२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

पर्यटन : समृद्धिको आधार

shivam cement
टिपी भुसाल
२०८२ माघ १३ गते १२:१०
Shares
पर्यटन : समृद्धिको आधार

नेपाल प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताले भरिपूर्ण देश हो । हिमाल, पहाड र तराईको अद्वितीय भौगोलिक संरचना, विश्वकै सर्वोच्च शिखर सगरमाथा, प्राचीन सभ्यता, बहुसांस्कृतिक समाज तथा धार्मिक सहिष्णुताले नेपाललाई विश्व पर्यटन मानचित्रमा विशिष्ट स्थान दिलाएको छ । तथापि हामीले नेपालको पर्यटनबाट अपेक्षित लाभ भने लिन सकिरहेका छैनौं । 

प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न भए पनि नेपाल विश्व पर्यटन बजारमा अपेक्षित रूपमा स्थापित हुन नसकेको नेपालको पर्यटनलाई भिजिट नेपाल १९९८ अभियानले नेपालको पर्यटन इतिहासमा योजनाबद्ध र ब्रान्डेड प्रवर्धनको नयाँ युगको सुरुवात ग¥यो । सन् १९९८ को अभियानले सरकारी र निजी क्षेत्रबीच सहकार्यको आधार तयार गर्दै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा चिनाउने महत्वपूर्ण भूमिका खेल्यो । 

नेपाली पर्यटनको यात्रा

विगत दुई दशकभन्दा बढी समय नेपालको पर्यटन क्षेत्रका लागि चुनौती र अवसर दुवैका रूपमा देखिन्छ । भिजिट नेपाल १९९८ पछि नेपालको पर्यटक आगमनमा क्रमिक वृद्धि देखियो । सन् २००० को सुरुवातसम्म पर्यटन सकारात्मक दिशामा अघि बढेको भए पनि राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्वका कारण यो क्षेत्र गम्भीर रूपमा प्रभावित भयो । शान्ति प्रक्रियापछि पर्यटनले पुनः गति लियो । 

२०११ मा नेपाल पर्यटन वर्ष, २०१८ मा भ्रमण वर्षको तयारी र २०२० को नेपाल भ्रमण वर्ष अभियानले पर्यटन प्रवर्धनमा सकारात्मक सन्देश प्रवाह ग¥यो । यद्यपि २०१५ को विनाशकारी भूकम्प र २०२०–२०२२ को कोभिड–१९ महामारीले पर्यटन क्षेत्रलाई ठुलो धक्का दियो । यी चुनौतीबीच पनि नेपालले आफ्नो पर्यटन छवि पुनर्निर्माण गर्दै अघि बढ्ने प्रयास गर्‍यो । 

सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल भित्रिन सफल भए, जुन ऐतिहासिक उपलब्धि थियो । तर कोभिड–१९ महामारीले यो उपलब्धिलाई एकाएक ठप्प बनायो । सन् २०२० देखि २०२५ सम्म आइपुग्दा पर्यटन क्रमिक रूपमा पुनरुत्थान हुँदै गएको छ । सन् २०२५ मा ११ लाख ५८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ को तुलनामा ७ प्रतिशत र सन् २०१९ को तुलनामा ९७ प्रतिशत रिकभरि हो । पछिल्लो समयको जेनजी आन्दोलनको प्रभाव नपरेको भए सन् २०२५ मा पर्यटक आगमन २०१९ भन्दामाथि जान सक्थ्यो भन्ने आकंलन गर्न सकिन्छ । यद्यपि यो संख्या कुनै ठुलो संख्या भने होइन । 

पर्यटन पूर्वाधार विकास

पर्यटन विकासका लागि पूर्वाधार अत्यन्त महत्वपूर्ण हुन्छ । विगत २५–२७ वर्षमा नेपालले सडक, हवाई, सञ्चार र ऊर्जा पूर्वाधारमा उल्लेखनीय प्रगति गरेको छ । सन् १९९८ यता नेपालमा होटल, रिसोर्ट, ट्रेकिङ रुट, सडक सञ्जाल र हवाई सेवामा उल्लेखनीय विस्तार भएको छ । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, ग्रामीण सडक पहुँच र सञ्चार सुविधाको विस्तारले पर्यटन सम्भावनालाई फराकिलो बनाएको छ । 

हवाई पूर्वाधार विकासमा हालैका वर्षहरूमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न पोखरामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । यसले क्षेत्रीय पर्यटन विकास र अन्तर्राष्ट्रिय पर्यटक आगमनमा नयाँ सम्भावना खोलेको छ । यद्यपि निर्माण सम्पन्न भएका विमानस्थलहरूको प्रभावकारी सञ्चालन, अन्तर्राष्ट्रिय उडान संख्या, हवाई सुरक्षाको विश्वसनीयता र राष्ट्रिय ध्वजावाहकको प्रतिस्पर्धात्मक क्षमतामा सुधार आवश्यक देखिन्छ ।

विगत २४ वर्षमा नेपालमा पाँचतारे होटलदेखि होमस्टेसम्मको विकास भएको छ । काठमाडौं, पोखरा, चितवन, लुम्बिनी र सौराहाजस्ता क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका होटल खुलेका छन् । साथै ग्रामीण पर्यटन प्रवर्धनका लागि होमस्टे कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा आएको छ । होटल संघ नेपालका अनुसार अहिले नेपालले ३५ लाख पर्यटकलाई आतिथ्य प्रदान गर्ने क्षमता राख्छ । 

आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना

नेपालमा परम्परागत पर्यटन (ट्रेकिङ, पर्वतारोहण, सांस्कृतिक भ्रमण)बाहेक नयाँ आयाम विकसित हुँदै छन् । साहसिक पर्यटन बन्जी जम्प, प्याराग्लाइडिङ, राफ्टिङ, धार्मिक पर्यटन लुम्बिनी, पशुपतिनाथ, जनकपुर, स्वास्थ्य तथा योग पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन र माइस पर्यटनको सम्भावना उच्च छ । डिजिटल प्रविधिको प्रयोग, अनलाइन बुकिङ, सामाजिक सञ्जालमार्फत प्रचारप्रसारले पर्यटनलाई आधुनिक स्वरूप दिन थालेको छ । 

पछिल्ला वर्षहरूमा नेपालीहरू आफ्नै देशभित्र घुम्ने प्रवृत्ति बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटन नेपालको पर्यटन विकासको आधार बन्दै गएको छ । यसले होटल, यातायात र स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्‍याएको छ । बाह्य पर्यटनतर्फ भारत, चीन, अमेरिका, युरोप र दक्षिण एसियाली देश मुख्य बजार हुन् । छिमेकी मुलुकसँगको सहज आवागमन, धार्मिक तथा सांस्कृतिक सम्बन्धले पर्यटक संख्या बढाउने ठुलो सम्भावना रहेको छ ।

पर्यटन जनशक्ति विकास

पर्यटन क्षेत्र श्रमप्रधान उद्योग हो । विगत वर्षहरूमा होटल व्यवस्थापन, ट्राभल एजेन्सी, ट्रेकिङ गाइड, पर्वतारोहण, आतिथ्य सेवामा जनशक्ति उत्पादन भएको छ । पर्यटन तथा होटल व्यवस्थापन कलेज, तालिम केन्द्र र निजी संस्था सक्रिय छन् । तर दक्ष, बहुभाषिक र अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने जनशक्तिको अभाव अझै चुनौतीकै रूपमा रहेको छ । युवा जनशक्तिको वैदेशिक पलायनले पनि पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति टिकाउन कठिन बनाएको छ । 

भावी योजना र निष्कर्ष

भावी दिनमा नेपालको पर्यटन विकासका लागि दीर्घकालीन नीति, दिगो पर्यटन अवधारणा र निजी–सार्वजनिक साझेदारी आवश्यक छ । पूर्वाधार सुधार, हवाई पहुँच विस्तार, पर्यटकीय गन्तव्य विविधीकरण, सेवा गुणस्तर वृद्धि र वातावरणीय संरक्षणलाई प्राथमिकता दिनुपर्छ । नेपालको पर्यटन अनेकौं चुनौती पार गर्दै नेपालको पर्यटन क्षेत्र अघि बढेको छ । वर्तमान अवस्थामा सुधारका संकेत देखिन्छन् र सही योजना, लगानी र व्यवस्थापन भएमा पर्यटन नेपालको आर्थिक समृद्धिको मुख्य आधार बन्न सक्ने प्रबल सम्भावना रहेको छ । 

निष्कर्षमा भन्नुपर्दा, पर्यटन विकासका चुनौतीहरूमा नीतिगत निरन्तरताको अभाव, कमजोर गन्तव्य व्यवस्थापन, वातावरणीय जोखिम, जनशक्ति पलायन र अन्तर्राष्ट्रिय प्रचारको कमी प्रमुख छन् । नेपालको पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्डको भूमिका प्रभावकारी हुन सकेको छैन । यसको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक छ । आगामी दिनमा नेपाली पर्यटनले संख्याभन्दा गुणस्तरमा ध्यान दिनु आवश्यक छ । दिगो, समावेशी र स्थानीय लाभ सुनिश्चित गर्ने पर्यटन रणनीति अवलम्बन गर्न सके पर्यटन नै नेपालको समृद्धिको प्रमुख आधार बन्न सक्छ । 

(उपप्राध्यापक भुसाल नेपाल पर्यटन बोर्डका पूर्वसञ्चार परामर्शदाता हुन् ।)
 

सम्बन्धित खबर