा पैदलयात्रा जुथुलपुक पुगेर रोकिन्छ । ५२ सय मिटर उचाइबाट सुरु हुने दोस्रो दिनको परिक्रमा यात्रा झन्डै ५६ सय ५० मिटर उचाइको डोल्माला पास हुँदै ११–१२ घण्टा लगाएर १८ किलोमिटरको उकाली ओराली यात्रा ४७ सय ६० मिटर उचाइको जुथुलपुकमा पुगेर त्यस दिनका लागि स्थगित हुन्छ । यसबिचमा पनि एक ठाउँमा मात्रै ‘टि–सप’अर्थात् खाजा खाने ठाउँ भेटिन्छ । यस दिनको पदयात्रालाई ‘डेन्जर जोन’का रूपमा राखिएता पनि उद्धार एवम् आराम स्थलको अभाव देखिन्छ । घोडा सवारीले दिरापुकबाट डोल्मालासम्मको उकालो चढाएको यहाँ पनि २ हजार घुर्मी अर्थात् ४० हजार नेपाली रुपैयाँ असुल्दा रहेछन् । आफ्नै शरीर भारी लाग्ने यो यात्राका क्रममा साथमा लगेको ५–७ केजीको झोला पनि आफूलाई घाँडो लाग्ने, भरियालाई बोकाउँदा त्यही सानो झोलाको पनि ५–७ सय घुर्मी दश–बाह्र हजारको ‘डिमान्ड’ गर्ने अवस्था रहेछ । पहिलो दिन र दोस्रो दिनको पैदल परिक्रमाका दिन आफूलाई लैजाने एजेन्सीले दिएको ‘लन्च प्याकेट’ सम्झँदा पनि ‘कठै’ भनेजस्तो लाग्छ । ‘ब्रेकफास्ट’ र ‘डिनर’ पनि उस्तै । झन् हिँड्न शक्ति चाहिने बेलामा टिठलाग्दो खान्की ! पैसा तिरेर पनि ‘टि–सप’मा शाकाहारी खाना नपाइने ! खानाका सन्दर्भमा एजेन्सीले साथ लगाएर पठाएका गाइडसँग कुरा गर्दा उनीहरूले होटेल–रेस्टुरेन्टले नेपाली स्वादको खाना नदिने आफूहरूले खाना तयार गर्ने भाँडाकुडा बोकेर ल्याउन नसक्ने जवाफ दिन्छन् । हिमाल आरोहण गरेकै आभास दिलाउने दिरापुकबाट जुथुलपुक जाने पैदल मार्ग कस्तो होला ? त्यसमा पनि हिउँ परेको बेला, बाटो नदेख्दाको अवस्थामा त्यो यात्रा कसरी तय गरिएको होला ? अहिले सम्झँदा पनि आङ् सिरिङ्ग हुन्छ ।
दिरापुकबाट बिहान झिसमिसेमा उकालो चढ्दै गर्दा डोल्माला पास आउला छैन, आउला छैन । उकालोमा कमिलाको ताँतीजस्तै एकपछि अर्को पाइला ! यात्राको क्रम जारी । हिउँले जताततै सेताम्मै । केको बाटो देख्नु ? कहीँ कतै त अनुमान लगाएर अगाडि चालेको पाइला हिउँमै भासिने । त्यो बेला कैलाश परिक्रमा गर्दैछौं भन्ने भुलेर हिमाल आरोहण पो गरिरहेछौँ जस्तो भान पर्थ्यो । परिक्रमा यात्रा गरिरहेका केही पैदलयात्रीको रुवावासी, कोही चिप्लिएर उत्तानो परेका, कोही लतारिएर, धसारिएर हिउँसँगै हिलाम्मे छन् । कोही घाइते । कोही अघि बढ्न नसकेर आकुल–व्याकुल अवस्थामा । हिमपातकै अवस्थामा पनि कसैले साथमा लगेको अक्सिजन लिइरहेको अवस्था थियो । मुस्किलले चढेको उकालो पछि ओरालो झर्दा झनै खतरा मोल्नुपर्यो । दिरापुक र डोल्मालाको बिचमा रहेको एउटा ‘टि–सप’मा सामान्य वर्षादीको मूल्य दुई सय घुर्मी रे । जवकी त्यसको नेपालमा दुई सय रुपैयाँ पनि पर्दैन । त्यहाँका व्यापारी पनि मौकाकै फाइदा उठाउने खालका । जुथुलपुकमा पनि देख्नमा आकर्षक विश्राम गृह अर्थात् होटेल थियो । तर, त्यहाँ पनि शौचालय भने थिएन । जसोतसो रात काटेर भोलिपल्ट झिसमिसेमै दार्चेनतर्फको यात्रा थालियो । झन्डै साढे दुई घण्टाको यात्रापछि दार्चेनमा खाना खाएर सवारीसाधनमा फर्किने मेसोतर्फ लागियो ।
र, अन्त्यमा हिन्दुलगायत धर्मालम्वीले महान् एवम् पवित्र ठान्ने तीर्थस्थलमा पुगेर पनि आफ्नो घरपरिवार, नातागोता, साथीभाइ, शुभेच्छुकलाई तीर्थस्थलको सम्झना स्वरूप उपहार वा चीनोका रूपमा किन्ने समान नपाउनु, त्यत्रो तीर्थस्थलमा शिवालय, मठमन्दिर कहीँ कतै नहुनु, दैनिक हजारौँ धार्मिक पर्यटकले पदयात्रा गर्ने पवित्र तीर्थस्थलप्रति चीन सरकारले उपेक्षा गरेजस्तो लाग्नुले पनि मन केही खल्लो बनिरह्यो ।