
जेन्जी विद्रोह, सत्ता पलट र मध्यावधि निर्वाचन ।
२३ भदौपछि विकसित यो राजनीतिक कोर्स वर्तमान दायित्व मात्र होइन । मुलुकको नमेटिने इतिहास पनि बनिसकेको छ ।
किनकि जेनजी विद्रोहका क्रममा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै जल्यो । सर्वोच्च अदालत जल्यो । संसद् भवन जल्यो । बालुवाटार, शीतल निवास, मन्त्री निवास र राजनीतिक दलका कार्यालयहरू जले । नेताहरूका घर जले, व्यापारिक कार्यालयहरू जले ।
दुई प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सत्ता ढल्यो, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले हेलिकोप्टरबाट उद्धार गर्यो । कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा कुटिए । कैयन नेताले लुकेर ज्यान जोगाए ।
२४ भदौमा भएको यो तहको विध्वंशभन्दा डरलाग्दो क्षति थियो– २३ भदौको सत्ता दमन । जेनजी (नवयुवा)हरूको शान्तिपूर्ण प्रदर्शनमा राज्य दमन हुँदा केही घण्टाको फरकमै नयाँ बानेश्वर क्षेत्रमा १७ विद्यार्थीको हत्या र साढे ४ सय बढी घाइते भए । इटहरीमा थप दुई युवाको गोली लागेर मृत्यु भयो ।
जेनजीहरूमाथि भएको राज्य दमनविरुद्ध निस्किएको आक्रोशले सिंगो मुलुकलाई झन्डैझन्डै शून्यमा पुर्याइदियो । २४ भदौपछिका केही दिन त राज्य नै नेपाली सेनाजस्तो बन्यो । तर विस्तारै जनताले राष्ट्रपतिको खोजी गरे । सेनाले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत मुलुकलाई सामान्यीकरणतर्फ डोर्याए ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बन्यो । यो सरकारलाई आगामी २१ फागुनमा चुनाव गराउने जिम्मेवारी दिइएको छ । आफूलाई प्राप्त जिम्मेवारी पूरा गराउन सरकार लागिपरेको छ, अपवादलाई छोडेर आमनागरिकको एउटै चाहना छ– चुनाव ।
चुनावले नै मुलुकलाई सामान्य अवस्थामा फर्काउने आशा गर्नुबाहेक अर्को विकल्प कसैसँग देखिन्न । यसरी इतिहासमा कहिल्यै नभएको राज्य दमन र बदलामा भएको राज्य विध्वंशको मूल कारण थियो– सूचनामा जबर्जस्त बन्देज लगाउने प्रयास ।
यदि तत्कालीन सरकारले सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय नलिएको थिए भने जेनजी विद्रोह टथ्र्यो या सम्भवतः नहुन पनि सक्थ्यो । तर नागरिकको जीवन प्रणाली बनिसकेको सामाजिक सञ्जाल प्रयोगमा अर्को भरपर्दो विकल्प नदिई सरकारले जबर्जस्ती बन्देज लगाउन खोज्यो । जबकि सूचना, मनोरञ्जन, सम्पर्क–साधन, उद्यम–व्यावसायदेखि आमसञ्चार माध्यमहरूकै निम्ति पनि अपरिहार्य बनिसकेको थियो– सामाजिक सञ्जाल । जुन सत्य बुझ्न नसक्दा मुलुकले अपूरणीय क्षति बेहोर्नुपर्यो ।
साथमै छ संसार
जेनजी विद्रोहबारे अनेक आयाममा विश्लेषण सुनिँदै छ । तत्कालीन सत्तारूढ शक्तिको एउटा विश्लेषण छ, त्यसमा जेनजीहरूको बिमति छ । मझधारमा रहनेहरूको आफ्नै विश्लेषण छन् । कतिपय अलमलमा छन् ।
विशेषगरी आमनागरिकमा ठुलै अलमल देखिन्छ । आखिर, जेनजी विद्रोहका क्रममा भएको के थियो ? मुलुकमा के भइरहको छ ? नेताहरूको कुन बोली सत्य हो ? कुन झुट हो ?
सूचनाको यस्तो बाढी छ कि तथ्य पहिचान गर्न आमनागरिकलाई सजिलो छैन । कुन सूचना ताजा हो ? कुन बासी हो ? पत्ता लगाउन नसकेर सचेत पंक्ति नै हैरान छन् । एआईमार्फत बनेको तस्बिर हो अथवा सक्कली दृश्य हो ? विचार पुर्याउन सकिएन भने गलत सूचनाको खतरामा पर्ने सम्भावना अधिक छ ।
अडियो, भिडियो, तस्बिरदेखि आलेखसमेत एआईमार्फत सिर्जना हुन थाल्यो । सूचना प्रविधिको बढ्दो पहुँच, सञ्चारका माध्यमहरूको विकास रफ्तार र मानव जीवन प्रणालीमा आएको परिवर्तनले कृत्रिम दुनियाँको आतंक नै सिर्जना भएको छ । अब त कम्प्युटर विकासको जेनेरेसनसँग तुलना गरेर मानिसको परिचय दिइन थालेको छ । जस्तो– जेन एक्स, जेनजी, अल्फा इत्यादि ।
सञ्चार प्रणालीमा आएको यो बदलाब दुनियाँका लागि (अझ नेपालका लागि विशेष) चानचुने क्रान्ति होइन । जसलाई बुझ्न संक्षेपमा यो इतिहासलाई हेरौं–
आज सूचनाको बाढी नै ल्याउनेगरी आमनागरिकसम्म सरल पहुँजमा पुगेको सञ्चार–प्रविधिका माध्यमको विकास हुन असाध्यै लामो समय लागेको थियो । व्यवस्थित अध्ययनका दृष्टिकोणले १७औं शताब्दीमा विकास भएको प्रिन्टिङ प्रेसलाई ‘पानीढलो’ मान्न सकिन्छ ।
त्यसअघिका समयमा सत्ताले जनतालाई सूचना दिन गरेका प्रयत्न पत्रकारिताको विकासक्रममा अनेक खण्ड गरेर अध्ययन गरिँदै आएको छ । ढुंगामा लेखेर सार्वजनिक ठाउँमा राख्ने, घरघर÷चोकचोक पुगेर खबर गर्ने, बाजा बजाएर सन्देश दिनेजस्ता अभ्यास सूचना सम्प्रेषणका निम्ति हुन्थ्यो । नेपालका सन्दर्भमा केही दशक अगाडिसम्मै त्यस्तो अभ्यास थियो । एक ठाउँको खबर अर्को ठाउँ पुग्न महिनौं लाग्ने, अथवा पुग्दै नपुग्ने हुन्थ्यो ।
बिस्तारै हस्तलिखितको विकास भयो । यसले सूचना सम्प्रेषणमै सहयोग पुग्यो । जब प्रिन्टिङ प्रेसको विकास भयो र अखबर छापिन थाल्यो । अब एकले अर्कोलाई सूचना दिने नभएर आमसञ्चारका रूप धारणा गर्यो ।
जर्मन, इटाली, अमेरिकालगायत पश्चिमा देशहरूमा मासिक, साप्ताहिक हुँदै दैनिक अखबर प्रकाशन हुन थाले । १९औं शताब्दी आइपुग्दा विकसित ‘पेन्नी प्रेस’ पत्रकारिता इतिहासकै अर्को ‘कोसेढुंगा’ साबित भयो । एक पेन्नीमा पत्रिका बिक्री गर्ने संस्कृतिले छापामाध्यमलाई आमसमुदायसम्म पुर्यायो । एकप्रकारले पत्रकारिताको इतिहासमा नौलो क्रान्ति भयो ।
२०औं शताब्दीमा रेडियोको विकास भयो । रेडियोबाट हुने सूचना सम्प्रेषणले संसारलाई क्षणभरमै जोड्न थाल्यो । यही शताब्दीको अन्त्यतिर विकसित टेलिभिजन र केही दशकको अन्तरमा विकसित इन्टरनेटको क्रान्तिले आज विश्व एउटा घर बन्न पुगेको छ । संसारको खबर पलभरमा हातहातमा रहेको मोबाइलसम्म पुग्ने अवस्था विकास भएको छ ।
विश्वको तुलनामा नेपाली पत्रकारिताको इतिहास र सूचनामा नेपालीहरूको पहुँच विकास पनि निकै पछाडि छ । छापा माध्यमको विकासकै कुरा गर्दा पनि विक्रम संवत् १९५५ मा प्रकाशित ‘सुधा सागर’ नै नेपालको पहिलो प्रकाशन थियो । यद्यपि नेपाली भाषामा प्रकाशित पहिलो प्रकाशन भने ‘गोर्खा भारत जीवन’ हो । मोतीराम भट्टले भारतबाट यसको प्रकाशन गरेका थिए ।
विक्रम संवत् १९५८ वैशाख २४ गते राणा प्रधानमन्त्री देव शमशेरले गोरखापत्र प्रकाशन सुरु गरे । विश्वभर चलेको अभ्यासजस्तै सरकारी सूचना जनतालाई पुर्याउने हेतुले देव शमशेरले ‘गोर्खापत्र’ छाप्न थालेका थिए । पहिलो अंकमै ‘राजा, रैती र देशलाई फाइदा हुने १४ वटा विवरण’ छापिएका थिए ।
तर देशमा राणाशासन भएकाले पत्रकारिताले गति लिन असाध्यै ढिलो भयो । ८ फागुन २००७ सालमा प्रकाशित ‘आवाज’ नेपालको पहिलो दैनिक प्रकाशन थियो । तर राणा शासन अन्त्य भएर फैलन थालेको नेपाली पत्रकारिता २०१७ सालमा पञ्चायत सुरु भएसँगै फेरि खुम्चनतिर लाग्यो । आमनागरिकले सही सूचना नपाएर सत्तालाई अनुकूल लाग्ने सूचना मात्र पाउने अवस्था बन्यो । २०४६ सालको परिवर्तनसम्म यो प्रवृत्ति कायमै रह्यो जबकि दुनियाँ धेरै अगाडि बढिसकेको थियो ।
नयाँ संकट
पञ्चायत ढलेसँगै नागरिक स्वतन्त्रको दायरा फराकियो भयो । आमसञ्चारको विकास अब दौडिन थाल्यो । तर मुलुकले अर्को संकट खेप्नुपर्यो– माओवादीको सशस्त्र विद्रोह ।
१० वर्षे सशस्त्र विद्रोहको अवधिमा धेरै प्रताडित हुनुपर्नेमध्ये अग्रभागमै थियो– प्रेस । विद्रोही, सत्ता र समाजका अराजक तत्वहरूले एकसाथ हमला गर्थे । उनीहरू आफ्नो सत्य सार्वजनिक भएको मन पराउँदैन थिए । आफू अनुकूल सूचना सम्प्रेषण गराउने ध्येयले प्रेसमाथि आक्रमण हुन्थ्यो । अर्थात् लोकतन्त्र भने पनि सूचना पाउने संवैधानिक हकबाट नागरिकहरू वञ्चित थिए ।
२०६२/६३ सालको राजनीतिक परिवर्तनले भने सूचना पाउने नागरिकको हकलाई थप स्थापित गर्यो । यो खुलापनले छापा, रेडियो, टेलिभिजन, अनलाइन हुँदै पत्रकारिताको दायरालाई यति फराकिलो बनाइदियो कि हरेक नागरिकले आफूलाई मन परेको सूचना संकलन र सम्प्रेषण गर्न सक्ने भए ।
जेनजी विद्रोह, विध्वंश र सत्ता पलटको उपक्रमलाई आमनागरिकले बेरोकतोक सूचना सम्प्रेषण गर्ने संस्कृतिकै उपज मान्न सकिन्छ । यो अवस्था एकातिर खुसी र सफलताको मानक हो भने अर्कातिर चुनौती पनि हो । विशेषगरी पत्रकारिता जगतका निम्ति नयाँ खाले चुनौती हो ।
जसरी हिजो सूचना संकलनमा समस्या थियो, आज त्यसैगरी अधिक सूचनाबाट सही सूचना संकलन गर्नु चुनौती बनेको छ । राज्यलाई सही मार्गमा हिँडाउन र समाजमा सही संस्कृतिको विकास गराउन पत्रकारिताले सूचनाको आँधीबाट समाचारको सिर्जना गर्नुपर्नेछ । जसले पत्रकारिताप्रतिको विश्वासलाई संरक्षण गर्ने मात्र नभएर नेपाली समाजका विद्यमान संकट समाधानमा पनि बल पुग्नेछ । किनकि अधिक सूचनाका कारणले आमसाधारणमा सञ्चार संस्थाहरूप्रतिको विश्वास कमजोर बन्दै छ भने सही सूचनाको अभावले थप संकट निम्तिरहेको छ । यो विश्वासको संकट तत्काल समाधान हुनु जरुरी छ, सरोकारवाला सबैपक्ष यसप्रति समयमै गम्भीर हुनु आवश्यक छ ।