२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मजाक बनाइएको नारा

ADV
२०८१ असार ६ गते ०६:२५
मजाक बनाइएको नारा

–ज्योतिलाल वन

थाहा छैन, पहिले कसले उच्चारण ग¥यो ? जसले गरेको होस्, नेपालमा गणतन्त्र स्थापित भएयता ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्धरण (कोटेसन) प्रायः सबैजसो दलका नाइकेहरूले बेलाबखत व्यक्त गर्ने गर्छन् । जसरी दलका नाइकेहरू प्रतिको धेरैको बुझाई तीतो बन्न पुगेको छ, त्यसरी नै नाराजस्तै बनाइएको यो उद्धरण पनि सबैका निम्ति तीतोमै परिणत भएको छ । कसैले यो उद्धरणरूपी नारा भट्याएको सुन्दा स्वयम् पंक्तिकारलाई पनि किन किन मेरो कन्सिरी तातेको अनुभव हुन थाल्छ । 

यसो भनिरहँदा किन यति सुन्दर नाराको विरोध गरियो भन्ने प्रश्न पनि उठ्न सक्ला । जसको प्रष्टीकरण दिन आवश्यक छ । युवा जनशक्तिलाई बाध्यकारी श्रम (नवदासता)मा पेल्न विदेश पठाउने मानव श्रम निर्यातक देश बनाइएको छ नेपाल । सानातिना विकास निर्माणका लागि पनि विदेशी ऋण र अनुदानको आश र भर पर्नु परेको अवस्था हो अहिले । यस्तै, निरीहतालाई लिएर बलिया विदेशीहरूले आफ्नो इसारामा चलाउन खोजेको नवऔपनिवेशिक मुलुक बनाइएको छ नेपाल । खानदानी अभिजातहरू र अनेकौं आर्थिक अपराध गरी अकुत सम्पत्ति सोहोरेका नवधनाढ्यहरूले चकचकी चलाउने थलो बनाइएको छ नेपाल । यस्तै, नवधनाढ्यहरूलाई देश लुट्न दिने शर्तमा यिनीहरूकै सरसहयोग लिएर सत्तामा पुग्ने तथा दलगत वा व्यक्तिगत शक्ति आर्जन गर्ने कथित राजनीतिक चोट्टाहरूको हालीमुहाली चल्ने देश बनाइएको छ नेपाल । 

यस बखत परम्परागत सामन्तहरू दृष्यमा छैनन् तर, गाउँठाउँका उर्वरक भूमि मात्र हैन शहर बजारका अति मूल्यवान अधिकांश भूमिहरू समेत तिनै अभिजात, नवधनाढ्य र कतिपय दलका नाइकेहरूबाटै स्वामित्व कायम गरिएको छ । तर, कुल जनसङ्ख्यामा लगभग २० प्रतिशत रहेका कृषि श्रमिक तथा अन्य श्रमिकहरूलाई भने भूमिहीन र सुकुम्बासीमा परिणत गरिएको नवसामन्तीय राज्य बनाइएको छ ।

त्यस्तै, नवधनाढ्यहरूको पंक्तिबाटै बनेका वित्तीय निकायहरू तथा मिटरब्याजी साहुहरूबाट निम्न आयस्तर भएका जनताहरूलाई नाजायज किसिमले ऋण लगानी गरी चरम शोषण उत्पीडनमा पारेको र लुट्ने अवसर दिइएको मुलुक बनाइएको छ । अर्कोतर्फ, लैङ्गिक र जातीय समानताका कुरा मुखले फलाके पनि र लिखतमा लेखे पनि व्यवहारमा एकल जातीय वर्चस्व कायम गरिएको पाइन्छ । नेपाललाई अहिले पनि लैङ्गिक शोषण उत्पीडन तथा जातीय भेदभाव र छुवाछुतले निरन्तरता नै पाइरहेको सामाजिक विभेद आधारित मुलुक बनाइएको छ ।

कथित धर्म निरपेक्षताको नाममा अनेकौं धार्मिक तथा सांस्कृतिक विकार, विकृति एवम् अन्धविश्वासजन्य अपराधहरूलाई निरन्तरता दिएको अन्धविश्वासग्रस्त समाज बनाइएको छ छ । नेपाल २१औं शताब्दीको चेतनाअनुसार अझै पनि अगाडि बढ्न सकेको छैन । आफैंलाई लज्जित हुनुपर्ने थुप्रै घटना निरन्तर घटिरहेका छन् ।

विद्यमान यस्ता धरातलीय कटु यथार्थहरूका बारेमा बेखबर रहेर वा बेवास्ता गरेर वा संवेदनविहीनता बनेर आफ्ना दलगत वा व्यक्तिगत कुत्सित स्वार्थ पूरा गर्ने नियतमा आधारित रही जनताको आँखामा छारो हाल्ने वा ललिपप चटाउने उपकरण बनाइएकोले ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्धरण रूपी नारा निकै अप्रिय लाग्न थालेको छ । आम सुझबुझ भएका नेपालीहरू यी नाराहरूबाट दिक्क मानिरहेका छन् । उनीहरु नारा होइन नतिजा चाहन्छन् । तर विडम्बना, वर्तमान अवस्थालाई हेर्दा नतिजा पाउन सकिने आधार छैन । 

ADVADV

सम्बन्धित खबर

Advertise