२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

संस्कार : पुस्तान्तरणको मौन भाषा

संस्कारको अन्तिम र सबैभन्दा गहिरो आयाम नैतिकता हो । कानूनले अपराध रोक्न सक्छ, तर संस्कारले अपराध जन्मिन नदिन सक्छ । यदि समाजमा इमानदारी संस्कार बनेको छ भने निगरानीको आवश्यकता घट्छ ।

shivam cement
अनन्तप्रसाद घिमिरे
२०८२ माघ १३ गते ०९:०३
Shares
संस्कार : पुस्तान्तरणको मौन भाषा


‘संस्कार’ शब्द सुन्नासाथ धेरैको मनमा धर्म, कर्मकाण्ड, विधिविधान, चाडपर्व वा परम्परागत संस्कृतिको चित्र उभिन्छ । तर संस्कारको वास्तविक सत्ता यी बाहिरी संरचनाभन्दा धेरै गहिरो र मौन तहमा अवस्थित हुन्छ । संस्कार कुनै औपचारिक शिक्षा होइन, यो जीवनले जीवनलाई दिने अदृश्य उत्तराधिकार हो । यो बोलिँदैन, तर निरन्तर अभ्यास हुन्छ । लेखिँदैन, तर चेतनामा स्थायी रूपमा कुँदिन्छ । त्यसैले संस्कारलाई पुस्तान्तरणको मौन भाषा भनिन्छ– भाषा, जुन न उच्चारण चाहिन्छ, न व्याकरण; तर जसको प्रभाव पुस्तौँसम्म फैलिन्छ ।

जब भाषा थिएन, लिपि थिएन, विद्यालय थिएन, तब पनि मानिसले मानिसलाई जीवन जिउने तरिका सिकाइरहेको थियो । त्यो सिकाइ शब्दमा होइन, व्यवहारमा हुन्थ्यो । बच्चाले बोल्न सिक्नुअघि नै संसार पढ्न थालिसकेको हुन्छ । ऊ वरपरको वातावरण नियाल्छ– आमाको आँखामा देखिने धैर्य, बाबुको स्वरमा लुकेको अधिकारबोध, घरभित्रको मौन डर, बाहिरको बनावटी सभ्यता । यी सबै संस्कारका अक्षरहरू हुन्, जुन उसले अनायासै आत्मसात् गर्छ । संस्कार कुनै दिन अचानक थोपरिँदैन । यो त बिस्तारै, निरन्तर, लगभग नदेखिने रूपमा मनभित्र जम्दै जान्छ । बच्चाले ‘साँचो बोल्नुपर्छ’ भन्ने उपदेशभन्दा धेरै अघि, साँचो बोल्दा के हुन्छ र झूठ बोल्दा के हुन्छ भन्ने अनुभव देखिरहेको हुन्छ । उसले देख्छ– साँचो बोल्दा कहिलेकाहीं घाटा हुन्छ, झूठ बोल्दा फाइदा । यही अनुभव संस्कार बन्छ । त्यसैले संस्कार उपदेशको परिणाम होइन, अनुभूतिको निचोड हो ।

घर संस्कारको पहिलो पाठशाला हो, जहाँ कुनै पाठ्यक्रम हुँदैन, तर जीवनको आधारभूत व्याकरण सिकाइन्छ । घरमा कसरी रिस देखाइन्छ, कसरी प्रेम व्यक्त गरिन्छ, कसरी दुःख सहिन्छ, कसरी अरूलाई हेपिन्छ वा सम्मान गरिन्छ– यी सबै मौन शिक्षाहरू हुन् । बच्चाले यो शिक्षा कहिल्यै प्रश्न नगरी ग्रहण गर्छ, किनकि यो उसलाई ‘सामान्य’ लाग्छ । पछि यही सामान्यताले उसको नैतिक मापदण्ड बनाउँछ । संस्कारको सबैभन्दा गहिरो र शक्तिशाली पक्ष यसको मौनता हो । मौनता किन शक्तिशाली हुन्छ भने यसले प्रतिरोध जन्माउँदैन । बोलेको कुरा प्रश्न गर्न सकिन्छ, तर देखेको व्यवहारलाई प्रश्न गर्न गाह्रो हुन्छ । जब बाबुआमाले विभेदलाई सामान्य व्यवहारझैँ प्रस्तुत गर्छन्, जब

अन्यायलाई मौन स्वीकृति दिन्छन्, जब डरलाई बुद्धिमत्ता ठान्छन्– यी सबै संस्कार बनेर सन्तानमा सर्छन् । 
कसैले खुला रूपमा ‘डराऊ’ भनेको हुँदैन, तर डर नै सुरक्षित विकल्प हो भन्ने संस्कार निर्माण हुन्छ । संस्कार सधैँ उज्यालो मात्र हुँदैन । यसले समाजका अँध्यारा पाटाहरू पनि पुस्तान्तरण गर्छ । जातीय घमण्ड, लैङ्गिक विभेद, वर्गीय अहंकार, परनिर्भरता, आत्महीनता– यी सबै संस्कारकै रूपमा हस्तान्तरण हुन्छन् । कुनै परिवारमा छोरीलाई मौन बस्न सिकाइन्छ, छोरा बोल्न सिक्छ । कसैले ‘छोरी बोल्न नपाउँछ’ भनेर लेखेको हुँदैन, तर व्यवहारले त्यही भाषा बोलिरहेको हुन्छ । यही मौन भाषा सबैभन्दा खतरनाक पनि हुन्छ, किनकि यसलाई चुनौती दिन शब्द नै हुँदैन ।

पुस्तान्तरण भन्नासाथ हामी प्रायः सम्पत्ति, नाम, संस्कार, थिति सम्झन्छौँ । तर संस्कारको पुस्तान्तरण कुनै यान्त्रिक उत्तराधिकार होइन । यो गहिरो नैतिक जिम्मेवारी हो । हामी हाम्रा सन्तानलाई के दिइरहेका छौँ भन्ने प्रश्नभन्दा गहिरो प्रश्न यो हो– हामी उनीहरूका अगाडि कस्तो जीवन बाँचिरहेका छौँ । किनकि बच्चाले हामीले भनेको होइन, हामीले बाँचिरहेको जीवन पढ्छ ।

हामी तनावमा कसरी प्रतिक्रिया गर्छौँ, असफलतामा कसलाई दोष दिन्छौँ, शक्तिशालीको सामु कति झुक्छौँ, कमजोरप्रति कति कठोर हुन्छौँ– यी सबै संस्कारका जीवित वाक्यहरू हुन् । विद्यालयले ज्ञान दिन सक्छ, तर संस्कार दिन सक्दैन । ज्ञान बाहिरबाट आउँछ, संस्कार भित्रबाट बन्छ । संस्कार स्थिर वस्तु होइन । यो समयसँगै बदलिन्छ, बदलिनुपर्छ । यदि संस्कार परिवर्तनशील समयसँग संवाद गर्न सकेन भने, त्यो बोझ बन्छ । परम्पराको नाममा जड बनेको संस्कारले समाजलाई अघि बढ्न दिँदैन । तर विवेकसहित रूपान्तरित संस्कारले समाजलाई जरा र पखेटा दुवै दिन्छ । पहिले आज्ञापालनलाई सबैभन्दा ठूलो संस्कार मानिन्थ्यो । प्रश्न गर्नु असभ्यता ठानिन्थ्यो । आज प्रश्न गर्न सक्ने चेतना पनि संस्कारकै रूपमा स्वीकारिन थालेको छ । पहिले सहनशीलतालाई मौन सहनु ठानिन्थ्यो, आज अन्यायविरुद्ध बोल्न सक्ने साहस पनि सहनशीलताको उच्च रूप मानिन थालेको छ । यसले देखाउँछ– संस्कार कुनै ढुंगामा कुँदिएको शिलालेख होइन, यो नदीजस्तै बगिरहने चेतना हो ।

आधुनिकता र संस्कारलाई प्रायः विरोधी ध्रुवका रूपमा प्रस्तुत गरिन्छ । भनिन्छ– आधुनिकताले संस्कार नष्ट ग¥यो । तर साँचो प्रश्न यो हो– के आधुनिकताले संस्कार नष्ट ग¥यो, कि कमजोर संस्कार आधुनिकतासँग टिक्न सकेन ? प्रविधि, सूचना, विश्वव्यापी सम्पर्कले मानिसलाई विकल्प दिए । विकल्प आउँदा संस्कारको परीक्षा हुन्छ । जुन संस्कार विवेकमा आधारित हुन्छ, त्यो टिक्छ; जुन डर र अन्धविश्वासमा आधारित हुन्छ, त्यो भत्किन्छ । आज संस्कार केवल परिवारबाट मात्र होइन, स्क्रिनबाट पनि हस्तान्तरण हुन्छ । मोबाइल, सामाजिक सञ्जाल, भर्चुअल संसार– यी सबै नयाँ संस्कारका स्रोत बनेका छन् । बच्चाले अब बाबुआमाको मौन मात्र होइन, एल्गोरिदमको मौन पनि पढिरहेको छ । यस्तो समयमा परिवार र समाजको भूमिका झन् गम्भीर हुन्छ । किनकि मौन भाषा अब धेरै आवाजबीच हराउन सक्छ ।

संस्कारको अन्तिम र सबैभन्दा गहिरो आयाम नैतिकता हो । कानूनले अपराध रोक्न सक्छ, तर संस्कारले अपराध जन्मिन नदिन सक्छ । यदि समाजमा इमानदारी संस्कार बनेको छ भने निगरानीको आवश्यकता घट्छ । यदि करुणा संस्कार बनेको छ भने दण्डको कठोरता कम हुन्छ । यस अर्थमा संस्कार नै सभ्यताको अदृश्य मेरुदण्ड हो । हामी हरेक दिन संस्कार सिर्जना गरिरहेका छौँ– बोलेर मात्र होइन, मौन बसेर पनि । हामी के सहन्छौँ, के अनदेखा गर्छौँ, के सामान्य ठान्छौँ– यी सबै संस्कारका वाक्यहरू हुन् । त्यसैले संस्कारप्रति सचेत हुनु भनेको जीवनप्रति सचेत हुनु हो ।

संस्कार भनेको हामीले नबोली सिकाएका जीवनका पाठहरूको संग्रह हो । हामी हरेक क्षण भविष्यसँग संवाद गरिरहेका हुन्छौं– हाम्रो व्यवहारमार्फत, हाम्रो मौनतामार्फत, हाम्रो चयनमार्फत । यही मौन भाषा हो, जसले समय पार गर्छ, सभ्यता जोगाउँछ र मानवतालाई निरन्तर अर्थ दिन्छ । यदि हामीले यो भाषा बुझ्यौँ भने मात्र, हामी भविष्यसँग इमानदार हुन सक्छौँ । नत्र हामी मौनमै बोल्दै, मौनमै गलत कुरा सिकाइरहनेछौँ ।
 

सम्बन्धित खबर