
संग्रहालय हाम्रो इतिहास, परम्परा र सभ्यताका जीवन्त प्रमाणका रूपमा रहेका सम्पदा, ज्ञान, मनोरञ्जन र भावनाको विश्वासिलो स्रोत हो । जसले भौतिक र अभौतिक दुवै किसिमका सम्पदाको प्रवर्धनका लागि स्थायी संस्थाको भूमिका खेलेको हुनछ । विश्वमा आधुनिक संग्रहालयको सुरुवात सन् १६८२ मा बेलायतमा स्थापना भएको अस्मोलिन म्युजियमबाट भएको मानिन्छ । युनेस्कोको सन् २०२१ को आँकडाअनुसार हाल विश्वमा १ लाख ४ हजारभन्दा बढी सक्रिय रूपमा सञ्चालमा आएका संग्रहालय छन् । देशगत रूपमा हेर्दा संयुक्त राज्य अमेरिकामा करिब ३३ हजारभन्दा बढी संग्रहालय छन्, जुन देशगत आधारमा विश्वमा सबैभन्दा ठुलो संख्या हो । त्यसपछि जर्मनी, जापान, रुस, फ्रान्स, इटाली, युकेजस्ता देश छन्, जसका हजारौं संग्रहालय छन् । पछिल्लो समयमा यो संख्यामा तीव्र वृद्धि भएको छ । उदाहरणका लागि सन् २०१९ मा करिब ५५ सय संग्रहालय भएको चीनमा अहिले झन्डै ८ हजार संग्रहालय बनेका छन् ।
नेपालमा संग्रहालय
नेपालमा भने विश्वमा आधुनिक संग्रहालय स्थापना भएको साढे २ सय वर्षपछि अर्थात १९९५ सालमा स्थापना भएको नेपाल म्युजियम पहिलो संग्रहालय हो । हाल काठमाडौंको छाउनीमा रहेको राष्ट्रिय संग्रहालय नै त्यतिखेरको नेपाल म्युजियम हो । १८८१ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले हतियार भण्डारण गृहका रूपमा प्रयोग गरेका थिए, जसलाई शिलखाना घर भनिन्थ्यो । यही घरलाई नै १९९५ सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले देशकै पहिलो संग्रहालय ‘नेपाल म्युजियम घोषणा गरेका थिए भने २०२४ सालमा राजा महेन्द्रको पालामा राष्ट्रिय संग्रहालयमा रूपान्तरित गरियो ।
नेपालमा विधिवत् रूपमा संग्रहालय स्थापना भएको करिब नौ दशक बितिसकेको छ । यो यात्रा पार गर्दै गर्दा हाल कला, सम्पदा, संस्कृति, इतिहास, विज्ञान, जीवनीलगायतका धेरै क्षेत्रलाई समेटेका क्षेत्रगत संग्रहालय सञ्चालनमा आएका छन् । क्षेत्रगत दृष्टिले नेपाली सेना, नेपाल प्रहरी, त्रिभुवन विश्वविद्यालयजस्ता सरकारी निकायदेखि स्थानीय सरकार, प्रदेश सरकारले समेत संग्रहालय सञ्चालन गरेका छन् । त्यसबाहेक समुदाय र निजी क्षेत्रले पनि संग्रहालय सञ्चालन गरेका छन् । देशभर कुल संग्रहालयको संख्याबारे यकिन तथ्यांक नभए पनि करिब १ हजारको हाराहारीमा संग्रहालय दर्ता भएको अनुमान छ । त्यसैगरी वार्षिक करिब ३० लाख मानिसले संग्रहालय भ्रमण गर्ने गरेको अनमान छ । यो संख्या हरेक वर्ष बढेर गएको देखिन्छ ।
नीतिगत धरातल
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि सम्पदा, संस्कृति र इतिहासको संरक्षण राज्यको दायित्व हुने कुरा संविधानमै समावेश गरियो । सोही संवैधानिक व्यवस्थालाई विशिष्ट कानुन बनाउन २०१३ सालमा प्राचीन स्मारक संरक्षण ऐन ल्याइयो, जसलाई कानुनी आधार मानेर राज्यले विभिन्न संग्रहालय स्थापना र विस्तारतर्फ अग्रसरता लियो । अहिले पनि नेपाल सरकारले सोही कानुनलाई आधार मानेर पुरातत्व विभागअन्तर्गत सरकारी संग्रहालयको रेखदेख र नियमन गर्दछ । तर सो ऐन संग्रहालयसम्बन्धीको कुनै पनि व्यवस्था छैन ।
राष्ट्रिय संस्कृति नीति २०६७ ले संग्रहालय ऐनको अभाव उल्लेख गर्दै उक्त ऐन बनाउने उद्देश्य राख्यो । तर उक्त नीति आएको डेढ दशक बितिसक्दा पनि संग्रहालयसम्बन्धीको ऐन आएको छैन । संग्रहालयसम्बन्धीको विशिष्ट कानुनको अभावमा संग्रहालयको विकास र विस्तार कार्यमा नीतिगत अन्योलता झन् बढेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले संग्रहालय सञ्चालनको अधिकार स्थानीय तहलाई दिएपछि स्थानीयस्तरमा संग्रहालय खुल्ने क्रम बढेको छ । तर संग्रहालय स्थापना र सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्डको अभाव तथा दर्ता र अनुगमन गर्ने विशिष्ट निकाय नहुँदा धेरै नयाँ संग्रहालय व्यवस्थित र दिगो बन्न सकेका छैनन् । नेपालको संविधान २०७२० ले सांस्कृतिक अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ र राज्यलाई संस्कृति संरक्षण तथा प्रवर्धनको दायित्व दिएको छ । यसका अतिरिक्त, राष्ट्रिय संस्कृति नीति २०६७ ले संग्रहालयको महत्व स्वीकार गर्दै पृथक संग्रहालय ऐन निर्माण गर्ने स्पष्ट नीति व्यवस्था गरेको छ । उक्त नीतिमा संग्रहालयको संरक्षण, व्यवस्थापन, अनुसन्धान र प्रवर्धनका लागि कानुनी आधार आवश्यक रहेको उल्लेख छ ।
बढ्दो आवश्यकता
संग्रहालय राष्ट्रको जीवित पाठशाला हो । यसले इतिहास, संस्कृति र पहिचानलाई दृश्य र अनुभवजन्य रूपमा प्रस्तुत गर्छ । विद्यार्र्थी, अनुसन्धानकर्ता र सर्वसाधारणका लागि संग्रहालय अनौपचारिक शिक्षाको महत्वपूर्ण माध्यमको काम गर्दै यसले नागरिकमा इतिहासप्रतिको चेतना, सांस्कृतिक विविधताप्रतिको सम्मान र संरक्षणप्रतिको जिम्मेवारी विकास गर्छ । संग्रहालयको यही महत्वलाई बुझेर विश्वमा विशेष खालको वास्तुकलाको प्रयोगमार्फत बनाइएका ठुलाठुला आइकोनिक भवनमार्फत संग्रहालयमा आगन्तुकलाई आकर्षण गर्ने अभ्यास बढेको छ । तर नेपालका अधिकांश ठुला संग्रहालय विगतमा राजकाज चलाउन बनाइएका दरबारमा अवस्थित छन् । पाटन संग्रहालय, हनुमान ढोका दरबार संग्रहालय, नाराणहिटि दरबार संग्रहालय यसका केही उदाहरण हुन् । यी स्थान पुरातात्विक सम्पदा, ऐतिहासिक राजकाजको विरात, धार्मिकस्थल र संग्रहालयको संयोजन भएका थलो भएकाले संग्रहालयलाई दर्शक पाउन पनि सजिलो भएको छ । तर काठमाडांैबाहिरका संग्रहालयमा भने संग्रहालय नै हेर्नका लागि आगन्तुक आउने गरेको पाइन्छ । उदाहरणका लागि दाङको दंगीशरण गाउँपालिकामा रहेको थारु संग्रहालयमा वार्षिक झन्डै १ लाख आगन्तुक हेर्नका लागि आउने गर्दछन् ।
विश्व सम्पदा सूचीमा परेका काठमाडौं र लुम्बिनीजस्ता सांस्कृतिक सम्पदा स्थलमा लाखौंको संख्यामा आगन्तुक आउँछन् । उनीहरूलाई पनि विशेष संग्रहालय सञ्चालन गरेर त्यस स्थानबारे जानकारी लिने थलोका रूपमा विकास गर्न सकियो भने नेपालमा संग्रहालय भ्रमणकर्ताको संख्या करोड बढी हुन्छ । त्यसबाहेक खुला संग्रहालयका रूपमा रहेका सम्पदा नेपालमा अन्यत्र पनि छन् । यी विविधता, संस्कृति, सम्पदालगायतको संरक्षणमा संग्रहालयको ठुलो योगदान हुने भएकाले यसको विकासबाट आगन्तुकको संख्या बढाउनेसँगै सम्पदा र इतिहासको संरक्षणमा समेत मद्दत पुग्छ ।
नेपालका जातीय र सामुदायिक संग्रहालयले स्थानीय जीवनशैली, सिप र परम्परालाई राष्ट्रियस्तरमा चिनाउने अवसरसँगै सांस्कृतिक पर्यटनको आधारसमेत दिएका छन् । जसले स्थानीय अर्थतन्त्र र सिर्जनशील उद्योगलाई समेत टेवा दिएको देखिन्छ । संग्रहालय कुनै राष्ट्रको सामूहिक स्मृति, सांस्कृतिक पहिचान र ऐतिहासिक निरन्तरताको संरक्षित स्वरूप भएकाले यसले विगतका अनुभव, वस्तु, कला र ज्ञानलाई वर्तमान पुस्तासँग जोड्दै भविष्यका लागि मार्गनिर्देशन गर्नसमेत योगदान गर्दछ । नेपालजस्तो बहुजातीय, बहुभाषिक र सांस्कृतिक विविधताले सम्पन्न देशमा संग्रहालय केवल पुराना वस्तु राख्ने स्थान होइन, सामाजिक चेतना, शिक्षा र राष्ट्रिय पहिचान निर्माणको महत्वपूर्ण आधार हो । तर बहुआयामिक राष्ट्रिय सम्भावना बोकेको संग्रहालयसँग निहित सम्भावनाको उपयोग गरी लाभ लिनेतर्फ नेपालले नीति, लगानी, मापदण्ड निर्माण संस्थागत संरचना निर्माणजस्ता आधारभूत पक्षबाट कामको थालनी गर्नुपर्ने आवश्यकता छ ।