
प्रसिद्ध अमेरिकी वित्तीय साक्षरताका प्रशिक्षक तथा रिच ड्याड, पुअर ड्याडका लेखक रोबर्ट कियोसाकीले वित्तीय साक्षरताले सम्पत्ति र ऋणको सही प्रयोग गर्न सिकाउने बताउँछन् । रोबर्टका अनुसार वित्तीय रूपले शिक्षित मानिसले सम्पत्ति र ऋणको प्रयोग उत्कृष्ट तरिकाले गर्छन् । त्यसैले उनीहरूको अवस्था मजबुत हुन्छ भने ठिक विपरीत कमजोर वित्तीय साक्षरता भएकाहरूले सम्पत्ति र ऋणको सही प्रयोग गर्न सक्दैनन् । जसका कारण उनीहरूको अवस्था कमजोर हुने भएकाले धनी र गरिबविचको खाडल बढ्दै जान्छ । रोबर्टले भनेझै हाम्रो समाजमा पनि धनी र शिक्षित वर्गको वित्तीय साक्षरताको अवस्था तुलनात्मक रुपले राम्रो भएकाले सम्पत्ति र ऋणको सही प्रयोग गर्दै आर्थिक अवस्था सुधार्दै गएको देख्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकले २०७९ मा गरेको वित्तीय साक्षरतासम्बन्धी बेसलाइन सर्भेले वित्तीय साक्षरता दर ५७ दशमलव ९ प्रतिशत देखाउँछ । लैंगिक आधारमा हेर्दा करिब ६२ प्रतिशत पुरुष र ५५ प्रतिशत महिला वित्तीय रूपले साक्षर रहेका छन् भने सहरी क्षेत्रको वित्तीय साक्षरता दर ६५ दशमलव ४ प्रतिशत र ग्रामीण क्षेत्रको ५५ दशमलव ७ प्रतिशत रहेको छ । त्यसैगरी प्रदेशगत रूपमा सवैभन्दा राम्रो वित्तीय साक्षरताको अवस्था बागमती प्रदेशमा ६५ दशमलव ४ प्रतिशत र कमजोर अवस्था मधेश प्रदेशमा ५२ प्रतिशत रहेको छ । उमेर समूहअन्तर्गत युवा समूह (१८–३० वर्ष) र शिक्षित तथा उच्च आम्दानी भएका समूहको वित्तीय साक्षरता राम्रो रहेको पाइएको छ । यसरी मुलुकको वित्तीय साक्षरताको अवस्था औसत रहेकाले अझै पनि उल्लेख्य जनसंख्या वित्तीय सेवाबाट विमुख रहेको अनुमान गर्न सकिन्छ । वित्तीय साक्षरताको दृष्टिकोणले कमजोर रहेका गरिब र अशिक्षित वर्गको उल्लेख्य संख्याले अनौपचारिक क्षेत्रबाट कर्जा लिने गरेको पाइन्छ भने औपचारिक क्षेत्रमा वित्तीय कारोबार गर्ने यो वर्गको संख्या न्यून रहेको र उनीहरूको वित्तीय अनुशासनको अवस्था पनि कमजोर रहने गरेको पाइएको छ ।
वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले विगतदेखि नै विभिन्न नीतिगत व्यवस्था गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमको जानकारी संस्थाको वेवसाइटमा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकमा समेत पेस गर्नुपर्ने व्यवस्था रहेको छ । यसका साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिने खर्चको कम्तीमा ५ प्रतिशत रकम वित्तीय साक्षरतासम्बन्धी कार्यक्रममा अनिवार्य रूपले खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । वित्तीय कारोबार सम्बन्धमा जनचेतना जगाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतासम्बन्धी भिडियो क्लिप, वित्तीय साक्षरता आधारभूत अवधारणा, विद्यार्थीसँग नेपाल राष्ट्र बैंक, वित्तीय साक्षरता सन्दर्भ पुस्तक, पैसाको बोट, वित्तीय चेतनामूलक गीत, फाइनान्सियल लिटरेसीसम्बन्धी विद्युतीय ब्यानरलगायतका सामग्री प्रकाशनमा ल्याएको छ । त्यसैगरी हरेक मंगलबार मंगलबारे वित्तीय जनचेतना ब्यानर सार्वजनिक गर्दै आएको छ । समाजमा रहेका सबै तहका मानिसहरूको वित्तीय चेतनाको स्तर, औपचारिक शिक्षा, आर्थिक र सामाजिक अवस्था आदि समान नहुने भएकाले उनीहरूलाई फरकफरक तहको वित्तीय शिक्षा प्रदान गर्नुपर्नेहुन्छ । त्यसैअनुरूप वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम थप प्रभावकारी बनाउन वित्तीय साक्षरता सम्बन्धी मापदण्ड, २०७९ ले नियमित आम्दानी प्राप्त गर्ने, निश्चित आम्दानी नभएका, विद्यार्थी, महिला, विप्रेषण प्रापक र युवा गरी ६ समूहमा विभाजन गर्दै लक्षित समूहअनुसारको वित्तीय शिक्षा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । साथै नेपाल राष्ट्र बैंक आफैंले पनि सर्वसाधारणलक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
वित्तीय साक्षरताले वित्तीय कारोबार गरिरहेका सेवाग्राहीलाई बचत, कर्जा, कर्जाको सदुपयोगिता, कर्जा भुक्तानी, खर्चको व्यवस्थापनलगायतका पक्षमा वित्तीय अनुशासन कायम राख्न सचेत गराउँछ भने औपचारिक संस्थासँग वित्तीय कारोबारमा संलग्न नभएकाहरूलाई वित्तीय कारोबार गर्न प्रोत्साहित गराउँछ । लक्षित वर्गको आर्थिक अवस्था, चेतनाको स्तर, भौगोलिक अवस्थिति आदिले वित्तीय साक्षरता कार्यक्रमको ढाँचा निर्धारण गर्दछ । उदाहरणका लागि ग्रामीण क्षेत्रका बासिन्दालाई आधारभूत तहको वित्तीय साक्षरता पर्याप्त हुन सक्छ भने सहरी क्षेत्र र शिक्षित वर्गलाई उच्चस्तरको प्रविधीमैत्री वित्तीय साक्षरता आवश्यक पर्दछ । पछिल्लो समय लघुवित्त क्षेत्रमा कर्जा भुक्तानी समयमा हुन नसकी निष्क्रिय कर्जा वृद्धि हुनुको प्रमुख कारण सेवाग्राहीको कमजोर वित्तीय साक्षरतालाई मानिएको छ । त्यसैगरी शिक्षित व्यक्तिहरूमा विद्युतीय वित्तीय कारोबारसम्बन्धी पर्याप्त ज्ञानको कमीले गर्दा वित्तीय कारोबारको जोखिम बढ्दै गएको समाचार सार्वजनिक भइरहेको पाइन्छ । यसरी जुनसुकै अवस्थाका सेवाग्राही वा सर्वसाधारणलाई जोखिमरहित वित्तीय कारोबारमा सहभागी गराउन वित्तीय रूपले शिक्षित बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
बैकमा खाता खोलेर आफूसँग भएको रकम बचत गर्नु र आवश्यक परेको समयमा कर्जा लिई व्यवसाय गर्नुलाई वित्तीय रूपले साक्षर भएको मानिने विगतको बुझाईलाई परिवर्तन गर्दै पछिल्लो समय वित्तीय साक्षरताको अवधारणालाई परिवर्तन गरी व्यापक बनाइएको छ । त्यसैले लक्षित वर्गकोे वित्तीय कारोबारको सिप, मनोवृत्ति र व्यवहार परिवर्तन हुनेगरी सैद्धान्तिक र व्यावहारिक पक्षलाई जोड दिएर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्दछ । वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्दा व्यक्तिको आम्दानी, खर्च, बचत, लगानी, बिमा, कर्जाजस्ता आधारभूत विषयका साथै मानिसका आवश्यकता र चाहना, वित्तीय उद्देश्य, पारिवारिक बजेट, विद्युतीय कारोबार, वित्तीय कारोबारसम्बन्धी गुनासोको सुनुवाइसम्बन्धी व्यवस्था, वित्तीय सेवा र उत्पादन, वित्तीय कारोबारका सम्भावित जोखिम, विप्रेषण प्राप्ति र सोको व्यवस्थापनलगायतका पक्षबारे जानकारी प्रदान गर्ने भएकाले वित्तीय शिक्षाले पैसाको उच्चतम सदुपयोग गर्न सिकाउँछ ।
वित्तीय समावेशीकरणको विस्तारले मात्र सबै तहका सर्वसाधारणलाई वित्तीय सेवाभित्र समेट्न सकिन्छ । वित्तीय पहुँच, वित्तीय साक्षरता र वित्तीय कारोबारको किफायती लागत वित्तीय सामावेशीताको अनिवार्य सर्त हुन् । ७ सय ५३ वटा स्थानीय तहमा वाणिज्य बैंकको उपस्थितिसँगै मुलुकमा विस्तार भएको वित्तीय पहुँचले सर्वसाधारणलाई वित्तीय कारोबारबाट लाभान्वित बनाउन वित्तीय शिक्षा अपरिहार्य हुन्छ । मुलुकको वित्तीय साक्षरताको दर औसत भएकै कारण वित्तीय पहुँचले मात्र वित्तीय समावेशीकरणको विस्तार हुन सक्दैन । वित्तीय पहुँचको विस्तारसँगै वित्तीय लागत पनि किफायती हुँदै गएको वर्तमान अवस्थामा वित्तीय साक्षरताको दरलाई वृद्धि गर्नुपर्ने देखिन्छ । पछिल्ला वर्षहरूमा वित्तीय साक्षरतालाई नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले प्राथमिकताका साथ सञ्चालन गर्दै आएको भए पनि यसमा आशातित सफलता प्राप्त भएको देखिँदैन । त्यसैले आगामी दिनमा वित्तीय साक्षरता कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ ।
(बोहरा वित्तीय साक्षरता प्रशिक्षक हुन् ।)