
हामी पूर्वीय दर्शनबाट प्रेरित छौं । दर्शन भनेको देख्नु नै हो । ‘दृश्यते अनेन इति दर्शनम्’ भन्ने अर्थमा देख्नु नै दर्शनको मुख्य सार हो । अंग्रेजी भाषामा दर्शनलाई फिलोसफी भनिन्छ । फिलोस र सोफियाको अर्थ ज्ञान हो, अर्थात् ज्ञानप्रतिको अनुराग । आज मानिसले खोजेको ज्ञान नै हो । माध्यम फरक होला, ज्ञान बुझेपछि जान्नुपर्ने केही बाँकी नै हुँदैन । पश्चिमी दर्शनको पनि अन्तिम आधार ज्ञान नै हो र परमतत्व वा परम सत्यलाई जान्नु नै यसको उद्देश्य हो ।
दर्शनशास्त्र गहन बौद्धिक शास्त्र हो । यसबाट मानिसले सम्पूर्ण विश्वज्ञानलाई समष्टिगत रूपमा एकैपटक बुझ्न पाउँछ । सामाजिक विज्ञानबाट शब्द निर्माण भएको र यसको अर्थ पनि जान्नु हो । विज्ञानको अर्थ ठीक ज्ञान प्राप्त गर्नु हो । दर्शनको उद्देश्य पनि त्यही हो । विज्ञानबाट भौतिक लाभ हुन्छ र दर्शनबाट आध्यात्मिक लाभ हुन्छ । यी दुवैको संयोजन हुँदा नै समाज रुपान्तरण सम्भव छ । जहाँ नैतिक र इमानदार व्यक्ति वा समूहले अगुवाई गर्न सक्छ ।
डा. राधाकृष्णनका अनुसार धर्मको उद्देश्य आत्माको शक्ति हो र दर्शनको उद्देश्य सत्यको खोजी हो । धर्मको मूल उद्देश्य पनि ज्ञान प्राप्ति नै हो । धर्मको स्वरूप अरूको सेवा र पूजा हो ।
पूर्वीय दर्शनका स्वरूपहरू सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शन हुन् । यी आस्तिक दर्शन हुन्, जसले ईश्वर मान्छन् । नास्तिक दर्शन पनि पूर्वीय दर्शनमा छन्– चार्वाक, बौद्ध र जैन दर्शन– तर यी पनि ओंकार परिवारकै हुन् । पश्चिमी दार्शनिक तथा अन्वेषकहरूमा डा. फ्रायड, डा. युंग, एडलर, हेल्महोल्ट्ज, डा. ब्राउन आदि मुख्य हुन् ।
अठारौँ शताब्दीका प्रख्यात पाश्चात्य दार्शनिक लेइब्निजले यस संसार परमाणुद्वारा बनेको बताए । परमाणुलाई उनले मोनाड नाम दिए । यसैलाई चित्–अणु भनियो । वैज्ञानिक ग्यालिलियोले गणितीय सिद्धान्तअनुसार प्रकृति असंख्य अणुद्वारा बनेको भने । पदार्थको विस्तार यसैबाट भयो । पदार्थमा आकर्षण शक्ति हुन्छ र यसैले सम्पूर्ण ब्रह्माण्ड तथा खगोलीय पिण्डहरू सञ्चालित भएका छन् । गुरुत्वाकर्षणको सिद्धान्तले पृथ्वी अडेको छ । न्यूटनको यो सिद्धान्त गुरुत्वबल पूर्वीय वैशेषिक दर्शनमा यसअघि नै प्रतिपादित थियो । उनले यसको व्यावहारिक प्रयोगको विवेचना गरे । पूर्वीय दर्शनमा यस्ता धेरै सिद्धान्तहरू अनुसन्धान र खोजीको घेराभित्रै छन् । विज्ञानले प्रतिपादन गरेको ‘आवाज एक माध्यमबाट अर्को माध्यमसम्म फैलिन्छ’ भन्ने मर्म न्याय दर्शनमा पाइन्छ ।
संस्कृति भनेको मानवको सम्पूर्ण चरित्र हो । पूर्वीय धर्मदर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने भनिएको छ । माटो, पानी, हावा, तेज, शब्द– यी पाँच तत्वको समष्टि नै जीवन हो । आज पदार्थ कुपित छ र मानव सौन्दर्य नक्कली भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ, सन्तुलित, चारित्रिक र सभ्य नागरिक समाजबाट देशप्रेम र ईश्वरीय चिन्तन बढ्छ, जसले हतियारको प्रयोगको आवश्यकता हटाउँछ । राज्यमा हुने अनावश्यक खर्च विकासका लागि प्रयोग गर्न सघाउँछ । अरूलाई नदिई स्वयंले मात्र प्रयोग गरिएको अन्न विष तुल्य हुन्छ भन्ने भावले सधैं मानव जीवनको संस्कृति, सभ्यता र पुण्यकर्मको सन्देश दिन्छ ।
पूर्वीय दर्शन वैज्ञानिक किन छ भने यो कुनै व्यक्ति विशेषले तयार पारेको होइन, परम आत्मतत्त्व बुझिएको ईश्वरीय चिन्तन हो । जीव र जगत्को सञ्चालन, मनको व्याख्या, मनका अनुभूतिअनुसार विम्ब बन्ने, विम्बअनुसार जगत् प्रतीत हुने र विम्बअनुसार नै कार्य हुने भएकाले हरेक कार्यको उद्गमस्थल मानव मन हो । जीव उत्पत्तिको कारण, कर्म र संस्कार, बन्धन र मोक्ष, पुनर्जन्म र सिद्धि, स्वप्न र निद्रा, रोग र तनाव, शान्ति र अशान्ति, स्मरण र विस्मृति, सन्तोष र आनन्द, त्रास र भय, चरित्र र पतन, वासना र मूर्खता, उत्साह र सफलता, योग र ध्यान, विकास र विनाश, द्वन्द्व र कलहका मूल कारक तत्व मन नै हो ।
सिद्धि, सफलता, सुख, शान्ति र आरोग्यका लागि पूर्वीय वैदिक चिन्तनलाई सदैव मनन गर्न सके हामी, हाम्रो जीवन र जगत् सबै हाम्रो परम लक्ष्यतिर उन्मुख हुन्छ । परम लक्ष्य नै मानव उद्देश्य हो ।
यस्तै परमार्थ चिन्तन, तप, ध्यान र साधनाबाट गौतम बुद्धलाई सिद्धि मिलेको हो । नैयायिकहरूले भने– मन नै सुख–दुःखको कारण हो । पूर्व मीमांसा र सांख्य दर्शनमा मन र आत्मालाई विभु भनियो । विभु वा प्रज्ञा भनेको जीवनको सही ज्ञान हो ।
हाम्रो मुलुक देवभूमि हो । हरेक युगमा यसको वर्चस्व कायम रह्यो । सत्य, त्रेता, द्वापरदेखि अहिले पाँच हजार एक सय छब्बीस वर्ष व्यतीत भइसकेको छ– यो युगको आरम्भ । सत्ययुगमा यसको नाम सत्यपुर, त्रेतामा तपोवन, द्वापरमा मुक्तिसोपान र कलियुगमा यसलाई नेपाल भनियो । सात्त्विक यथार्थलाई आत्मसात् गरेर मुनिहरूले धर्मद्वारा बसालेको नेपाल आफैंमा देवभूमि हो । यस पुण्यभूमिमा गरिएका हरेक कार्यहरू पुण्यदायी र प्रेरणाप्रद हुन्छन् । त्यसैले विश्वका धेरै मुलुकबाट नेपाल भ्रमणका लागि मानिसहरू यहाँ आउँछन्– पर्यटकका रूपमा ।
विश्वकै शिरभाग सगरमाथा, शिवपुरी, शिवक्षेत्र, पशुपतिनाथ, लुम्बिनी, स्वयम्भू, मुक्तिक्षेत्र– हाम्रा महान् दैवी सम्पदाहरू हुन्, अरू पनि छन् । तमाम देवताहरूको निवास क्षेत्र नेपालमा अशान्तिका काला बादल मडारिनु हुँदैन । गुरु राष्ट्र भएकाले तत्वज्ञानी परम गुरुहरू– जनक, व्यास आदि– यहीँ रहे ।
उद्योग वा परिश्रमविनाको जीवन पवित्र हुँदैन– रस्किनले भने । सत्याग्रह सबैभन्दा ठूलो र सर्वोपरि बल हो, यसले तोपले भन्दा ठूलो काम गर्छ– महात्मा गान्धीले भने । साँच्चै, हतियारभन्दा कलम बहादुर हुन्छ । गत भदौको असन्तोष विदेहपछि हामीले नयाँ समाजको निर्माण गर्नुपर्छ कि ? क्रान्तिपछिको राजनीति सामाजिक विकास र पुनःस्थापनाका लागि हुन्छ– कार्ल माक्र्सले भनेका थिए, उनको पुस्तक दास क्यापिटलमा ।
मानिस स्वतः धर्मभीरु हुन्छ । यो उसको कायरता होइन । भौतिक जगत् क्षणिक छ । सुख, शान्ति र आनन्दका लागि दृढ संकल्पका साथ अध्यात्मलाई भुल्नु हुँदैन । यो हाम्रो मौलिक संस्कृति पनि हो । शरीरभित्र रहेको शुद्ध, चैतन्य र परमात्माको अंश आत्मासँग नजिक रहने विद्या नै अध्यात्म हो । पानीविनाको बिजुली हुँदैन र अध्यात्मविनाको भौतिक शून्य हुन्छ । जीव, जीवात्मादेखि सारा संसारका रचयिता ईश्वरप्रतिको स्नेह नै अध्यात्म हो ।
स्थूल शरीरको सुख, सूक्ष्म शरीर मन र कारण शरीर आत्माको पहिचान यसैबाट हुन्छ । जगदीश्वरको साकार र निराकार विद्या नै अध्यात्म हो । अध्यात्मविद्यासँग रहेको पूर्वीय संस्कृतिले यो विद्यालाई सागरतुल्य गहिराइ र आकाशतुल्य अनन्तमा फैलाइदिएको छ । नदीहरूले गन्तव्य सागरमा पुग्ने लक्ष्य लिएझैं, हर मानवले परमेश्वरसम्म पुग्ने दृढ संकल्प राख्नुपर्छ । परम र गहिरो अध्ययन भन्नु आकाशमा चम्किने सूर्य जस्तै हो– विलियम शेक्सपियरले भनेका थिए । वेदले आत्मा अमर छ र सूर्यरूपी आत्मा नै जगत्को मालिक, परमात्माको व्यक्त रूप हो भनेको छ ।
असत्य बोल्नु ठूलो पाप हो । अरूको निन्दा, तिरस्कार र अपमान अझ ठूलो पाप हो र आफ्नै तथा आफन्तको निन्दा जघन्य पाप हो– रवीन्द्रनाथ टैगोरले भनेका छन् । वेद ईश्वरको बोली हो । पैल, जैमिनी, वैशम्पायन, सान्दिपिनी, याज्ञवल्क्य, पाणिनि, पतञ्जलि, व्यास, बुद्ध, जनकले अध्यात्मज्ञान सिंचन गरेको मुलुक नेपाल हो ।
“सत्यं वद, धर्मं चर, स्वाध्यायान्मा प्रमद, कामं क्रोधञ्च जहि”– भनेको छ शास्त्रले ।