
नेपालको प्राचीन धार्मिक र सांस्कृतिक तथा मानव सभ्यताको इतिहासको स्रोत चितवनको देवघाट, माडी वा अयोध्या र माडी नगरपालिककै एक नम्बरमा रहेको वाल्मिकी आश्रम क्षेत्रमा उल्लेख्य रूपमा पाइन्छ । त्यहाँका नदी, वनजंगल र जताततै छरिएर रहेका भग्नावशेष तथा पुरातत्विक स्थल एवं वस्तुहरू यसका प्रमाण हुन् । धार्मिक पुराण, धार्मिक कथा, महाभारत, रामायणलगायतका ग्रन्थहरूमा देवघाट, वाल्मिकी आश्रम र हालको माडीको विभिन्न स्थान, नदी, जंगल आदिका बारेमा उल्लेख गरेको पाइन्छ । जुन कुरा संसारका अरू कुनै देशले दाबी गरे पनि शास्त्रसम्वत भने प्रमाण पुग्दैन । त्यस्ता स्थलहरूका सम्बन्धमा राज्यले निडर भई उत्खनन् र पहिचान किटान गर्न सके चितवन जिल्ला प्राकृतिक पर्यटनका लागि विश्व परिचित भएजस्तै मानव सभ्यता र इतिहासका लागि पनि चर्चित भएर सांस्कृतिक पर्यटनका लागि प्रख्यात हुन सक्छ ।
पर्यटनका लागि सांस्कृतिक र प्राकृतिक दुवै सम्पदाले सम्पन्न एकै स्थान कमै पाइन्छन् । इतिहासमै बेलायतमा राजामहाराजा समेत आएर सिकार खेलेको यो क्षेत्र युरोपमा पहिलेदेखि नै परिचित छ । यस अर्थमा चितवन विश्व पर्यटनको सदाबहार गन्तव्य बनिरहन सक्छ । तर यता राम र पाँच पाण्डवसँग समेत जोडिएको प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न हालको माडी क्षेत्र अझै उपेक्षित र पहिचानविहीन बनिरहन परेको देखिन्छ ।
चितवनकोे माडी क्षेत्र भरतपुर वा एयरपोर्टबाट करिब ३८ किलोमिटर दक्षिण सिमानादेखि अवस्थित छ । माडी जान भरतपुर नगरपालिकाको पर्यटकीय क्षेत्र जगतपुरबाट करिब ४५ मिनेटभन्दा बढी समयसम्म राष्ट्रिय निकुञ्जको जंगलको कच्ची बाटोको यात्रा गर्नुपर्छ । हाल भरतपुर हुँदै माडी ठोरीसम्म हुलाकी राजमार्गको निमार्ण कार्य भइरहेको भए पनि यी विश्व सम्पदामा रहेको जंगलको मार्ग छिचोल्ने सरल उपायतिर त्यति धेरै ध्यान गएको देखिँदैन । अझ माडीबाट ठोरी छिचोल्न यातायातको साधानबाट झन्डै ९० मिनेटभन्दा लामो घनघोर र कच्ची जंगलभित्रको सडकको यात्रा गर्नुपर्दछ । जहाँबाट भारतीय सीमाक्षेत्र ठोरी सहर र पूर्वी नेपालको वीरगन्जसम्म पुग्न सकिन्छ । राज्यले प्रस्तावित हुलाकी राजमार्गलाई छिटो सम्पन्न गर्न सके र राष्ट्रिय निकुञ्जभित्र पर्ने दुई जंगलीमार्ग सहज बनाए भारतीय पर्यटक र नेपाल भारतबीच हुने आयत निर्यातमा समेत सहजता र वृद्धि हुने थियो । जसले नेपालको ठोरी र माडी क्षेत्रको विकास अनि आधुनिकीकरणमा दरिलो योगदान पुग्ने देखिन्छ । हुन त हालैको जेन्जी आन्दोलनको परिणमस्वरूप भरतपुर र माडी जोड्ने जंगलको बाटोको केही भागमा ढुंगा बिछाउने कार्यको थालनी भएको छ । यो कार्य युनेस्को मापडण्डअनुरूप हुनेगरी नेपाल सरकारको राष्ट्रिय बजेटमा समेटिए आउन सक्नुपर्छ । माडी वास्तवमा भित्री तराईको क्षेत्र भए पनि यसको पूर्व, पश्चिम र उत्तरमा राष्ट्रिय निकुञ्जको हरियाली चुरे पहाड र दक्षिणमा नेपाल भारतको सिमाबनेर रहेको सोमेश्वर पर्वतमाला रहेको हरियालीयुक्त सानो उपत्यका हो । राममायणमा उल्लेख सरयु नदी र चारैतिरका जंगल पहाडबाट रसाई रहने नदीनालाका कारण यो क्षेत्र सधैं हरियाली, उर्वर र वैदिक कालदेखि नै मानव वा जीवको सम्भाव्यता रहेको स्थल पनि हो । रामराज्य अधोध्या र पाँच पाण्डवले वनवास बस्दा गरेका र छोडेका विभिन्न प्राचीन विषयवस्तु र स्थान यहाँ शास्त्रसम्मत रहेका छन् । अझ महत्वपूर्ण कुरा नेपालको कालिगण्डकीमा मात्र पाइने भनिएकोे शालिकग्राम सोमेश्वर पर्वतमालाबाट रसाइ बग्ने खोला र रामायणमा उल्लेख भएको उल्टो दिशा बग्ने सरयु नदीमा मज्जैले पाउन सकिन्छ । माडव्य ऋषि वा थारु भाषाको माड् शब्दबाट माडीको नाम भएको उल्लेख भए पनि धार्मिक ग्रन्थ वा शास्त्रहरूले उल्लेख गरेअनुसार अयोध्या र अरू घामबारे संघीय र स्थानीय सरकार खुलेर पुरातत्विक उत्खनन् कार्यमा लाग्न सकेको देखिँदैन । यस्ता कुराको विषयगत अध्ययन र अनुसन्धान र प्रकाशनमा पनि खासै लाग्न सकेको देखिँदैन । यहाँ आदिवासीका रूपमा बहुमत थारु रहे पनि दराई र चेपाङ पनि उनीहरूसँगै रहेका छन् । तर माडीमा यी जातिले आफ्नो परम्परागत धर्म र संस्कृतिलाई छोड्दै बसाई सर्दै गरेका छन् भने नेपालका अन्य क्षेत्र र भारताका केही क्षेत्रबाट विभिन्न जातजाति र धर्मावलम्बी बसाइ सरिरहेका छन् ।
अहिले यहाँ विभिन्न जातजातिका साथै स्थानीय भाषामा भनिने देशी र मुस्लिमहरू पनि यहाँ छन् । यहाँको मौलिक भाषा र धर्मलाई आयातीत कुरा र इसाईको एक समूह सच्चाईले व्यापकतामा छोप्दै लगेको देख्न सकिन्छ । चितवनको दोस्रो सौरहा बनाउन खोजिएको माडीको सिमरा उपत्यका यस्ता विषयमा पूर्णत विखण्डनको अवस्थामा पुग्दै छ । निकुञ्जको पहाडी जंगलको आगन वा सरयु नदीले काटेर बनाएको रसिलो सानो उपत्यका पर्यटकीय दृष्टिले ज्यादै सुन्दर र मनमोहक हुन सक्छ । थारुहरूको मात्र स्थायी बस्ती रहेको सिमरा थारु संस्कृतिको मुख्यस्थल बन्न र बनाउन अब कठिन अवस्थामा पुग्दै छ । त्यसका पछाडि नेपाल सरकार र स्थानीय सरकार दोषी छन् भन्न डराउनुपर्दैन जस्तो लाग्छ । सौराहसँगै पर्यटन विकास गर्न गराउन सकिने यो क्षेत्र प्राकृतिक र सांस्कृतिक क्षमतालाई गुमाउँदै गएको दुर्गम क्षेत्र बन्न बाध्य भयो । वर्षात र बाढीका समयमा अन्य क्षेत्रसँग सम्पर्कविहीन बन्नुपर्ने सिमरा यस वर्षदेखि भने अलिकति भए पनि खुसी हुँदै छ । माडी नगरपालिको तीन नम्बर वडामा समेटिएको सिमरामा बघौडा तर्फबाट वारपार हुन हालै झोलुंगे पुल तयार भएको छ । विस्थापित हुँदै गरेका र गरिबीको चपेटामा परेका सिमरावासी आर्थिक भविष्यको सहजताका लागि यो पुल महत्वपूर्ण हुने ठान्दछन् । जसले पर्यटकीय सम्भावना र गतिविधिलाई पनि बढाउन सक्ने छ ।
माडी क्षेत्रमा तत्कालै पर्यटकीय गतिविधिलाई बढाउन सकिने आधार धेरै छन् । प्राकृतिक रूपमा जंगल सफारीपछिको शीतल विश्रामस्थल बन्न सक्ने यो पहाडी उपत्यका हालसम्म प्रदूषणसहित छ । विशुद्ध स्थानीय खानपानमा आत्मनिर्भर बन्न बनाउन सकिने यो क्षेत्र भीडभाडले भरिँदै गएको चितवनको अन्य क्षेत्रभन्दा भिन्दै स्वादमा पर्यटकलाई लोभ्याउन सकिनेछ । सनातन धर्मका विभिन्न सम्प्रदायका अनुयायीका लागि अयोध्याधाम, पाँच पाण्डव, देवीस्थानलगायत धार्मिक ताल, झरना, नदी आदिको एकै दिनमा परिक्रमा गर्न सकिने क्षेत्र पनि हो । पदयात्रा र जंगल सफारीको वा हाइकिङको सुन्दर सम्भाव्यता भएको माडी क्षेत्रमा मात्रै प्राकृतिक र स्थानीय परम्परागत जातिको सास्कृतिक परिवेशमा कम्तीमा तीन दिनसम्म सहजै रमाउन सकिन्छ । तर यतिधेरै सम्भावना वा उज्जल आर्थिक भविष्यको माडीमा पर्यटकीय गतिविधिको सुरुवाती नै दोषपूर्ण बन्दै गएको देखिन्छ । जताततै राज्यको वा स्थानीय सरकारको योजनाबिना उर्वर भूमिमा भइरहेको घडेरी विकास, पर्यटन र होमस्टेको सैद्धान्तिक अवधारणालार्ई पन्छाउन नसकेको पर्यटकीय गतिविधि र होमस्टे, स्थानीय स्रोत र क्षमतालाई उपयोग नगरी विकसित हुँदै गएका केही होटेल र रिसोर्ट माडीको सांस्कृतिक र प्राकृतिक पर्यटनको भविष्यका लागि अर्को कमजोर एवं गतल पूर्वाधारका रूपमा देखिँदै जानेछन् । वास्तवमा माडीको पर्यटकीय सुन्दर भविष्यका लागि थारु समुदाय अन्य स्थानीय आदिवासीले आफ्नो पहल र चासोलाई अग्रानी स्थानमा राख्दै जान सक्ने वातावरण बन्नुपर्छ । स्थानीय सरकारले राजनीतिभन्दा माथि उठेर स्थानीय पहिचान र माडी क्षेत्रको प्राकृतिक र सांस्कृतिक संरक्षण र त्यसको पहिचान एवं प्रचारप्रसारमा अन्तर्राष्ट्रिय तहसम्म पुग्न काम थाल्नुपर्छ । स्थानीय लगानी र आधुनिक प्रविधिको अभाव रहेको माडीमा तीनै तहका सरकारको दीर्धकालीन योजनामा तयार भएर आउन सके राष्ट्रिय अर्थतन्त्रको दरिलो स्रोत माडी बनिरहनेछ ।