२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

त्रिवि परिवर्तनको मार्ग चित्र

shivam cement
प्रा.डा. टंकनाथ धमला
२०८२ माघ ११ गते १२:५८
Shares
त्रिवि परिवर्तनको मार्ग चित्र

नेपालकै पहिलो गैरनाफामूलक संस्थाका रूपमा सन् १९५९ मा स्थापित  स्वायत्त उच्च शैक्षिक धरोहर  त्रिविलाई, सन् २०१३ मा सरकारद्वारा केन्द्रीय विश्वविद्यालयका रूपमा मन्यता दिने सहमति भयो । राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय शिक्षा, अनुसन्धान, र नवीनताका लागि आरम्भ गरिएको यो गरिमामय संस्थामा, सन् २००६ देखि कुलपतिको व्यवस्था राजाबाट प्रधानमन्त्री हुने गरियो । उपकुलपति, रेक्टर, र रजिस्ट्रारका  नियुक्तिसहित नीति, बजेट र नियमावलीवाहक ५२ सदस्यीय सिनेटको  अध्यक्ष कुलपति हुने व्यवस्था कायमै रह्यो ।  त्रिविले नेपालको दिगो राष्ट्रिय विकासमा खेल्ने महत्वपूर्ण भूमिका अति सफल हुने थियो यदि यसका शिक्षक सही अर्थमा प्राज्ञिक रही राजनीतिक रूपमा निष्पक्ष र तटस्थ रहन्थे ।  साथै विश्वविद्यालयको सर्वोेच्च प्रमुखले यसलाई सुदृढ पार्न वास्तविक प्रतिबद्धता देखाउँदै  राजनीतिक प्रभावबाट मुक्त राखी  सकारात्मक निर्देशन र सहयोग गर्थे । दुर्भाग्यवश विश्वविद्यालयलाई चरम राजनीतिकरण, भागबन्डा, सत्ता र शक्ति आशक्तिले प्रभावित गरियो र अपेक्षित उपलब्धि हासिल गर्नबाट वञ्चित पारियो ।

राजतन्त्रकालीन निरंकुश भनिएको पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठ्दै जाँदा स्थापना गरिएका संस्थागत विद्यार्थी, कर्मचारी तथा प्राध्यापक संगठनमा आफ्ना  बहुल्यता  कायम  गर्न विस्तार गरिएका विभिन्न भ्रातृ संगठन पञ्चायतको अन्त्यपछि पनि सक्रिय रहे र अझ विगत २०–२५ वर्षमा झन् सशक्त हुँदै गए । २०४६–२०५८ सम्म मुख्यतः पार्टी (केन्द्रित रहेको विद्यार्थी आन्दोलन, २०५९ तिरबाट त्रिवि नीति निर्माणमा चासो बढाउँदै गयो ।  २०७०–२०८२ मा थप शैक्षिक (अनुसन्धान सशक्तीकरणका लागि आकर्षित हुँदै चरम भागबन्डाविरुद्ध मेरिटोक्रेसी पक्षीय माग र नारा उठान गरेको देखिन्थ्यो । सुरुवातदेखि नै सेवा सुरक्षा र हकहितमा केन्द्रित कर्मचारी संगठनसमेत राजनीतिक रूपमै प्रभावित हुँदै जाँदा, २०५८ पछि पनि विशुद्ध शैक्षिक  प्रशासनिक पक्षमा खासै गतिशील हुन सकेनन् । 

शैक्षिक (अनुसन्धान स्तर, प्रागिक  स्वतन्त्रता र अधिकारका लागि भनिने प्राध्यापक संगठनहरूले प्रारम्भदेखि राख्दै आएको राजनीतिक चासो २०५८ पछि  बढ्दै गयो, जसका प्रभावले त्रिवि नेतृत्व र नीतिमा प्रभुत्व जमाइदियो र प्रागिक  प्राथमिकता घट्दै गयो । प्रभावित  पदाधिकारी नियुक्तिको जबर्जस्त  उपस्थिले  त्रिवि नेतृत्वको साख उठाउन सकेन र आमजनमानस  तथा युवावर्गमा निराशाको वातावरण सिर्जना गराउँदै गयो । ज्ञानविज्ञानको  आर्जन र दानबाट जिउनुपर्ने वर्ग नै अवसरवादी शक्ति–भक्ति केन्द्रको भरोसामा जिएपछि  कर्मचारी कर्मठता र विद्यार्थी सिर्जनशीलताप्रति  दोष दिनु र त्यहाँबाट थप आशा गर्नु बेकार नै थियो । यदि सम्पूर्ण प्राध्यापक वर्गले विश्वविद्यालयको मर्ममा धर्म थामेको भए, त्रिविका समस्या ९ सय ५ बढी समाधान भइसकेको हुने थियो । परिणामस्वरूप युवा ब्रेन (ड्रेन र तिनको आशामा भरोसा हुने थियो । त्रिविले उत्कृष्ट उद्देश्य, दृष्टि र लक्ष्य स्थापित र कार्यान्वयन गर्न सक्ने थियो ।

त्रिविले व्यक्तिगत वा समूहगत स्वार्थरुपी  चौतर्फी घेराबन्दीका बाबजुत  पनि विगत २४ वर्षमा केही प्रगति भने अवश्य गर्‍यो । चरम आर्थिक कठिनाइबीच सञ्चालनमा ल्याएको हालको केन्द्रीय पुस्तकालय, प्रवेश गर्दै गरेको डिजिटलीकरणको प्रक्रिया, यसका उत्कृष्ट अन्तर्राष्ट्रियस्तरमा स्थापित निश्चित प्राध्यापकको शिक्षण–अनुसन्धानप्रतिको लगाव, सहकार्य र सफलता, कर्मठ कर्मचारीको योगदान, केन्द्र, विभिन्न अध्ययन संस्थान र संकायले सुरु गरेका वा थप अगाडि बढाएका अनुसन्धानमुखी कार्यक्रमप्रतिको बढ्दो रुचि, अन्तर्राष्ट्रिय समुदायले दिएको मान्यता र तिनको  सहभागिता, त्रिविका विद्यार्थीहरूले देखाएको दक्षता र समाज र विद्यार्थीहरूको अझै यसैप्रतिको अगाध माया एवं अटुट विश्वास नै तत्काल प्रगतिका प्रमाण र भविष्यका भर हुन् । 

२०५९ अगाडिबाटै सञ्चालित ६० आंगिक क्याम्पसको संख्या हालसम्म पनि ६२ बाट बढ्न सकेन तर सो ताका रहेका १ सय ५० सामुदायिक र २ सय ५० निजी कलेजको संख्या आज १ हजार ६० बढी पुगे । शिक्षामा निजी क्षेत्रको सहभागिता स्वागत योग्य नै हो तर यो तरंगले त्रिविले पूरा गर्नुपर्ने मूल जिम्मेवारीले प्राथमिकता पाएनन् भन्नेमा आशंका राख्नुपरेन । हुन त यसबीच केही आत्मनिर्भर स्कुल, होटल व्यवस्थापन, पर्यटन, कम्प्युटर विज्ञान, सूचना प्रविधि, साइबर सुरक्षा, प्रविधि, डेटा विज्ञान र विश्लेषणजस्ता धेरै रोजगारमुखी विषय पनि थपिए । यसका विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, शिक्षासहित पाँच अध्ययन संस्थान र चार संकाय प्रायः सबैले सकेसम्म बजारमुखी बनाउने नयाँ विषयहरू, एमफिल र पिएचडीजस्ता कार्यक्रम थप्दै गए । यसले मात्र अवसर र गुणस्तरको खोजीमा तल्लीन पछिल्लो पुस्ता विदेशी विश्वविद्यालयतर्फ उन्मुख हुने क्रम रोक्न सकेन र आफ्नै सिर्जनशील, सशक्त जनशक्ति ठुलो मात्रामा बिदेसिँदै गयो । तसर्थ, अब शास्त्रीय विज्ञान, संस्कृति र सामाजिक शिक्षाको गतिलो जग बसाल्दै, आजको नवयुवालाई आकर्षित गर्ने सिपमूलक, व्यावहारिक र बजारमुखी ज्ञानलाई आफ्ना आंगिक कार्यक्रममा पर्याप्त रूपमा रूपान्तरण गर्नुपर्नेछ । औद्योगिकीकरणबिनाको बेरोजगारमूलक शिक्षा, व्यापारीकरण र गुटगत राजनीति मौलाउँदै गएमा त्रिविले दुर्भाग्यवश भयावह क्षति भोग्नुपर्ने अवस्था  देखिन्छ ।

२०५८ पछि देखिएका अनुसन्धानमा संख्या र गुणस्तर दुवैको अवस्था राम्रै छ । सीमित प्राध्यापकले उलेख्य अनुदानबिनै आफ्नै पहलमा अन्तर्राष्ट्रिय सहकार्यात्मक अनुसन्धान समेतमा विश्वस्तरीय प्रकाशन गरेका छन् । दुर्भाग्यवश त्रिविभित्र अत्यन्त ठुलो समूह अनुसन्धानबाट विमुख पनि छ । भएकामै पनि धेरैको स्तर असमान छन् । प्राप्त अनुदान पर्याप्त छैन । अनुसन्धानको मूल्यांकन र वितरणमा समेत कमजोरी छन् । त्रिविभित्र पनि जतासुकै जर्नल प्रकाशनमा बढ्दो लहर छ तर तीमध्ये धेरै मूल्यहीन पनि छन् । निरुत्साह गर्नुपर्नेस्तरका अनुसन्धान र डिग्रीलाई समेत समान मान्यता दिन खोज्दा यसले कतिपय ठाउँमा अनुसन्धानको अपमूल्यन पनि गरेको छ । योभन्दा जटिल समस्या त शिक्षण पेसामा भए पनि गुणस्तरीय शिक्षा र अनुसन्धानको बाटो नसोच्ने समूहबाट छ ।  यसमा आमूल परिवर्तन सम्भव छ तर त्यो केवल अनुसन्धानमुखी प्राज्ञिक नेतृत्वको दृढ इच्छाशक्तिमा मात्र  हुन्छ ।

यसभित्र र बाहिरका केही व्यक्ति र समूहहरूको चरम स्वार्थले हुर्कंदै गएको अन्तरिक भागबन्डा र अराजकताका कारण त्रिविले २०५८ यता अनेकन हर्कतसमेत बेहोर्नुपर्‍यो र ठुलो हानि, नोक्सानी तथा हन्डर भोग्नुपर्‍यो । यसको ठुलो सम्पत्ति हडप भयो, फर्काउन सकेन । भिजन २०३० सहितका अनेकन कार्ययोजनाको सफलता सीमित भयो ।  आफ्नै विज्ञता बिर्सेर त्रिवि सेवा आयोग नै लोकसेवा आयोगको पूर्ण भरमा पर्नुपर्ने दिन आयो । निम्नस्तरीय अनुसन्धानलाई जबर्जस्ती समकक्षता दिलाउन बल गर्ने क्रममा यो जिम्मेवारीसमेत विश्वविद्यालय अनुदान आयोगतिर सुम्पिनुपर्‍योे । कति अस्थायी, करार र पार्टटाइम सेवकको अवस्था झन् भयावह भयो भने कति निष्ठावान् सेवकहरूले आफैंलाई हेपिँदै पछि परेको अवस्थामा जिउनुपर्‍यो । उल्टै सेवासुविधा र स्तरोन्नति  ढिलाइ हँुदा यहाँका प्राध्यापक र कर्मचारीको  संख्यासमेत घट्दै गयो । पछिल्लो समयमा वास्तविक क्षमतालाई अवमूल्यन गर्दै मेरिटोक्रेसीको नाममा ठुलो अन्योलको भ्रम सिर्जना गराई समाजलाई दिग्भ्रमित पनि गराइयो । अनुसन्धानविहीन यसका प्रमुख, सदस्य  र मूल्यांकन कर्तासमेत भई नै रहे ।  त्रिविका  अधिकतम दिन यिनका प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनको चावी खोल्न मै व्यस्त रहनुपर्‍यो । पदाधिकारी बस्ने र काम गर्ने ठाउँको समेत पत्ता  हुन छोड्यो ।  

आशावादी हुने प्रशस्त बाटा छन् । प्रस्तुत चुनौती र अवसरको विश्लेषण त्रिविको आमूल परिवर्तनको मूल आधार बन्न सक्छ । यसको सुरुवात गुटगत स्वार्थरहित साँचो अर्थको खुल्ला प्राज्ञिक बहसमा आधारित त्रिविको पुनः संरचनाबाट हुनुपर्छ । वास्तविक मेरिटोक्रेसीका आधारमा अग्रिम पंक्तिमा रहने सक्षम प्राध्यापकको अगुवाइमा त्रिविमा उत्कृष्टता केन्द्र स्थापना गर्नुपर्छ र तिनकै नेतृत्वमा त्रिविको उद्देश्य, दृष्टिकोण र लक्ष्य प्राप्तिका मार्गचित्र कोरिनुपर्छ । त्रिविको प्राज्ञिक लक्ष्य प्राप्तिको तगारो भई  मौलाएको गुटगत र संगठनगत संरचनालाई यसको निश्चित लक्ष्य प्राप्तिका लागि रूपान्तरण गरिनुपर्छ, अन्यथा बिदा नै । कच्चा त्रिवि सेवा आयोगलाई गुणगत र  वस्तुगत आधारमा आत्मनिर्भर, नियमित र विश्वासनीय बनाउनुपर्छ । विश्वविद्यालय ज्ञान, विज्ञान र नवप्रवर्तनको शक्ति केन्द्र बन्नुपर्छ र यसका प्राज्ञ स्वतन्त्र बौद्धिक पुजारी हुनुपर्छ । त्रिविले राष्ट्र निर्माण, औद्योगिकीकरण र नवयुवाको भविष्य सुनिश्चित गर्नुपर्छ । यीबाहेक हाल देखिएका भौतिक, आर्थिक र शैक्षिक समस्या समाधान गर्न त्यति जटिल छैन । सिर्जनात्मक विद्यार्थी, कर्मठ कर्मचारी र सक्षम प्राध्यापक नै समस्याको समाधानका वास्तविक सम्पत्ति हुन् । यो सम्पूर्ण कुरा पूर्ण रूपमा सम्भव छ जब प्राज्ञिकहरू आफ्नो स्वतन्त्रता प्रयोग गरी पूर्ण स्वायत्त त्रिविलाई राजनीतिक सौदाबाजीबाट मुक्त गराउन प्रतिबद्ध हुन्छन् र लागि पर्छन् ।

सम्बन्धित खबर