–खिमराज गिरी
पूजनीय आमा, यो अभागी छोराको प्रणाम ! हुन त तिम्रा ती कोखबाट धेरै वीर योद्धाहरू, बौद्धिक वर्गहरू, कयौँ युधिष्ठिर, कति जङ्गबहादुरहरू र कति राक्षसहरू जन्मे होलान् ! तर, तिम्रो दुःख सुखमा साथ दिने छोरा छोरीहरू कमै मात्र पायौ होला ! तैपनि यो अभागी छोरा ! तिम्रो कोखमा जन्मिने अवसर पाएर नै होला आफूलाई अति भाग्यमानी ठानी यो पत्र लेख्दै छु । अतीतका केही दशक पार गरी आजका दिनसम्म तिम्रा काखमा हुर्केर जे देखेँ, जे भोगे, जस्तो अनुभव गरेँ सोबारेमा अतीतका ती वेदनाकै घाउहरूलाई बिर्सने कोसिस गरी मलहम लगाउने प्रयत्न गर्दै यो पत्र लेख्दै छु ।
आमा ! यो अभागी छोराले धरतीमा पाइला टेकेको पनि धेरै दशक भइसक्यो । बाल्यकाल केही कुरा नबुझी बित्यो, यौवनावस्था गोली र रगतको होलीमा बित्यो ! अनि यो वर्तमान अवस्था राजनेताहरूको झुटा आश्वासन र बोलीमा बितिराखेकोले अतीतका ती दिनहरू र वर्तमान अवस्थालाई सम्झेर यो विदेशको कहालीलाग्दो स्थानमा बसेर केही हरफ लेख्ने जमर्को गरेको हुँ । क्षण क्षणमा गोल बारुद चलिरहेका छन्, कयौँ नेपालीहरू मृत्युको सँघारमा अत्तालिएका छन् । स्वर्गजस्तो देशलाई लात हानी आज यो रणमैदानबाट तिमीलाई हरेक पलपलमा सम्झेर आँसुको धारा बहाइ यो पत्र कोर्ने जमर्को गरेको छु । आमा ! म आठ कक्षामा पढ्दा एक जना विदेशी ‘जो नेपाली भाषा बोल्न जान्दथे’ ले भनेका थिए “नेपाल सुन्दर छ, राम्रो छ, प्राकृतिक रूपमा धनी पनि छ, नेपालीहरूमा सहनशीलता हुन्छन्, यिनीहरू मेहनती हुन्छन्, वीर योद्धाहरूको भूमि हो नेपाल, स्वाभिमानी हुन्छन् ।” तत्कालीन समयमा मेरो बाल मस्तिष्कमा अनजान भए पनि राम्रै छाप परेको थियो एक जना विदेशीको नेपालप्रतिको सद्भावले गर्दा ।
तर, आज ती कुराहरू सम्झेर रुन मन लागेको छ । इतिहासमा तिम्रा कोखबाट जन्मेका कयौँ जङबहादुरहरू केही हदसम्म व्यक्तिगत र पारिवारिक स्वार्थमा लिप्त भए पनि राष्ट्र र राष्ट्रियताप्रति विदेशी शक्तिहरू सामु कहिल्यै पनि झुकेनन् । अझ तिनले संसारलाई नेपाली बहादुर भनेर त चिनाए अनि तिम्रो कोखबाट कयौँ कलाकारहरू, मूर्तिकारहरू, बहादुर योद्धाहरू जन्मायौ जो देशको शिर उच्च राख्न, राष्ट्रिय स्वाभिमानको पगरी गुथ्न, विदेशी साम्राज्यवादको पन्जाबाट बाँच्न र तिम्रो शरीरलाई बँचाउन सफल भए । आफ्ना पौरखी हातहरू विश्वभर फैलाए । भलै ति अशिक्षाको जगमा हुर्के, बढे पनि ।
विडम्बना ! आज समय र परिस्थिति अर्कै छ ! केही वर्षयता तिम्रा ती कोखबाट धेरै प्रकारका सन्ततीहरू जन्मिसकेका छन् ‘विद्धान—विदुषी, राजनेता, कुटनीतिज्ञ, कुण्ठे, मुन्द्रे, चण्डे, अचण्डे, झोले, भोले’ आदि । यिनले आजको अवस्थामा राष्ट्र र राष्ट्रियता, विभिन्न जात—जाती, भाषा—भाषी अनि धर्मको नाउँमा राजनीतिक खेलको मैदान तयार पारेर व्यक्ति, परिवार र पार्टीको स्वार्थका खातिर ताण्डव नृत्य देखाई देशलाई विखण्डनको बाटोतिर लागिराखेका छन् । केही वर्ष अगाडि तिम्रो छातीमा रगतको होली खेल्दा कतिका बालबच्चाहरू टुहुरा भए, कतिका श्रीमती विधवा भए, कतिका बाबु—आमाका काखहरू रित्तिए, कयौँ घरबार विहीन भए, कति अपाङ्ग भई पशुको जस्तो जिन्दगी जिउन बाध्य छन् । त्यस्तै गास, बास र कपासको लागि कति मानिसहरू भौंतारिरहेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट मानिसहरू वञ्चित भइराखेका छन् । कयौँ निमुखा, सोझासाझा मानिसहरूको जीउधनको सुरक्षाको ग्यारेन्टी छैन । कयौँ आडम्बरमा बाँच्न चाहने मानिसहरू सहरिया बन्ने रहरले लाम लागेर सहरतिर धाउने प्रवृत्ति बढ्दो छ ।
आज गाउँ घरमा युवाहरू देख्न सकिँदैन । दैनिक हजारौँ युवाहरू विदेसिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र करिब सात लाख ७१ हजारभन्दा बढी नेपालीहरू विदेशिएको कुरा नेपाल वैदेशिक रोजगार विभागको तथ्यांकले बताएको छ एकातिर भने अर्कोतिर कयौँ व्यक्तिहरू धन कमाउने मातले गर्दा राजनीतिक मैदानमा फोहरी खेल खेल्ने, विभिन्न कार्यालयलगायत अन्य क्षेत्रहरू भ्रष्टाचारको अखडा बन्ने, प्रशासनिक तथा अन्य क्षेत्रहरूमा महत्त्वपूर्ण पदमा नियुक्तिको लागि विदेशी दलालहरूको पाउमा पर्ने, प्रत्येक तीन तीन महिनामा सत्ता परिवर्तन भइरहने खेलले गर्दा राजनीतिमा गाई गोरु मोल मोलाइको प्रवृत्ति देखाउने कार्य साधारण जस्तै भइसकेको छ । एकले अर्काको अस्तित्वमाथि खेलबाड गर्ने, चोरी डकैती गर्ने, हरेक क्षेत्रमा दादागिरी गर्ने जस्ता घटनाहरू भइराखेका छन् । त्यस्तै, सामाजिक मर्यादाको कुरा गर्दा महिलाप्रतिको हिंसा र बलात्कारका घटनाहरू त हरेक दिन पत्रपत्रिकामा पढ्ने कु–अवसर पाइन्छ । यसै गरी धनको लोभले बालबालिका र महिलाहरूलाई अपहरण गर्ने, विधिको शासन भनिएता पनि अर्काको जग्गाजमीन जवर्जस्ती कब्जा गर्ने, राम्रा गहना लगाएर बाटामा हिँडने महिलाहरू चोरी डाँकाहरूको सिकार हुने, आदि कुराहरू आज हाम्रो समाजको दिनचर्या नै भएको छ ।
तिम्रा ती प्राकृतिक गहनाहरू ‘जमिन, जङ्गल, जल, जनावर र हिमाल’ आदिलाई केही कुपुत्रहरूले विदेशमा बन्दकी राखी आफ्नो पारिवारिक र पार्टीको स्वार्थअनुरूप प्रयोग गरेको अवस्था छ । अदृश्य जंगलमा तस्करहरू रमाइरहेका छन् । जडीबुटीहरू सस्तोमा विदेश पठाई तिनैबाट बनेका औषधीहरू महँगोमा किन्न बाध्य छौँ हामी । खेर गएको जलश्रोतलाई सही सदुपयोग गर्न नसकेर टुकी बत्तीमा रमाउने र खेतबारीहरू बाँझै राखी बिहारी चामलमा रमाउने प्रवृत्ति छ हाम्रो । सहर बजारका पवित्र नदीहरू फोहोरको नालीमा परिणत भएका छन् । धर्म र संस्कृतिको संगमस्थल भनेर चिनिने कयौँ सहरहरूका मठ—मन्दिरहरू जिर्णाेद्धारको पर्खाइमा छन् ।
आमा ! तिमीले सोचेकी हौली, दुई/चार जना पौरखी छोरा छोरीहरू जन्माएको छु । अब त सुखका दिन आउला कि भनेर ! तर, यसको ठिक विपरीत भएको छ आमा ! किनकि ती पौरखी र विवेकहीन सन्तानहरूले पहिला पनि चार/चार वर्षसम्म निरीह दिदीबहिनी तथा दाजु भाइहरूले तिरेको रकमबाट मोज मस्ती गरी तिम्रो अस्तित्वलाई जोगाई राख्न मद्दत पुग्ने संविधानरूपी गहनालाई गर्भपतन गराउन सफल भए र फेरि पनि निर्वाचन गराई संविधान सभारूपी महलमा पुग्ने सपना अन्य निरीह सन्तानहरूलाई बाँडेर एउटा लक्ष्मण रेखा बनाए । विगतमा तिम्रो शरीर त बेच्ने कुचेष्टा गरे भने अहिले पनि शरीरको गहना बन्धकी राखेर भए पनि मोजमस्तीमा दिनहरू बिताइरहेका छन् । हुन त हामी पनि निकै जान्ने बुझ्ने भइसकेका छौँ । आजका युवाहरू धेरै जान्ने बुझ्ने भइसकेका छन् ।
अब त आफ्नो अधिकार खोसेर लिनको लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तत्पर रहन सक्छन् ती युवा जमातहरू । तर, पनि पथ भ्रष्ट पात्रहरू आफ्नो व्यक्तिगत स्वार्थमा रुमलिन थालेका छन् । अनि फोहोरी राजनीतिको कुण्डमा पौडी खेल्दै आमाको छातीमा लाद हानी ‘सप्रे स्वदेशको राजनीति, बिग्रे विदेशी बसाइको रणनीति’ भनी विदेशमा घरबार जमाउने सपना बोकेर हिँडेका छन् । अरू आफ्ना दिदी–बहिनी तथा दाजु–भाइहरूलाई पापको महाकुण्डमा पौडी खेल्न लैजाँदै छन् । आज सचेत सिर्जनशील युवा वर्ग सवै विदेश अनि कयौँ बुद्धिजीवीहरू, मानवअधिकारकर्मीहरू र समाजका विभिन्न व्यक्तित्वहरू रमिते जस्तो बनी फोहोरी राजनीतिक खेलको मैदानमा फुटबल हेरी बस्न बाध्य भएका छन् भने बाँकी रहेका कुण्डे मुण्डेहरू तिम्रा आँसुमा पौडी खेलिरहेका छन् ।
तसर्थ, आमा ! तिम्रो कोखबाट जन्मिएका सन्तानहरू आज विभिन्न स्वभावका भएका छन् । आजको यो क्षणमा तिमीलाई सम्झी विध्वंशको वेदनालाई बिर्सेर हाँस्नुपर्ने बाध्यता भएता पनि घाइते मन मस्तिष्कको डर र त्रासदीरूपी संवेदनाको जरो उखेलिन सक्ने अवस्था देखिँदैन तसर्थ, जे–जस्तो परिस्थितिको सिर्जना भएतापनि यो घाइते मनले अझै हरेस खाएको छैन । आमा ! आशा थियो, विगतमा जन्मेका केही सुपुत्रहरू जसले देशको लागि केही गर्छन् र नेपाल आमाको दूधको भाडा तिर्छन् भन्ने तर, महिषासुरको सङ्गतले गर्दा मति भ्रष्ट भयो तिनको । तैपनि भविष्यमा तिमीले यो देशलाई सही नेतृत्व दिन सक्ने, साहसी, धन दौलतको फोहोरी कुण्डबाट टाढा रहने, बालबालिका तथा वृद्ध वृद्धाहरू प्रतिको दुःखमा साथ दिने, बेरोजगारी समस्याको समाधान गर्ने, समयानुकूलको व्यवहारिक शिक्षा नीति लागू गर्न सक्ने, देशमा भएका प्राकृतिक श्रोत र साधनहरूको सही सदुपयोग गरी रोजगारीका अवसरहरू सिर्जना गराउने, परनिर्भरतामा भर नपरी आत्मनिर्भर बन्न सक्ने, विदेशी दलालहरूलाई यो पवित्र माटोबाट पाखा लगाउन सक्ने, गरीबका बस्तीहरूको सही पहिचान गर्न सक्ने, उजाड मरुभूमिलाई हरियाली बनाउन सक्ने, विगतमा भारतसँग भएका असमान सन्धिहरूलाई खारेज गरी समयानुकूल परिवर्तन गर्न सक्ने, नेपाल भारतको सीमा विवादलाई तुरुन्त अन्त्य गर्न सक्ने, विदेशी दलाल तथा गुन्डाहरूले नेपाली धरातलमा खेल्दै आइरहेको राजनीतिक खेललाई समाप्त पारी देशलाई सही मार्गमा हिँडाउन सक्ने सुपुत्रहरू जन्माउने छौँ भन्ने आशाका साथ पत्रबाट बिदा हुन्छु । उही परदेशी छोरा !