
दौड सुरु हुनुअघि हरेक धावकले एउटै अनुभूति गर्छ । स्टार्ट लाइनमा उभिँदा मन अलि अस्थिर हुन्छ, मुटु छिटोछिटो धड्किन्छ । हातको घडी चम्किरहेको देखिन्छ । दिमागमा अनेक प्रश्न घुमिरहन्छन्, कति पेसमा दौड्ने ? कति मिनेटमा सक्ने ? अरूभन्दा पछाडि त पर्दिनँ ?
तर यही हतार, तुलना र हिसाब–किताबको झमेलामा हामी एउटा धेरै साधारण तर महत्वपूर्ण सत्य बिर्सन्छौं— दौड समयसँग लड्नका लागि होइन, आफूलाई महसुस गर्नका लागि हो ।
दौड भनेको घडी हेरेर आफैंलाई थिच्ने खेल होइन । शरीर र मनलाई सुन्ने अभ्यास हो । र दौड सबैका लागि हो ।
दौडको सबैभन्दा सुन्दर कुरा के हो भने— जो हिँड्न सक्छ, ऊ दौडन पनि सक्छ ।
यसका लागि तपाईंलाई प्रोफेसनल खेलाडी हुनुपर्दैन । महँगो जुत्ता, अत्याधुनिक घडी, वा ठुलो लक्ष्य अनिवार्य छैन । दौड कुनै विशिष्ट वर्ग वा केही चुनिएका मानिसहरूको खेल पनि होइन । यहाँ च्याम्पियन हुनैपर्छ भन्ने छैन, पोडियमको सपना देख्नैपर्छ भन्ने पनि छैन । चाहिने कुरा एउटै हो— सुरु गर्ने साहस ।
एक पाइला चाल्नुहोस् । त्यसपछि अर्को पाइला । यही सानो सुरुवातले विस्तारै ठुलो परिवर्तन ल्याउँछ । धेरै युवाहरू सोचिरहेका हुन्छन्–
‘म दौडिनलाई फिट छैन ।’
‘म त ढिलो दौडिन्छु ।’
‘अरूजस्तो हुन सक्दिनँ ।’
तर दौड अरूजस्तो हुनका लागि होइन, आफ्नै बाटो बनाउने प्रक्रिया हो ।
समयको दबाब र तुलना
आजभोलि दौड पनि प्रतिस्पर्धाजस्तै बनाइँदै छ । कसको टाइम राम्रो आयो, कसले कति किलोमिटर दौडियो, कसको पोस्ट बढी लाइक भयो— यिनै कुराले धेरैलाई निराश बनाइरहेको छ ।
‘मेरो समय राम्रो आएन भने के होला ?’
‘सोसल मिडियामा राख्न लायक भएन भने ?’
यस्ता सोचहरूले दौडको आनन्द खोसिदिन्छन् ।
साँचो कुरा के हो भने पछिल्लो समय हामीमध्ये धेरैजसो ट्रफी जित्न होइन, आफूलाई सुधार्न दौडन थालेका हौं । स्वास्थ्य सुधार्न, दिनचर्या सुधार्न । समग्रमा आफैंलाई सुधार्न ।
हामी दौडिन्छौं— स्वास्थ्यका लागि । तनाव घटाउन । मन हलुका बनाउन । र आफैंसँग केही समय बिताउन ।
प्रतिस्पर्धा होइन, निरन्तरता
यदि तपाईं त्यो सानो प्रतिशतमा पर्नुहुन्छ, जो प्रतिस्पर्धा गर्न, मेडल जित्न, रेकर्ड तोड्न दौडिरहनुभएको छ भने— त्यो पनि सम्मानयोग्य यात्रा हो । तपाईं त्यो साधनामा लाग्नुभयो भने सक्नुहुन्छ ।
तर बाँकी धेरै युवाका लागि, दौड भनेको नियमितता र धैर्य सिक्ने माध्यम हो । मुड नभएको दिन पनि जुत्ता लगाएर बाहिर निस्कनु । थकाइ हुँदाहुँदै पनि एक राउन्ड थप्नु । त्यसैले त, दौड जीवन दर्शन सिकाउने माध्यम हो । दौडले हामीलाई जीवनकै महत्वपूर्ण पाठ सिकाउँछ— शरीरले त्यही गर्छ, जुन मनले विश्वास गर्छ ।
सडकमा भेटिने ऊर्जा
आज नेपालका सडकहरूमा हेर्नुहोस्— नेपालगन्ज, काठमाडौं, पोखरा वा साना गाउँहरूमा पनि युवा दौडिरहेका छन् । दौड संस्कृतिको विस्तार देखिन थालेको छ । कोही बिहान सबेरै, कोही साँझपख । कोही एक्लै, कोही साथीहरूसँग । यस्ता दौडमा कहिलेकाहीँ घडीलाई बिर्सनुहोस् । संख्याको पछि नलाग्नुहोस् ।
बरु— आफ्नो सासको ताल सुन्नुहोस् । खुट्टाले सडक छोएको महसुस गर्नुहोस् । पसिना बग्दा आफू जीवित भएको अनुभूति गर्नुहोस् । र बाटोछेउ उभिएका अपरिचित मानिसहरूको मुस्कान र ताली स्वीकार गर्नुहोस्— जसले तपाईंलाई नचिने पनि तपाईंमा विश्वास गरिरहेका हुन्छन् ।
साँचो जित के हो ?
दौडलाई फेरि सरल बनाऔं । दौडलाई फेरि इमानदार बनाऔं । दौडलाई फेरि आफ्नै बनाऔं । किनकि साँचो जित भनेको फिनिस लाइनमा अरूभन्दा छिटो पुग्नु होइन । साँचो जित भनेको आफू हिजोभन्दा आज अलिकति बलियो बन्नु हो ।
युवाका लागि सन्देश
आजका युवाहरूको जीवन घडीले बाँधिएको छ । कक्षा, काम, लक्ष्य, उपलब्धि— सबै कुरा समयसँग तुलना गरिन्छ । यही मानसिकता हामी दौडमा पनि बोकेर जान्छौं । तर प्रिय युवा साथीहरू, दौडमा जस्तै जीवनमा पनि सबैको गति फरक हुन्छ । कसैको यात्रा छिटो हुन्छ, कसैको ढिलो । तर महत्वपूर्ण कुरा गति होइन— निरन्तरता हो ।
त्यसैले, कृतज्ञतासाथ दौडिनुहोस् । अरूसँग तुलना गर्न होइन, आफूलाई भेट्न दौडिनुहोस् । आफ्नै कारणका लागि दौडिनुहोस् । र सधैं सम्झनुहोस्—
यो दौड मेरा लागि हो ।
घडीका लागि होइन ।
(जोशी संसारका ४० धेरै म्याराथन दौडिसकेका एन्ड्युरेन्स एथ्लेट हुन् । उनी छिट्टै सात महादेशका वर्ल्ड म्याराथन च्यालेन्ज दौडिँदै छन् ।)