२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

सीमाविहीन उडानमा नेपाली सिनेमा

shivam cement
अञ्जना कोइराला
२०८२ माघ १२ गते १७:२०
Shares
सीमाविहीन उडानमा नेपाली सिनेमा

नेपालको ग्रामीण गाउँको गरिब गन्धर्व परिवारको कथा समेटिएको सिनेमा हो– पूर्णबहादुरको सारंगी । सामाजिक अनादरसँग गन्धर्व समुदायले गर्नुपरेको संघर्ष केलाएको फिल्म समेत व्यावसायिक रूपमा सफल हुनु पछिल्लो समयमा दर्शकको स्वाद बदलिएको बलियो प्रमाण हो । 

पूर्णबहादुरको सारंगी त एउटा उदाहरण मात्रै हो । पछिल्लो अढाइ दशकमा नेपाली सिनेमाले निकै ठुुलो फड्को मारेको छ । उदाहरणका लागि, ‘कबड्डी’, ‘छक्का पञ्जा’जस्ता फिल्महरूले नेपालबाहिरबाट समेत आफ्नो लगानीको ठुलो हिस्सा कमाए । अर्थात् नेपाली सिनेमा विश्वभर फैलिएको छ । 

२०५८–२०५९ तिर फर्केर हेर्दा नेपाली सिनेमा एउटा साँघुरो गल्लीजस्तै देखिन्थ्यो, केही हल, केही कलाकार, केही निर्देशक र एकै किसिमका कथा हुन्थे । २०८२ सालसम्म  आइपुग्दा त्यो गल्ली विश्वतर्फ खुल्ने राजमार्गमा बदलिएको छ । यो केवल प्रविधिको विकासले मात्र होइन, नेपाली समाज, अर्थतन्त्र, सोच र आत्मविश्वासको प्रतिफल हो ।

एक समय नेपाली फिल्म बनाउनु साहस थियो, आज त्यो रणनीति बनेको छ । एक समय फिल्म कलाकारको करियर थियो, आज त्यो हजारौंको रोजगारी बनेको छ । र, एक समय नेपाली दर्शकलाई हलसम्म ल्याउनका लागि अनेक संघर्ष गर्नुपथ्र्यो भने अहिले विश्वभरबाट नेपाली फिल्मको खोजी हुन्छ ।

यो परिवर्तनलाई हेर्दा नेपाली सिनेमा अब केवल मनोरञ्जनको माध्यम होइन, हाम्रो राष्ट्रिय पहिचानको एक शक्तिशाली हतियार बनेको महसुस हुन्छ । 

बजार विस्तार

२०–२५ वर्षअघि नेपाली फिल्मको बजार नेपालमै सीमित थियो । काठमाडौंका केही पुराना हलहरूमा फिल्म चलेन भने निर्देशकहरूको सपना डुब्थ्यो । तर यो परिदृश्यलाई नेपाली डायस्पोराले पूर्ण रूपमा बदलिदियो । वैदेशिक रोजगारीका लागि मध्यपूर्व, अमेरिका, अस्ट्रेलिया र युरोप पुगेपछि नेपालीहरूले आफ्नो संस्कृति र भाषासँग जोडिन नेपाली फिल्म खोज्न थाले । जसका कारण अहिले मलेसिया, कतार, युएई, अमेरिका, अस्ट्रेलियाका थिएटरहरूमा नेपाली फिल्महरू नियमित रूपमा रिलिज हुन्छन् । र नेपाली फिल्महरूले विदेशबाट समेत पनि कमाइरहेका छन् । साथै, नेपाली सिनेमालाई लाग्दै आएको ‘सानो बजार’को ट्याग पनि हटेको छ । यसले निर्देशकहरूलाई प्रवासको पीडा, सांस्कृतिक संघर्ष वा विश्वमा नेपालीको पहिचानलगायतका विश्वव्यापी कथाहरू अपनाउन प्रेरित पनि गरेको छ ।

प्रचारमा डिजिटल क्रान्ति

पहिले प्रचारको केन्द्र पोस्टर, माइकिङ र पत्रिका थियो– एउटा सीमित र महँगो माध्यम । अहिले त्यो फेसबुक, टिकटक र युट्युबमा परिवर्तन भएको छ । एक ट्रेलरले लाखौं भ्यु पाउँछ, एक संवाद रातारात मीम बन्छ र सोनो क्लिप टिकटकमा चल्यो भने फिल्म हिटको बाटोमा पुग्छ । पछिल्लो समय सामाजिक सञ्जालमा ट्रेलरले भाइरल भएपछि हजारौं दर्शक हलसम्म पुग्ने गरेका पनि छन् ।

सेल्युलोइड युगमा एक टेक नै महँगो हुन्थ्यो, जसले सिर्जनात्मकतालाई सीमित बनाउँथ्यो । आज डिजिटल क्यामेराले स्वतन्त्रता दिएको छ– ड्रोनले हिमाल र गाउँलाई नयाँ आँखाले देखाएको छ भने भिएफएक्सले ऐतिहासिक र काल्पनिक संसार सम्भव बनाएको छ ।

यो डिजिटल क्रान्तिले प्रचारलाई सस्तो र स्मार्ट बनाएको छ । जसका कारण सानो बजेटका फिल्महरूले पनि ठुला प्रोडक्सनसँग प्रतिस्पर्धा गर्न सक्छन् । तर यसले चुनौती पनि ल्याएको छ, ट्रोलिङ र फेक रिभ्युका कारण राम्रा फिल्मले पनि दर्शक नपाउने सम्भावना बढ्छ । त्यसैले निर्देशकहरूले अब केवल फिल्म बनाउने होइन, डिजिटल मार्केटिङ पनि सिक्नुपर्छ । 

लगानी वृद्धि

नेपाली सिनेमा लामो समयसम्म ‘कम लगानी, धेरै जोखिम’मा चल्यो । सीमित हल संख्या, सीमित दर्शकका कारण पहिले कम लगानी उठाउन पनि गाह्रो हुन्थ्यो । पहिले फिल्म निर्माताहरूले आफ्नो व्यक्तिगत पुँजी फिल्ममा लगानी गर्थे भने अहिले अवस्था फेरिएको छ । अहिले कर्पोरेट हाउसहरू, जस्तै विभिन्न बैंक, कम्पनी र अन्तर्राष्ट्रिय लगानीकर्ताहरू प्रवेश गरेरे फिल्ममा लगानी गर्न थालेका छन् । यो परिवर्तनले समग्र नेपालको फिल्म क्षेत्रलाई नै व्यावसायिक बनाएको छ । 

प्रविधिको देन

सेल्युलोइड युगमा एक टेक नै महँगो हुन्थ्यो, जसले सिर्जनात्मकतालाई सीमित बनाउँथ्यो । आज डिजिटल क्यामेराले स्वतन्त्रता दिएको छ– ड्रोनले हिमाल र गाउँलाई नयाँ आँखाले देखाएको छ भने भिएफएक्सले ऐतिहासिक र काल्पनिक संसार सम्भव बनाएको छ । ‘कागबेनी’ जस्ता पुराना फिल्महरूमा साउन्ड डिजाइन र कलर ग्रेडिङको सीमित प्रभाव थियो, तर अहिले रिलिज भएका फिल्महरूमा अन्तर्राष्ट्रिय स्तरको साउन्ड डिजाइन र कलर ग्रेडिङ छ ।

प्रविधिले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको छ, तर सांस्कृतिक मौलिकतालाई बचाउन भने चुनौती थपिएको छ । भिएफएक्सले कथालाई मौलिकताभन्दा धेरै पर लगेर ओझेलमा पार्न सक्छ । तर पनि प्रविधिको विकासले नेपाली सिनेमालाई विश्व फेस्टिभलहरूमा प्रतिस्पर्धी बनाएको छ ।

कथामा विविधता

पुराना नेपाली सिनेमा प्रेम, विछोड र मेलोड्रामामा अड्किएको थियो । आज त्यो समाज, राजनीति, वर्ग, महिला, पहिचान र इतिहाससम्म पुगेको छ । ‘लुट’, ‘छक्का पञ्जा’, ‘पूर्णबहादुरको सारंगी’ जस्तो फिल्म व्यावसायिक रूपमा सफल हुनु दर्शकको स्वाद बदलिएको प्रमाण हो । अब फिल्महरूले केवल मनोरञ्जन मात्र प्रदान गर्दैनन्, सामाजिक परिवर्तन पनि ल्याउँछन्– जस्तै ‘बुलबुल’ले महिलाको सशक्तीकरणलाई चित्रण गरेको छ । तर यसमा सन्तुलन भने चाहिन्छ, यदि कथा मात्र सामाजिक मुद्दामा केन्द्रित भयो भने, मनोरञ्जन हराउन सक्छ । 

नयाँ पुस्ताका निर्देशकहरूले नेपाली सिनेमालाई स्थानीय कथाबाट वैश्विक भाषामा ल्याए । रामबाबु गुरुङ, प्रदीप भट्टराई, निश्चल बस्नेत, दीपक रौनियार वा मिनबहादुर भाम जस्ता नामहरूले नेपाली फिल्म पनि गुणस्तरको बन्न सक्छन् भन्ने प्रमाण प्रस्तुत गरे ।

दर्शक सर्वोपरि

नेपाली सिनेमा बदलिनुको सबैभन्दा ठुलो श्रेय दर्शकलाई नै जान्छ । पहिले फिल्म हेर्न हल जाने दर्शकको संख्या निकै कम थियो । तर पछिल्लो समय हलका संख्यासँगै गुणस्तर पनि बढेका कारण हल जाने दर्शकको संख्या पनि बढेको छ । सँगै अहिले प्रविधिको विकासका कारण दर्शकहरू अब ओटिटी प्लेटफर्महरू (कान्तिपुर सिनेमाज, सिनेमा घर, एमएमएस भिडियोलगायत)तिर पनि आकर्षित भएका छन् । पहिले लभ स्टोरी हेरेर दंग हुने दर्शक अहिले फिल्ममा विविधता खोज्छन् । जसका कारण निर्देशकहरूलाई पनि विविध कथा समेटिएका फिल्म निर्माण गर्न प्रेरित गरिरहेको छ ।

२०५८–२०५९ तिर नेपाली सिनेमा बाँच्न संघर्ष गर्दै थियो । २०८२ मा नेपाली सिनेमा आफ्नो भविष्य योजना बनाइरहेको छ । पाइरेसी, असमान वितरणलगायतका समस्याले नेपाली फिल्म क्षेत्रलाई अझै गाँजेको छ, तर सम्भावना भने ऐतिहासिक छन्, अन्तर्राष्ट्रिय सहयोग, एआई प्रयोग र पर्यटनसँग जोडेर नेपाली फिल्म क्षेत्रलाई अझै उकास्न सकिन्छ । नेपाली सिनेमा अब सानो देशको सानो सपना होइन, ठुलो पहिचानको ठुलो यात्रामा छ । यदि यो गति कायम रह्यो भने, नेपाली सिनेमा विश्व सिनेमाको महत्वपूर्ण हिस्सा बन्न धेरै समय लाग्दैन ।

सम्बन्धित खबर